Showing posts with label Story. Show all posts
Showing posts with label Story. Show all posts

Wednesday, August 16, 2023

चोट ------------------(कथा)

सर्वप्रथम परमेश्वरलाई धन्यवाद होस् किनकि उहाँले टुटेको, फुटेको अनि निमोठिएको मेरो तन-मन दुवैमा उहाँको अलौकिक मल्हम दल्नुभएको छ।

फर्केर हेर्दा, मेरो जीवनमा 'प्रकाश'को पुस्तकमा लेखिएझैं वा त्योभन्दा पनि बढी नै पीडादायी महासंकट परेझैं लाग्छ तर म जान्दछु कि यो संसारको जुनसुकै र जस्तोसुकै पीडा किन नहोस्, त्यो कलवरी क्रुशको पीडाभन्दा नगन्य नै हुन्छ तरम मात्र एउटा मान्छे न हुँ माटोजस्तो कमजोर मुटु भएको माटाकै मान्छे, त्यसैले पुरानो खाटा बसिसकेको घाउ नकोट्याऊँ भनेपनि आज फेरि कारणवश कोट्याइछाडें।

घाउ कोट्याइनुको संयोग भनौं कि विडम्बना, आज त्यही दिन, त्यही गते पर्यो, जुन दिन मेरो जीवनमा कहिल्यै नसोंचेको हृदयविदारक अकल्पनीय घटना घट्यो अर्थात् मेरो साधारण जीवनमा यही दिन परमाणु बम खस्यो जसबाट म मृत्युबाट त जोगिएँ तर मेरो जीवन परमाणु विध्वंसपछिको हिरोसिमा र नागासाकीको अवस्थाझैं जर्जर र भग्नावशेषमय भयो।

म विवाहको करिब ७ वर्षपछि दुई सन्तानकी आमासमेत भइसकेपछि पहिलोपल्ट तीज मनाउन दुई बालक-छोरोलाई काखी च्यापेर माइत गएँ । श्रीमान विदेश जानुभएकोले साथमा हुनुहुन्थेन । साथमा भएको ठूलो छोरो औंलामा झुन्डिरहने उमेर पाँच वर्षको थियो भने सानो छोरो दूधमुखे नौ महिनाको थियो ।

मैले माइतमा पहिलो तीज राम्रैसँग बिताएँ अनि सबैलाई बिदा गरी आफ्ना लालाबालासहित घर फर्किन बस चढें । बाटाभरि मैले माइतमा बितेका रमाइला पल, परदेशिएका श्रीमान तथा चिचिला छोराहरुको उज्ज्वल भविष्यबारे सोंचिरहें । ६/७ घन्टाको सकुशल यात्रापछि घर पुग्न मात्र एक घण्टा बाँकि थियो, त्यॊ एक घण्टा मेरो लागि अन्तहीन अनन्त सावित भयो जसले सपनीमा अहिले पनि तर्साउँछ । नजाने के भयॊ कुन्नी ? एउटा घुम्तीमा बस दाँया मोडिदा आफसेआफ चिप्लेर अनियन्त्रित हुँदै सडकमै उतानो पर्यो । त्यो अत्यासलाग्दो पलमा मलाई आफ्नोभन्दा नानीहरुको फिक्री नै बढी लाग्यो । म जान्दिनथें कसरी जोगाउने तर विपदको त्यो घडीमा दुवै छोरोलाई काखमा राख्ने र बेस्सरी दुवै हातले समातिराख्ने बुद्धि आयो । बसले अनियन्त्रीत भई झ्याँकेर पछार्दासम्म अरु यात्रुहरुका कोलाहल र मेरा छोरोहरुको क्रन्दन कानमा गुञ्जियो, त्यसपछि टाउको कता ठोक्किएर, जिऊ कता बटारिएर आँखाभरि निस्पट्ट अन्धकार छायो अर्थात् म पूर्ण अचेत भएँ ।

होश खुल्दा मैले आफूलाई अस्पतालको बेडमा पाएँ । छेवैमा आमाबा, सासु-ससुराको निन्याऊरो अनुहार देखें, अनि झट्ट मैले कहालीलाग्दो दुर्घटनाको त्यस क्षणलाई सम्झन पुगें । सम्झँदा मलाई बेस्सरी भाउन्न छुट्यो तर सँगसँगै छोराहरुलाई सम्झें अनि रिंगटालाई बेवास्ता गर्दै बल्लतल्ल आवाज निकाली आमालाई सोधें,

"आमा ! मेरा बाबुहरू खै ?"

प्रश्न गर्दै रिंगटाको कारण तिर्मिराएका आँखा र आँखीभौं खुम्चाउँदै म उठ्न खोजें तर सकिनँ। आमाले 'दुर्घटनाको कारण तँ अहिले धेरै कमजोर भा'छस्, नउठ् अहिले, छोराहरु सकूशल छन् र घरमै छन्, तँ चाँडो निको भई अनि घर गएर भेट्लास् ल ।' भन्नुभयो।

आमाले यति भनी सम्झाएपछि आत्तिएको मन अलि शान्त भयो अनि म चाँडो निको हुने (निरर्थक) प्रयासमा लागिरहें । दुर्घटनाको तीन दिनपछि बल्ल मेरो होश खुलेको रहेछ अनि मेरो मेरुदण्डमा चोट लागेको रहेछ जसकारण तबदेखि उसो मेरा पाइलाले यो धर्तीमा फेरि कहिल्यै टेक्न नसक्ने भएको रहेछ । अर्थात्, म मेरुदण्ड पक्षघाती भएकी रहेछु जसकारण मेरा खुट्टा नचल्ने मात्र होइन मेरो कम्मरदेखि मुनिको भाग चेतानाशुन्य भएको रहेछ अनि अझ त्यति मात्र होइन, वयस्क भएर पनि नाबालकजस्तो माफ्नै दिसा-पिसाब आएको र चुहिएको पनि थाहा नहुने रहेछ, हाय जिन्दगी !

सुरुसुरुमा कसैले पनि मलाई राम्ररी मेरुदण्ड पक्षघातबारे भनेन, सायद मानसिक आघात पर्छ भनेर होला । मचाहिं आफ्नो अधमरो शरीर देखेर पनि निको भइछाड्ने धुनमा थिएँ किनकि मलाई जतिसक्दो चाँडो आफ्ना चिचिला छोराहरुका मुहारभरि चुम्नु थियो, एउटी दुःखी आमाको आतुरी ! लगभग एक महिना निरन्तर फिजियोथेरापी गरेपछि बल्ल म उठेर व्हिल्चियरमा बस्न सक्ने भएँ अनि मलाई घरको मायाले साह्रै तानेकोले डाक्टरहरुलाई 'एक हप्ताको लागि भएपनि बिदा दिनुस्' भनी बिन्ती गरें अनि बिदा पाएपछि खुशी हुँदै घर गएँ । यात्रामा मैले बुझें कि हामीजस्ता अपांगता भएका व्यक्तिहरुलाई लामो दूरीको यात्रा ज्यादै नै कष्टकर हुँदोरहेछ । तर जे होस्, जति नै कष्ट भएपनि मैले ती कष्ट भुलाइदिएँ ।

घर पुग्नासाथ ठूलो बाबुलाई हात-खुट्टामा प्लस्टर लगाएर ऒछ्यानमा सुतिरहेको देखें, उसको हालत देख्नासाथ आँखामा आँसु भरियो । बिस्तारै उसको छेउमा गई उसको कपाल मुसारें अनि भरिएको कण्ठमा यति भनें,

'बाबु !'

मेरो स्वर सुनेर बाबुले बिस्तारै आँखा खोल्यो अनि 'ममी !' भन्दै रोयो । मेरो राजा, त्यस्तो अवस्थामा नभएको भए, सायद खुशीले उफ्रिदै मेरो काखमा आएर मलाई म्वाई खान्थ्यो होला तर त्यसो गर्न नसकेकैले होला ऊ रोयो । ऊ रुँदा अघिदेखि नै भरिएका मेरा आँखाबाट आँसु बाँध भत्किएझैं गरी झरे । यद्यपि, मैले बाबुको कपाल मुसार्दै उसलाई सम्झाएँ,

'नरो बाबु नरो, मेरो ज्ञानी बाबु नरो, अब चाँडै निको हुन्छ ल ।'

खासमा म आफैं रुँदै थिएँ तर आँखाबाट बरर्र आँसु झरेपनि त्यसलाई पुछ्दै अनि आफ्नो हिक्कालाई बलैले दबाउँदै छोरोलाई सम्झाउँदै थिएँ । त्यतिकैमा नन्द पनि कोठामा आइन् र सासुको छेउमा बसिन् । अघिसम्म मैले सानो बाबुलाई नदेखेपनि नन्दले आफ्नो कोठामा लगिन् होला भन्ने सोंचें (किनकि उनको कोठा दोस्रो तल्लामा थियो अनि उनले नै मेरो सानेलाई मेरो अनुपस्थितिमा हेरचाह गर्छिन् भन्ने सुनेको थिएँ। ) अनि म आएको थाहा पाएपछि पक्कै पनि साथै ल्याउनेछिन् भन्ने सोंचें तर बाबुलाई उनको साथमा नदेख्दा एकछिन मन आत्तियो तर झट्टै 'माथि सुतेकै होला नि' भन्ने सोंचें अनि नन्दलाई सोधें, 'अनि सानो बाबु खै उजेली?'

मेरो प्रश्न सुन्नासाथ उजेली अँध्यारो मुख देखाएर मलाई पुलुक्क हेरी मात्र अनि आमाको मुख हेरी, मानौं ऊ सासुलाई बोल्न ईशारा गर्दै थिई । सासुआमाले पनि छिट्टै कुराको पोको फुकाईहाल्नुभयो, 'अब कति ढाँट्नु तँलाई ? ल अब सुन्, तेरो सानो बाबु छैन, तैले च्यापेर मारिस् त्यही दिन....।'

यो सुन्नासाथ म जोडले चिच्याएँ, 'नाइँ...यो हुन सक्दैन बाबु!......हुँहुँहुँ......।' म आफैंलाई थाम्न नसकी बाँध फुटेझैं रोएँ, मसँगै बल्लतल्ल सम्हालिएको ठूलो बाबु पनि रोयो। म त्यसरी आकुल-व्याकुल भएर रुँदा सासुआमाले सान्तवना दिन त परै जाओस्, झन् मेरॊ पोलेको घाउमा नुनचुक दल्ने काम गर्नुभयो। मेरो आँसुको पर्वाह नगरी यतिसम्म भन्न भ्याउनुभयॊ, ‘ठूलेको यस्तो कन्तबिजोग छ, आफूचाहिं अधमरो भएर नी किन मस्तले बाँच्नुपर्या होला ? यो सब तँ अलच्छिनले गर्दा हो।'

म त्यसै त पीडाले विचलित भएको त्यॊ अवस्थामा झन् उहाँका यी शब्द सुनेर मुटु छियाछिया भयो। उहाँको आक्षेप स्वाभाविक एवं ठिकैजस्तो लाग्यो, त्यसैले केही भनिनँ तर आँखाबाट आँसुको भल बग्ने क्रम चाहिं रोकिएन, निकै बेर ।

त्यसको दुई दिनपछि मैले उपचार गरिरहेको पोखराको हरियोखर्क अस्पतालमा नै उपचार गराउने भनेर मैले ठूलो छोरोलाई आफूसँगै एम्बुलेन्समा पोखरा ल्याएँ अनि आफ़्नोभन्दा छोरोको शिघ्र स्वास्थ्यलाभको कामना गरें।

साविकझैं मेरो फिजियोथेरापी सकेपछि एकदिन डाक्टरलाई सोधेँ, 'डाक्टर सा'ब, म कहिले हिंड्न सकूँला ? डेढ महिना भयो फिजोयो गरेको पनि, अझै मेरो खुट्टामा अलिकति पनि चेतना छैन, किन होला ?' मेरो प्रश्न सुनेपछि डाक्टरले एकछिन पल्याक-पुलुक मभन्दा अलि पुराना व्हिल्चियर प्रयोगकर्ता साथीहरुलाई हेर्नुभयो अनि बिस्तारै मेरो वास्तविक अवस्थाबारे भन्नुभयॊ। सबै वास्तविकता थाहा पाएपछि म भक्कानिएँ किनकि मेरॊ आशा एकाएक चकनाचुर भएको थियो। 'डाक्टर सा'ब, म यस्तो जिन्दगी बाँच्न चाहन्न अब, बरु प्लीज मलाई मर्ने सुई दिनुस्।' - यस्तो भन्नुसम्म भनें तर डाक्टरले मलाई धेरै कुरा भनी सम्झाउनुभयो; यस्त्तॊ नियति भोग्ने म मात्र होइन, सँगैका मेरा मित्रहरुको कहानी पनि त्यस्ता रहेछ, अझ म आमा भएकीले छोरोको निम्ति नै बाँच्नुपर्छ भनी बताउनुभयो। त्यसपछि बिस्तारै मेरा आँसु थामिए।

अस्पतालमा बस्दा सबभन्दा बढी सान्तवना प्रभुको सुसमाचार सुनेर पाएँ जसले मलाई टुटेकै भएपनि बलियो भई जिउने आँट दियो। अब म प्रभुकै निम्ति बाँच्छु जसले मेरोलागी क्रुशको भयानक पीडा सहनुभयो। मलाई मेरो श्रीमानले त्याग्नुभयो तर माइतीमै आश्रय पाएकी छु अनि छोरोलाई आफूसँगै राखी हुर्काउँदै छु। भविष्यमा मजस्ता अपांगता भएका व्यक्तिहरुप्रति लक्षित कुनै रोजगारमूलक तालिम लिई स्वावलम्बी बन्ने मेरो धोको छ र यही प्रार्थना मेरा प्रभुलाई पनि छ, आमेन !

(समाप्त)

Wednesday, January 25, 2023

स्वतन्त्र--------------------(कथा)

'तिमीहरुले सत्यलाई चिन्नेछौ र सत्यले तिमीहरुलाई स्वतन्त्र तुल्याउनेछ । (यूहन्ना ८:३२)

सुरुमा सरसर्ती बाइबल पढ्दा यो वचन त्यति राम्ररी बुझेकी थिइनँ, सतही पारामा मात्र बुझेकी थिएँ किनकि म, मेरो परिवार प्रभुमा आएदेखि नै स्वतन्त्र भएको थियो । केबाट स्वतन्त्र भन्दा 'धामी-झाँक्रीका अनेक टन्टादेखि' स्वतन्त्र ।

पहिलोपल्ट चर्च जाँदा एकदम नौलो र रोमान्चक अनुभूति भयो । झल्याँस्स सम्झें, अर्को हप्ता ठ्याक्क शनिबार मेरो पीरियड़ सुरु हुने दिन, जसरी पहिले मलाई पीरियड़मा देउताको अगाडि पर्नु मनाही थियो, सोंचें- 'यहाँ पनि पक्कै त्यस्तै होला' र बीचमा भजन-किर्तन चलेकै बेला छेवैकी एउटी दिदीलाई सोध्न मन लाग्यो, उहाँको कानैमा मुख लगेर सोधें-'दिदी ! पन्छेको बेलामा चर्च आउन मिल्दैन होला है ?' मेरो प्रश्न सुनेर दिदी मुसुक्क मुस्कुराउनुभयो अनि भन्नुभयो- 'मिल्छ नानु, प्रभुको दृष्टिमा कोही पनि अशुद्ध हुँदैन' । आहा ! मलाई कस्तो स्वतन्त्र आभाष भयो भने यो कुरा गएर म सबै समुदायकी छोरीहरुलाई सुनाइदिऊँझैं भयो । झट्ट मलाई मेरी दुई साथीको याद आयो, एउटी ब्राह्मण समुदायकी र अर्की नेवार समुदायकी । एकपल्ट स्कूलमा खाली पिरियडमा यसकै बारेमा कुरा गरिरहँदा मैले बल्ल मेरा साथीहरुको समुदायमा यस्तो बेलामा छोरीहरुलाई झन अछुतसरह व्यवहार गरिँदो रहेछ भन्ने थाहा पाएँ ।

अलग्ग एउटा छुट्टै कोठामा एक हप्ता सम्म बस्नुपर्छ रे अनि बाबा र दाजु-भाइको मुख हेर्नुहुन्न रे | ‘आँइ हो र ? त्यसोभए अनि स्कूल नि ? स्कूल आउन हुन्छ त ?' भनी सोध्दा 'पहिले-पहिले बाहिर पटक्कै निस्कन पाइँदैन थियो रे तर पछि स्कूल चाहिं जान पाइने भयो रे' भन्ने जवाफ पाएँ । अझ पहिलोपल्ट रजस्वला हुँदा चाहिं उनीहरुलाई ११ दिनसम्म एउटा शुन्य कोठामा अलग्गै राखेको सुन्दा म चुक्चुकाएँ किनकि मेरो समुदायमा त्यसरी छेकथुन गरिंदैन । म पहिलोचोटी रजस्वला हुँदा आमाले बाहेक परिवारमा अरु कसैले पनि थाहा पाएन, तर उनीहरुको चलन-अनुसार अलग्गै बस्दा सबैले थाहा पाउँछन् |

काँचै उमेरको काँचो दिमाग भएपनि मैले भनें- 'यस्तो चलन त राम्रो होइन । हामी छोरी मान्छेलाई झन् हेप्ने चलन हो यो त । किन तिमीहरुलाई यसको विरोध गर्न मन लाग्दैन ?'

बिनाले भनिन्- 'लाग्न त लाग्छ नि तर के गर्नु ? पूर्खादेखिको चलन !' तर नमुले भनिन्- 'मलाई त यसको विरोध गर्न जरुरी छैनजस्तो लाग्छ ।' छक्क पर्दै मैले सोधें- 'किन ?' अनि उनले खितिती हाँस्दै भनिन्- 'आ ! त्यसबेला किचेनमा काम गर्नुपर्दैन, झन् हाइसन्चो हुन्छ, सुतेर बसे नि भो, पढेर बसे नि भो ।' मलाई धेरैजनाको यस्तै सोंच भएकोले यस्तो चलनले निरन्तरता पाएको हो भन्ने लाग्यो । तर अचम्म के भने एउटै देशवासी भएपनि हाम्रो समुदायको चलन चाहिं एकदम फरक थियो र छ पनि । हाम्रोमा अलग्गै कोठामा बस्नुपर्दैन थियो अनि पूजाकोठा वा तुलसीको मठछेउ मात्र जान मनाही थियो, बाँकी सब कुरामा स्वतन्त्र थियौं । बिस्तारै-बिस्तारै जब म ठूली हुँदै गएँ अनि नारीवादलाई राम्ररी बुझ्न थालें, त्यसपछि मलाई के-केमा नारीहरु दमित छन् भनेर अझ बढी गहिरिएर केलाउन मन लाग्यो । केलाउँदै जाँदा हाम्रै समुदायमा पनि विभिन्न कुरा वर्जित गरिएको थाहा पाएँ । जस्तै खेतबारीको बोट-बिरुवा छुन नहुने (छोयो भने मर्छन् रे), दुहुनो गाई-भैंसी छुन नहुने (छोयो भने कि मर्छन्, कि बिरामी पर्छन्, कि दूध दिन छाड्छन् रे) तर तिनै गाई-भैंसीलाई घाँस काटेर दिन चाहिं हुने रे अनि वनबाट दाउरा काटेर ल्याउन चाहिं हुने रे, कस्तो वाहियात् । यी यावत कुरा गाउँले परिवेशमा हुर्किएकी माइलीले भन्दा मलाई बडो अनौठो लाग्यो र सोधें,

'अनि तिमीले नछुने भाको बेलामा भैसीलाई छोएनौ त ?'

'आ ! मैले त छोइदिएँ नि !’

‘अनि भैंसी मर्यो त ?'

'हाहाहा काँ मर्नु… फास्टा कुरा हो सब…हाम्रो काली (भैंसी)लाई घाँस हाल्दै गर्दा मैले त्यसको गाला मुसारेन भने कस्तरी 'बाँ.…' भन्दै कराउँथी, म त मन थाम्न सक्थिन, आमाले नदेख्ने गरी मुसरिदिन्थें । एकचोटी आमाले देखीचन, अब मलाई दाउराले हिर्काउलिन् भनेको त, हतार-हतार पाती टिपेर चोखो अमखोरामा पानी लिएर पातीले आफ्नो कानको रिङ छुँदै अमखोराको पानीमा चोपल्दै भैंसीमा, आफूमा जताततै छर्किन थालिन्, के गरेको ? भन्दा सुन-पानी छर्केको रे, नछुनेले छोइछिटो गर्यो भने त्यसरी सुनपानी छर्केर चोख्याउने रहेछन् । हाहाहा ऐया, मलाई त भित्रभित्रै हाँसो उठेथ्यो तर आमा रिसाउलिन् भनेर त्यत्तिकै ओंठ टोकेर बसें । है ? काँहीं नभा चलन हाँडीगाउँमा !'

'त्यही त नि ! तर जे होस्, हाम्रो चलनमा बाहुन-क्षेत्रीका छोरीहरुले जस्तो गरी धेरै बार्नुपर्दैन, हाम्रो त ठीकै छ भनम तर तिमीलाई थाहा छ ? सुदूरपश्चिमका गाउँहरुमा झन् 'छाउपडी भन्ने चलन छ, नछुने भाको छोरीलाई एक्लै घरदेखि पर जंगल नजिकै छाउगोठ बनाएर राखिदिन्छन् अनि त्यहीं बस्नुपर्ने रे, त्यो पनि ३ दिन होइन, १४/१५ दिन रे ।'

'आम्मै ! हो र ? आबुई ! हामीलाई एक्लै त घरमै नि कस्तो डर लाग्छ, तिनीहरुलाई कस्तो भा होला है ? बिचरीहरु च्वच्व्च्व ।'

त्यसपछि मैले उनलाई छाउपडी प्रथाको नालीबेली सुनाएँ; असफल छाउपडीविरुद्धका अभियानहरु र छाउगोठमा भएका बलात्कारका घटनाका इतिवृत्तान्तहरु । ती सब सुनेपछि उनी साह्रो आत्तिइन्,

'ओहो यस्तो नराम्रो चलन हाम्रो नेपालमा रै'छ है, के गर्ने त ? जति नै अभियान चलाए नि के काम तिनीहरुको दिमागमा देवता रिसाउला र विपत्ति पर्ला भन्ने डर हुन्छ, त्यहीभ’र पूर्खाको चलन छोड्न सक्दैनन् बाबै ।'

नछुने हुँदा छोइछिटो गर्यो भने देवता रिसाउने कुरो चाहिं मलाई फेरि बिझ्यो, उनले अझै भनिन्;

'हैन यी देवता भनाउँदा पनि कस्ता रीसाहा होलान् है ? हाम्रो प्राकृतिक गुणलाई पनि घृणा गर्ने ? आखिर देउतीनीहरु पनि पन्छिन्छन् क्यारे तर हामीलाई मात्र केके जाति नियम रे । हामीहरु नपन्छिए त यो संसारै चल्दैन बाबै ।'

उनले यसो भनिरहँदा म सोंचमग्न भएँ, हो त नारीहरुमा यो गुण नभएको भए सन्तानोत्पादन प्रक्रिया नै हुने थिएन अनि संसारमा मानव-अस्तित्व उहिल्यै लोप भइसक्थ्यो, एकछिन रोकेर उनले फेरि थपिन्,

'उ: किस्नेको साइँली फुपूलाई त्यहीभ’र कसैले ब्या गरेन केरे, बिचरी फुपू, अहिलेसम्म एक्लै बूढी-कन्ये नै छिन् ।'

उनले यसो भन्दा मेरो सोंच पनि यतै मोडियो । कृष्ण (किस्ने) हाम्री कान्छी छेमाको छोरो हो, हाम्रो भाइ पर्यो, उसकी साँहिली फुपूबारे पहिलोपल्ट एकदिन मैले आमाकै मुखबाट सुनेकी थिएँ । पहिलोपल्ट रजस्वला भएदेखि मेरो मनमा अनेक कुरा खेल्न थालेका थिए, यस्तो अप्ठयारो बेहोर्नुपर्ने रहेछ र त छोरी भएर जन्मिनुभन्दा छोरो भएर जन्मिनु बेस भनिने रहेछ भन्ने लाग्यो, त्यसपछि म आफूलाई छोरो भएर जन्मेको हावा कल्पना गर्न थालें । फेरि त्यही हावा कल्पनामा बहँदाबहँदै मलाई छोरो भएर जन्मिन पनि मन लागेन । एकाएक छोरी नै भएर जन्मिने तर पन्छिन नपरे कस्तो हुन्थ्यो होला ?' भन्ने सोंचें (हाहाहा, गिदी पनि कस्तो के मेरो !) । 'धत् उल्लू ! त्यस्तो पनि काहीं हुन्छ ?' भनेर आफैंदेखि हाँसो उठ्यो । तर म साह्रै जिज्ञासु जो परें, यो कुरा आमालाई सोध्न मन लाग्यो र एकदिन सुटुक्क सोधें, 'ममी, छोरी भएपनि कहिल्यै नपन्छिने कोही हुन्छ कि नाइँ ?' आमाले कत्ति पनि नहाँसिकन त्यतिखेरै भन्नुभयो,

'अँ त्यस्तो हुन्छ नि कसैलाई, किन नहुने ? त्यो किस्नेको साइँली फुपू त्यस्तै भाकोले त कसैले ब्या गरेन नि ।'

प्रकृतिले सिर्जेको यस्तो अपवाद पनि हुँदो रहेछ भन्नेकुरा मैले त्यतिबेलै जानेकी थिएँ, अहिले फ़ेरि माइलीको मुखबाट तिनकै कुरा सुन्दा म एकछिन सोंचमग्न भएँ । ती फुपूलाई नि:सन्देह आम नारीलाई जस्तो प्रेम, विवाह र सन्तानको रहर पक्कै थियो होला, पक्कै पनि सन्तानलाई गर्भदेखि काखमा बोकेर दूध चुसाउँदै मातृत्वको अनुभूति लिन मन थियो होला तर प्रकृतिले नै तिनको रहर कहिल्यै पूरा हुन दिएन । गाउँमा मेलापात गर्दा तिनी हिंड्ने गोरेटोमा गाउँकै अल्लारे केटाहरु पनि परेछन् भने अलि परैबाट ती केटाहरु फरक्क फर्किन्थे रे, 'बाटैमा थारो भैंसी आउँदै छ, सावधान है केटा हो, हान्ला है !' भनी मरीमरी हाँस्दै एक-अर्कालाई सतर्क पार्थे रे, त्यसै…। समाजले त नारीलाई हेप्यो-हेप्यो तर प्रकृतिले पनि हेपेको एउटा जीवित उदाहरण भेटिंदा म अवाक् रहें ।

फेरि मनको अर्को आवाजले भन्यो, 'होइन, नारीलाई हेप्ने पीडक प्रकृतिभन्दा यो समाज हो जसले उनीहरु रजस्वला हुँदा छोइयो भने रिसाउने देउतालाई पुज्छ, त्यसैले रिसाउँछ, त्यस्सै रिसाउँछ । तब म गम्थें, 'यस्तो कुनै देउता भए हुन्थ्यो जसले रजस्वला भएकी स्त्रीलाई स्नेहले स्विकारोस् अनि बल्ल ती देउता रिसाउने भयले छाउगोठ बस्न बाध्य छोरीहरु पनि स्वतन्त्र हुने थिए ।' अनि 'त्यस्तो देउता होला त काहीं ?' भनेर मेरो मनले त्यतिबेलैदेखि खोजिरहेको थियो जुन खोज धेरै वर्षपछि अनेक बाधा-व्यवधानको सामना गर्दै, अनेक हण्डर र ठक्कर खाएपछि बल्ल पूरा भयो । अर्थात् ख्रीष्ट येशुमा आएपछि बल्ल पूरा भयो ।

सुरुमा नयाँ करार बाइबल हात पर्नासाथ के-के लेखिएको रहेछ भन्ने कौतुहलतासाथ पढ्दै गएँ । एउटा घटना पढेपछि मलाई मेरो मनले खोजेको देउता यी नै रहेछन् भन्ने तत्वज्ञान भयो अर्थात् भनूँ न 'मैले 'ढुंगा खोज्दा ठ्याक्कै देउता' भेटें । एकदिन जब येशु आफ्ना चेलाहरुसहित भीडबीच भएर जाँदै हुनुहुन्थ्यो, त्यसबेला पछिल्तिरबाट एकजना बाह्र वर्षदेखि रक्तस्रावबाट पीडित स्त्रीले उहाँको लुगाको एक छेऊ छोइन् किनकि तिनले 'मैले प्रभुको लुगाको छेऊ मात्र छोएपनि म निको हुन्छु' भन्ने सोंचिन् । अनि साँच्चै नै तिनी प्रभुको लुगाको छेऊ छुनासाथ निको भइहालिन् । त्यतिबेलै आफ़ूबाट शक्ति बगेको थाहा पाएर येशु त्यहीं टक्क अडिनुभयो अनि भीडतर्फ फर्किएर सोध्नुभयो, 'कसले मलाई छोयो ?' चेलाहरुले 'प्रभु ! भीडले तपाइलाई ठेलिरहेको छ र तपाई किन ‘मलाई कसले छोयो भन्दै हुनुहुन्छ ?' भनेर भने । तब फेरि येशुले भन्नुभयो, 'होइन मलाई कसैले छोएकै हो किनकि मबाट शक्ति गएको मैले थाहा गरेको छु ।' उहाँले यस्तो भन्नुभएको सुनेपछि ती स्त्री डराई-डराई सबैको सामुन्ने आइन् र सबैलाई आफ्नो बाह्र वर्ष पुरानो रक्तस्रावको व्यथा प्रभुको लुगाको छेऊ छोएर निको भईन् भन्ने कुरा बताइन् र प्रभुले खुशी भएर तिनलाई झन् आशिष दिएर पठाउनुभयो । वाह ! रक्तस्रावको कारण देखाई स्त्रीलाई अशुद्ध र अछुत मानेको हाम्रो हिन्दु देउताहरुभन्दा येशु यसैकारण महान हुनुभयो किनकि उहाँले त्यस्ती स्त्री असुद्ध वा अछुत हुँदिन भन्ने कुरा सबैका सामु खुल्लमखुल्ला बताउनुभयो । त्यस स्त्रीले आफ्नो स्पर्श गुप्तमै राख्न खोजेकी थिई तर प्रभुले सबैका सामू प्रकट गरी समाज-परिवर्तनको घोषणा गर्नुभयो । वाह ! यो कुरा घामझैं छर्लंग भएपछि म खुशीले गद्गद् भएँ र प्रभुमा ढिलोचाँडो भएपनि आएकोमा आफूलाई भाग्यमानी ठानें ।

यसर्थ, येशुको यो सुसमाचार म ती सुदुरपश्चिमका छाउपडी प्रथा व्याप्त सबै गाउँहरुमा पुगोस् भन्ने चाहन्छु ताकि अबदेखि उसो त्यहाँका चेलीहरु रजस्वलामा छुँदा रिसाउने देउता भनाउँदोको भयबाट स्वतन्त्र हुन सकुन् र त्यो छाउपडी इतिहास बन्न सकोस् अनि यसका कारण उत्पन्न हुने नारी अस्मिता हरणका दुर्घटनाहरु निमिट्यान्न होउन् ।

तसर्थ म भन्छु, दुष्ट पुरुषका दुष्ट आँखादेखि चेलीहरुलाई खासमा कसले रक्षा गर्न सक्छ ? -हाम्रा एकमात्र प्रभु येशुले सक्नुहुन्छ, किनकि उहाँमा नै वास्तविक रक्षा र स्वतन्त्रता छ, आमेन !!! (समाप्त)

Sunday, August 29, 2021

हिरो

 

 

उसने तो एक मन्जिल छु लिया,

मैं तो बस युंही देखता रह गया ।

सपना तो मैने भी देखी थी ,

लेकिन नाजाने कबसे, मैं तो सोता ही रह गया ।……

 

हामी बुडाबुडीको कोरोना पोजिटिव निस्केपछि आज अस्पताल बसेको दोस्रो दिन, हिजैदेखि गिदीमा अनेक कुरा खेल्दै थिए । आज बिहानैदेखि भने हिरोलाई सम्झेर माथिको मुक्तक हिन्दीमा रच्न मन लाग्यो किनकि तिनको नामै 'मन्जिल', एक आगन्तुक हिन्दी शब्द । तिनी कुनै फिल्मी हिरो होइनन्, न कुनै प्रख्यात खेलाडी वा वैज्ञानिक । तिनी त वास्तविक जीवनको हिरो हुन्, मजस्तै सोंच भएकाहरुको प्रेरणादायी 'हिरो' । तर साँच्ची भन्दा म तिनीजस्तो सोंचवाला कहाँ हो र ? म त केवल तिनको फ्यान हुँ भन्दा हुन्छ बरु । सायद यो प्यान्डेमिक अवस्थामा क्वारेन्टाइनमा भएकोले होला मलाई अचेल मृत्यु त्यसै-त्यसै नजिकै छ जस्तो लाग्छ ।  अनि त्यही भएर, जीवनको पानाको 'द इन्ड' आउनुअघि एकपल्ट सरसर्ती अघिल्ला पानाहरुको रिवीजन गर्न मन लाग्यो ।

 

जीवनमा मैले पनि, आम मानिसले भन्दा केही फरक एउटा उम्दा सपना देखेको थिएँ । त्यो सपना युवावस्थादेखि नै आँखाभरी सजिएको थियो, होइन-होइन साँच्ची भन्दा त्यसको बिऊ त बाल्यावस्थामै रोपिएको थियो र पो त्यो युवावस्थामा आइपुग्दा ठूलै बोट भई झ्याङ्गियो । सानैदेखि विधवा आमाको संघर्ष हेर्दै गरिबीमा हुर्किएकोले होला, म त्यस्तै १२/१३ वर्षको थिएँ होला, त्यसैताका मलाई ठूलो भएर गरिबकै निम्ति केही गर्ने लालसा जाग्यो । त्यसको लागि के गर्ने, के नगर्ने टुंगो नलागेको बेलामा आफ्नै स्कूलको महान शिक्षक 'सागर सर'को प्रेरणा पाएर एकदिन मैले सरजस्तै असल शिक्षक बन्छु  भन्ने सपना साँचें । त्यसपछि आफूभन्दा पनि गरिब बाल-बालिकाहरुको हालत देखें जो सामान्य सरकारी स्कूल पनि जान सक्दैन थिए । उनीहरुलाई आफ्ना आमाबासँगै खोला किनारमा कलिला हातहरुले गिट्टी फोडेको दृश्य देख्दा मेरो मन कटक्क दुखेको थियो। त्यसैबेला मैले सोंचें यिनीहरुलाई पनि सित्तैमा पढाउने एउटा स्कूलै खोल्न सके…|

 

तर बिचरा म, सोंचेको/देखेको सबै सपना पूरा भएन वा गर्ने सकिएन । त्यस्तो सपना पूरा गर्न त आँट चाहिन्छ, आँट जुन हिरोमा मात्र हुन्छ, मजस्तो लुरे त भीडको 'रमिते' मात्रै हो । संसारको आम मानिसझैं आफ्नै चक्करमा जिउने क्रममा मैले मेरो त्यो उम्दा सपनालाई साकार रुप दिन सकिनँ तर तिनले सके किनकि तिनले पहिले आफ्नो लक्ष्यलाई जोडसित पक्रेर भेट्टाए अनि बल्ल लक्ष्य-इतरका कुरा पनि सफलतापूर्वक हासिल गरे । मलाई थाहा त थियो, 'प्रेम र परिवार'को चक्करमा पहिल्यै फँसियो भने सपना पूरा गर्न सकिन्न भन्ने कुरा तर नचाहँदा-नचाहँदै थाहै नपाई म यही चक्करमा फँसें । आफैलाई सम्हाल्दै ब्याचलर नै रहेर ब्याचलर्स पूरा गरें तर मास्टर्स फस्ट इयरमै लव पर्यो, लव मात्र हो र, प्रिमेरिटल रिलेसनसिप नै भयो जसले गर्दा मेरी उनी एक्सिडेन्टल्ली प्रेगनेन्ट भइन्, त्यसपछि विवाह, त्यसपछि सन्तान, अनि सन्तानको भविष्य, सन्तान हुर्किसकेपछि फेरि नातिको भविष्य, ओहो ! यो चक्रे दलदलबाट त उम्किनै नसकिने रहेछ । आखिर 'वेडलक इज प्याडलक' भन्ने अंग्रेजी उखान सोह्रै आना ठीक रहेछ, तर होइन यो मेरोलागि मात्र हो भन्दा हुन्छ । अमेरिकामा पढेर, ग्रेजुएट भएर अन्तमा आफ्नै गाउँ-ठाउँमा फर्किएर सेवा गर्छु भन्ने दृढ अठोट लिएर त्यसलाई साकार पारिछाड्ने तिनी साँच्चै नै नव-पुस्ताको लागि हिरो वा रोल मोडेल हुन् ।

 

'हिलोमा मात्र कमलको फूल फ़ूल्छ्’ भन्थे तर खै मैले त उर्वर भूमिमै कमलको फूल फूलेको देखें । किनकि तिनी धनीको छोरो भइकन पनि गरिबको निम्ति जीवनभर बाँचे, बाँच्दै छन् पनि । अमेरिकी युनिवर्सिटीबाट ग्रेजुएट भएको मान्छे, तिनको लागि यतै राम्रो जागिर पक्का थियो तर तिनी धनको पछि लागेनन्, यदि लागेको भए मजस्तै 'इनारको भ्यागुतो' हुने थिए । तिनको त्यही अदभ्य साहसले गर्दा तिनले सफलता चुमे तर बिचरा म… ।

 

गाउँकै सरकारी स्कूलबाट एसएलसी पास हुनासाथ म उच्च शिक्षाको लागि सदरमुकाम झरें | एउटा दुलोजत्रो कोठा भाडामा लिएँ अनि नजिकैको बोर्डिंग स्कूलमा टिचिंग गर्दै आफू पनि पढ्दै गर्न थालें । बल्ल-तल्ल कमाएको थोरै तलबले आफूलाई खान-लाउन, कोठा भाडा तिर्न, कलेज खर्च टार्न र आमालाई अलिकति घर-खर्च पठाउन ठिक्क हुन्थ्यो । यसरी आफ्नै भुमरीमा ठिक्क हुँदा त सानैदेखिको सपना त त्यसै तुहिने पो हो कि झैं लाग्थ्यो कहिलेकाहीं तर मैले हिम्मत हारेको थिइनँ । महाकविको 'प्रश्नोत्तर' कविताको 'उद्देश्य के लिनु ? उडी छुनू चन्द्र एक'  श्लोकले बेलाबेलामा झस्काइरहन्थ्यो र म आफैलाई 'एकदिन चन्द्र छुने तेरो पनि समय आउँछ, न आत्तिई' भन्दै ढाडस दिइरहन्थें | त्यस्तै क्रममा एकदिन ३ होकि ४ कक्षालाई पढाउँदा पाठ्यपुस्तकमा मैले ती हिरोको नाम पहिलोपल्ट देखें जसमा तिनले मेरोजस्तै उम्दा सपना देखेका मात्र होइन, पूरा गरेरै देखाएका सफलताको कथा लेखिएको थियो । वाह ! पाठ्यपुस्तकमा सधैं दिवंगत हस्तीका मात्र जीवनी देखिन्थ्यो तर त्यतिबेलादेखि जीवित हस्तीको जीवनी पनि समेटिएको देख्दा मलाई बडो खुशी लाग्यो । त्यसपछि मैले पनि तिनीजस्तै विदेश गएर, पढेर, कमाएर अनि अन्तमा आफ्नै गाउँ-ठाउँमा फर्केर सपनाको बिऊ रोप्छु भन्ने कल्पें । तर सोंचेजस्तो कहाँ हुन्छ र, आखिर 'म ताक्छ मूढो, बन्चरो ताक्छ घुँडो' भनेझैं भयो, के गर्नु त नि ! अमेरिकामा मास्टर डिग्री सक्नेबित्तिकै एकपल्ट आफ्नी जीवन-संगिनीलाई नेपाल फर्कौं अनि उतै आफ्नो सिप पोखौं' के भनेको थिएँ, उनी त डाइनामाइट पड्केझैं पड्किन् । 'त्यो अनकन्टार पाखामा म कुनै पनि हालतमा जान्नँ' भन्दै अड्डी लिइन्, छोरोको भविष्य र क्यारियरको महत्व बढी भएको भन्दै मलाई लामो न लामो लेक्चर नै दिइन् । भन्न त मलाई पनि मन थियो, आफूले सानैदेखि देखेको त्यो उम्दा सपनाबारे, तर उनी मेरी पत्नी भएर पनि यसबारेमा मलाई कहिल्यै बुझिनन् वा भनुँ प्रयास नै गरिनन् । त्यसैले म त्यत्तिकै चुप लागें वा भनूँ आफ्नो सपनाको आफैले घाँटी निमोठी उनीसामु आत्मसमर्पण गरें । 

 

उता हाम्रो हिरोलाई हेरौं, तिनले गरिबलाई सित्तैमा पढ़ाइदिने स्कूल खोलेपछि त्यसको प्रचार-प्रसार एवं स्पोन्सरसिपको लागि विभिन्न देश पुग्ने क्रममा तिनको विशाल हृदयलाई बुझ्ने र सम्मान गर्ने एक फ्रेन्च सुन्दरी उनकी अर्धाङ्गिनी बन्न पुगिन् र अहिले उनी श्रीमानसँगै हातेमालो गर्दै सपनाको बारी गोडमेल गर्दै छिन् । आहा ! जीवनसाथी भनेको त यस्तो पो हुनुपर्छ जो मायाको बारीमा सँगै फूलेर आजीवन फक्रिरहन्छन् तर बिचरा म… । झल्याँस्स बुडीसँग दुईटा हीट हिन्दी फिल्म हेरेको सम्झें; 'प्याडम्यान' र 'सुपर थर्टी' । ती फिल्ममा हिरोले गरीबको मर्का बुझेर समाजमा ठूलो योगदान दिन्छन् । मलाई निकै घत पर्यो र त्यस फिल्मबारे अधिक जानकारी बटुल्न विकिपीडियामा खोजेपछि ती फिल्म त वास्तविक जीवनमै हिरोका वास्तविक कहानी नै रहेछन् भन्ने थाहा पाएँ । अनि मैले 'इन्डियामाझैं नेपालमा पनि त्यस्तै वास्तविक हिरो भइदिए हुन्थ्यो, छ कि छैन होला ?' भन्दै गम्दै जाँदा बल्ल ठ्याक्कै जवाफ पाएँ, 'नेपालमा नि त्यस्तो हिरो छ नि, किन नहुने ? तिनी के त.… मन्जिल राना ।' त्यसपछि मलाई कसैले तिनको पनि बायोपिक नै बनाइदिए हुन्थ्योजस्तो लाग्यो । आहा ! इन्टर-कल्चरल ट्रु रोमान्स समेटिएको तिनको बायोपिक पक्का हीट हुने कुरामा म ढुक्क छु । अब मेरो त समय सक्न आँट्यो, मैले नै यो बायोपिक नदेखेपनि भोलिको पुस्ताले बनाओस्/देखाओस्/देखोस् भन्ने मेरो अन्तिम इच्छा छ |

 

यसपछि मेरो त्यो सपना मरेपनि गहिरो निद्रामा देखिने सपनामा भने म जहिल्यै त्यही स्वपनील दुनियामा हुन्थें । त्यहाँ म हाम्रो दुर्गम लेकाली गाउँ 'घ्याँसिखार्क' मा पुगेको हुन्थें र त्यहीं धौलागिरीको मनोरम दृश्य देखिने एउटा चिटिक्कको होम्स्टे खोलेर व्यवसाय सुरु गर्थें अनि त्यसकै आम्दानीले गरिबका छोराछोरी पढ्ने एउटा स्कूल पनि खोल्थें । त्यस्तो सुन्दर सपना देख्दैमा मेरो ओंठमा मुस्कान छाउँथ्यो र झल्याँस्स ब्युँझदा बल्ल त्यो त सपना पो रहेछ भन्ने थाहा हुन्थ्यो च्वच्वच्व । मेरी अर्धांगिनीले त्यतिबेलै मलाई बुझेकी भए आजसम्मै म चुकचुकाउने थिइनँ होला तर हाय ! समय धेरै बितिसकेको यी सेताम्मे फुलेका केश र दाह्रीले बताइरहन्छन् ।

 

अहिलेसम्म त छोरा-बुहारी अनि चार वर्षको नातिसमेत भइसक्यो । उनीहरुको आफ्नै क्यारियर छ र अपार्टमेन्ट पनि । त्यसैले मलाई अब उनीहरुको भविष्यको कुनै चिन्ता छैन । म र मेरी बुडी बस्ने ठाउँदेखि पाँच मिनेटको दूरीमा छोरा-बुहारीको अपार्टमेन्ट छ, हरेक विकेन्डमा हामी सबै भेट्थ्यौं र सँगै लन्च-डीनर खान्थ्यौं तर कोरोना आतंक फ़ैलिएपछि यो क्रम पनि बन्द भयो । आफ़्नैलाई पनि भेट्न नहुने कस्तो जमाना आयो ? नजिकै भएर पनि वर्चुअल भेटमै चित्त बुझाउनुपर्ने कस्तो जमाना आयो ? मलाई मेरो नातिलाई जहिल्यै भेटमा च्वाप्प म्वाइ खान मन हुन्थ्यो तर अब वर्चुअल भेटमा 'फ्लाइङ किस' मात्र गर्नुपरेको छ । मलाईझैं मर्का मेरो अमेरिकन साथी 'बिल स्पाक्स'लाई पनि पर्यो होला भनेर एकदिन सोधें, 'हाई ड्यूड, डु यु मिस किसिङ एण्ड हगिङ योअ ग्राण्डसन नावाडेज ?' अनि उसले तत्काल भन्यो, ' ओ या, आई मिस इट सो मच द्याट आइ थिङ्क आविल किस इवन अ फ़्रग , लोल ?'  हाहाहा ! उनको जवाफ सुनेर म खित्का छाडी हाँसें ।

 

कोरोनाले दुवै बुडाबुडीलाई च्याप्पै पारेर क्वारेन्टाइन-बास बसेको बेलामा सधैं व्यस्त रहने मलाई वर्षौंपछि फेरि आफ्नै टुटेको सपनाबारे याद दिलायो, याद दिलाएन मात्र कथमकदाचित मैले संसार छाड्नुपरिहाले पनि जगदीश घिमिरेको 'अन्तर्मनको यात्रा'झैं मर्नुअघि यो कथा छोडेर जान पाएँ जसलाई पढेर भावी पुस्ताले मेरो सपना पक्कै पूरा गर्नेछ भन्ने आशा लिएको छु । मृत्यु अपरिहार्य छ, ढिलोचाँडो अँगाल्नैपर्ने तर मलाई मृत्यु-भय छैन र हुनु पनि हुँदैन । म आफ्नो जीवनदेखि सन्तुष्ट छु र बाँचे पनि, मरेपनि नो रेग्रेट, इट्स अल गड्ज वील । तथापि, म मरेपनि मेरो देश चाहिं बाँचिरहोस्, हाँसिराहोस, बस् म यही चाहन्छु । जय नेपाल ।

 

(समाप्त)

Saturday, June 8, 2019

धौलागिरीको सेरोफेरो

धौलागिरीको सेरोफेरो---(कथा)

‘तिमीले मलाई साँचो प्रेम गर्छौ भने ममा विश्वास गर, तिम्रो विश्वासको समर्पणको अनुभव मलाई देऊ माइली...म तिमीलाई अति नै प्रेम गर्छु, मबाट धोका होला भनेर किन शंका गर्छौ ?...म तिमीलाई नै आफ्नो बनाएर छाड्छु...तिमीलाई आफ्नी बनाउन म आमाबालाई भन्छु,...आमाबा नमाने पनि चिन्ता नलेऊ, म तिमीलाई भगाएर भएपनि लान्छु, मेरी प्यारी भालइ...’

पक्कै यस्तै मीठा र चिप्ला प्रेमका कुरा गरी सिर्जे दाइले माइलीलाई फकाएका हुनुपर्छ अनि त्यसैले माइलीले पनि दाइमाथि नि:सन्देह विश्वास गरेकी हुनुपर्छ भन्ने मैले सोंचें नत्र परम्परागत संस्कारमा हुर्केकी एक सोझी चेलीले अविवाहित छँदै एक युवकको प्रेममा डुबी आफ्नो शरीर सुम्पन राजी कसरी हुन्थी र ? मर्यादित समाजमा हुर्केपछि समाजको मर्यादालाई पुरुषले भन्दा नारीले नै बढ्ता ख्याल गर्नुपर्ने हो खास तर जवानीको भेलमा चुर्लुम्म डुबेर आँखा नदेख्नेलाई के भन्ने अब ? ठेस लागिसकेपछि बल्ल दैलो देख्नेलाई के भन्नु अब ? एक मन त आफ्नै हेल्चेक्र्याइँले त्यसरी ठेस लागेकी युवतीलाई देख्दा ‘खुच्चिंग ! किन रोइस् मंगले, आफ्नै ढंगले’ भन्दै काखी पड्काउन मन लाग्छ तर म अरुको आँसुमा रमाउने त्यस्ती नीच त होइन नि | बस्, तिनको ठेस देखेर अब कसैका छोरीहरु त्यसरी नबिग्रुन् भनी कामना गर्छु |

धौलागिरी हिमालको काखमा अवस्थित सुन्दर ‘घ्याँसिखर्क’ गाउँमा प्रकृतिसित लुकामारी खेल्दै हुर्केकी मद-मस्त तरुनी माइली हिमाली सौन्दर्यले भरपुर एक सुन्दर युवती हुन् | नाम त उनको दिनमती हो तर तीन बहिनीमध्ये उनी माहिली चाहिं भएकीले सबैले उसलाई ‘माइली’ भनेर बोलाउँछन् |

घर त उनको कुइनेखानी गाउँ हो तर पोहोर दशैंताका उनी मेला लाग्न आफ्नी दिदीको घर ‘घ्याँसिखर्क’ गएकी थिइन् र त्यहीं नै उनी र सिर्जे दाइ दुई सोल्टी-सोल्टिनीको भेट भएको थियो |

सिर्जन प्रसाद छन्त्याल उर्फ ‘सिर्जे’ दाइ, काठमाण्डौंका मेरा ठूलोबा पर्ने टाढाका नातेदारका छोरा हुन् | हाम्रो पूर्ख्यौली गाउँ ‘घ्याँसिखर्क’ भएकोले र बाजे-बज्यै पनि जिउँदै भएकाले दसैं बिदामा उहाँहरु काठमाण्डौबाट र म पोखराबाट सपरिवार गाउँ गएका थियौं |

प्रकृतिको सौन्दर्यले शोभायमान धौलागिरी हिमालको काखमा अवस्थित ‘घ्याँसिखर्क’ गाउँमा म नजन्मेको भएपनि मलाई साह्रै प्रिय लाग्छ, सायद प्रकृतिप्रेमी भएकीले होला | मलाई फेवाताल किनारमा डुंगामा बसेर माछापुछ्रे हेर्दै कविता कोर्न जति मनपर्छ, उति नै गाउँको तारेभीरमा उतीसको मैदानमा बसी ऐंसेलु खाँदै, धौलागिरीलाई हेर्दै साहित्यका दुई-चार शब्द कोर्न पनि मनपर्छ | खै, सायद अन्तर्मुखी भएकीले होला म मानिसहरुसितको संसर्ग उति मनपराउँदिन |

एकपल्ट साँझतिर गाउँका ठिटा-ठिटीहरु दोहोरी खेल्न कान्छी बज्यैको घर-आँगनमा जम्मा भए | म पनि आफ्नो संस्कृति चियाउने हेतुले दिलुसित गएँ | त्यही भीडमा माइली र सिर्जे दाइलाई पनि देखें | माइली त कोकिलकण्ठी नै रहिछ, म पनि उनको आवाज सुनेर मन्त्रमुग्ध भएँ, कस्तो ठ्याम्मै लक्ष्मी न्यौपानेकोजस्तो तीखो स्वर, उसले गाएको ‘फूलमा भमरा..’ ज्यादै मनपर्यो तर त्यहाँ सबै ठिटा-ठिटीको जिस्किने चाला चाहिं मलाई पटक्क मनपरेन | म त साहित्यमा कोरिएका आदर्शको रुप खोजिरहेथें तर यहाँ पनि विकृती मौल्याएको देखेर नमज्जा लाग्यो | तर आजको यो उत्तर आधुनिकतामा मेरो पुस्ता अछुत भएर बस्न त पक्कै सक्दैन भन्ने सत्यतालाई मैले स्विकारें | त्यैपनि किन हो किन मलाई बैंसालु बात मनपर्दैन |

गीत गाउँदै गर्दा ठिटा-ठिटी खुब हाँस्दै जिस्किँदै थिए | ठिटाले जिस्किँदै ठिटीको हात समाउँथ्यो अनि ठिटी पनि मननपरेझैं तर रमाइलो मान्दै हात झट्कार्थी | दिलु पनि आफ्ना सोल्टीसित जिस्किँदै थिई, म उसको अलि पर बसेर बाल-ब्रह्मचारी सधुनीझैं बैंसालु क्रियाकलाप टुलुटुलु हेर्दै थिएँ | ‘कति जिस्केको होलान्, मोरा-मोरीहरु !’ मेरो मन बोल्यो, मलाई त झट्ट उठेर जाऊँ भयो तर एकछिन दोहोरी गेडीको जवाफ कस्तो आउने रहेछ भनी प्रतीक्षारत बसिरहें, सुनिरहें |

त्यस हूलमा सबै छुचुन्द्रा तर ममात्र मूर्तीवत थिएँ | मैले कसैलाई राम्ररी चिनेकी पनि थिइनँ, त्यसैले कोहीसित बोल्न वा हाँस्न पनि मलाई मनासिव लागेन | बरु तत्क्षण म सानामा गाउँ आउँदा यस्तै एकपल्ट दोहोरी सुनेको क्षण झल्झली सम्झें | त्यसबेला पनि ठिटा-ठिटीलाई औधी जिस्केको देख्थें, मेरो बाल-सुलभ मनले ‘किन यसरी जिस्कन्छन् होला ?’ भनेर प्रश्न गर्थ्यो अनि जिज्ञासु स्वभावका कारण मैले आमालाई सोधिहालें- ‘ममी, किन दोहोरी खेल्दा ठिटा-ठिटीहरु हात फाल्दै जिस्किन्छन् ?’ अनि आमाले ‘भोलिपर्सि तरुनी भइस् भने आफैं थाहा पाउँछस्’ भन्नुभएको थियो, त्यसैले अहिले बुझें तर म आफैं त्यही ड्यांगको मुला चाहिं भइनँ, किन-किन ?

फेरि त्यत्तिखेरै आमाले सुनाउनुभएको एउटा सत्य-चुटकिला याद आयो | मेरी आमा त्यस्तै १०/११ वर्षकी हुनुहुन्थ्यो रे तर अलि सिल्ली हुनुहुन्थ्यो रे | मंगले गाउँबाट केही ठिटाहरु तरुनी काँहिली बज्यैहरुसँग दोहोरी खेल्न आएछन्, बज्यैहरु ती ठिटाहरुदेखि लुक्न कान्छी बज्यैको घर गएछन् | लुक्नेबेलामा काँहिली बज्यैले मेरी ममीलाई देखेर ‘ए साँइली ! हामीहरु कान्छी बजेकोमा लुक्न गाछम्, ऐले त्यो मंगलेको केटाहरु आएर तँलाई सोध्यो भने “खै मलाई थाहा छैन” भन् है’ भन्नुभएछ अनि ममीले पनि आज्ञाकारी बालिकाझैं ‘ल’ भन्दै टाउको हल्लाउनुभएछ |

एकछिनपछि मंगले गाउँका केटाहरु आएछन् अनि तिनीहरुले ममीलाई सोधेछन्
‘स्यानू ! तिम्रो काँइलीआमाहरु कहाँ गयो ?’
अनि ममीले पनि अनभिज्ञताको स्वांग पार्दै भन्नुभएछ-
‘खै, थाहा छैन मलाई त... हाम्रो कान्छी बजेको घरमा लुकेछैन केरे |’

हाहाहा ! हामी दुई आमा-छोरी बेस्सरी हाँस्यौं अनि हाँस्दै मैले फेरि सोधें- ‘अनि के भयो नि ?’ ममीले भन्नुभयो- ‘मेरो कुरो सुनेर केटाहरुले चाल पाइहाल्यो नि अनि पछि काँइलीआमाले बेस्सरी गाली गरिन्- “ओइ साँइली, मैले तँलाई ठिटाहरुले सोध्यो भने ‘थाहा छैन’ भन् भनेको हैन, झन् किन हामी लुकेको कुरा भनिस् ?” अनि मैले रुँदै “मैले भनिनँ पो... मैले ‘थाहा छैन, कान्छी बजेकोमा लुकेछैन’ त भनेको नि” भनें | अनि काँइलीआमाले मेरो टाउकोमा प्याट्ट हिर्काउनुभयो, ‘तेरो टाउको ! ‘लुकेछैन’ भनेपछि थाहा पाइहाल्छ नि |’ अनि मैले टाउको सुम्सुम्याउँदै मनमनै ‘आँइ हो र ?’ भनें |’
 
यो कुरो सम्झेर म हाँस्न पुगेछु | आफ्नो हाँसेको ओंठ छोप्दै यताउति हेरें तर अरुहरु दोहोरी गीतको लयमै रमाइरहेकाले मेरो हाँसो कसैले चाल पाएन | सोंचें मेरी आमाले त्यतिबेला हँसिला-रसिला कुरा नगर्नुभएको भए सायद समाजका कथा टपक्क टिपेर शब्दमा उतार्ने कथाकार बन्न सक्दिन थिएँ होला | मलाई त्यतिविधि समाजको बारेमा थाहा छैन तर आमालाई थाहा थियो किनकि म त ‘पिंजडाको सुगा’, मलाई के थाहा बाहिरी संसार कस्तो छ भन्ने कुरा ? तथापि, मैले आमाकै मुखबाट संसार चिनें र त्यसैबाट नै आफ्नो कलममा मसी भरें | एक मन कुँडिन्छ, आमाको अनुपस्थितिमा, किनकि संसार चिन्ने कसी अब मेरो समीप छैन | तत्क्षण, आमालाई सम्झी अनायास मेरा आँखा ओसिला भएछन् तर झट्ट वरिपरी नियाल्दै आफूलाई सम्हालें |

‘फूलमा भमरा’ सकिएर अर्को गेडी गाउँदै थिए, मलाई अचानक ‘यानीमाया’ को याद आयो | यो हाम्रो समुदायको मौलिक गीत, अलि रुन्चे शैलीको भएकोले होला नयाँ पुस्ताले यसलाई अँगाल्न छोडिसक्यो | तै माया-पिरतीको बिछोडको विलापमा भन्दा मातृशोकको विलापमा मैले मनमनै एक हरफ ‘यानीमाया’ गाएँ | लगत्तै, मलाई खाम भाषामै दोहोरी फुर्यो |

प्राय: हाम्रो समुदायमा बोलीचालीमा मातृभाषा ‘खाम’ बोलिने भएपनि दोहोरीमा चाहिं ‘खस’ नेपालीमै गाउँछन् | त्यसैले मलाई चाहिं खाममै गाउनु राम्रो भन्ने विचार आयो | खाममा चाहिं गेयात्मक शब्द र अनुप्रासको जटीलता भएकोले त्यसमा नगाएको हुन सक्छ भन्ने अनुमान लगाएँ | ‘के साँच्चै खाममा दोहोरी हुन सक्दैन त ?’ भनेर मनमा आफैंलाई प्रश्न गरें अनि आफैंले ‘किन हुन्न ?’ भनी जवाफ दिएँ अनि खाम-गीत को सृजनामा दिमाग घुमाउन थालें | त्यहीं गाइएको गेडीलाई उल्था गरी परिष्कार गर्दागर्दा एक हरफ ठ्याक्क बन्यो-

‘राकोट क्हिउँरी
पिरै पिरये भारी मु, नये जिउरी |’
(राकोट खोलैमा,
पीरै पीरको भारी छ, मेरो जिउमा |)

त्यो जमातमा ठिटा-ठिटीहरुको हाँसो-ठट्टामा होस्टेमा हैंसे गर्दै म हाँसिनँ तर स्वैरकल्पनामा आफ्नै मौलिक भाषामा गीतको हरफ फुर्दाचाहिं ओठ कान-कानसम्म फैलिने गरी फेरि मुस्काएँ अनि अर्को सिंगो हरफ बनाउन दिमाग घुमाउन थालें | लगत्तै, माथिको गेडीसित मिल्ने अर्को हरफ फुर्यो-

हे... थाह्यारो कान्छा,
पिर्सिर नारा, मरेये देशरी,
पोलो र प्हकन चासिर हिन्लाई,
येम सुमये क्हेलारी |
राकोट क्हिउँरी,
पिरै पिरये भारी मु नये जिउरी ||
(हे... नजाऊ कान्छा,
छाडेर मलाई, अरुको देशमा,
सिस्नु र ढिंडो खाएर भएनि,
पुग्छ आफ्नै ठाउँमा |
राकोट खोलैमा.....)

म त आफ्नै कल्पनामा उडिरहेकी थिएँ क्यारे, एउटा ठिटो पो बामे सर्दै मेरो छेउमा आएर बोल्न थाल्यो, तत्क्षण अप्रत्याशित मेरो कल्पनाको दियो झ्याप्प निभ्यो |

‘ए साली त बल्ल हाँस्यो पो, क्या’न हो साली चुपचाप ? गीत गाऊ न साली |’     

तिनी अघि दिलुसँग जिस्किने युवक थिए | मुहार तिनको राम्रै थियो तर धेरै जिस्किने चाला मलाई राम्रो नलाग्नाले तिनको चिल्लो कुरा मनपरेन, त्यैपनि मीठै बोलें-

‘...मलाई त गाउन आउन्न नि भेना |’
‘आउन्न भनेर चुप बस्ने हो त ? गेडी नआए पनि यसो संगीसित मिलेर छोप न साली |’

तिनले सम्झाएझैं त गरे तर आँखा झिमझिम अनि जिऊ चंचल देखें, यस्तो मान्छेसित सोझो कुरा गर्दा पनि बंगाएर ठट्टामा परिणत गरिदिन्छन् भन्ने मलाई राम्रो हेक्का थियो, त्यसैले म त नसुनेझै गरी मुख अर्कोतिर फर्काएँ तर तिनी फेरि कराए-

‘ए साली ! तिम्ले त कथा कविता लेख्छौ रे, दोहोरी पनि लेख न |’

मलाई बोल्न मन थिएन तर उम्किने मनसायले छोटो उत्तर दिएँ- ‘अँ, लेख्छु |’

अनि म त त्यतिखेरै उठेर आएँ | आधा घण्टापछि दिलु पनि आई | अचेल त सबै विदेशिएकाले गाउँ त प्राय:युवाविहीन शुन्य नै हुने गर्छ तर दशैंतिर परदेश हिंडेका पनि बिदामा गाउँ फर्किने भएकोले गाउँकी तरुनीहरुले जिस्किने मान्छे र मौका पाउने रहेछन्, त्यसैले दिलु भन्थी- ‘आ ! वर्ष-दिनमा एकपल्ट भेट हुने भालइ, मामा भेनासँग अहिले नजिस्किए कहिले जिस्किने त नि ?’ मलाई आफ्नो समाजको शैली राम्रै थाहा छ, त्यसैले दिलुका कुरा मलाई ठीकै लागे, अनि स्वीकृतिस्वरुप ‘हो है’ भनी टाउको हल्लाएँ तर यसमा मेरो सहर्ष सहभागिता भने थिएन |

अँ त, म परिवारसँगै दशैं-बिदा सकिएपछि पोखरा फर्किएँ | त्यसपछि म फेरि आफ्नो पढाइमा व्यस्त भएँ | लगत्तै तीन महिनापछि समाजको हल्लीखल्ली गाइँगुइँ मेरा कानमा पनि पर्यो | कुरा बुझ्दा म अचम्मित भएँ | ती सिर्जे दाइले माइलीलाई गर्भ बोकाएका रहेछन् तर अहिले आएर गर्भको शिशुलाई स्वीकार्न इन्कार गरेछन् अनि त माइलीका आमाबा माइलीलाई लगेर न्यायको आशमा काठमाण्डौ गएछन् जहाँ धेरै दिनसम्म कचहरी चलेछ |

सिर्जे दाइले पहिले त टसको मस भई इन्कार गरे रे तर पछि बहसको आवेशमा गाँठी कुरो आफैले ओकलेछन्;

‘होइन, यो माइली मसित मात्र होइन अरुसित पनि सुत्छे, यो बच्चा मेरो नहुन पनि सक्छ के |’

तत्क्षण माइलीले सबैका सामु सिर्जेको गालामा झ्याम्म ठटाइदिइन् |

‘धोकेबाज ! तैंले मलाई झुटो मायामा फसाउनसम्म फसाइस्, अहिले आफ्नो जिम्मेवारीबाट भाग्छस् ! तैंले मलाई कहिले अरुसित सुतेको देखिस् ? लौ भन् ? यो बच्चा तेरो नभए प्रमाण देखा | तैंले ममाथि यत्रो अत्याचार गर्लास् भन्ने मैले सपनामा पनि सोचेको थिएन बुझिस् ? मैले त तेरो कुरामा विश्वास गरेर तँ फर्की आउलास् भनेर पर्खी बसेथें बुझिस् | तैंले यो बच्चालाई सबैको अगाडि स्विकारिनस् भने सुन् म पनि चुप लागेर अन्याय सहने केटी होइन के जा | म पनि कानुनको सहारा लिन सक्छु के, अनि देख्लास् तेरो बाउको ब्या...|’

बर्बर आँसु झार्दै माइलीले पनि साहससित हाँक दिइन् | अविवाहित अवस्थामै दोजिया भएपछि गाउँलेका तीखा वचनको धेरै सामना गरिन् उनले जसले उनलाई कठोर बनायो र नै त उनी अन्यायको विरुद्ध कटिबद्ध हुन सकिन् |

गाउँमा उनी अचानक साह्रै बिरामी परिन्, गर्भिणी बिरामी भन्ने उसलाई थाहा भएन | आमाबाले आत्तिएर उनलाई सदरमुकाम अस्पतालमा ल्याए तर सम्पूर्ण जाँचपछि डाक्टरले छोरी गर्भवती भएको कुरा बताएपछि ती दु:खी आमाबाको
सम्पूर्ण धरातल नै भासियो | उनी त दुई दिनदेखि बेहोश थिइन्, त्यसैले झट्टै उनले थाहा पाइनन् | पछि उनको होश आयो, त्यसबखत आमाले उनलाई झक्झकाउँदै गालामा बजाउँदै सबैकुरा बताइन् अनि त्यो पुरुष ‘को हो ?’ भनी सोधिन् | उनले रुँदै बताइन्, त्यो पुरुष त उनको नजिकैका सोल्टी सिर्जे दाइ थिए | पछि सिर्जे दाइलाई फोनमा बल्ल-तल्ल सम्पर्क भएछ | माइलीको कुरा सुनेपछि सिर्जेले दाइ उनलाई सहर्ष स्विकार्नु त कहाँ हो कहाँ, झन् नराम्रो वचन दिएछन्, ‘के रे ? के भन्छे यो मोरी, दबाई खानुपर्थेन ? सुद्धि न’भाकी बेत्ताल्नी... खुरुक्क लाएर एबोर्सन गर्, म तँलाई पैसा पठाम्ला |’

यस्तै के-के फलाकेपछि माइलीलाई रीस उठ्यो, फोनमै दुवै धेरै बेर बाझे | अन्तमा त्यस गर्भलाई बचाउने उनलाई पनि कुनै रहर भएन अनि त्यसैले रीसमै गर्भपतनको खर्च पठाइदिन भनिन् |

तर उनको विडम्बना, गर्भपतन हुन सकेन किनकि यसबाट उनकै जीवन जोखिममा पर्नसक्थ्यो | यो सम्बन्धमा डाक्टरले नै ‘नाइँ’ भनेपछि पुन: सिर्जे दाइकै दैलोमा टेक्नुको विकल्प रहेन | गाउँमा जतासुकै कुरा फिंजिसकेको थियो, यस अवस्थामा कुन मुख लाएर गाउँ फर्किनू ? बरु छोरीलाई जसरी भएपनि त्यही केटाको हातमा सुम्पिदिने अठोट माइलीका आमाबाले लिए, त्यसैले ती तीनैजना काठमाण्डौ गए |

माइलीले कानुनको सहारा लिने भनेपछि बल्ल सिर्जे दाइको सातो गयो अनि उसले केही नरम स्वरमा भन्यो-

‘...ठीक छ, यदि यो बच्चा फागुनमा जन्म्यो भने मेरो रहेछ भनी स्विकारम्ला नत्र म स्विकार्नेछैन |’

बस्, हाम्रो समुदायको यो कचहरीले सिर्जे दाइको यही भनाइलाई अन्तिम रूप दियो अनि बच्चा नजन्मिउन्जेल सिर्जे दाइको परिवारले माइलीलाई पाल्नुपर्ने भयो | तर विडम्वना भनौं न, छट्टु सिर्जे दाइले यस्तै परेपनि माइलीलाई बेहोर्न नपर्ने कदम चालिसकेका थिए | मतलब, माइली बेनीबाट सपरिवार आउनुअघि नै उनले बुटवलकी अर्कै एउटी राम्री ठिटीलाई भगाएर ल्याइसकेका थिए अनि त्यतिन्जेलसम्म ती नव-वधु घरमा भित्रिसकेकी पनि थिइन् | त्यसैले माइलीको बच्चा बेहोर्न परेपनि उनकै घरमा राख्ने सम्भावनाचाहिं रहेन | स्वयं माइलीले पनि त्यहींचाहिं कुनै पनि हालतमा नबस्ने निर्णय सुनाइन् | फलस्वरूप, उनलाई पोखरामा सिर्जे दाइको काकाको घरमा सारियो |

पछि फाल्गुन महिनाको मध्यतिर उनले बच्चा जन्माएको खबर सुनियो र यसैबाट बच्चा सिर्जे दाइकै रहेछ भन्ने पुष्टि भयो | मलाई सिर्जे दाइको बानी त पहिल्यै थाहा थियो | धनी बाउको बिग्रेको छोरो, गल्ली-गल्लीमा केटीलाई मोटरसाइकलमा राखेर घुमाउनु उनको ठूलो सोख थियो | अंग्रेजीमा विशेष उपमा दिनुपरे तिनलाई ‘प्लेब्वाई’ भन्दा अतिशयोक्ति हुन्न | तापनि तिनी जस्तै भएपनि मेरो टाउको दुखाइको विषय भने थिएन किनकि न मलाई त्यस्ताको संगत नै मनपर्छ, न आचरण नै | वास्तवमा त्यस्ताको चंगुलमा पनि तिनै ‘प्लेगर्ल’ जस्ता केटीहरु नै फस्छन् भन्ने मलाई थाहा थियो, त्यसैले तिनीहरुको आचरणमा आपत्ति जनाउने कुरा आएन तर धौलागिरी हिमालको काखमा फूलेकी फूललाई समेत उनले बिब्ल्याँटो पार्दा चाहिं मलाई पनि रीस उठ्यो | हुन त यसमा दुवैको गल्ती छ तर समाजले ज्यादा माइलीकै गल्ती देख्यो अनि सिर्जे दाइचाहिं मजाले निस्कलंक जीवन जिउँदै छन्, हैट ! यो हाम्रो पितृसतात्मक समाज ! यहाँ नारी उत्पीडनका कैयौं कथा छन् जो न लेखिएर सकिन्छ, न पोखिएर सकिन्छ | बस्, शब्दमा पीडा र चित्कारका आवाज बुलन्द पारेर सबलाई घच्घचाउनु मात्रको विकल्प छैन यहाँ |

‘त्यसले समात्न खोज्दा किन इन्कार गरिनौ त लाटी ?’ भनी मैले सोध्दा माइलीले नारीत्वको आफ्नो सोझोपन बताइन् |

‘म पोर्लकिनी ! त्यसले मलाई ब्या गर्छु, मैलाई लान्छु भन्यो नि कान्छी, त्यसको जाली मायामा मैले आँखा देखिनँ...हुँहुँ...|’

भेटमा यसो भनी उनी धेरैबेर मेरो काखमा घोप्टिएर रोइन् | मैले उनलाई ‘जे हुनु थियो भइसक्यो, अब नरोऊ’ भन्दै सम्झाएँ | उनले मलाई गाउँमा भकिम्लो, हलहले, अमल्छी, चुत्रो र जन्मन्तरोको स्वाद चखाएको क्षण झल्झली सम्झें अनि उनको पीडामा मेरा पनि आँखा अनायास रसाए |

त्यसैबखत झल्झली मलाई एघार कक्षामा पढेको लीलबहादुर क्षेत्रीको ‘बसाईं’ उपन्यास याद आयो | उपन्यासका पात्र ‘रिकुटे’ र ‘झुमा’ क्रमश ‘सिर्जे’ र ‘माइली’को चरित्रसित मेल खायो |

मलाई थाहा छ, हाम्रा नेपाली साहित्यका सामाजिक उपन्यासले समाजका विकृतिलाई कथावस्तुमा उनेर सही संदेश दिन्छ वा सिकाउँछ | त्यसलाई पाठ्यक्रममा पढ्ने किशोर-किशोरीको घैंटामा घाम पक्कै पनि लाग्छ, त्यसैले सिर्जे दाइले पनि त्यो उपन्यास पढेको भए मति खुल्थ्यो कि भन्ने सोंचें | तर वास्तवमा त्यसो हुँदैन, किताबदेखि दस हात पर भाग्ने मान्छेले उपन्यास के पढोस् | पढ्न त उनले पनि कलेजमा पढे होलान् तर सब बिर्सिए वा ‘रिकुटे’कै पक्षमा उभिए |

जे होस् माइलीजस्ताहरुले बेलैमा होश नपुराए यो क्रम घरिघरि नदोहोरिएला भन्न सकिन्न | रिकुटेकै खोल ओढेर कति पिशाचहरुले गाउँकी सोझी चेलीलाई विदेशी कोठीमा बेचेका छन् | धन्न, हाम्रै धौलागिरीका चेलीचाहिं यसरी छलिएका छैनन् र भविष्यमा छलिंदा पनि नछलिउन् भन्ने कामना गरें |

नि:सन्देह, जमाना उत्तर-आधुनिकतातर्फ उन्मुख छ तर हाम्रो समाज जसले अविवाहितलाई यौन स्वतन्त्रता दिंदैन, यो समाजलाई म ‘पुरातनपन्थी’ वा ‘रुढीग्रस्त’ को संज्ञा दिन्न किनकि त्यसो गर्नु भनेको त पश्चिमा छाडा संस्कारलाई संघारैमा स्वागत गरेसरह भइगयो नि, बरु यो त हाम्रो सभ्य संस्कारको मूल सद्गुण हो भन्छु | यो समाजले सामाजिक मर्यादा उल्लङ्घन गर्नेलाई तिरस्कार गर्छ र त्यो व्यक्ति आँसुको आहालमा डुब्छ तर उसको त्यही आँसुले त अरुलाई सभ्यताको पाठ सिकाउँछ | यो सन्दर्भमा हेर्ने हो भने पुरुषभन्दा नारी नै पीडित हुन्छे किनकि समाज पितृसतात्मक छ तर यसमा नारीवादको नारा घन्काएर नारीलाई पीडा दिन पाइन्न भनेर म भन्दिनँ किनकि जसले जे रोप्छ, त्यसले त्यसकै कटनी गर्नुपर्छ | यस मानेमा म त भन्छु, नारी नै होशियार रहनुपर्छ र पुरुष आफै तह लाग्छ |

हो, यदि माइली सोझी भएपनि होशियार रहेकी भए सिर्जे दाइजस्ता पुरुषले उनको सोझोपनको फाइदा उठाउन पाउने थिएनन्, यसमा माइलीको अबोधपन देखी चुक्चुकाउनुबाहेक केही गर्न सकिन्न | जे होस्, जे हुनु थियो, त्यो भइसक्यो, अब माइलीको जीवनमा ‘बसाईं’ उपन्यासको ‘मोटे कार्की’जस्तै फेरि अर्को कुनै सत्पुरुष आउन सकोस् भन्ने कामना गर्दै मैले आफ्ना विचारका ज्वारभाटालाई सामसुम पारें |

(समाप्त)
-अरुना छन्त्याल ‘मिमोसा’

द्रष्टव्य:-

भालइ: छन्त्याल खाम भाषामा ‘सोल्टिनी’ |