Saturday, June 30, 2012

जन्तरे बाजे

ए काली सुनिस् ? तेरो जन्तरे बाजे त विश्वासी भयो रे |’
म भर्खर अस्पतालबाट आएर किचेनमा पसेकी थिएँ,ममीले तात्तातो कफीसँगै तात्तातो खबर पनि भन्नुभो |
मैले पनि छक्क पर्दै-‘ओहो ! हो र ? कहिले नि ?’ भनीसोधें |
‘परमेश्वरलाई धन्यवाद होस्, अब यस्तै गरी हाम्रो गाउँको सबैले साँचो परमेश्वरलाई चिन्न सकुन्, आमेन |’
उहाँ निकै प्रसन्न देखिनुहुन्थ्यो अनि कफीको चुस्कीसँगै उहाँले मसँग कसरी ‘जन्तरे बाजे’को आत्मा बाँच्यो भन्ने कुराको बेलिबिस्तार लगाउनुभो |बाजेलाई सुसमाचारमा विश्वस्त पार्ने त तिनै मनसरा आन्टी रहिछन् |खुशी हुँदै मैले पनि परमेश्वरलाई धन्यवाद चढाएँ |

तीन वर्षे स्टाफ नर्सको पढाई सकिनेबित्तिकै फुर्सदको त्यो समयमा मलाई गाउँ घुम्न मन लाग्यो |प्राकृतिक सौन्दर्यको आनन्द लिनु मेरो भ्रमणको प्रमुख उद्देश्य भएपनि गाउँका अशिक्षित र अज्ञानी मानिसहरुलाई थोरै भएपनि आधारभूत स्वास्थ्य चेतना दिनु पनि गौण उद्देश्यभित्र पर्थ्यो | त्यसैले म मेरी साथी बिमलासित गाउँ घुम्न निस्किएँ |म गाउँमा जन्मी-हुर्केकी नभएपनि मलाई गाउँ मनपर्छ किनकि म प्रकृतिप्रेमी हुँ |बिमला पनि उही मझैं, यो कच्याककुचुक राजधानीमा जन्मी-हुर्केकी, ऊ जहिल्यै टिभीमा स्विजरल्याण्ड देखी कि गाला छोपेर कराईहाल्थी-‘आहा स्विजरल्याण्ड, सपनाको यो सुन्दर देशमा जान पाए कस्तो हुन्थ्यो, म त अब स्टाफ नर्स भिसामा त्यहीं जाने हो..|’ उसले यसो भन्दा म अलि नाक खुम्चाऊँथें-‘तँलाई स्विजरल्याण्ड, हाम्रै देशका गाउँ-ठाउँ पनि स्विजरल्याण्डभन्दा कम छैन बुझिस्,ती ठाउँ अझै पनि दुर्गम भएर पो |’ म सानै छँदा गाउँ घुमेकीले प्राकृतिक सौन्दर्यको अनुभव लिइसकेकी थिएँ,त्यसैले उसलाई त्यसो भनें |उसले आश्चर्य व्यक्त गरी-‘ए हो र? त्यसोभए एकदिन मलाई तेरो गाउँ घुमाउन लैजा न है |’ अनि त्यसबेला मैले पनि ठट्टैमा ‘ल ल’ भनिदिएँ |तर गाउँ घुम्ने मौकाचाहिं हामीलाई छिट्टै जुरेन | एसएलसीसम्म पढाइको चटारो,एसएलसीपछि ब्रीज कोर्सको चटारो अनि त्यसपछि स्टाफ नर्सको,पढाइको चौघेराले त हामीलाई ठ्याम्मै ‘पिंजडाको सुगा’ बनाइदियो | हामीलाई कतिखेर कोर्स पूरा होला र पखेटा तन्काएर उड्न पाइएला भइरा’थ्यो,नभन्दै कोर्स सकिनासाथ मैले विमलालाई ‘ओई बिमु,स्विजरल्याण्ड घुम्न जाने ?’ भनेर सोधिहालें,उसले मेरो सार बुझिहाली, ‘अफ कोर्स यार,वाई नट’ भन्दै समर्थन जनाई |     

अनि हामी दुई स्विजरल्याण्डतिर लाग्यौं,पर्यटकजस्तै भएर | म्याग्दी सदरमुकाम बेनीबजारदेखि सकी-नसकी बुढी आइमाइलेझैं लठ्ठी टेकेर भएपनि त्यो नाक ठोक्किने उकालो काटेर गाउँ पुग्यौं |बाटामा कष्ट भएपनि प्राकृतिक रमणीयताले सबै कष्ट बिर्साईदियो |

अग्ला हरिया पहाडहरुले घेरेको,उत्तरमा धौलागिरी हिमाल हाँसेको अनि त्यसकै फेदीबाट नागबेली रुपमा निस्केको ‘राहुघाट’खोला,बीचमा ढुंगाले छाएका गुजमुज्ज परेका घर,यस्तै सुन्दर आवरण थियो हाम्रो पुर्ख्यौली गाउँ ‘घ्यांसीखर्क’को | हामी मामाघर बस्यौं |हाम्रो गाउँमा जन्तरे बाजे खूब नाम चलेका धामी थिए |सबैलाई निको पार्ने जन्तर बाँधिदिने हुनाले उनलाई सबैले ‘जन्तरे बाजे’ भन्थे |एक साँझ हामी दिनभरि घुमेर मामाघर पस्नै लागेथ्यौं,नजिकै जन्तरे बाजेको ढ्यांग्रो सुनियो | कुरा बुझ्दा साँहिला काका बिरामी परेका रहेछन्,त्यसैले झाँक्री बसेका रे | भीडभाड भएकोले हामीले केही पनि बोलेनौं,हेरी मात्र रह्यौं |करिब आधा घण्टापछि जन्तरे बाजेले ‘..लौ,देउता रिसाछ,भोलि एउटा ठुलो छिर्केमिर्के च्यालुक नचढाई हुन्न’ भनेर बिदा भए | जाने बेलामा कुन्नि किन जन्तरे बाजेले मलाई र बिमलालाई राता-राता आँखा पल्टाएर एकछिन पुलुक्क हेरे | ‘आबुई !’भन्दै डरले बिमलाले मेरो पाखुरा समाती तर म त ख्रिष्टकी निडर छोरी,मलाईचाहिं रत्तिभर डर लागेन |

सबै गइसकेपछि हामीले काकाको स्वास्थ्य-स्थिति जाँच गर्न पायौं |सामान्य पखाला र हल्का ज्वरो रहेछ,यो २१ औं शताब्दीमा पनि १८ औं शताब्दीको कुहिएको जन-विश्वास अझै पनि हाम्रो गाउँमा मडारिरहेको देख्दा मैले धेरै चुक्चुकाएँ |

‘औषधी पो खानुपर्छ त पहिला,यसरी झारफुक गरेर कहाँ हुन्छ ?’भन्दा ‘आ ! उहिले बाबुबाजे देखिको चलन,पहिला धामी-झाँक्री अनि बल्ल औषधीमूलो’ रे |हामीले आफ्नो पाठ्यक्रममा रुढिग्रस्त ठाउँमा कसरी स्वास्थ्य जनचेतना जगाउने भनेर पढेका थियौं,त्यसलाई व्यवहारमा उतार्ने प्रयास गर्यौं |परामर्श र वाक्पटुतामा बिमला मभन्दा निपुण भएकीले उसैले मिठो बोलीमा परामर्श दिई |मैले आफ्नो हाते झोलामा केही औषधी पनि राखेकी थिएँ,त्यसैले मैले आठ चक्की ‘मेट्रोनिडाजोल’ दिएँ |हाम्रो परामर्शपछि काकाकाकीलाई थोरै भएपनि चेतना घुसेको आभाष पाएपछि हामी पनि बिदा भयौं |अचम्म के भयो भने मैले दिएको औषधिले काकाको पखाला थामिएछ अनि भोलिपल्ट उहाँहरुले जन्तरे बाजेलाई झाँक्री नबस्ने निर्णय सुनाइदिएछन् |

हामी गाउँको स्वास्थ्य-चौकी निरिक्षण गर्दै थियौं | सामान्यतया त्यहाँ अत्यावश्यक औषधी पनि नभएका,भएका औषधी पनि म्याद गुज्रिसकेक अनि स्वास्थ्यकर्मीको नाममा दुईजना अहेब मात्रै |सरकारी दरबन्दीअनुसारको डाक्टरले त एकचोटी पनि गाउँमा पाइला टेकेका रहेनछन् |अनि गाउँमा खच्चडबाटै भएपनि बिस्कुट,चाउचाउ बरु चाँडै पुग्दोरहेछ तर औषधीचाहिं महिनौं कुरेपछि बल्ल पुग्दोरहेछ अनि किन नपरुन् त ती सोझा गाउँलेहरु झाँक्रीको चरणमा ?त्यस्तै आकस्मिक बिरामीहरु त औषधोपचारको अभावमा अकालमै मर्दा हुन् |

यसबारे बिमलासित लामो छलफल गरें तर कुनै उपाय सुल्झेन, ओछ्यानमा ढल्कंदा पनि निद्रा नपरी अबेरसम्म मनमा कुरा खेलिरह्यो, अकस्मात् मेरो मनमा यी सब समस्या समाधानको एउटैमात्र विकल्प आग्यो,त्यो थियो-‘ख्रिष्टको सुसमाचार’ |

गरिबी,अशिक्षा र अन्धविश्वासमा जकडिएका मानिसहरुलाई ख्रीष्टको सुसमाचारले मात्र उज्यालोतर्फ डोर्याउन सक्छ भन्ने निर्क्यौल गरें मैले |त्यसबेला निश्चय परमेश्वर मजस्ती अज्ञानीसित बोल्नुभएको थियो,मैले थाहा नै पाइनँ |मध्यरातमा उठेर मलाई प्रार्थना गर्न मन लग्यो,प्रार्थना गर्दै गर्दा अनायास मेरा आँखाबाट आँसुका धारा बगे |

जीवनका आरोह-अवरोहदेखि त्यति परिचित भइनसकेकी ठिटी म |आमाबाबुका कारण जन्मैदेखि ख्रीष्टियान,चर्च जानु र वचन सुन्नु मेरालागि औपचारिकता मात्र थियो |किताबी किरी भएकीले परमेश्वरलाई ज्ञान-विज्ञानकै नजरले बढी हेर्थें अनि सुसमाचार त म आफ्नो कर्तव्य नै ठान्दिन थिएँ |तर गाउँमा आएपछि मलाई यो कर्तव्यबोध भयो साथै परमेश्वरलाई बेवास्ता गरेकोमा आत्मग्लानी पनि |

त्यसको भोलिपल्टदेखि घर-घरमा गई स्वास्थ्य जनचेतना जगाउन थाल्यौं | अचम्म के भने,म ज्यादै कम बोल्ने मान्छे,परामर्शको काम बिमलालाई नै सुम्पन्थें तर त्यसदिनदेखि अनायास म नै धेरै बोल्न थालें |स्वास्थ्यसम्बन्धि परामर्श दिँदा थाहै नपाइ मैले सुसमाचार पनि बाँड्न थालेछु |म अनौठा-अनौठा गहिरा शब्दमा धाराप्रवाह रुपमा बोलेको देखी बिमला छक्क परिछ | सुसमाचार ! अँ,म यो शब्दसित त्यति परिचित थिईनँ,राति आफुले पनि सुसमाचार सुनाउने निर्णय गरेपनि कसरी सुनाउने ? के भनी सुनाउने ? मलाई केही थाहा थिएन |आफ्नो पाठ्यपुस्तक मात्र धेरै पढ्ने तर बाइबल त्यति नपढ्ने नराम्रो बानी मेरो,त्यसैले सुसमाचारको मामिलामा म त लाटी नै थिएँ तर ‘...मानिसहरुका सामु के भन्ने ? भनेर तैंले फिक्री नगर्,..म तेरो हृदयमै मेरा वचन लेखिदिन्छु..अनि ती म तेरो मुखैमा हालिदिन्छु |’ भनेर प्रभुले भनेझैं मेरो मुखमा पनि उहाँको सुसमाचार आफै प्रस्फुटित भयो | बाटोमा हिंडदै गर्दा बिमलाले मलाई सोधी-

‘ए आशा ! के भा’छ तँलाई हँ ? तँ त बौलाईछस् क्या हो ?’ उसको प्रश्न सुनेर म खित्का छाडी हाँसें,नजिकै चौतारी थियो,मैले उसलाई ‘आइज,त्यहाँ एकछिन बसम्,म बौलाएको कारण तँलाई बताउँछु’ भनें अनि हामी दुवै चौतारीमा बस्यौं |मैले राति कसरी मेरो मन परिवर्तन भयो अनि त्यो केका कारण भयो भनी बताएँ अनि प्रभुले हामीलाई निश्चित उदेश्यको लागि प्रयोग गर्न चाहनुहुन्छ,तँ पनि उहाँमाथि विश्वास गर्’ भनें |ऊ पनि प्रभावित भई अनि चौतारीबाट हामी उठ्ने लागेका थियौं,त्यत्तिकैमा जन्तरे बाजे अरु दुईजना मानिससँग हस्यांग-फस्यांग गरी आए अनि त्यस्तै राता-राता आँखा पल्त्याएर औंला ठड्याउँदै हामीलाई तथानाम गाली गर्न लागे-‘तिमेरु हाम्रो गाउँमा किन आको ? हाम्रो कमाइ खोस्न हो ?’अरु के-के फलाके,हामीले बोल्नै पाएनौं |हामीले सबैलाई धामी-झाँक्रीमाथि विश्वास नगर्न सुझाव दिन्थ्यौं क्यारे,त्यसैले यो नै उनीहरुको कमाइविरुद्ध भएछ |पहिले-पहिले मलाई अरुले बिनासित्ति गाली गर्यो भने एकदम रिस उठ्थ्यो अनि ‘जस्तालाई त्यस्तै’ भनेझैं म पनि आगोमाथि आगो भएर खनिन्थें |तर त्यस्पालि साँच्चिकै प्रभुले मलाई परिवर्तन गरिसक्नुभएको रहेछ |जन्तरे बाजेको हप्की सुनेर मलाई पटक्क रिस उठेन,बरु म त मन्द-मन्द मुस्कुराएँ अनि उहाँहरु गाली गरीगरी थाकेर आफ्नो बाटो लागे |

म आफैं बाइबलीय वचनहरुमा त्यति भिजिनासकेको मान्छे,मैले साथमा बाइबल र स-साना पम्फलेट पनि लगेकी थिइनँ,त्यसैले सुसमाचारमा त्यति प्रबल पनि हुन सकेकी थिइनँ तर त्यो दिनको घटनाले मलाई साँच्चिकै सुसमाचारमा प्रबल बनायो |त्यो दिन त्यस्तै साँझतिर हामी दुई गोरेटोमा हिंड्दै थियौ,एक्कासी विपरित दिशाबाट दौड्दै एउटी आइमाई हामी नजिक आइन् अनि हात जोड्दै ‘मलाई बचाऊ’ भन्दै बिन्ति गरिन् |त्यसैबेला गाउँका ४/५ युवाहरु हातमा लाठो लिएर तिनको पछि आए |उनीहरु हाम्रो नजिक आइपुग्दा ती आइमाईचाहिं मेरो पछाडि लुकिन् |ती युवाहरु निकै आवेशमा थिए तर सबै मेरै नातेदार भएकाले हामीछेउ अलि संयमित भए |कुरा बुझ्दा उनीहरुले ती आइमाई(मनसरा आन्टी)लाई बोक्सी आरोपमा कुट्न आँटेका रहेछन् |मैले त्यसबखत उनिहरुदेखी मनसरा आन्टीलाई बडो मुस्किलले जोगाउन सकें |

बोक्सी प्रथा, हाम्रो समाजको विकराल समस्या, जो अन्धविश्वासको रुपमा परिचित छ,तर व्यापक रुपमा यसप्रति शिक्षित-अशिक्षित सबैको अघोषित समर्थन छ |पत्र-पत्रिकामा ‘बोक्सी आरोपमा अमानवीय व्यवहार’ पढ्दा म यो कुरीतिको समाधान कसरी होला भनी धेरैबेर घोरिन्थें तर त्यतिखेर केही गरी पनि मैले यसको समाधानको उपाय पत्ता गर्न सकिनँ |अहिले यसबखत बल्ल मलाई थाहा भयो,यसको समाधान अरु केहीमा छैन,मात्र हाम्रा परमेश्वरमा छ |

मैले आन्टीलाई हेरें,उहाँको मुहारमा त्रासका रेखा दौडिरहेका थिए,अझ मैले उनको शरीरमा सर्पजस्तो लास्किरहेको दुष्ट शैतानको कालो छाँया पनि स्पष्ट देखें,तत्कालै त्यसबखत मेरो मुखबाट यी शब्द निस्के-‘येशु ख्रीष्टको नाउँमा,तँ दुष्ट शैतान निस्किजा !’ अनि मामाको घरमा आई हामीले उहाँलाई सुसमाचार सुनायौं |हुन त उहाँलाई मामाले पहिले नै सुसमाचार सुनाएका थिए रे |उहाँले धेरैचोटी ख्रीष्टलाई इन्कार गर्नुभो तर त्यसपाली भने ख्रीष्टलाई ग्रहण गरिछाड्ने दृढता व्यक्त गर्नुभो |हाम्रो गाउँमा चर्च थिएन,त्यसैले चिमखोला गाउँमा आई उहाँलाई ग्रहण गराइयो |

उहाँलाई ख्रीष्टियान बनाइयो भनेर जन्तरे बाजेको अगुवाइमा एक हुल गाउँलेहरु नै मामाको घरअगाडि थुप्रिएका थिए |

“ए ! तिमेरले त्यो सर्किनीलाई त्यो कुइरेहरुको धर्म मान्न लायौ रे हो ? ‘कहीं नभाको जात्रा हाँडीगाउँमा’,त्यो बोक्सीले तिमेरलाई के गुन लाइदिई हँ ? यसरी जोगाउने ? लौ बाहिर निकाल,त्यो बोक्सीको भुत हामी नझारी छाड्दैनौं |’ बुढा जन्तरे बाजे झाँक्री जोशमा काँप्दै बम्किए |

त्यसपछि मैले पनि राम्रैसँग स्पष्टिकरण दिएँ-‘...तपाईहरुले झार्न नसकेको भुत हामीले झारिसक्यों |अब उहाँलाई बोक्सी आरोप नलगाउनुहोला |अब उहाँको आँखा कसैमाथि पनि लाग्नेछैन |’ मैले पनि रुढिवादी शैलीमै सफाई दिएँ |त्यैपनि हुल्याहा प्रवृत्तिका रुढिग्रस्त मानिसहरुलाई सम्हाल्न गाह्रै हुन्छ |यही सोंचेर नै मैले अघिल्लो साँझै प्रहरीलाई समेत खबर गरेकी थिएँ |जन्तरे बाजेहरू उग्र हुने लागेथे,प्रहरी आएर स्थिति काबुमा आउन सक्यो |प्रहरीले बोक्सी आरोपमा अमानवीय व्यवहार गरेको थाहा पाए सबलाई फलामे खोरमा थुनिदिने चेतावनी दिएपछि बल्ल हुल्याहाहरु लाखापाखा लागे |अनि बल्ल मनसरा आन्टी आफ्नी सानी छोरीसहित आफ्नो घरतर्फ लाग्नुभो |***

उहाँ विधवा नारी,त्यसमाथि कथित तल्लो जातकी,उहाँको सुरक्षाको लागि प्रभुसँग प्रार्थना गर्यौं |परमेश्वरको कृपाले कुनै भवितव्य भएन |नेपाली समाजमा वर्षौंदेखि जरा गाडेर बसेको छुवाछुत प्रथाको अन्त यहींमात्र सम्भव भएको कुरा उहाँले बुझ्नुभो |प्रभुमा आएपछि बल्ल उहाँलाई अरुले मानवीय व्यवहार गरेको अनुभव भयो जहाँ मानव-मानवबीच उँच-नीच र छुवाछुतको भावना पटक्क छैन,त्यहीं नै उहाँलाई जिउँदै स्वर्ग पुगेजस्तो अनुभूति भयो |

त्यसपछि म आफ्नो बिदा सकिएर राजधानी फर्किएँ |बेलाबखत आफन्तजनबाट गाउँको हालखबर थाहा भइराख्थ्यो |आन्टीलाई गाउँलेहरु खुब हेप्थे रे तर तिनीहरुको हेपाइ थोरै मात्र विश्वासीको संसर्ग र स्नेहबाटै बिर्सिन्थ्यो |उहाँलाई धेरै बढी सताउने व्यक्ति त तिनै जन्तरे बाजे थिए कारण: उहाँको रोजीरोटी जुटाउने बोक्सिरुपी शैतान दूर लखेटिएको थियो |

यद्द्पी ‘बैगुनीलाई गुनले मान्नु’ भनेझैं परमेश्वरले पनि खराबीको बदला खराबी नगर्नु तर खराबीलाई भलाइले जित्नु भन्नुभएकोले उहाँ मनसरा आन्टीले नै आफूमाथि त्यत्रो खराबी ल्याउने जन्तरे बाजेको आत्मा जित्नुभो |

गाउँमा १०/२० घरपरिवार जति कथित तल्लो जातका थिए |ती सबलाई सुसमाचार सुनाई प्रभुको राज्यमा ल्याउन आन्टी सफल हुनुभो |आफुले शैतानसित मितेरी लगाई ती अबला नारीहरुमाथि शोषण-दमन गरी आफ्नो गर्जो टार्न खप्पिस जन्तरे बाजेले त्यसयता कसैलाई पनि बोक्सी आरोप लगाउन नपाएर आच्छु-आच्छु भएछन् |त्यसैले एकदिन त आन्टीलाई भीरबाट खसालेर मारिदिने दुष्ट अभिप्राय लिएछन् |आफ्नो डोकोको भारी बिसाएर तारे भीरमा ऐंसेलु टिपेर खाइरहेको बेलामा पछाडिबाट धकेल्ने मनसायले बाजे सुटुक्क आउँदै रहेछन् |तर ‘अरुलाई खनेको खाल्टोमा आफैं जाकिन्छ’ भनेझैं चोरझैं हिंडिरहेका बाजेको अलि पर छँदै खुट्टा ढल्मलिएछ अनि त बुढा ‘लौ-लौ गुहार’ भन्दै ओरालोमा गुल्टिएछन् |’को करायो ?’ भनी झट्ट पछाडि फर्केर हेरेको त आन्टीले बाजेलाई भिरबाट लड्दै गरेको देख्नुभएछ |अनि उहाँ पनि ‘लौ-लौ’ भन्दै त्यतैतिर कुद्नुभो |बाजे त चिप्लेर तलै खसिसकेथे,आन्टी आत्तिदै कराउनुभो-‘ए..जन्तरे बा !..ए जन्तरे बा !’ वरिपरी पहाडमा ठोक्किएर उहाँको आवाज प्रतिध्वनित भयो |एकछिनपछि भीर तलबाट एउटा बुढो आवाज आयो-‘ए जेठी ! म त यहाँ अट्केछु के,लौन गुहार !’ यसो भीर तल हेरेको त जन्तरे बाजे तल एउटा गुराँसको रुखमा अड्केका रहेछन् |त्यस्तै मान्छे भएको भए उहाँले त्यत्तिकै छाडेर जान सक्नुहुन्थ्यो तर उहाँ त परमेश्वरकी छोरी,विगतका सारा कटुता एक निमेषमै बिर्सेर बाजेको ज्यान जोगाउनतर्फ लाग्नुभो |आफ्नो कम्मरको बाह्र हाते पटुकी फुकालेर डोरीको रुपमा तल फ्याँक्नुभो तर त्यतिले पनि पुगेनछ अनि हतार-हतार दाउरा बाँध्ने डोरी र डोकोको नाम्लो पनि गाँस्नुभएछ र बल्ल त्यही डोरीको सहायताले बाजेको ज्यान जोगिएछ |

त्यसपछि बल्ल बाजेको मनको आँखा खोलिएछ,उहाँको हृदयमा बल्ल परमेश्वरप्रति सकारात्मक विचार पलाएछ |अस्ति गएको शनिवार उहाँले प्रभुलाई ग्रहण गर्नुभो रे |अनि चर्चमा सबैको सामु गवाही दिनुभो रे,सबभन्दा महत्वपूर्ण कुरा उहाँले एउटा गम्भीर रहस्योद्घाटन गर्नुभो—‘...वास्तवमा धामी-झाँक्रीको शैतान र बोक्सीको शैतान एक-आपसमा मिल्छन्,बाहिर धामीले बोक्सी लघारेकोजस्तो देखिएपनि फेरि फर्की आउन निम्ता दिईएको हुन्छ,त्यसैले त समस्या फेरि-फेरि बल्झिन्छ |तर यसमा मानिसको दोष कदापि हुन्न किनकि शैतानले उसलाई त्यसो गर्न बाध्य पारेको हुन्छ |त्यो मानिसलाई धामीतन्त्र वा बोक्सीतन्त्र सिक्न नमाने उसकै शरीरलाई हानी गर्ने वा प्राण नै लिने धम्की दिएको हुन्छ |आफुलाई रातदिन सताउने त्यस शैतानलाई परास्त गर्नसक्ने परमेश्वरलाई नचिनेपछि उसले बाध्य भएर तन्त्रविद्द्या स्वीकार्छ |  अनि ‘जो होंचो,उसकै मुखमा घोंचो’ भनेझैं जो आर्थिक सामाजिक रुपमा कम्जोर हुन्छ,उसैलाई नै बोक्सीको शैतानले समात्छ |शैतान मानिसको शरीरलाई यातना दिएर आनन्दित हुने हुनाले पिडित पक्षले मानसिक र शारीरिक यातना पाउँछ | र यस किसिमको शैतानचाहिं परमेश्वरले मात्र लघार्न सक्नुहुन्छ |’

                  अनि अचेल जन्तरे बाजे पनि सुसमाचारमा कस्सिएका छन् रे |मलाई एकदम खुशी लाग्यो |मम्मिसित धन्यवादको प्रार्थना चढाएँ, साथै यस्तैगरी परमेश्वरले धामी र बोक्सी प्रथाको अन्त्य गरी अबदेखि गाउँ-गाउँमा ढ्यांग्रोको आवाज होइन परमेश्वरको स्तुतिगानमा झमझम भजनको सुमधुर संगित सुन्न पाइयोस् भन्ने कामना पनि गरें |साथै प्रभुको कृपाले स्विजरल्याण्ड पुगेकी बिमलालाई पनि यो खबर सुनाउन इन्टरनेट खोल्नतिर लागें |

[समाप्त]
प्रतिक्रिया दिनुहोस्