म अहिले मलेसियाको क्वालालम्पुर सिटी सेन्टर पार्कको चउरमा बसेर साँझको हावा खाँदैछु |आज बिदाको दिन आइतबार,सधैं कम्प्युटरमा के जोतिरहनु भनेर आज म आफ्नो पिसीमा नाझुम्मिएर मलेसियाको हावा खान बाहिर निस्किएको छु |परदेशको बसाईं,व्यस्त तर विरक्तलाग्दो |पिसी नखोलेको बेला त्यसै-त्यसै मन आत्तिन्छ किनकि मेरा मन मिल्ने साथीहरु त त्यही नेटको सामाजिक सन्जालमा त छन् |मलाई पनि अचेल नेट एडिक्सन भइसकेछ |
गाउँबाट भर्खरको सोह्र वर्षको हुँदा मलेसिया आएको हुँ |गाउँमा गरिबीले गर्दा पढ्न पाइनँ |दुइ-तीन कक्षा त पढेको हुँ तर गोठालो बस्नुपर्ने बाध्यताले पढ्न पाइनँ |तापनि मेरो मनमा पढ्ने उत्कट लालसा भने पहिल्यैदेखि थियो |कनिकुथी अक्षर फोर्न,अफ्नो नाम लेख्नचाहिं मज्जाले आउँथ्यो,त्यति जाने त भइहाल्यो नि भनेर ढुक्क थिएँ |जवान भएपछि मलेसियामा कामदार भएर आएँ |
जमाना बिछट्टै बदलिसकेको रहेछ,म सोझो गाउँले ठिटोलाई के थाहा?जता जान्छु,उतै इन्टरनेटमा मान्छे झुम्मिएको देख्छु बाबै !अफिसतिर काम गर्ने मान्छेहरु कम्प्युटरमा कि ल्यापटप खत्याक-खत्याक,खत्याक-खत्याक गर्दै हुन्छन्,बसमा वा रेलमा पनि त्यस्तै,कोही मोबाइलमा पनि थिच्-थिच्,अझै भएन भनेर मसँगै काम गर्ने साथीहरु पनि फुर्सद पायो कि मोबाइलमा झुन्डिने अनि बेला न कुबेला फिस्स फिस्स हाँस्ने |हैन यो इन्टरनेट भन्ने नाथे अनि यो च्याट भन्ने काँठे के जाती यस्तो रमाइलो हुँदोरहेछ कुन्नि,नबुझेर मलाई धेरै उलुउलु भयो |पछि,साथीहरुले अलिअलि गरी सिकाइदिए |सुरुमा त नजानेर त्यो माउसको टुप्पो हराएको हराई गर्दा मेरो कन्सिरी नै तात्थ्यो,कतिखेर त रीस उठेर त्यो कम्प्युटर नै फोडिदिउँझैं हुन्थ्यो तर ‘नाच्न नजान्ने आँगन टेढो’ त हो नि |जे होस् मैले अफ्नो रीसलाई पोख्नचाहिं पोखिनँ |सिकाउने साथीहरु पनि झर्कंन्थे,हरीले त एकदिन मलाई प्याच्चै भनिहाल्यो-‘तँ जति सिकाए पनि नआउने आलुले कम्प्युटर सिकेर के गर्छस्?भो छोड्,बरु खुरुखुरु कम्पनीको काम गरि बस्’ |
मलाई पनि कम्प्युटर सिकेर देश-विदेशमा भएका मानिसलाई साथी बनाउन मन थियो,मलाई पनि अरुझें च्याटमा रमेर फिस्स-फिस्स हाँस्न मन थियो तर हरीको कुराले मलाई अलि नराम्ररी मन दुख्यो |साले,आफु पनि कुन्साको धेरै पढेको ठालु हो र?दस कलासमा चारचोटी गुल्टेको मान्छे हो,खुब ठुलो पल्टिन्छ साले,म पनि जान्ने भएर तँलाई देखाईदिउँला नि भनी अठोट लिएँ |हरीले सिकाउन छोडेकोले केहि महिना त मैले पनि सिक्न सकिनँ तर पछि मिलनले मलाई राम्ररी नाझिझाई सिकाइदियो |
एक बार,दुई बार गर्दा-गर्दा,महिना दिनमा म पनि नेट चलाउन खप्पिस भइहालें,आखिर नेट चलाउन पढेकै हुनुपर्छ भन्ने छैन,परेरै पनि सकिन्छ |अचेल त मैले पनि ‘ख्यात-ख्यात’ गर्दै किबोर्ड चलाएकोमा उही हरी पनि दंग पर्छ |म पनि पढेलेखेकाहरुसमान हुन सकेकोमा मेरो नाक पनि घिरौंलाजत्रो भाछ |मलाई पनि अब कसैले तँ उल्लु,गधा भनी होंच्याउना नसक्ने भाछु,यसैमा मेरो स्वाभिमान छ अनि गौरव पनि |न्वारानको नाम पनि मेरो जबहादुर,बाहुनले ‘ज’बाट नाम राख्ने भनेथ्यो रे,आमाबालाई नाम सोंच्न नआएर ‘ज’मा बहादुर जोडेर जबहादुर राखिदिए रे |छ्या मलाई त मनपरेन तर अहिले अलिक अंगेजी जान्ने भएपछिचाहिं मैले आफैले आफ्नो नाम फेरें,जबहादुर बाट ‘जोहन’ |अचेल जमाना नै अंग्रेजी भएपछि यसो नाम पनि अंग्रेजकै राख्न त परिहाल्यो..हाहाहा..|त्यैपनि मान्छे नामले होइन कामले चिनिन्छ भन्ने कुरा म पनि मान्छु,तर यो मन त मेरो नेपाली हो |मैले अंग्रेजीप्रति झुकाव राखेपनि मेरो राष्ट्र र राष्ट्रियता मैले भुलेको छैन अनि अरुलाई पनि यही संदेश दिन चाहन्छु |तापनि म अरुजस्तो घमण्डी छैन |अब आफूजस्तै नजान्नेलाई सिकाएर जान्ने बनाउने मेरो अठोट छ |
अब त गाउँमा मलाई काले माइलाले पनि ‘लंठु,पाखे’ भनेर होंच्याउन नपाउने भयो |अब त सालेलाई पनि अंग्रेजी फरर बोलेर थर्काइदिन्छु |’टुहुराको पनि दिन फर्कन्छ’ भन्थे,साँच्चै मेरो पनि दिन फर्क्यो,म ज्यादै खुशी छु |अब यसपाली बिदामा त गाउँ गएर मेरी उजेलीलाई बिहे गर्ने दाउमा छु |ऊ त अचेल स्टाफ नर्स भई रे,मलाई ‘तिमी नपढेको,अनपढ’ भनी बेलाबेलामा गुनासो गर्थी,अब त ऊ पनि तीन-छक्क पर्ने भई |कविशिरोमणि लेखनाथ पौडेललाई पनि एउटा ठालुले कविता हेर्यो भनेर गिज्याएथ्यो रे,तर उनले सबलाई कविशिरोमणि बनेर देखाइदिए |आखिर,मान्छे पढेर मात्र होइन परेर पनि जान्ने हुन्छ भन्ने मैले पनि देखाईदिएँ |
अँ,भर्खरै विदेश आउँदाको एउटा घटना सम्झन्छु |म प्लेनमा थिएँ,सबैले पत्रिका पढेको देखेर मलाई पनि पढेको स्वांग पार्न मन लाग्यो अनि त्यसैले एउटा पत्रिका समातें,किरिंगमिरिंग अक्षर म के बुझ्थें?मैले त खासगरी त्यसले आफ्नो मुख छेकेको मात्र थिएँ,त्यसका शब्दमा मेरा आँखा थिएनन् |एकछिनपछि एयर-होसटेसले कफी दिएर गई,कफी खान पत्रिका हटाएको के थिएँ,त्यसको पछाडिको फोटो त उल्टो पो |हाहाहा..मलाई हाँसो लाग्यो,साथै लाज पनि,त्यो एयर होसटेसले के सोंची होलाझैं लाग्यो |तर धन्न छेवैमा पत्रिका पढिरहेको कुइरेलेचाहिं मैले पत्रिका उल्टो समातेको थाहा पाएन,नत्र त्यो पनि भुँडी फुट्लाझैं गरी हाँस्ने बेर थिएन |हाहाहा..|
त्यो अल्को पेत्रोनास ट्विन टावरजस्तै अल्को मेरो पनि सपना थियो तर गरिबीले गर्दा पो |तर मानिसका सबै सपना पुरा हुन्छन् नै भन्न मिल्दैन,त्यस्तै गरी मेरा सपना पनि कुनै पुरा भएनन् अनि कुनै पुरा भए |परमेश्वरले मलाई धेरै सहायता गर्नुभाछ | लहलहैमा मैले खोलेको ख्रीष्टियानहरुको सोसल नेटवर्कले अहिले मलाई धेरैका समू परिचित गराएको छ |गगनले त मलाई मार्क जुकरबर्गसितै तुलना गरिदियो | मेरो नाक पनि घिरौंलाजत्रो भाछ तर म कदापि फुल्लिएर घमण्डी हुन चाहन्न |मेरो प्रभुसँग सधैं यही बिन्ती छ |मेरो पाइला-पाइलामा साथ दिने परमेश्वरप्रति म सदा ऋणी रहनेछु |
(त्यतिकैमा उसको खल्तीको मोबाइल करायो,उसले उठायो |)
‘हेलो..श्याम,भन्’
‘ओई साले !कहाँ छस्?आज तेरो खाना पकाउने पालो होइन ? भुलिस् क्या?’
‘ए..अँह,भुलेछैन के,ल म आइहालें है..’
(उसले यति भनिसकेपछि मोबाइल खल्तीमा राखेर आफ्नो गन्तव्यतिर अघि बढ्छ,सन्तुष्टिको लामो सास तान्दै...|)क
(समाप्त)