Saturday, June 13, 2020

एउटा शब्द-------------(खोज)


 ( मैले यो शिर्षकमा आजभन्दा एक दशकअघि नै लेखिसकेकी थिएँ तर अहिले त्यो लेख भएको वेबसाइट ब्लक भएकोले र धेरै ख्रीष्टियान यो विषयमा अझै पनि अनभिज्ञ नै रहेको पाइएकोले यो लेख फेरि प्रकाशित गरेकी छु ।)
म प्रभुमा आएको भर्खर-भर्खर भएको थियो र बाइबल अध्ययनमा पनि बामे सर्दै थिएँ ।  एउटा नव-परिचित जवान बहिनीले एउटा प्रश्न सोधिन्, 'दिदी ! बाइबलमा कुन पदमा विवाहअघिको शारीरिक सम्बन्धलाई निषेध भनेर लेखिएको छ  होला ?' त्यतिबेला म त भर्खर बामे सरिरहेको विश्वासी, बाइबल नेपालीमा पूरै पढेर सकाएको भएपनि उक्त प्रश्नको जवाफ ठ्याक्क यही पदमा छ भनेर भन्न सकिनँ । यति मात्र भनें, 'बहिनी! यससम्बन्धि बाइबलमा सिधै एउटा पदमा लेखिएको नभएपनि हामी यी केही पद पढेपछि त्यस्तो कार्य परमेश्वर घृणा गर्नुहुन्छ भनी बुझ्न सक्छौं, जस्तै; १ कोरिन्थी ७:२; हिब्रु १३:४; १थेसलोनिकी ४:३-५ आदि |
 त्यसको केही समयपछि बल्ल अंग्रेजी नयाँ करार हात पर्यो । त्यो हात परेपछि छेउमा नेपाली नयाँ  करार पनि राखी शब्द-शब्द केलाउँदै पढ्ने क्रममा मैले एउटा शब्द भेटें जुन खोजिएकै शब्द थियो तर बाइबलमा नभेटेको कारण अंग्रेजीबाट नेपालीमा अनुवाद गर्दा ठ्याक्कै शब्द नभएकोले चलनचल्तीको शब्द लेखिएकोले रहेछ तर यसको खास मतलब ती बहिनीको प्रश्नको सटिक जवाफ रहेछ भन्ने बल्ल थाहा पाएँ । त्यो शब्द हो १ कोरिन्थी ६:९ मा अंग्रेजी बाइबलमा लेखिएको शब्द ‘fornicators’ | यसलाई नेपाली बाइबलमा 'अनैतिकहरु' भनेर अनुवाद गरिएको छ तर 'अनैतिक' त अनेकार्थी शब्द हो र यसभित्र के-के पर्छ अनि के-के पर्दैन भन्ने कुरा नव-जवानहरुलाई के थाहा ?
अंग्रेजी शब्दकोशमा ‘fornication’ को अर्थ खोज्नुस् अनि हामी यसको अर्थ ठ्याक्कै त्यही रहेछ भनी बुझ्छौं अर्थात अविवाहित अवस्थामा आपसी मन्जुरीमा राखिने यौन सम्बन्ध' । त्यसैले fornicatorsहरु परमेश्वरको राज्यमा पस्न पाउने छैनन् भनी १ कोरिन्थी ६:९ मा लेखिएको छ । यसरी ती बहिनीजस्ता जवानहरुका जिज्ञासा सिधै मेटियो नि, हैन त ?

प्रतिक्रिया दिनुहोस्