Showing posts with label Opinion. Show all posts
Showing posts with label Opinion. Show all posts

Saturday, June 13, 2020

एउटा शब्द-------------(खोज)


 ( मैले यो शिर्षकमा आजभन्दा एक दशकअघि नै लेखिसकेकी थिएँ तर अहिले त्यो लेख भएको वेबसाइट ब्लक भएकोले र धेरै ख्रीष्टियान यो विषयमा अझै पनि अनभिज्ञ नै रहेको पाइएकोले यो लेख फेरि प्रकाशित गरेकी छु ।)
म प्रभुमा आएको भर्खर-भर्खर भएको थियो र बाइबल अध्ययनमा पनि बामे सर्दै थिएँ ।  एउटा नव-परिचित जवान बहिनीले एउटा प्रश्न सोधिन्, 'दिदी ! बाइबलमा कुन पदमा विवाहअघिको शारीरिक सम्बन्धलाई निषेध भनेर लेखिएको छ  होला ?' त्यतिबेला म त भर्खर बामे सरिरहेको विश्वासी, बाइबल नेपालीमा पूरै पढेर सकाएको भएपनि उक्त प्रश्नको जवाफ ठ्याक्क यही पदमा छ भनेर भन्न सकिनँ । यति मात्र भनें, 'बहिनी! यससम्बन्धि बाइबलमा सिधै एउटा पदमा लेखिएको नभएपनि हामी यी केही पद पढेपछि त्यस्तो कार्य परमेश्वर घृणा गर्नुहुन्छ भनी बुझ्न सक्छौं, जस्तै; १ कोरिन्थी ७:२; हिब्रु १३:४; १थेसलोनिकी ४:३-५ आदि |
 त्यसको केही समयपछि बल्ल अंग्रेजी नयाँ करार हात पर्यो । त्यो हात परेपछि छेउमा नेपाली नयाँ  करार पनि राखी शब्द-शब्द केलाउँदै पढ्ने क्रममा मैले एउटा शब्द भेटें जुन खोजिएकै शब्द थियो तर बाइबलमा नभेटेको कारण अंग्रेजीबाट नेपालीमा अनुवाद गर्दा ठ्याक्कै शब्द नभएकोले चलनचल्तीको शब्द लेखिएकोले रहेछ तर यसको खास मतलब ती बहिनीको प्रश्नको सटिक जवाफ रहेछ भन्ने बल्ल थाहा पाएँ । त्यो शब्द हो १ कोरिन्थी ६:९ मा अंग्रेजी बाइबलमा लेखिएको शब्द ‘fornicators’ | यसलाई नेपाली बाइबलमा 'अनैतिकहरु' भनेर अनुवाद गरिएको छ तर 'अनैतिक' त अनेकार्थी शब्द हो र यसभित्र के-के पर्छ अनि के-के पर्दैन भन्ने कुरा नव-जवानहरुलाई के थाहा ?
अंग्रेजी शब्दकोशमा ‘fornication’ को अर्थ खोज्नुस् अनि हामी यसको अर्थ ठ्याक्कै त्यही रहेछ भनी बुझ्छौं अर्थात अविवाहित अवस्थामा आपसी मन्जुरीमा राखिने यौन सम्बन्ध' । त्यसैले fornicatorsहरु परमेश्वरको राज्यमा पस्न पाउने छैनन् भनी १ कोरिन्थी ६:९ मा लेखिएको छ । यसरी ती बहिनीजस्ता जवानहरुका जिज्ञासा सिधै मेटियो नि, हैन त ?

Wednesday, April 18, 2012

हामी छन्त्याल जाति र गर्व गर्ने कुरो...

सानामा म आफ्नो बाबासँग आफ्नो जातिबारे खुब कुरा गर्थें किनकि मलाई आफ्नो जातिबारे खासै केही थाहा थिएन तर पछि बाबाले भनेपछि साँच्चै हाम्रो पनि एउटा गर्व गर्ने इतिहास रहेछ भन्ने सोंचे | मुलतः म हाम्रो तामाखानीको इतिहास सुन्दा हौसिन्थें अनि सोंच्थें तामाको अस्तित्व निश्चय अहिले पनि छ,मैले बाबासित जिज्ञासा राख्दा-‘हुन त हो तर सरकारले नि ध्यान दिन्न,हामीले पनि सक्दैनौं नत्र नेपालमा तामाखानी मात्र होइन सुन-चाँदी सबै किसिमका खनिज पाइने प्रवल सम्भावना छ |’ अनि म देशका कानमा तेल हाली बस्ने नेताहरुप्रति सोंच्छु जो केही गर्दैनन्,बोल्छन् मात्र | म त तामाखानीको प्रचुर सम्भावना देख्छु,त्यसलाई खोजी निकाल्ने जिम्माचाहिं हाम्रै शिक्षित र चेतनशील युवाहरुको हो | यससम्बन्धी आफ्नो दिमाग खियाउन म यहाँनिर समग्र शिक्षित छन्त्याल युवालाई आव्हान गर्छु |

परिणाम एसएलसीको..

हालसालै, एसएलसी परिक्षा सकिएको छ | अब दुई वा तीन महिनापछि त्यसको परिणाम पक्कै आउनेछ | तर मलाई यहाँनिर एउटा कुराले स्तब्ध पार्छ र त्यो हो, एसएलसीमा फेल हुने कलिला विद्द्यार्थीबाट आत्महत्याका खबर !हामीलाई थाहै छ कि शिक्षा अत्यावस्यक कुरा हो | केही दशक पहिले हाम्रो देशमा शिक्षाको महत्व धेरैलाई थाहा थिएन तर अहिले समय बदलिएको छ, शिक्षाको महत्वबारे नेपालीहरुमा धेरै चेतना पलाइसकेको छ | यद्दपी फेल भएका विद्द्यार्थीलाई अपमान गर्नु वा पास हुनैपर्छ भनी दवाब दिनु नितान्त खराब नियत हो |हाम्रो देशमा अझै कति सामाजिक विकृति छन् जसले गहिरोसित जरा गाडेकाले तिनलाई नियन्त्रण गर्न अझै पनि गाह्रो छ | अर्कोतर्फ फेल हुनेलाई अपमान गर्नु पनि वर्तमान अवस्थामा उब्जिएको नयाँ सामाजिक विकृति हो भन्ने म मान्छु | यसलाई पनि व्यापक जनचेतनाद्वारा नियन्त्रण गर्न जरुरी छ |

हो,एसएलसी पास हुन जरुरी छ तर सबै पास हुन्छन् नै भन्न मिल्दैन | प्रत्येक फेल भएका विद्द्यार्थीले एक वा दुईपल्ट फेल भइयो भन्दैमा जीवन-पथ नै पूर्ण रुपमा बन्द भएको सोंच्नुहुँदैन | प्रचलित उखान ‘हिंड्ने मान्छे लड्छ’ भनेझैं हामीले उनीहरुलाई नजितुन्जेल प्रयास गरिरहन हौसला दिइरहनुपर्छ | कसैले पनि हार्दैमा हार मान्नुहुँदैन किनकि प्रत्येक हार जीतको एक कदम नजिक हुन्छ | यही संदेश नै नेपालको प्रसिद्ध सांगीतिक झुण्ड ‘द स्याडोज’ले आफ्नो लोकप्रिय गीत ‘हिँड्ने मान्छे लड्छ..’मार्फत दिएको छ तर विडम्बना, एसएलसीको परिणाम लगत्तै फेल भएका विद्द्यार्थीका आत्महत्याको खबर लामो समयदेखी रोकिएको छैन |

यस सन्दर्भमा, जिम्मेदार विद्द्यार्थी स्वयं मात्र होइन कि गुरुजन,अभिभावक अनि समाज पनि हो | विद्द्यार्थीले छिट्टै हार मान्नुहुँदैन, अभिभावक तथा समाजका व्यक्तिहरुले उनीहरुलाई ‘मूर्ख’ वा ‘हरामी’ भनेर खसाल्नु हुँदैन | त्यस्तैगरी, गुरुजनहरुले पनि उनीहरुलाई हौसला दिइरहनुपर्छ र यदि फेल भए त्यो अवस्थाको सामना कसरी गर्ने भनी नैतिक शिक्षा पनि दिनुपर्छ |

तर ठीक उल्टो, गुरुजनहरुले नै उनीहरुका मनमा यसो भनी डर हालिदिन्छन्-‘लौ,फलामे ढोका नजीक आइपुग्यो,लौ छिटो गर..’म आफै पनि स्कुल पढ्दा डराएँ तर मलाई म पास हुन्छु भन्ने आत्मविश्वास भएको कारण मैले त्यो डरले आफुलाई खान दिइनँ | म आफै घोत्लिएँ-‘के एसएलसी फलामे ढोका हो ?’’के यो पास गर्न साह्रै गाह्रो हुन्छ ?’ तर पछि मैले थाहा पाएँ,यो कुनै चपाउनै गाह्रो फलामको चिउरा होइन | प्रश्नपत्र र परिक्षा त कुनै नरभक्षी राक्षसजस्तो नभई हामीले शिशु कक्षामा दिएको जाँचजस्तै रहेछ | यो एकदम दु:खलाग्दो कुरा हो किनकि आजका गुरुजनहरुले नै एसएलसीलाई नजिकिएको नरभक्षी राक्षसझैं प्रस्तुत गर्छन् जसले गर्दा विद्द्यार्थीका दिमागमा अनावश्यक डरले डेरा जमाउँछ अनि त्यही भएर परिणाम राम्रो निस्कन सक्दैन |

म एकजना कक्षा-९ मा पढ्ने बहिनीलाई ट्युसन पढाउँछु,त्यहाँ मैले के थाहा पाएँ भने उसलाई पनि सरहरुले एसएलसीको डर हालिदिइसकेका रहेछन्, ऊ मलाई भन्दै थिई-“ला दिदी! एसएलसी आइसक्यो, मैले सोंचेजस्तो राम्रो गर्न नसकूँला कि?’ अनि मैले उसलाई भनें-“ओहो! तिमी नडराऊ,तिम्रा सरले तिमीलाई डर देखाए होलान् तर एसएलसी कुनै डर मान्नुपर्ने परिक्षा होइन, यो त तिमीले सधैं स्कुलमा दिंदै आएको परिक्षाजस्तै हो |” मैले नडराउन भनेपछि बल्ल अचेल ऊ डराउँदिन | त्यसैले म शिक्षकहरुलाई विद्द्यार्थीहरुका दिमागमा एसएलसीको डर घोल्ने होइन बरु यसलाई साधारण रुपमा प्रस्तुत गर्न सुझाव दिन चाहन्छु |

अर्को कुरा,म शैक्षिक सामग्री निर्माण केन्द्रलाई पनि यस सम्बन्धमा बलियो सुझाव दिन चाहन्छु कि पाठ्यपुस्तकमा आत्महत्याजस्तो कुकृत्यलाई निरुत्साहित पार्ने पाठ्यसामग्री(जस्तै:-कथा,निबन्ध,आदि) समावेश होस् तर विडम्बना,त्यस्ता खराब बाटोतर्फ आँखा चिम्लन सिकाउने किसिमको पाठ मैले अझैसम्म ‘सामाजिक शिक्षा’ वा ‘मोरल साइन्स’का किताबमा पनि देखेकी छैन |

हामी जान्दछौं कि आजका विद्द्यार्थी नै भोलिको हाम्रो भविष्य हो | उनीहरुको किशोर दिमाग ज्यादै नै संवेदनसिल हुन्छ | यदि हामीले बेलैमा उनीहरुलाई काबुमा ल्याएनौँ भने हाम्रो देशले नै ठुलो नोक्सानी बेहोर्नुपर्छ | हामीले आजका कमजोर विद्द्यार्थी पनि भोलिका अल्बर्ट आइन्स्टाइन वा आर.एल. स्टेवेन्सन हुन सक्छन् भन्ने कुरा भुल्नुहुँदैन अनि त्यसैले हामीले घरीघरी उत्साह दिन पनि छाड्नुहुँदैन |

जीवन सधैं औपचारिक शिक्षाले मात्र पूर्ण हुन सक्दैन | हामी कतिपय अवस्थामा पढेलेखेका शिक्षितभन्दा अनपढ पनि धेरै बढी अनुभवी र सिपालु पाउन सक्छौं | एकपल्ट सोंचौ त,सबै पीएच.डी. गर्न लागे भने को श्रमिक,मजदुर,ड्राइभर,भान्से,सुचिकार,कुचिकार,आदि बन्ला ? त्यसैले ती किशोरवयहरुका दिमागमा एउटा फराकिलो चिन्तन हालिदिने बेला आएको छ र त्यो बेला अहिल्यै हो |

गर्व गर्ने विषय यो पनि छ कि हामीकहाँ हार मान्ने कायरहरु मात्र छैनन् कि जतिपल्ट हारेपनि हार नमान्ने जुझारु पनि छन् | उदाहरण,कोही ८० वर्ष नाघेको बुढोले पनि एसएलसी दिन्छ भने कोहि आफ्ना छोराछोरी सँगै एसएलसी दिन्छन् | उनीहरु तिनीहरुका लागि प्रेरक हुन्,त्यसैले उनीहरुलगायत हामीहरु सबैले तिनीहरुलाई हरेस नखान तर घरिघरी कोशिश गर्न उत्साह दिनुपर्छ किनकि “हिँड्ने मान्छे लड्छ..|”    

[समाप्त]

अरुना छन्त्याल