Friday, December 16, 2011

डल्ली

म म्याग्दी जिल्लाको स्थानीय पत्रिका 'धौलागिरि' को पत्रकार ,क्याम्पसबाट आएर बचेको समय केही न केही समाचार टिप्नु मेरो दिनचर्या नै थियो |अहिले म भर्खर कलेजबाट फर्की आएकी थिएँ,भाउजूले मलाई-'ए! काली,डल्ली त आई रे' भनिन् |'हँ?कहिले?' भनिसोधें,ऊ त अस्ति नै कतारबाट आएर पनि गाउँ गइसकेकी रैछ |उसले मलाई यसो फोन गरी खबर पनि नगरेकिले मेरो मन खिन्न भयो तर पक्कै उसको बाध्यता होला भन्ने सोचें |खाडी मुलुकबाट फर्की आएका नेपालीहरुको कथा-व्यथा नै बेग्लै हुन्छ |पछिल्लो समयमा म यस्तै परदेशीका कथा रिपोर्ट गर्थें,डल्ली आएकी सुनेपछि मलाई उसको कथा पनि टिप्न मन लाग्यो |अनि म मेरो रुकस्याक बोकी गाउँतिर हिडें |
गाउँ पुगेको भोलिपल्ट म डल्लीलाई भेट्न हिडें |ऊ घाँस काट्न गइसकेकी रैछ,म पनि वनतिरै लागें |सानामा हामी सँगै वनमा घाँस दाउरा गर्थ्यौं,आज उही बालसखालाई भेट्न मेरो मन चंचल भइरह्यो |
आफूसँग एकदम चिरपरिचित वन,मलाई उसलाई खोज्न धेरै बेर लागेन |त्यही हामी सानामा सँगै गट्टा खेल्ने उन्यूघारीमा एक्लै डोको बिसाएर पारि कतै हेर्दै टोलाईरहेकी थिई |मैले झट्ट आफ्नो क्यामेरा झिकेर उसले थाहा नपाउने गरी फोटो खिचें 'क्लिक्क' तर फ्ल्यास आउनेबित्तिक्कै ऊ झस्की अनि मतिर पुलुक्क हेरी |पांच वर्षपछि देखेपनि उसले मलाई चिनिहाली |'आँबोई नि काली,तँ कतिखेर आइस्?' भनेर सोधिहाली | अनि सामान्य सन्चो-बिसन्चोको कुरा भयो एकछिन |
कुरै कुरामा मैले उसलाई उसको विदेश छँदाको कथा भन्न भनें |उफ्! मैले आग्रहमात्र के गरेकी थिएँ,ऊ त मेरो काखमा घोप्टो परि धुरुधुरु रोई | 'आच्या यसरी नरोई न हो,तँलाई के दुख पर्यो ?भन्,म सक्दो तँलाई मदत गर्नेछु ..' उसको आँसु पुछिदिएँ अनि ढाडस दिएँ |उसको हिक्का थामिन केही समय लाग्यो |अनि उसले आफ्नो कथा सुनाई |मेरा आँखाबाट पनि आँसुका थोपा खसे |गरिबीले छोपेको परिवारमा हुर्केबढेकी,पन्ध्र वर्षकी मस्त तरुनी हुँदै लाहुरेसित पोइल गएकी थिई तर ऊ दोजिया हुँदै लाहुर गएको मान्छे,अर्कै स्वास्नी लिएर अन्तै बस्न थालेको रैछ |उसको काखमा एउटी छोरी भई |त्यही छोरीको भविष्यकोलागि केहि गर्छु भनी विदेशिने अठोट गरी |सामान्य घरेलु कामदारको रुपमा कतार पुगिछ तर विडम्वना चरम मानसिक र शारीरिक यातनाको शिकार भइछ |तलब त परै जाओस्,राम्ररी खान पनि पाउँदिन थिई रे |एकदिन त आफुलाई थुनेर राखेको कोठाको झ्यालबाट हामफालेर भाग्न सफल भइछ अनि दुतावासको शरणमा परिछ |ऊ गैर-कानुनी कामदार भएकीले स्वदेश फिर्नु पनि त्यति सजिलो थिएन तर दुई वर्षपछि 'रमजान' को बेला कतार सरकारको आममाफी पाउनेमा पर्ने भाग्यमानी ऊ पनि परिछ |
म एकछिन स्तब्ध भएँ,बेलाबेलामा पत्र-पत्रिकामा यस्तै पिडित नारीहरुका कथा-व्यथा पढ्थें,आज आफ्नै बालसखाको त्यही हविगत देख्दा मलाई आफुले कस्तो मदत गर्न सक्छु भन्ने कुरा सोच्न बाध्य बनायो |गाउँमा हामी सँगै आठसम्म पढ्यौं,त्यसमाथि पढ्न उसको रहर पनि भएन,घरको बाध्यता पनि त्यस्तै पर्यो |मलाई पनि आमाबाले 'अब नपढ्' भनिरहेथे,मैले मानिन,जिद्दी गरेरै भएपनि दुइ घन्टाको उकालो-ओरालो काटेर 'चिमखोला'मा आई दससम्म पढें |एस.एल.सी.पछिचाहिँ म सदरमुकाममै बसेर पढाई र काम दुवैलाई संगसंगै लगें |ऊ भन्दै थिई-'आँबोई नि,म कति मुर्ख है?तैंले पढ्न जाम् भन्दा पनि म 'आ!धेरै पढेर के हुन्छ र?'भन्थें,अहिले बल्ल सोच्छु अलि पढेको भए आफ्नै देशमा स्यानो भएपनि काम पाउने थिएँ नि,यसरी अर्काको देशमा लुटिनु त पर्दैनथ्यो |'ऊ फेरि सुँक्क-सुँक्क रुन थाली,मैले अङ्कमाल गरें-'भो धेरै नरोई,तँलाई मात्र होइन अरु धेरैलाई पनि यस्तै दुख परेछ बुझिस्,नरो हामी छम् तँलाई साथ दिने..|'
डल्लीको कथा टिपेर भोलिपल्ट बिहानै म सदरमुकाम फर्किहालें |अनि उसको कथाको रिपोर्ट तयार पारें |लेखको अन्ततिर मैले यसरि आफ्नो विचार पोखें-'......समस्त आमा तथा महिला समुह! गरिबी पिडित हाम्रा दिदीबहिनीहरुलाई विदेश-पिडित हुन हामी रोक्न त सकेनौं सकेनौं तर थोरै भएपनि आर्थिक सहायता गर्न नचुकौँ साथै उनलाई आत्मनिर्भर बन्न सीप-तालिमको अवसर पनि विकास गरिदिउँ |'
मेरो रिपोर्टले साँच्चिकै जादू गरेछ |डल्लीलाई 'छन्त्याल आमा समुह'म्याग्दी जिल्लाबाट आर्थिक सहयोग भयो अनि सदरमुकाममा कार्यरत 'महिला समुहबाट चाहिँ अल्लो व्यवसायको तालिम प्रदान गरियो जसकारण ऊ अचेल गाउँमै खुशीसाथ बाँच्न सकेकी छ |मैले थोरै भएपनि डल्लीलाई सहयोग गर्न सकेकोमा मलाई सन्तुष्टि भयो |अब फेरी पनि यस्तै सत्य-कथाहरु टिपेर दुखियाको घाउमा मलम दल्न सकियोस् भनी मैले मनमनै धन्यवादसाथ परमेश्वरलाई प्रार्थना चढाएँ |
(समाप्त)
प्रतिक्रिया दिनुहोस्