Friday, December 16, 2011

जीवन काँडा कि फूल ?

आज डिसेम्बर ३,अर्थात् विश्व अपांग दिवस | मलाई थाहा थिएन कि अपांग दिवस पनि हुन्छ भनेर तर पछि पत्रिकाबाट थाहा पाएँ | पछि यो पनि थाहा पाएँ कि अपांग संघको कार्यालय त भृकुटीमण्डपमा रहेछ | अपांग दिवसमा त त्यहाँ अपांगहरुकोमात्र भेला समारोह हुन्छ रे,रयाली पनि हुन्छ रे भन्ने कुरा थाहा पाएँ |म आफू यस्तो छु,त्यसैले मलाई एक्लोपनको आभास हुन्छ किनकि मैले आफूजस्तै कोहीलाई प्रत्यक्ष रुपमा देखेकी थिइन | मलाई आफ्नै आँखाले आफूजस्तै साथी-संगी देख्न पाए हुन्थ्योजस्तो लाग्थ्यो |त्यस्तै ईच्छा भैराखेको हुनाले एकदिन त्यो रहर पनि पुरा भो | त्यो आजभन्दा ६ वर्षअगाडि भयो | जान त मलाई हरेक वर्ष जान मन लाग्छ तर के गर्नु मेरो असामर्थता...जता गएपनि आफ्नै आमाबालाई दुख दिनु त हो नि,दिनुपर्ने दुख जति दिसकेछु,दिदैछु पनि तर अब अरु दिनु मन छैन | अँ,म भृकुटीमण्डपमा जान नपाएपनि टि.भी.मा खबर हेर्नचाहीं भुल्दिन |टिभी.हेरेरै भएपनि मैले मनको तृष्णा मेटाइछु |  

अँ,त त्यो दिन मेरो जीवनको एउटा महत्वपूर्ण दिनजस्तै बन्न पुग्यो किनकि त्यसैबेला मैले ममात्र एक्ली छैन भन्ने कुरा बुझें |म अफ्नो पीडामा मात्र रुनु मेरो ठूलो मुर्खता रहेछ भन्ने लाग्यो किनकि यो संसारमा मभन्दा पनि अशक्त र बेसहारा कति देखें कति | यो संसार सुन्दर छ,आम मानिसको सोचाइमा,तर यो सुन्दर भनाउँदो संसारमा केके न नमिलेकोजस्तो लाग्यो मलाई | तर संसार एउटा फूलबारी भएपछि फूलसँगै काँडाले पनि अफ्नो अस्तित्व जमाएकै हुन्छ | सायद त्यहि अस्तित्व हो हाम्रो पनि जसमा चुकचुकाउनु वा विलाप गर्नुको कुनै औचित्य छैन |

त्यसबेला मसँग एउटा व्हिल्चियर पनि थिएन |सार्है अप्ठ्यारोसित वैशाखी टेक्थे | कार्यालयमा व्हिल्चियर मगाएर पनि नपाएको महिनौं भएको थियो,मैले बाबालाई सोधें-‘बाबा,भोलि अपांग दिवस हो रे,एकचोटी भृकुटीमण्डपमा जाम् न है,व्हिल्चियर मिल्ला कि?’ अनि प्यारो बाबाले कुनै नाइँ-नास्ति गरेनन् | मन निकै रमायो |काठमाण्डौं बसेको पनि धेरै समय बितिसकेथ्यो,काठमाडौं कस्तो छ मलाई थाहा पनि थिएन |गाडीमै भएपनि घुम्न पाइने भइयो भनेर सानामा  मिठाई दिँदा केटाकेटी मन फ़ुरुन्गिएझै म फुरुन्गोएँ |जांदा ट्याक्सीमा गइयो,समारोहस्थलसम्म जान मलाई बाबालाई अप्ठ्यारो नै भयो तर जसोतसो पुगियो  |पाल,कुर्ची सजिएका थिए साथै थुप्रै अपांगहरुको जमघट थियो |कोहि व्हिल्चियरमा,कोहि वैशाखीमा,कोहि सेतो छडीका साथ अनि कोहि सांकेतिक भाषामा हातका औंलाहरु चाल्दै थिए |म विस्फारित आँखाले यो दृश्य हेरिरहेकी थिएँ,एकछिनपछि रयालीबाट थुप्रै अरु अपांगहरु आए अनि त्यसपछि अगाडि मंचबाट कार्यक्रमको सुरुवात हुन थाल्यो |उदघोषक एकजना व्हिल्चियरमा बसिरहेका अंकल थिए,तिनको छेवैमा एकजना आन्टी उभिएकी थिइन् |जब-जब अंकलले उद्घोषण गर्दै जान्थे,तब-तब ती आन्टीले सांकेतिक भाषामा औंलाहरु चलाउँथिइन्,हाम्रोमाझमा कयौं व्यक्ति श्रवनहीन पनि छन् भन्ने कुराको बोध थियो त्यो |मलाई अपांग दिवसले सबै अपांगको मर्का बुझेकोमा खुशी लाग्यो |

अँ त,कार्यक्रम एकदम राम्रो लाग्यो,नेत्रहीन,श्रवनहीन,पक्षघाती सबैले मन्तव्य दिए,साथै मन्त्रीहरुलगायत विदेशी दाताहरुले पनि |तिनै विदेशी दाताहरुले सित्तैमा अपांगका निम्ति चाहिने भौतिक सामग्रीहरु बाँडेका थिए जसकारण मैले पनि एउटा व्हिल्चियर पाउन सकें |कार्यक्रममा वैशाखी टेकेका एक हूल विद्द्यार्थीहरुले ‘गाउँछ गीत नेपाली...’ गाए |एउटी केटी झन एउटै खुट्टाले सपांगसरह नाचिन् अनि केहि बामपुड्काहरु पनि नाचे |तिनीहरु वास्तवमा अपांग नभएपनि येही अपांग-संसारकै एउटा पाटो भन्ने सोचें मैले |सबभन्दा महत्वपुर्ण कुरा,मैले दुइजना अपांग दिदीसित कुरा गर्ने मौका पाएँ |एकजना दिदी वैशाखी टेक्थिन् अनि अर्किचाहीं व्हिल्चियरमा थिइन् | तिनको झन दुवै खुट्टा नै थिएनन्,मैले डराई-डराई सोधें-‘दिदी तपाईलाई के भएको?’ उनले भनिन् उनका खुट्टा आफसेआफ सुकेका रे |उफ् म एकछिन स्तब्ध भएँ,आफसेआफ रोग बल्झेको त मेरो पनि थियो तर उनकोजस्तो थिएन |मैले आफूभन्दा पनि कयौं गुणा दुखी ठानें उनलाई साथै मैले ‘ममात्र यस्तो’ भनी विलौना गर्नु सरासर मुर्खताको संज्ञा दिएँ |ती दिदीको मुहारमा नैराश्यका रेखाहरु पटक्क थिएनन् बरु खुशमिजाजमै हाँसिरहेकी थिइन्,बोलिरह्की थिइन् |मेरो मन भने कताकता दुख्यो,एकछिन त भक्कानो नै छुट्लाझें भो तर आफूलाई वशमा राखें |अझै एक ठाउँ त झन एउटा बिल्कुल कोमामा भएको व्यक्तिलाई पनि व्हिल्चियरमा ल्याइएको देखें,उसको नाथ्रिमा फूड पाइपको नली प्रष्टै देखिन्थ्यो अनि व्हिल्चियरको दाहिने डण्डीमा सलाइन पानीको बोतल झुन्ड्याईएको थियो |

जिन्दगी जस्तो भएपनि बाँच्नुपर्ने रहेछ |मलाई त अपांगकै सेवा गरी मर्न पाए हुन्थ्योजस्तो लाग्छ ताकि यो काँडाजस्तो जिन्दगीलाई म पनि फूलझैं फूलाउन मदत गर्न सकूँ | आहा !यसपाली जान पाएको भए त झमक घिमिरेलाई पनि भेटिन्थ्यो होला अनि भेटिएकाजतिकाको फेसबुक ठेगाना मागेर मित्रता गाँस्न सकिन्थ्यो होला तर अफसोस्...तर जे भएपनि म लेखेर यो संसारमा काँडा र फूल दुवैको सुन्दर सम्मिश्रण छ भनि सबलाई बताउन चाहन्छु... |

तर हे परमेश्वर ! यो दुनियाँमा अपांगको जन्म किन हुन्छ त?सबै तपाईंकै महिमाका निम्ति भए त हुने थियो तर अफसोस...कतिले त प्रभुलाई नपाइकनै मर्छन् |मलाई एउटा सपांग प्रभुलाई नपाइकन मर्यो भनेको सुन्दा त्यति मन दुख्दैन, जति एउटा अपांग उहाँलाई नपाइकनै मर्यो रे भनी सुन्दा हुन्छ |यो एकबारको जुनीमा मान्छे भएर पनि आम मानिसजस्तो भएर बाँच्न नसक्नु विडम्बना नभए के त प्रभु ?म सम्झन्छु जब मैले तपाईलाई चिनेकी थिइनं,त्यतिबेला अघोर निराशाले थिच्थ्यो जहाँ म आफू बाँच्नुको कुनै अर्थ देख्दिनँ थिएँ,पलपलमा मलाई पलायनतावादी सोंचले घाइते बनाउँथ्यो तर अब प्रभुमा त्यस्ता निराशाको कुनै ठाउँ रहेन |म विश्वास गर्छु,यो संसारको  सीमित भूगोलमा हामी अपांगहरुले विचरण गर्ने मौका नपाएपनि,पक्कै स्वर्गको स्वर्णिम संसारमा हर्षोल्लासपुर्वक विचरण गर्ने मौका पाउनेछौं |त्यसैले म प्रभुको राज्यमा हामी यो संसारका सबै काँडाहरु मखमली फूलेझें फूलेको देख्छु | 

 हालसालै मैले १९ औं शताब्दीकी हेलेन कलरको जीवनी पढीसिध्याएँ,उसका जीवनीमा कति मजाले बाइबलीय वचन समावेस गरिएको छ |त्यैपनि उसको जीवनमा अन्धा बर्तिमैले ज्योति पाएझैं गरि आश्चर्यकर्म भएन |मलाई प्रभुलाई सोध्न मन लाग्छ-‘आखिर किन प्रभु?’ हेलेन केलरको जिन्दगीबाट समस्त अपांगको मनोबल दृढ होस् भनेर होला सायद,म यही सोंच्छु |तर म प्रभुलाई भन्छु-‘प्रभु ! मलाई हेलेन केलरजस्तो होइन,बरु अपांगहरुलाई जीवनपर्यन्त सहायता गर्ने दयावान् ‘मिस सुलीभान’जस्ती बनाउनुहोस् |’मलाई याद छ,त्यो अपांग दिवसमा पहिलोपल्ट प्रभु येशुको नाम सुनाउने तिनै दुइजना मसित बोलेका साथी थिए |उनीहरुले मलाई ‘के तपाईले येशुलाई चिन्नुभाछ?,उहाँलाई चिन्नुभो भने असिम शान्ति पाउनुहुनेछ ‘भनेथे | त्यतिबेला मेरो नास्तिक मनले ‘साँच्चै म पनि ख्रिस्टियान होऊँ कि क्यारे’ भन्ने सोचेको थियो |त्यसपछी म साँच्चै डोराइएँ अनि मेरो नास्तिक हृदय कस्तरी आस्तिकमा परिणत हुन सक्यो |धेरैपछि थाहा भयो कि मैले सित्तैमा पाएको व्हिल्चियर पनि विदेशस्थित चर्चबाट बाँडिएको रहेछ किनकि त्यसको पछाडि लेखिएको थियो-‘द चर्च अफ् जिसस क्राइस्ट’ त्यो पढ्दा म कति रमाएँ,मेरा प्रभुले मेरैलागि व्हिल्चियर जुटाइदिनुभएको रहेछ |     

अँ साहित्यकार पारिजातलाई म चिन्छु जो मजस्तै नियतीले अशक्त भइन् |तर मेरो अहोभाग्य ! मैले त साँचो परमेश्वरलाई चिन्ने मौका पाएँ,मेरो आत्मा बाँचिसक्यो भन्ने विश्वासले म त आल्हादित छु तर मलाई ठूलो अफसोस् लाग्छ,पारिजातले साँचो परमेश्वरलाई चिन्न नपाइकनै  यो संसारबाट बिदा भइन् |चरम नास्तिकवाद र निराश्वादी पाउँछु उनका लेखहरु जसमा ईश्वरत्वमाथि धेरै शंका गरिएको छ |’जाबो ढुंगा त हो,हामी त्यसको अगाडि जति रोएपानी,त्यसलाई जति गाली गरेपनि त्यसले कुनै प्रतिक्रिया जनाउँदैन..’प्रसिद्ध कृति ‘शिरिषको फूल’मा ईश्वरत्वप्रति यसरी अफ्नो विचार पोखेकी छन् |हो म पनि यस्तै थिएँ,आफू यस्तो हुनाको पीडाका कारण म पनि ती ढुंगाहरुलाई ईश्वर मान्दिन थिएँ,तर खास कारण अहिले आएर बुझें,मेरो हृदयमा साँचो परमेश्वरको बास हुनु रहेछ,त्यसैले त मेरो ती ढुंगाहरुप्रति घोर वितृष्णा थियो |म कल्पन्छु सायद पारिजातले पनि बेलैमा परमेश्वरलाई चिनेको भए उनको कलम उहाँकै महिमाको निम्ती चल्ने थियो होला |तापनि न्यायको दिनमा सारा अविश्वासीहरुलाई पनि एकपल्ट मौका दिइनेछ भनिएको कारण म प्रभुसंग पारिजातको आत्मा पनि बाँच्न सकोस् भनी बिन्ती गर्छु |त्यो अतीतको  के कुरा,अहिले वर्तमानको यही समयमा अर्की अपांगको आत्मा भड्किरहेको छ |हुन त धेरैले प्रभुलाई चिनेका छैनन् तर म खासगरी ‘झमक घिमिरे’लाई उद्धृत गर्न चाहन्छु |’जीवन काँडा कि फूल?’उसकै आत्मकथाको एक लिखित दस्तावेज हो जसलाई पढ्दा मेरा आँखा धेरैपल्ट रसाए अनि धेरैपल्ट पुकारें ‘हे परमेश्वर! झमक्लाई पनि चुन्नुहोस् |एउटी जन्मजात मस्तिष्क पक्षघातबाट थलिएकी,जसको हात,खुट्टा बोली सबै कुँजा छन्,जसले ज्ञानको खोजीमा खुट्टाको औंलाले भएपनि कलम समाती |हे परमेश्वर ! म त झमकको लागि तपाईलाई जोडजोडले प्रार्थना गर्छु,कि झमकले तपाईलाई चिनेर चंगाई पाउन सकोस् |म त पक्का विश्वास गर्छु कि झमकले परमेश्वर चिनिन् भने यस संसारका दुई तिहाई अविश्वसीले परमेश्वरलाई चिन्नेछन् |

गुढ रहस्य मैले जति नै आफ्नो गिदी घोटेपनि अझै बुझ्न सकेकी छैन,प्रभुको लीला प्रभु नै जानुन्, तर पनि म मान्छु परमेश्वरले उहाँकै ईच्छानुसार दिनुभएको यो जिन्दगीलाई जस्तै भएपनि आत्मसन्तुष्टिको सीमारेखा कोरी बाँच्नुपर्छ किनकि हामी त माटाका भाँडा न हौँ जसलाई जस्तै रुपमा बनाउने हक कुमालेरुपी परमेश्वरमा छ |नत्र कोही अभावकै जिन्दगी किन बांच्नुपर्थ्यो र ?नत्र असम्भवभन्दा पनि असम्भवलाई सम्भव पार्न सक्ने परमेश्वरले यो संसारको यस्ता काँडा छिनभरमै उठाईलानुपर्ने |म यस्तै सोंच्छु,जब म टि.भीमा विश्व-प्रसिद्ध नीक वुचिकलाई प्रभुका वचन प्रचार गरिरहेको देख्छु अनि म प्रभुलाई भन्छु-‘हे प्रभु ! मलाई पनि यस्तै बनाऊ |’          

(समाप्त)
प्रतिक्रिया दिनुहोस्