हालसालै, एसएलसी परिक्षा सकिएको छ | अब दुई वा तीन महिनापछि त्यसको परिणाम पक्कै आउनेछ | तर मलाई यहाँनिर एउटा कुराले स्तब्ध पार्छ र त्यो हो, एसएलसीमा फेल हुने कलिला विद्द्यार्थीबाट आत्महत्याका खबर !हामीलाई थाहै छ कि शिक्षा अत्यावस्यक कुरा हो | केही दशक पहिले हाम्रो देशमा शिक्षाको महत्व धेरैलाई थाहा थिएन तर अहिले समय बदलिएको छ, शिक्षाको महत्वबारे नेपालीहरुमा धेरै चेतना पलाइसकेको छ | यद्दपी फेल भएका विद्द्यार्थीलाई अपमान गर्नु वा पास हुनैपर्छ भनी दवाब दिनु नितान्त खराब नियत हो |हाम्रो देशमा अझै कति सामाजिक विकृति छन् जसले गहिरोसित जरा गाडेकाले तिनलाई नियन्त्रण गर्न अझै पनि गाह्रो छ | अर्कोतर्फ फेल हुनेलाई अपमान गर्नु पनि वर्तमान अवस्थामा उब्जिएको नयाँ सामाजिक विकृति हो भन्ने म मान्छु | यसलाई पनि व्यापक जनचेतनाद्वारा नियन्त्रण गर्न जरुरी छ |
हो,एसएलसी पास हुन जरुरी छ तर सबै पास हुन्छन् नै भन्न मिल्दैन | प्रत्येक फेल भएका विद्द्यार्थीले एक वा दुईपल्ट फेल भइयो भन्दैमा जीवन-पथ नै पूर्ण रुपमा बन्द भएको सोंच्नुहुँदैन | प्रचलित उखान ‘हिंड्ने मान्छे लड्छ’ भनेझैं हामीले उनीहरुलाई नजितुन्जेल प्रयास गरिरहन हौसला दिइरहनुपर्छ | कसैले पनि हार्दैमा हार मान्नुहुँदैन किनकि प्रत्येक हार जीतको एक कदम नजिक हुन्छ | यही संदेश नै नेपालको प्रसिद्ध सांगीतिक झुण्ड ‘द स्याडोज’ले आफ्नो लोकप्रिय गीत ‘हिँड्ने मान्छे लड्छ..’मार्फत दिएको छ तर विडम्बना, एसएलसीको परिणाम लगत्तै फेल भएका विद्द्यार्थीका आत्महत्याको खबर लामो समयदेखी रोकिएको छैन |
यस सन्दर्भमा, जिम्मेदार विद्द्यार्थी स्वयं मात्र होइन कि गुरुजन,अभिभावक अनि समाज पनि हो | विद्द्यार्थीले छिट्टै हार मान्नुहुँदैन, अभिभावक तथा समाजका व्यक्तिहरुले उनीहरुलाई ‘मूर्ख’ वा ‘हरामी’ भनेर खसाल्नु हुँदैन | त्यस्तैगरी, गुरुजनहरुले पनि उनीहरुलाई हौसला दिइरहनुपर्छ र यदि फेल भए त्यो अवस्थाको सामना कसरी गर्ने भनी नैतिक शिक्षा पनि दिनुपर्छ |
तर ठीक उल्टो, गुरुजनहरुले नै उनीहरुका मनमा यसो भनी डर हालिदिन्छन्-‘लौ,फलामे ढोका नजीक आइपुग्यो,लौ छिटो गर..’म आफै पनि स्कुल पढ्दा डराएँ तर मलाई म पास हुन्छु भन्ने आत्मविश्वास भएको कारण मैले त्यो डरले आफुलाई खान दिइनँ | म आफै घोत्लिएँ-‘के एसएलसी फलामे ढोका हो ?’’के यो पास गर्न साह्रै गाह्रो हुन्छ ?’ तर पछि मैले थाहा पाएँ,यो कुनै चपाउनै गाह्रो फलामको चिउरा होइन | प्रश्नपत्र र परिक्षा त कुनै नरभक्षी राक्षसजस्तो नभई हामीले शिशु कक्षामा दिएको जाँचजस्तै रहेछ | यो एकदम दु:खलाग्दो कुरा हो किनकि आजका गुरुजनहरुले नै एसएलसीलाई नजिकिएको नरभक्षी राक्षसझैं प्रस्तुत गर्छन् जसले गर्दा विद्द्यार्थीका दिमागमा अनावश्यक डरले डेरा जमाउँछ अनि त्यही भएर परिणाम राम्रो निस्कन सक्दैन |
म एकजना कक्षा-९ मा पढ्ने बहिनीलाई ट्युसन पढाउँछु,त्यहाँ मैले के थाहा पाएँ भने उसलाई पनि सरहरुले एसएलसीको डर हालिदिइसकेका रहेछन्, ऊ मलाई भन्दै थिई-“ला दिदी! एसएलसी आइसक्यो, मैले सोंचेजस्तो राम्रो गर्न नसकूँला कि?’ अनि मैले उसलाई भनें-“ओहो! तिमी नडराऊ,तिम्रा सरले तिमीलाई डर देखाए होलान् तर एसएलसी कुनै डर मान्नुपर्ने परिक्षा होइन, यो त तिमीले सधैं स्कुलमा दिंदै आएको परिक्षाजस्तै हो |” मैले नडराउन भनेपछि बल्ल अचेल ऊ डराउँदिन | त्यसैले म शिक्षकहरुलाई विद्द्यार्थीहरुका दिमागमा एसएलसीको डर घोल्ने होइन बरु यसलाई साधारण रुपमा प्रस्तुत गर्न सुझाव दिन चाहन्छु |
अर्को कुरा,म शैक्षिक सामग्री निर्माण केन्द्रलाई पनि यस सम्बन्धमा बलियो सुझाव दिन चाहन्छु कि पाठ्यपुस्तकमा आत्महत्याजस्तो कुकृत्यलाई निरुत्साहित पार्ने पाठ्यसामग्री(जस्तै:-कथा,निबन्ध,आदि) समावेश होस् तर विडम्बना,त्यस्ता खराब बाटोतर्फ आँखा चिम्लन सिकाउने किसिमको पाठ मैले अझैसम्म ‘सामाजिक शिक्षा’ वा ‘मोरल साइन्स’का किताबमा पनि देखेकी छैन |
हामी जान्दछौं कि आजका विद्द्यार्थी नै भोलिको हाम्रो भविष्य हो | उनीहरुको किशोर दिमाग ज्यादै नै संवेदनसिल हुन्छ | यदि हामीले बेलैमा उनीहरुलाई काबुमा ल्याएनौँ भने हाम्रो देशले नै ठुलो नोक्सानी बेहोर्नुपर्छ | हामीले आजका कमजोर विद्द्यार्थी पनि भोलिका अल्बर्ट आइन्स्टाइन वा आर.एल. स्टेवेन्सन हुन सक्छन् भन्ने कुरा भुल्नुहुँदैन अनि त्यसैले हामीले घरीघरी उत्साह दिन पनि छाड्नुहुँदैन |
जीवन सधैं औपचारिक शिक्षाले मात्र पूर्ण हुन सक्दैन | हामी कतिपय अवस्थामा पढेलेखेका शिक्षितभन्दा अनपढ पनि धेरै बढी अनुभवी र सिपालु पाउन सक्छौं | एकपल्ट सोंचौ त,सबै पीएच.डी. गर्न लागे भने को श्रमिक,मजदुर,ड्राइभर,भान्से,सुचिकार,कुचिकार,आदि बन्ला ? त्यसैले ती किशोरवयहरुका दिमागमा एउटा फराकिलो चिन्तन हालिदिने बेला आएको छ र त्यो बेला अहिल्यै हो |
गर्व गर्ने विषय यो पनि छ कि हामीकहाँ हार मान्ने कायरहरु मात्र छैनन् कि जतिपल्ट हारेपनि हार नमान्ने जुझारु पनि छन् | उदाहरण,कोही ८० वर्ष नाघेको बुढोले पनि एसएलसी दिन्छ भने कोहि आफ्ना छोराछोरी सँगै एसएलसी दिन्छन् | उनीहरु तिनीहरुका लागि प्रेरक हुन्,त्यसैले उनीहरुलगायत हामीहरु सबैले तिनीहरुलाई हरेस नखान तर घरिघरी कोशिश गर्न उत्साह दिनुपर्छ किनकि “हिँड्ने मान्छे लड्छ..|”
[समाप्त]
अरुना छन्त्याल