Friday, December 16, 2011

दशैं

ए बुढी ! यसपाली दशैंमा त छोरी-ज्वाईं आउँछन रे,लौ के खुलाउने होला?,घरमा एक गेडो चामल पनि छैन,अब टाढाबाट छोरी-ज्वाई आएपछि एउटा च्यालुक त जसरी भएपनि काटेर खुवाउनै पर्यो,अब के गर्ने बुढी?,पैसा पनि छैन...’ हर्कमानले बाहिर आँगनबाटै भित्र अगेनो बाल्दै गरेकी आफ्नी श्रीमतीलाई भन्यो |ऊ भर्खर खेतबाट आएको छ |गाउँमा दशैंको चहलपहल सुरु भैसकेको छ |तल घ्याँसिखर्कमा दशैंको चहलपहल सुरू भैसकेको छ,त्यहाँ मेलाको तयारी हुँदैछ |गाउँमा पनि त हुनेखानेहरुकोलागि दशैं रमाइलो नै हुन्छ तर हर्कमानजस्ता गरिबहरुको लागि दशैं एउटा दशाजस्तै हो |

‘के गर्ने त बुढा,वर्षदिनको चाड,ऋण गरेरै भएपनि मान्नैपर्यो,अब हाम्रो ठुलेले पैसा नपठाएपनि यसो ऋण खोज्न जाऊ न,पछि हाम्रो ठुलेले तिर्ला नि त,आश नमार न बुढा..’श्रीमतीले हर्कमानलाई सुझाव दिई |

‘ऋण पनि कति काढ्ने होला,हाम्रो ठुलेले कहाँ तिर्न सक्ला र ? बिचारलाई अरबमा कति दुःख छ रे..’ बुढाले दुखेसो पोखे |उनका जेठो छोरो,ठुले खाडी मुलुक गएको पनि धेरै भइसक्यो तर विचरोले घरमा अझै पैसा पठाउन सकेको छैन |बुढा आमाबा छोरोले ऋण तिरिदेला भनी झिनो आशामा छन् |तथापि हर्कमानलाई थाहा छ,कि छोरोलाई ऋणको भारी ज्यादै गर्हुँगो हुनेछ |ऊ त सकेसम्म यो सधैं ऋण काढ्नुपर्ने चाडबाट कसरी छुटकारा पाउने होला भनी सोंच्दैछ,तर विचरोले कसरी उपाय पहिल्याउन सकोस्,ऊ किकर्तव्यमुढ आकाशतिर हेर्दै बोल्छ-‘हे भगमान ! हामी गरिबमाथि दया गर्नोस् |’

भोलिपल्ट बिहान,केही सीप नलागेपछि हर्कमान पल्लो गाउँ चिम्खोलामा लाहुरे साहुकहाँ ऋण माग्ने विचारले गाउँबाट तल हिंड्छ | गाउँ तल पुगेपछि काउले भन्ज्यांगको चौतारीमा ऊ एकछिन सुस्ताउँछ |चौतारीछेउ ढुंगेधारामा उसले पानी पिउँछ अनि त्यहीं चौतारीमा उत्तानो परेर पल्टिन्छ,ऊ माथि आकाशतर्फ हेर्दै मनमनमा गुन्न थाल्छ-‘लाहुरे साहुले यसपाली पनि ऋण देला कि नदेला?पोर कस्तरी गाली गरेथ्यो,उसलाई अब माग्न नपरोस् भनेको नि,के गर्ने,’म ताक्छ मुढो,बन्चरो ताक्छ घुँडो’,अब परदेश गाको छोरोले खर्च पठाउन नसकेपछि त्यही निर्दयीको सामु हात नफैल्याई भएन,तर नाथे यो दशैंलाई केहि उपाय गरी चटक्क छाड्न पाए क्या हाइसन्चो हुन्थ्यो..खुय्य..हे भगमान...|’

ऊ आफ्नो मनमा यस्तै कुरा खेलाउँदै थियो,त्यतिकैमा त्यहीं एउटा युवक रुकस्याक बोकी आउँछ |युवकले पनि ढुंगेधाराको पानी पिउँछ अनि हर्कमान बसेभन्दा अलि पर आफ्नो रुकस्याक बिसाएर सुस्ताउँछ |बुढा केही बोलेका हुँदैनन् तर युवकले सोधिहाल्छ-

‘बा ! तपाई कहाँ जान लाको?’

‘हँ,...उता चिम्खोलातिर हो बाबु अनि तँ नि?उत्तानो परेको बुढाले ठाडो बस्दै युवकलाई पनि सोध्यो |

‘म ऊ पारी रायखोर जाने बा..’

‘ए बाहिरबाट आको?’

‘हजुर’ बुढाले एकछिन युवकलाई हेरिरह्यो |उसले मनमनै आफ्नो छोरो पनि यसरी नै आइदिए कति जाती हुन्थ्योजस्तो लग्यो |फेरि उसले युवकलाई सोध्यो-

‘ए तँ दशैं मान्न आको?’ बुढाको प्रश्न सुनेर युवक बडो मीठो हाँस्यो |

‘हैन बा,म त दशैं मान्न होइन,दशैं टार्न आको..’

‘हँ?! दशैं टार्न आको रे,आच्या ! के भन्छ यो केटा?’ बुढा छक्क पर्यो |युवकले हाँस्दै अफ्नो रुकस्याक मादल ठटाएझें गरी ठटाउँदै एउटा गीत गायो-

‘भकारीमा छैन बाबा,एउटै पनि गेडो,

आङ ढाक्ने छैन बाबा,नयाँनयाँ टालो,

म गरिबलाई सधैं रुवाउने,

मान्दिन बाबा,पापी दशैं ऋण बोकाउने...|’ युवकले गीत गाइरहँदा बुढाले एकछिन घोरिएर सुनिरह्यो |उसलाई युवकले आफ्नै व्यथाको गीत गाएझैं लाग्यो |युवकले गाइसकेपछि उसले सोध्यो—

/के रीडियोमा सुनेको गीत हो बाबु?’

‘हैन बा,मैले आफैले बनाको हो’

‘ए..गीत त राम्रै बनाछस् त...(एकछिन गमेर)..अँ त केटा तैंले भनेजस्तो दशैं मान्दिन भनेर हुने भा हुन्थ्यो क्यारे |’

युवक फेरि मीठो मुस्कायो |अनि मीठा शब्दमा बोल्न थाल्यो—

‘बा ! मान्दिन भनेर किन नहुने र?,हुन्छ नि,हामी गरिबहरुले यो दशैं नमानेपनि हुन्छ |’

‘आ ! बाबुबाजेको उहिलेदेखिको चलन,मान्दिन भनेर कहाँ हुन्छ र लाटा ?’

‘(हाँस्दै)हुन्छ नि बा,तपाईले येशु प्रभुलाई मान्नुस्,यो दशैंमा लाग्ने ऋणबाट सधैं छुटकारा पाउनुहुनेछ |’

‘हँ? को येशु?’ बुढा झन् अकमक्क पर्यो अनि युवकले सुसमाचार सुनाउन थाल्यो जुन उद्देश्य लिएर नै ऊ त्यहाँ आएको थियो |--

‘बा !, येशु हाम्रो साख्खै बाको पनि बा हो,हाम्ले आफ्नो मरेका पिता-पुर्खालाई मान्छौं भने यी झन् हाम्रा उहिले सत्तेजुगका पिता.यिनलाई मान्नुभो भने तपाईको सारा चिन्ता-फिक्री मेटिजानेछ |यिनलाई तपाईले फूल,अक्षता,वा च्यालुकको बलि चढाउनुपर्दैन,यिनलाई भेट्न पनि तपाई खर्च गरीगरी टाढा तिर्थब्रत पनि जानुपर्दैन’

‘लौ त्यसोभए के गर्नुपर्छ त?,अनि यो देउता हो कि के हो?यो ढुंगा हो कि फलाम?’बुढाले जिज्ञासा राखिहाल्यो |युवक सदाबहार मुस्कानसाथ बोल्दै गयो |--

‘बा ! यी देउताभन्दा पनि ठूला हुन्,यी हाम्रा परमेश्वर हुन्,यी ढुंगा,फलाम केहि पनि होइनन्,यी कुनै मन्दिरमा बस्दैनन्,यी त तपाईकै छेउमा छन्,तपाईले नबोलाएर पो,आजै आँखा चिम्म गरेर-‘हे प्रभु येशु,म तपाईलाई चिन्न चाहन्छु,मेरो हृदयमा आउनुहोस्’ भन्नुस् त,उहाँ आइहाल्नुहुन्छ |’

‘ए...(बुढाले बुझेजस्तो गर्यो तर फेरि सोधिहाल्यो)..तर दशैं नि दशैं?,के गरी टार्ने त?’

‘..नमान्ने,पूजा-सुजा,टीका-सिका,बलि-सली,केहि नगर्ने,बा,खालि प्रार्थना गरे हुन्छ,मीठो खान दशैं कुर्नुपर्दैन,ऋण नकाढीकन दशैंभन्दा पनि रमाइलो चाड क्रिसमसमा मीठो खान पाइन्छ,हामी गरिबहरुलाई परमेश्वरले धेरै माया गर्नुहुन्छ,तपाई पनि उहाँलाई माया गर्नुस्,यो दशैं त हामी गरिबलाई झन् गरिब बनाउने चाड हो,बा,सानोमा मेरा आमाबा जहिले पनि दशैंमा लुकीलुकी रुन्थे,ऋण तिर्न कहिले भेडा बेच्थे,कहिले लैनो भैंसी तर ऋणबाट कहिल्यै छुटकारा भएन,दशैंमा निधारमा आशिष थापी टिको लाउँछ नि,बा त्यो आशिष त हामी दुखीलाई लाग्दै लाग्दैन बारे...|’

युवकको कुरा बुढालाई निकै घत पर्यो |युवकले बोलिरहँदा उसले मनमनै निर्क्यौल गरिसक्यो—‘आ ! भर्सेला परोस्,म पनि प्रभु येशुलाई मान्छु,यो ऋण काढ्नुपर्ने बाध्यताबाट छुटकारा मिल्छ भने किन नमान्ने?’ ऊ घोत्लिरहँदा युवकले उसको मनको आशय बुझिहाल्यो |--

बा !तपाईलाई अझै धेरै कुरा प्रभु येशुबारे थाहा हुनुपर्छ,पर्सी शनिवार पात्लेखेतमा ‘दर्शन मण्डली’भन्ने छ,यताउता सोधेर आउनुस है,म पनि त्यहाँ आउँछु,अहिले म जान्छु ल,बिदा..|’ यति भनी युवक आफ्नो रुकस्याक बोकी आफ्नो बाटो लाग्छ,मनमनै उसले प्रार्थना गर्छ—‘हे प्रभु येशु ! यी गरिब बुध बालाई सहायता गर्नुहोस् |’अनि जांदै गर्दा पनि युवकले अघिको गीत ठूलो स्वरमा गाउँदै जान्छ |

बुढाको मन अघिदेखि भारी थियो तर युवकलाई भेटेपछि उसको मनको भारी कताकता हलुको भयो |उसका पाइला अब चिम्खोलातिर बढेन बरु ऊ आफ्नै गाउँ ‘चौरखानी’ फर्कन थाल्यो |ऊ धेरै माथि उकालो चढ्नेसम्म त्यस युवकको गीत उसका कानमा गुन्जिरह्यो |

‘भकारीमा छैन बाबा,एउटै पनि गेडो,

आङ ढाक्ने छैन बाबा,नयाँनयाँ टालो,

म गरिबलाई सधैं रुवाउने,

मान्दिन बाबा,पापी दशैं ऋण बोकाउने ...|’

(समाप्त)        
प्रतिक्रिया दिनुहोस्