Monday, October 13, 2014

मैले देखेको संसार

यहाँ अनौठो परिवेश घुमिरहेछ,
यहाँ आँशुमा मन्द मुस्कान मुस्काइरहेछ,
यहाँ अनौठो जिन्दगी सल्बलाइरहेछ |

मैले आफैले एकदिन उक्त मुक्तक मेरो फेसबुके भित्तोमा लेखेकी थिएँ | त्यो परिवेश जहाँ घुलिन पाउनु मैले आफ्नो अहोभाग्य ठानेकी छु जसको परिकल्पना पनि मेरो मानसपटलले सायदै गर्न सक्थ्यो, सपनामा पनि नसोचेको त्यो जिन्दगीको सुवास सुँघ्न पाउँदा मेरो हालै मातृशोकका कारण दुखेको घाउमा मल्हम दलिएको छ र म यसको निम्ति साक्षात परमेश्वरलाई धेरै-धेरै धन्यवाद चढाउँछु |

स्पाइनल कर्ड इन्ज्युरी (मेरुदण्ड पक्षघात)बाट पिडित,फेसबुकबाट परिचित दिदी सीता केसीले मैले आफ्नो अशक्तपनको दुखेसो पोख्ने क्रममा च्याटमा मलाई एकपल्ट नेपाल अपांग संघको जोरपाटी अपांग गृहमा जान सुझाउनुभयो | त्यही बेलादेखि नै मलाई ‘एकपल्ट गएर त हेरूँ’ भन्ने उत्कण्ठा पलाएको थियो तर त्यतिबेला मेरी प्यारी ममीले नकारिन्-‘तेरो आमाबा छैन र? त्यो ठाउँमा तँ किन जाने ? नचिनेको ठाउँमा तँलाई हेला भयो भने के गर्छस् ?’ भन्नुहुन्थ्यो  | तसर्थ, मेरी ममतामयी ममीले मलाई कतै जान नदिई आफ्नै काखमा राख्न चाहनुहुन्थ्यो अनि म पनि उहाँबिना अन्यत्र बासको त कल्पना पनि गर्न सक्दिनथें, त्यसैले बाँचुन्जेल म उहाँको सामिप्यताबाट कहिल्यै टाढिनँ तर परमेश्वरले उहाँलाई ठूलो आंधी-बेहरीसाथ लानुभएपछि मैले फेरि त्यस ठाउँको बारेमा नसोंची बस्न सकिनँ |

मातृविहिन भएपछि म यति विक्षिप्त भइथें कि मलाई घर पटक्क बस्न मन लागिराखेको थिएन किनकि घरको कुना-कुनाका हरेक वस्तुले मलाई मेरी प्रिय ममीको याद दिलाउँथ्यो जसले गर्दा सम्हाल्दा-सम्हाल्दै पनि दुखेको मुटु झन् सहनै नसकिने किसिमले चहराउँथ्यो, अन्तत: मैले घर छाड्ने निधो गरें | जिन्दगीभरि एकचोटी पनि आमाबाको छत्रछायाँबाट नटाढिएकी बचेराजस्ती म, अब टाढिने साहस बटुलें | म त्यतिको साहसिली पक्कै थिइनँ तर मातृशोकले ममा त्यो साहस पनि एकाएक सृजित भयो | बाबाले ‘नजाने’ भन्दै थिए तर मैले आफ्नो अड्डी छाडिनँ, अन्तत: म त्यहाँ जाने भएँ | बाबासित ट्याक्सीमा जांदै गर्दा मैले मनमनै प्रार्थना गरें-‘हे परमेश्वर ! आज म मेरो मनको चोटबाट उम्किन यो नौलो ठाउँमा जाँदै छु, थाहा छैन त्यो ठाउँ कस्तो होला तर तपाईं जान्नुहुन्छ, आजसम्म मैले घर कहिल्यै छोडेकी छैन, म जहाँ गएपनि तपाई मेरा साथमा हुनुहोस्, मलाई मेरी ममीको काखमा हुँदाजस्तो सुरक्षा दिनुहोस् | म त्यहाँ बस्नुपर्ने पूरा अवधि एक महिना पूरा गर्न नसकुँला कि कुन्नि तर सकेसम्म मेरो मन मिल्ने साथी जुटाईदिनुस् ताकि उसको सामिप्यताले म त्यो अवधि पूरा गर्न सकूँ |’ बस्, यस्तै-यस्तै प्रार्थना गर्दै त्यो नौलो ठाउँमा पुगें |

खुला फराकिलो चौर अनि चतुर्भुज आकारमा फैलिएको होचा तर चिटिक्क एक तले घर, भित्तामा ठूला अक्षरमा लेखिएको थियो-‘नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्र, जोरपाटी, काठमाण्डौ’ अँ यो नाउँ पढ्दा कुन्नि किन म ‘नवजीवन’ शब्दमा टक्क अडिएँ अनि एकछिन त्यसको तात्पर्यमा घोरिएँ | दुई महिना लामो बसाईंपछि मलाई साँच्चै यो केन्द्र ‘नवजीवन केन्द्र’ लाग्यो किनकि यहीं पुगेर नै मैले जिन्दगीको नबुझेको पाटो बुझें अनि आफुमा अशक्त भएपनि आत्मविश्वासको थैली बोकेर आएँ |

अलिअलि दोमन भई-भई म एक महिनाकोलागि भर्ना भएँ, अनि भित्र फिजियोथेरापी कोठामा लाग्यौं | तत्क्षण, मैले मेरो प्रार्थनाअनुसारको मित्र भेटें | प्रभुले मलाई कति प्रेम गर्नुहुन्छ, म कहिले त अचाक्ली नै आत्तिएर यही कुरा स्विकार्दिन तर मेरी ममीलाई मबाट दूर गराउनुमा कुन उद्देश्य लुकेको रहेछ, त्यो मैले थाहा पाएँ | उहाँले मलाई प्रेमकै खर्कमा चराउनुभो | अँ त त्यो कामनातीत मित्र अरु कोही नभएर मैले एकपल्ट अपांग कार्यक्रममा टिभीमा देखेकी केटी थिइन् जुनबेला ‘यो केटीलाई साथी बनाउन पाए हुन्थ्यो’ भन्ने भावना पलाएको थियो | हामी दुवै समान उमेरका अशक्त अनि त्यसमाथि ऊ पनि साहित्यकार, हाम्रो तन पनि मिल्यो-मिल्यो, मन पनि एकदम मिल्यो | दुई कथासंग्राह र कवितासंग्रह छपाईसकेकी, साहित्यमा सानु ‘घायल’को उपनामले परिचित रहिछन् मेरी मित्र सानु श्रेष्ठ | मभन्दा अघि ऊ त्यहाँ आएकी दुई हप्ता भइसकेको रहेछ | परमेश्वरलाई धन्यवाद, उहाँले मेरालागी अघिबाटै यी मित्र पठाईसक्नुभएको रहेछ | म सोंच्छु, सायद ऊ नभएकी भए म पक्कै त्यहाँ टिक्न सक्ने थिइनँ | ऊ उमेरले मभन्दा अलिकति जेठी, मैले आफ्नै दिदीजस्तै मानें, जहाँ-जहाँ ऊ, म पनि पुच्छरझैं त्यहीं-त्यहीं | उसैले मलाई व्हिल्चियरबाटै आफ्नो काम आफैं गर्न सिकाई | मैले कानको कमजोरीले गर्दा नबुझेका कतिपय कुरा उसले मलाई बुझाइदिई, तसर्थ ऊबिना त म त्यहाँ पक्क लाटी नै हुने थिएँ |

अँ, उसको कथा मैले सुनें, पढें | जिन्दगीको गोरेटो कसलाई थाहा हुँदोरहेछ र आखिर ! सानुको जीवनमा १८ वर्षको कल्कलाउँडो बैंसमै पहाड खसेछ जुन म दुष्ट शैतानको पासोको संज्ञा दिन्छु |

२०५६ सालको जेठ महिनामा विकट धाडिंग जिल्लाकी एक साधारण ग्रामिण ठिटी सानुको जिन्दगीमा त्यो भवितव्य घट्यो | दिउँसोको गर्मीमा एक अधबैंसे नारी उसको घर-आँगनमा प्यास मेट्न पानी माग्न आइपुगिछन् | उसले पानी दिएपछि ती नारीका आँखा करेसाबारीमा लटरम्म फलेका आरुमा पुगेछन् अनि उसलाई टिपीदिन आग्रह गरिछन्, अनि ऊ प्यासीको तिर्खा मेट्न त्यो रुख चढिन् | दुइ-तीन दाना झारिसकेपछि पनि अलि परको हाँगोमा फलेको आरु टिप्न आग्रह गरिछन्, एक आज्ञाकारी बालिकाझैं त्यो आग्रह मान्दा उसले समातेको त्यो हाँगो नै भाँच्चियो, अनि ऊ भुँइमा बजारिन पुगी | रुखको हाँगो संगसंगै उसको जीवनको साहरारुपी हाँगो पनि भांच्चिएको रहेछ अर्थात् त्यही भवितव्यले उसलाई मेरुदण्ड पक्षघाती बनायो जसले गर्दा आजीवन उसको कम्मरमुनिको भाग पटक्क चल्दैन | तापनि खुशमिजाजमा हाँसिरहने बोलिरहने उसले मलाई पनि हाँस्न सिकाई | पहिलोपल्ट त म उसको अगाडि रोएँ पो ब्यारे, उसले हत्तपत्त ‘ए ए ! नरोऊ, यसरी रुनु हुन्न’ भनेर थम्थम्याई | त्यसपछि फेरि कहिल्यै दुःखैको कुरा गरेपनि मेरो आँखामा आँसु बगेन |    

 मेरो कोठामा अर्की मित्र थिइन्, डोल्का शेर्पा | ऊ सोलुखुम्बुकी जन्मजात सेरिब्रल पाल्सी (मस्तिष्क पक्षघात) बाट पिडित रहिछ | हात-खुट्टा बाउँडिएका र बोली लर्बरिने खालको थियो | तापनि मसित मनग्ये बोल्थी | मेरो कानको कमजोरीका कारण उसले बोलेका कतिपय कुरा म अर्कै सुन्थें अनि हामी सब कोठा नै थर्किने गरी हाँस्थ्यौ | कान कम सुन्ने मान्छे म, त्यहाँ सबैमध्ये एक्लो बृहस्पति नै भएँ तर यही कमजोरीले नै मलाई आफू पनि हाँस्ने अनि अरुलाई पनि हँसाउने परीपाटी दियो | यसकारण अभाव र कमजोरीलाई पनि मैले परमेश्वरको आशिष मानेकी छु |

अँ, मैले कुरा गर्दागर्दै डोल्काको कथालाई पनि आफ्नो टाउकोमा हालें | विकट सोलुखुम्बु जिल्लाकी ऊ अत्यन्त गरिब परिवारकी कान्छी छोरी रहिछ | तीन दाजु र दुई दिदी रहेछन् तर उसको जन्मपश्चात बाबुचाहिं घर छाडेर हिंडिदिएछ अनि त उसकी आमाले दु:ख गरेर उसलाई हुर्काइछन् | ग्रामिण भेगमा अशक्तहरुको जिन्दगी दर्दनाक नै हुन्छ, त्यसैले उसको पनि त्यही हविगत थियो | तै पर्यटनमा अब्बल सोलुखुम्बुमा एकजना अर्ध-अशक्त गोरा पनि घुम्न आएछ जसले डोल्काको बारेमा थाहा पाएपछि सहयोग गर्न तम्तयार भएछ | त्यही व्यक्तिको सहायताले ऊ सानी ९/१० वर्षकी हुँदा नै काठमाण्डौको अपांग गृहमा शरण पाइछ | अहिले ऊ ३५ वर्षकी भइसकी रे, अनि अर्की गोरिनीले उसलाई धर्म छोरी बनाएकी रहिछन् जसले उसलाई त्यहाँ बस्ने खर्चको चाँजोपाँजो मिलाइदिएकी रहिछन् |अहिले उसलाई केहीको कष्ट छैन, ऊ आफैं केही गर्न सक्दिने तर सुसारे आन्टीहरुले उसको राम्रो ख्याल राख्छन् |

मैले झमक घिमिरेको बारेमा पढेपछि मलाई सेरिब्रल पाल्सी रोगीसित संसर्ग गर्दा कस्तो होला भन्ने ठूलो जिज्ञासा थियो, त्यो जिज्ञासा डोल्काको सामिप्यताबाट मेटीयो | पहिलो दिन खाना खाइसकेर सुत्ने बेलामा उसले मलाई मेरो उमेर सोधी, मैले २८ वर्ष भन्दा उसले ‘हो र ? तर तिमी भर्खरकीझैं छौ’ भनी | मैले सोंचेकी थिएँ मस्तिष्कको नशा नै पक्षघात भएपछि व्यक्तिको सोंच्ने क्षमतामै ह्रास आउँछ होला, तर होइन रहेछ, ऊ बोल्दा बच्चीजस्ती लागेपनि वयस्कका कुरा सबै बुझ्दी रहिछ | पहिलो भेटमै उसले व्यक्तिको अनुहार हेरेर उमेरको तादातम्य मिलाउने प्रयास देख्दा म चकित भएँ, कुरैकुरामा उसले मलाई अंग्रेजीमा ‘यू आर क्युट’ भनी, म पुन: चकित हुँदै मुस्कुराउँदै ‘यु आर अल्सो क्युट’ भनें | त्यसपछि बिस्तारै हामी त अंतरंगी मित्र पो बन्यौं, ऊ मलाई आफ्नो मनको कुरा भन्थी अनि म पनि भन्थें | मेरा गहिरा कुरा सुनेर ऊ प्रभावित भइछ क्यारे, उसले मलाई एकपल्ट यसो भनिहाली-‘तिमी मान्छे हेर्दा भर्खरकीजस्ती भएपनि तिम्रो कुरा चाहिं बुढाबुढीकोजस्तो छ’ अनि मैले हाँसेर समर्थन जनाएँ-‘हो म अरुजस्तो होइन नि डोल्का, म त झमक घिमिरेजस्तो साहित्यकार हो के, त्यसैले मलाई बुढाबुढीकोजस्तो कुरा एकदम आउँछ |’ मैले उसलाई म कथा लेख्छु र उसको कथा लेख्न इच्छुक छु भनेपछि निकै तदारुकतासाथ उसले मलाई आफ्नो कथा सुनाई | म उसलाई प्रेम गर्छु | नजाने के भयो मलाई कुन्नि, मलाई एक रात त्यो ठाउँ छाडेपछि डोल्कालाई फेरि भेट्न पाउँदिन भन्ने पिरले छोपेर अनायास आँखाबाट आँसु बगे | अहिले पनि उसले मलाई ‘आई लभ यू’ भनेको वाक्य मेरो कानमा ताजै गुञ्जिन्छ |

त्यस्तै मेरो कोठाकी अर्की मित्र हुनुहुन्थ्यो, गोमा दुलाल | उहाँ ४५ वर्षकी कठोर अर्थराइटिज नामक रोगबाट पिडित हुनुहुँदो रहेछ जसकारण उहाँको खाने मुख र हेर्ने आँखाबाहेक अरु सबै अंग कुँजो भएका रहेछन् | उफ़ ! जिन्दगी पनि कस्तो ? उहाँलाई देखेर मैले त मेरो अशक्ततालाई जिरोसमान देखें | आफ्ना हरेक दैनिकी अरुकै सहाराले चल्ने उहाँ पनि जिन्दगी हाँसेरै-बोलेरै बिताउनुहुन्छ | विशेष किसिमको व्हिल्चियरमा बसालेर घाममा राखिदिन्थे अनि आफु नजिक पर्ने सबैसित उहाँ बोल्नुहुन्थ्यो | उहाँलाई पनि त्यस संस्थामा विदेशीले सहयोग गर्दो रहेछ | मैले जानेसम्म त्यहाँ सधैंभरी बस्नुपर्ने सातजना अशक्तलाई विदेशी सहयोग जुटेको रहेछ, अरु चाहिं पैसा तिरेर मात्र बस्न पाइन्थ्यो | म अलि पढेकी भन्ने थाहा पाएर उहाँले र डोल्काले मलाई दुई-चार अंग्रेजी शब्द सिकाउन भन्थे जुन मैले सकेसम्म सिकाएँ |ती अशक्तहरुलाई पनि मैले आफ्नो ज्ञान बाँड्न पाउँदा मैले आफु पठित हुनुमा सार्थकता देखें | एक महिनाको अवधि सकिनै लाग्दा मैले ‘अब म माघमा जान्छु आन्टी’ भन्दा नजाने कुन प्रेमले ‘नजाऊ न,अझै एक महिना बस न’ भन्नुभो |

 त्यतिन्जेलसम्म मैले त्यो परिवेशलाई राम्ररी नियालीनसकेकी थिएँ, त्यसैले मलाई अर्को एक महिना पनि बस्न मन लाग्यो | मलाई लान बाबा आउँदा मैले ‘अझै फागुनसम्म बस्छु’ भनें | खासगरी म मुस्किलले एक महिनाकोलागि गएकी थिएँ तर दुई महिना बस्न सकें | सायद आफुजस्तै अशक्त धेरै साथीको संसर्गले होला म घरदेखि अलग भएपनि घरमै छु जस्तो लाग्यो | वास्तवमा घरमा हुँदा त मैले आफुजस्तै अशक्त मित्रको सामिप्यता कहिल्यै पाउन्नथें, त्यसैले यदाकदा आफ्नो अभावमा चरम असन्तुष्टी भई आँखा रसाउने गर्थ्यो तर त्यहाँ गएपछि ती मित्रसँग हातेमालो गर्न पाउँदा बल्ल मलाई आफु जिउँदै भएको आभाष भयो | त्यहाँको बसाईंक्रममा मलाई अघिअघिजस्तो निराशाले कहिल्यै छोपेन बरु म साँच्चिकै फूलजस्तै फक्रक्क फक्रिएर हाँसें, त्यो हाँसो मेरो जीवनकै खुशीको हाँसो हुन पुग्यो भन्दा हुन्छ किनकि यसअघि म त्यसरी कहिल्यै हाँसेकी थिईनँ | बरु मलाई राति प्रार्थना गर्दा ममीको यादले सताएर आँसु झर्थ्यो तर अरुबेला चाहिं मैले पटक्क आँसु खसालिनँ |

अशक्त भएपनि मित्रहरु खुब हाँसो-ठट्टा गर्थे, कसैले मलाई ‘साह्रै राम्री छौ’ भनेर ठट्टा गर्थे त कसैले ’बिहे गरौँ’ भनेर ठट्टा गर्थे | म कहाँ ठट्टा गर्न नजान्ने अन्तर्मुखी स्वभावकी लाटी, सुरुमा त म जिल्ल परें अनि पछिपछि म पनि ठट्यौली भएँ हाहाहा | म टोलाएर बसेको देख्यो कि रेखबहादुर दाइले ‘ए छन्त्याल ! किन टोलाएको ?’ भनिहाल्थे अनि ‘सबैसित बोल्ने गर, नबोली बस्नाले हो तिम्रो कान नसुन्ने भाको’ भनी सम्झाउँथे अनि म फिस्स हाँस्थें | अनि एकजना साजन श्रेष्ठ भन्ने दाइ झन् महा जोकर रहेछन | उनको बोली-व्यवहार, व्हिल्चियर गुडाई नै हाँसो-उठ्दो, सुरुमा त एकजना भाइको नाम ‘आलु’ भनी बताएर म जिल्लै परें | सानुलाई ‘तिमी मेरी प्रेमिका’ भन्दै जिस्काउने अनि सानुले ठट्टैमा कुटेजस्तो गर्थी अनि म चाहिं गाला दुखुन्जेल मुसुमुसु हाँसीबस्थें |

‘आखिर, मरी लानु के छ र ? दुई दिनको जिन्दगीमा अशक्त भइयो भन्दैमा किन सधैं उदास बस्नु ? हाँसो-ठट्टाले त जिन्दगी बाँच्ने कला सिकाउँछ’, हो यो कुरा मैले ती हँसाउने मित्रबाट सिकें | म परमेश्वरलाई धन्यवाद दिन्छु, उहाँले मेरो चरक्क चर्किएको मनलाई खुशीले टालिदिनुभो |

 अरु कोठामा पनि थुप्रै अशक्त दाजु-भाइ दिदीबहिनी थिए | कोही-कोही खोच्च्याउँदै हिंड्थे भने धेरैजसोको खुट्टा व्हिल्चियर नै थियो | त्यही संस्थासँगै हर्मन माइनरको संस्था एसओएस बालग्राम पनि थियो, त्यसैले आँगनबाटै अनाथ तथा अपांग बालबालिका खेलेको देखिन्थ्यो | ती बालबालिकालाई हेर्दै गर्दा मैले सोंचें-‘मैले त मेरा अभिभावकको प्रशस्त प्रेम पाएँ,यी बालकहरुलाई अभिभावकत्वको पक्कै पनि स्पष्ट ज्ञान छैन तर पनि यिनीहरु खुशी छन्, तब लेखान्तअनुसार मलाई मातृविहिन हुनुपर्यो, तापनि यसकै लागि पीडामा म विरक्त हुनु जायज छैन |’ साँच्चै भन्दा मलाई ती बालबालिकालाई प्रेमिल चुम्बन दिन मन लाग्यो | त्यहीं स्कुल पनि थियो, त्यहाँ पढाउन पाए यी अभिभावकविहिन बालबालिकाको संसर्गबाट मैले आफ्नो जीवनलाई सार्थक बनाउन सक्ने थिएँ भन्ने लाग्यो |

मदर टेरेसाले भनेकी थिईन्-‘म सबै बेसहारा र दुःखीहरुको मुहारमा परमेश्वरकै प्रतिरूप देख्छु |’ हो, मलाई पनि त्यस्तै भयो, ती सब हराएका आत्माले परमेश्वरलाई चिने हुन्थ्योजस्तो लाग्यो अनि मनमनै भएपनि ती सबको निम्ति प्रार्थना गरें | सकेसम्म त मैले धेरैलाई सक्दो सुसमाचार सुनाएँ अनि प्रत्यक्ष प्रार्थना पनि गरें, सबैले मेरो प्रार्थनालाई कुनै अवरोधबिना स्विकारे | परमेश्वरले ती सबलाई चंगाई दिए पनि हुनेजस्तो लाग्यो तर शरीरको निम्ति सुर्ता गरेर के लाभ ? हामीले अब शरीरको निम्ति होइन आत्माको निम्ति फिक्री गर्नुपर्छ भनी सबैलाई बताएँ | कसैले राम्रैसँग सुने भने कसैले ख्याल-ठट्टाझैं सोंचे जसलाई म स्वाभाविकतासित दाँज्छु | मेरो कोठामा चाहिं मज्जाले सामुहिक प्रार्थना हुने गर्थ्यो | अनि म विश्वास गर्छु कि थुमाको विराट भोजमा निम्ताराहरुलेभन्दा बढी यस संसारका दुःखी,दरिद्र एवं अपांगले ठाउँ पाउनेछन् | ती प्रत्येकलाई नजिकबाट नियाल्न पाउँदा मेरो जीवन धन्यको भयो |  

 त्यहाँ जन्मजात हात-खुट्टा सुकेका दाइ सेराबी केसी थिए जो व्हिल्चियरमा बस्न पनि असमर्थ थिए, त्यसैले घस्रिएर हिंड्थे | डोल्काभन्दा पनि कठोर सेरिब्रल पाल्सी पिडित एउटा १२/१३ वर्षको भाइ थियो, सुरंजन राउत | उसका हात-खुट्टा राम्ररी चल्दैन थियो अनि बोल्न पनि सक्दैन थियो तर व्हिल्चियरमा बसेर ऊ आफ्नो एउटा मात्र सबल दाहिने खुट्टाले धकेलेर एक ठाउँदेखि अर्को ठाउँ जान्थ्यो | म उसले खुट्टाले धकेल्दै व्हिल्चियर चलाएको टोलाएर हेरिबस्थें | उसले ज्यादै हल्ली-हल्लीकन पनि चम्चाले बल्ल-तल्ल भात खाएको देख्दा मलाई साह्रै माया लाग्थ्यो अनि म टाढैबाट भएपनि उसको निम्ति प्रार्थना गर्थें, त्योभन्दा बढी मेरो ल्याकतमा के नै थियो र ! अर्को एउटा १३/१४ वर्षको नवलपरासीको भाइ थियो, अमृत राना | हाँस्ने-खेल्ने त्यो उमेरमा एक वर्षअगाडि गाउँमा साथीसँग खेल्दै गर्दा माटोको ढिस्कोले पुरिएर जीवनभरि एससीआई(स्पाइनल कर्ड इन्ज्युरी) भएको रहेछ, बिचरोको खेल्ने साथी नभए पनि व्हिल्चियरलाई उठाउँदै मज्जाले कुरुकुरु खेल्थ्यो अनि कहिलेकाहीं अरु दाइहरुसँग मज्जाले टेबल टेनिस वा बास्केटबल पनि खेल्थ्यो | म्याग्दी जिल्लाको एउटा २२ वर्षे ठिटो, केशव थापाचाहिं दुई वर्षअगाडि घाँस काट्न जाँदा रुखबाट खसेर एससीआई भएको रहेछ | अध्ययनशिल ऊ, त्यस्तो भएपनि मैलेझैं हार मानेर पढाई छोडेन, बरु त्यहीं बस्दै आफ्नो उच्च अध्ययनलाई निरन्तरता दिईरहेको छ अनि अशक्त भएपनि केही गरी देखाउने सपना साँचेको छ जुन आँटलाई म कदर गर्छु | नेपालगंजको २२ वर्षे भाइ दिपक दरैचाहिं सडक दुर्घटनाले एससीईआई भएको रहेछ | अर्का पाल्पाली कृष्ण खड्का दाइ झन् अपत्यारिलो दुर्घटनाबाट एससीआई भएका रहेछन् | रोजगारीको सिलसिलामा उहाँ मलेसिया पुगेका रहेछन्, त्यहाँ काम गर्दागर्दै सधैंजसो जिममा व्यायाम गर्ने बेलामा गह्रौं फलामको भारी उठाउँदा ढाड नै भाँच्चिने गरी लडेछन् जसले गर्दा हाल उहाँको टाउको मात्र चल्छ | त्यसपछि उहाँ उतै मलेसियाको अस्पतालमा तीन महिनासम्म हल न चल भएर रहेछन्, पछि साथीभाइको सहयोगबाट नेपाल फिरेछन् | उहाँका भाइले उहाँको स्याहार-सुसार गर्दागर्दै त्यस संस्थाको बारेमा सुनेर त्यहाँ ल्याएका रहेछन् | कम्जोर आर्थिक अवस्थाको बावजुद पनि उहाँका भाइले त्यस संस्थामा बस्दा चुकाउनुपर्ने मासिक ६००० र अरु खर्च तिर्दै आएका रहेछन् | एउटा गरिब परिवारको छोरो,त्यसमाथि बिल्कुल अपांग,अझ उहाँको शरीरभरि  निको हुन जटील ‘बेड सोर्स’ भन्ने घाउ छन् जसलाई सुसारेले बेलाबेलामा सफाई तथा मलम-पट्टि गरिरहनुपर्छ |(पक्षघातीलाई हल न चल गरी सधैं एकापट्टी मात्र सुताईराख्यो भने ‘बेड सोर्स’ हुन्छन् अनि व्यक्तिको चेतनशक्ति नभएकोले त्यस्ता घाउहरु निको हुन धेरै लामो समय लाग्छ) यी सारा खर्च उहाँको भाइले मुस्किलले थेगिरहेका थिए जसको लागि उहाँलाई पनि गोमा आन्टीलाईझैं विदेशी स्पोन्सरको खाँचो थियो | परमेश्वरलाई धन्यवाद होस्,उहाँको त्यो खाँचो पूरा भयो |

एकजना रैथाने पर्यटक ठिटी घुमफिर गर्दै त्यहाँ आईपुगिछन् र उहाँको अवस्था देखी प्रेमले पग्लीछन् अनि आफ्नो तलबबाट केही हिस्सा छुट्याएर सहयोग गर्ने वाचा गरिछन् र आजसम्म उनले नै सहयोग गरेकी छन् |

‘पाउला लामा मोरिस’नाम गरेकी ती गोरीनीले त उहाँको निम्ति फेसबुकबाटै सहयोगको अभियान चलाएकी रहिछन् जसमा उनले निकै मर्मस्पर्शी पाराले लेखेकी छन्-‘...नेपाल एउटा गरिब देश हो जहाँ अपांगत्वलाई रुढिग्रस्त नजरले हेरिन्छ,कृष्ण एउटा गरिब अपांग भएपनि उसलाई बाँच्ने अधिकार छ | मैले उसलाई संस्थामा बस्ने खर्चको निम्ति सहयोग गर्ने सक्दो वाचा गरेकी छु तापनि म सबैलाई सहयोगको निम्ति आव्हान गर्छु ताकि कृष्णलाई पैसाको कमीले नै सडकमा मर्नु नपरोस् | हामी सबैका आ-आफ्नै जिम्मेवारी र समस्या छन् तर हामी मानव भएर के कोही अपांग खान नपाएर मरेको हेर्न सक्छौं ? म सकेसम्म कृष्णलाई आजीवन स्पोन्सरको खोजीमा छु, आउनुस्,तपाईं-हामी सबै हातेमालो गरौँ |’ त्यस विदेशीको त्यस्तो विशाल हृदय देखेर म हर्ष-विभोर भएँ | हाम्रो देशमा जो जतिसुकै धनी भएपनि अपांगलाई सहयोग गर्न हम्मेसी अघि सर्दैन तर त्यहाँ कोहोकोहो विदेशी त्यसरी कम्मर कसी अघि सरेको देखें | यतिमात्र कहाँ हो र, पाउलाले आफ्नो देश गएर कृष्ण दाइको बारेमा पत्रिकामा लेख अनि टेलिभिजन कार्यक्रम पनि चलाएको थाहा पाएँ जसबाट धेरै सहयोगी हात अघि सरेको छ | एकजनालाई त मैले आफ्नै आँखाले देखें,पाउलाको अस्ट्रेलियन साथी ‘अरित्रो अबेदीन’ जसले कोसेलीस्वरुप मीठो चकलेट ल्याएको थियो जुन मैले पनि चाखें अनि उसले दाइलाई भ्यान रिजर्भ गरी व्हिल्चियरमै चिडियाखाना घुमाउन लग्यो जुन दृश्यलाई मैले अव्यक्त कृतज्ञतासित हेरिरहें | पाउला आफैं कुनै धनाढ्य व्यक्ति होइन, ऊ पेशाले होटेलकी एउटी सेफ हो तर अशक्त अपांगप्रति समर्पित उनको दिल प्रशंसनीय छ, म हृदयदेखि उनका निम्ति प्रार्थना गर्छु |

परमेश्वरलाई धन्यवाद होस्, कृष्ण दाइले मलेसिया छँदै सुसमाचार सुनेका रहेछन् र त्यही संस्थामा त्यही अवस्थामा प्रभुलाई ग्रहण गरेका रहेछन् | त्यसैले हरेक शनिवार एकजना पास्टर आई उनलाई वचन सुनाउने र प्रार्थना गरिदिने गर्दा रहेछन् | मैले पनि ती गुरुबालाई भेटें र सामुहिक प्रार्थनामा सामेल भएँ | म त्यहाँ बसुन्जेल चर्च जान नपाए पनि दाइसँग वचन बाँड्न पाउँदा मलाई संगतिकै खुशी मिल्यो | प्राय: बेलुकीपख म उहाँको कोठामा गएर दराजबाट बाइबल झिकी वचन सुनाउँथें अनि उहाँ चाख मानी सुन्नुहुन्थ्यो | उहाँ त्यस्तो अवस्थामा पनि सधैं मुस्कानले भरिएका हुन्थे जुन मेरैलागी समेत प्रेरणादायी थियो अनि मसित धेरै नै हाँसो-ठट्टा गर्थे, सम्झँदा अहिले पनि खित्का छुट्छ |

दाइ:-‘अरुना ! बिहे नगर्ने ?’

म:-‘नसक्नेलाई कसले गर्छ र दाइ ?’

दाइ:-‘म गर्छु नि !’

हाहाहा...
म भनिरहन्थें-‘...तपाईलाई परमेश्वर प्रेम गर्नुहुन्छ, हामीले जस्तोसुकै अवस्थामा पनि उहाँप्रति धन्यवादी हुनुपर्छ, यो माटोको शरीर एकदिन माटैमा मिल्छ तर हाम्रो आत्मा उहाँमा बाँचिरहन्छ, त्यसैले उहाँमाथिको विश्वास नत्याग्नुस् |’ अनि उहाँ मिठो मुस्कानसहित समर्थनमा टाउको हल्लाउनुहुन्थ्यो | उहाँसँग बितेका क्षणहरु मेरा मानसपटलमा कहिल्यै नमेटिने डोब बनेका छन् | म उहाँको शिघ्र चंगाईको लागि प्रार्थना गर्छु | म जाने बेला हुँदा उहाँ घरिघरि ‘ तिमी नजाऊ,तिमी गएपछि मलाई कसले बाइबल सुनाउँछ ?’ भन्थे तर मैले आफ्नो विवशता पोख्थें | एक मन त त्यहीं बसेर ती हराएका आत्मालाई मार्गनिर्देशन गरूँ हुन्थ्यो तर म विवश थिएँ |

पहिला मलाई ममीले त्यो संस्थामा गएर हेला होला भनी डराउनुहुन्थ्यो तर हेला होइन, बरु आँखामा राखेपनि नबिझाउने प्रेम पाएँ जसलाई मैले कहिल्यै बिर्सने छैन | अशक्त मित्रहरुले त प्रेम गरे नै, यहाँसम्म कि सुसारे आन्टीहरुले पनि मलाई गाला चिमोटी प्रेमभाव व्यक्त गरे जसले म मातृविहिन छु भन्ने यथार्थ पनि भुलाई दियो | ओहो ! मजस्तीले पनि प्रेम पाउँदा म औधी पुलकित भएँ | आउने बेला ‘जाऊ’ भन्नेभन्दा पनि ‘नजाऊ’ भन्ने धेरै थिए | त्यहाँ काम गर्नेहरु कहिल्यै पनि झर्किएको देखिनँ बरु हाँसी-हाँसी रोगीका दिसा-पिसाब पनि सोहोर्थे अनि फुर्सदमा तिनै रोगीसित बसेर गफ गर्थे | फिजियोथेरापिस्ट दाई सुभाष गुरुङ र म्यानेजर अंकल रुद्र दाहाल पनि फरासिला थिए | यस्तै गरी रात्री सेवा गर्ने भाइ वीर तामांग र उमा आन्टीले गोमा आंटी र डोल्कालाई सानी नानीलाईझैं स्याहारेको दृश्य म टुलुटुलु हेर्थें, लाग्थ्यो म अर्कै ग्रहमा अवतरित छु जहाँ केवल सहृदयी,आत्मीय र सहयोगीको मात्र बास छ | त्यो ठाउँलाई त स्वर्गबाट पृथ्वीमा खसेको एउटा टुक्रा भन्न पनि मलाई अतिशयोक्ति लाग्दैन | जीवनदेखि निराश र विक्षिप्त व्यक्तिहरुलाई म बाइबल पढ्न जति सुझाउँछु, त्यत्ति नै एकपल्ट त्यो ठाउँमा पुग्न सुझाउँछु जहाँ टुक्रुक्क एक कुनामा बसेरै जीन्दगीको पाठ पढ्न सकिन्छ, जहाँ रुनुपर्ने अवस्थामा कसरी हाँस्ने भन्ने सिकिन्छ अनि जहाँ नै वास्तविक प्रेमको अर्थ बुझ्न सकिन्छ |

अर्की दिदी थिइन् कलंकी,काठमाण्डौकी सबिना श्रेष्ठ | उनी १०/११ वर्षकी हुँदा घरको छतबाट खसेर ढाड भाँच्चियो,त्यसरी भाँच्चियो कि त्यो भांच्चिएको ढाडको हाड कहिल्यै पनि नजोडिने भयो जसकारण उनी आजीवन घोप्टोको घोप्टै छिन् | घोप्टो परी लामो ट्रली व्हिल्चियरमा मुस्काउँदै आफैं गुड्छिन् अनि म त्यो पीडा दबिएको मुस्कानमा होस्टेमा हैंसे गर्थें |

अर्को ‘वसन्त’ भाइ पनि छतबाट खसेर जीवनभरी घोप्टो छ | उसको हालत झन् सबिनाको भन्दा पनि खराब छ किनकि उसले आफ्नो ट्रली व्हिल्चियर आफैं गुडाउन सक्दैन | हरे येशु ! घरको पर्खालदेखि बाहिर नदेखेको मेरो आँखाले केके देख्यो |

घाँस काट्न जाँदा भीरबाट खसेर एससीआई भएका बुढा बाजे रुद्र लामिछाने थिए, जन्मजात दुवै खुट्टा नभएको भाइ तेज घर्ती थियो, जन्मजात बामन तथा अपांग भाइ राकेश ग्वाचा थियो, सानैदेखि एससीआई भएका दाइ मिन बहादुर श्रेष्ठ थिए अनि दुरुस्तै मेरोझैं समस्याबाट पिडित भाइ दीर्घ श्रेष्ठ थियो | आदर्श सुन्दर श्रेष्ठ भन्ने बाजे झन् बिल्कुल पक्षघाती थिए जो उमेरले अधवैंसे पुरुष भएपनि रोगले गर्दा ७०/८० वर्षका बुढाझैं देखिन्थे | अर्का अंकल विष्णु पाण्डे पनि एससीआई थिए जो दिनभरि स्विटर बुन्ने काम गर्थे अनि उहाँले पनि प्रभुलाई चिनेका रहेछन् | प्रभुलाई चिन्ने सिन्धुपाल्चोक जिल्लाका अर्का एससीआई दाइ राम लामा पनि थिए जो बनेपा अस्पतालमै काम गर्दा रहेछन् | त्यहाँ भारतीय मूलकी एउटी सानी अशक्त बच्ची थिई जसको नाउँ संस्थाले नै राखिदिएको थियो, समृद्धि | मैले सुनेअनुसार त्यो बच्चीका आमाबाले उसलाई त्यहीं छाडी बेपत्ता भएका रहेछन् | अर्की बोल्न नसक्ने १०/११ वर्षकी फुच्ची थिई, पेमा लामा | ऊ मसित खुबै झ्याम्मिन्थी,कहिले मसँगै पुतली खेल्थी त कहिले मसँगै कापी-कलम लिई पढ्न आउँथी | अनि त्यस्तै अर्की अशक्त १४/१५ वर्षकी किशोरी थिई,पुतली जो मलाई देख्यो कि दन्तलहर देखाउँदै हाँस्थी | अनि ‘मस्कुलर डीस्ट्रफी’ पिडित अंकल टिकाराम ढुंगाना थिए | त्यहाँका फिजियोथेरापिस्टले मेरो रोगलाई पनि एक किसिमको ‘मस्कुलार डीस्ट्रफी भनेका छन् जसको उपचार आधुनिक चिकित्सामा छैन | यो थाहा पाउँदा मलाई कताकता दुख्यो तर मेरो निधारको लेखी लेख्ने परमेश्वरले सब ठीक गर्नेछन् भन्ने मलाई विश्वास छ |

त्यहाँ वरपर नजिकका घरबाट पनि अपांगहरु घाम ताप्न आउँथे | देवी आचार्य दिदीले एससीआई भएपनि मज्जाले स्कुटर चलाएको देखेर छक्क परें अनि मलाई पनि स्कुटर गुडाउन ‘चौ-चौ’ लाग्यो | मैले त बाबालाई भनी पनि हालें-‘बाबा ! भोलिपर्सि मलाई पनि दिदीकोझैं अपांग-मैत्री स्कुटर किन्दिनु है |’ अनि त बाबा फिस्स हाँस्नुभो | दिदी सोनिका ढकाल त दशैंमा पिङ खेल्दा लडेर एससीआई भएकी रे | उफ्, मान्छेलाई दश पनि कस्तो-कस्तो लाग्दो रहेछ | धेरै मित्रहरु अपांग भएपनि स्वावलम्बी देख्दा मलाई म पनि केही गर्न सक्छुजस्तो लाग्यो |

एउटी दिदी थिईन्, लाली शेर्पा | उहाँ एससीआई भएपनि डेरामा एक्लै बस्ने गर्छिन् भन्ने कुरा थाहा पाउँदा म अचम्मित भएँ | हो रहेछ,अरु थुप्रै एससीआई पनि मैले देखें जो व्हिल्चियरमै अन्तै डेरा गरी बस्दा रहेछन् | नेपालभरी अरु स्थानभन्दा जोरपाटी नै बढी अपांग-मैत्री भएकोले त्यहाँ टाढा-टाढाबाट अपांगहरु आउँदा रहेछन् | सुरुमा छक्क पर्दै ‘कसरी’को प्रश्न गर्दा लाली दिदीले भनिन्-‘हामीजस्तोलाई सधैंभरी आमा र बाले हेर्न त सक्दैनन् नि, त्यसैले व्हिल्चियरमै पनि आत्मनिर्भर हुनुपर्छ |’ उहाँको भनाइले मेरो लुलो आँतमा पनि जोश पलायो |

दिदीको कथा पनि मर्मस्पर्शी छ | उहाँ विकट सोलुखुम्बु जिल्लाकी एक ग्रामिण युवती, एससीआई हुनुभन्दा पहिले नै उहाँ विवाहित अनि एउटी छोरीकी आमा पनि भइसक्नुभएको रहेछ | गाउँमा घाँस काट्न जाँदा रुखबाट लडेर त्यस्तो हुनुभएछ तर त्यसपछि उहाँको श्रीमानले उहाँलाई त्यागिसकेको रहेछ | अनि त्यो श्रीमान भनाउँदोले अर्को बिहे पनि गरिसकेको रहेछ |

‘जीवनभरि साथ दिने बाचा गरेको लोग्नेले त्यस्तो अवस्थामा छोड्छ भने त्यो कस्तो प्रेम ? यस्तो हुनुभन्दा त विवाह नै नहुनु जाती है ?’ सानु र म यस्तै-यस्तै अंतरंगी कुरा गर्थ्यौं | उसले चिनेको अर्की एससीआई दिदी भने अपवाद परिछन् | ती दिदीलाई चाहिं त्यस्तो भएपनि लोग्नेले छाडेन बरु अति नै प्रेम गर्छ रे, त्यहाँ घुमफिर गर्नलाई बेलाबेलामा गाडी र खर्चको व्यवस्था पनि गरिदिन्छ रे | ‘प्रेम हुनु त यस्तो पो है ?’ भन्दै हामी दुवै होमा हो मिलाउँथ्यौं | मैले चिनेकै अर्की दिदी राधिका रिजाललाई पनि लोग्नेले त्यागेन तर एससीआई भएपछि उहाँमाथि सौता परेछ | मैले यो थाहा पाएपछि ‘हो है दिदी जसलाई पनि काम गर्न सक्ने बुहारी नै चाहिन्छ’ भनें, अनि उहाँले मुस्काउँदै ‘हो’ भन्नुभो | जे होस् सासु,सौता र लोग्नेसँगै रहने उहाँ खुशी नै हुनुहुन्छ | उहाँ दिनभरि बुन-तुनको काम सकेर गोमा आन्टीको छेउमा आई गफ गर्नुहुन्थ्यो, अझ पाएसम्म एउटा मोटो उपन्यास पढ्दै आन्टीलाई सुनाउँदै गर्नुहुन्थ्यो | त्यो दृश्य देख्दा म भित्रभित्रै गद्गद् हुन्थें |

लाली दिदीकी ११/१२ वर्षकी र राधिका दिदीको १४/१५ वर्षकी प्यारी छोरी छिन् जो विद्द्यालयको छुट्टीको दिन आ-आफ्ना ममीको व्हिल्चियर घचेट्दै त्यहाँ आउँथे | कुरैकुरामा म ‘तपाईहरुको छोरी भएको राम्रो, छोराको तुलनामा छोरीले त धेरै माया गर्छे नि’ भन्थें अनि उहाँहरु मुस्काउनुहुन्थ्यो | पारिजातलाई पँधेरामा एउटा बालक देख्दा नजन्माएको छोरोको लालसा भएजस्तै मलाई पनि कताकता नजन्माएकी छोरीको लालसा भयो, फलस्वरूप भविष्यमा एउटी धर्म-छोरी पाल्नुपर्यो भन्ने कल्पनामा डुब्न थालें, हिहिही.|

त्यो संस्था वि.सं.२०५८ साल अघिसम्म पूर्ण नि:शुल्क संस्था रहेछ तर त्यही साल प्रमुख दाताको निधन भएकोले संस्था नै बन्द भएछ | पछि फेरि सशुल्क पुनः सुचारु भएको रहेछ | मलाई फेरि त्यस्तै नि:शुल्क बनाउन सकिए हुन्थ्योजस्तो लाग्यो ताकि अति विपन्न अपांगहरुलाई पनि त्यहाँ पुनर्स्थापन गर्न सकियोस् | यसको निम्ति त्यस संस्थाको लागि पनि प्रार्थना गरौँ |  

अँ त मेरो दिलको कुरा कहाँसम्म पुग्यो भन्ने पनि भनिहालूं | म मातृशोकका कारण स्वयं परमेश्वरदेखि असन्तुष्ट थिएँ तर उहाँले मलाई गालामा प्याट्ट हानी ‘तँमात्र एक्लो छैनस्,बुझिस्’ भनी त्यो संसार देखाउनुभो जसलाई देखेर म नतमस्तक भएँ | मेरो पिताप्रति मेरो असन्तुष्टि पश्चातापपूर्ण क्षमायाचनासहित सेलायो | मलाई त के नै पो थाहा छ र ? जति बुझ्यो, उति निस्पट्ट बुद्धु आफुलाई पाउँछु | मेरो भूत,वर्तमान र भविष्य परमेश्वरकै हातमा छ | मैले निर्क्यौल गरें, मैले मातृ-वियोग सहनु नपरेको भए त्यो संसार सायदै अनुभव गर्न पाउने थिएँ | त्यो संसार जहाँ मैले सबसित गहिरो प्रेम गरी आएकी छु, त्यसलाई म फेरि देख्न चाहन्छु | अब मसित नयाँ सपना छ, म पनि उनीहरुको मुहारमा मुस्कान ल्याउन सकूँ, उनीहरुमा परमेश्वरको प्रेम खन्याउन सकूँ अनि उनीहरुसँगै हाँस्दै-खेल्दै जिन्दगीको चीर समाधीसम्मै जिउन सकूँ | यही उत्कट अभिलाषा नै मैले देखेको त्यो संसारले मलाई दिएको छ |

(समाप्त)

पुनश्च:-मेरा प्यारा ख्रीष्टिय दाजुभाई तथा दिदीबहिनीलाई मैले यहाँ उल्लेख गरेका व्यक्तिका नाउँलाई सधै आफ्नो प्रार्थनामा सम्झिदिनुहुन अनुरोध गर्दछु |
प्रतिक्रिया दिनुहोस्