Showing posts with label Nostalgia. Show all posts
Showing posts with label Nostalgia. Show all posts

Monday, October 13, 2014

मैले देखेको संसार

यहाँ अनौठो परिवेश घुमिरहेछ,
यहाँ आँशुमा मन्द मुस्कान मुस्काइरहेछ,
यहाँ अनौठो जिन्दगी सल्बलाइरहेछ |

मैले आफैले एकदिन उक्त मुक्तक मेरो फेसबुके भित्तोमा लेखेकी थिएँ | त्यो परिवेश जहाँ घुलिन पाउनु मैले आफ्नो अहोभाग्य ठानेकी छु जसको परिकल्पना पनि मेरो मानसपटलले सायदै गर्न सक्थ्यो, सपनामा पनि नसोचेको त्यो जिन्दगीको सुवास सुँघ्न पाउँदा मेरो हालै मातृशोकका कारण दुखेको घाउमा मल्हम दलिएको छ र म यसको निम्ति साक्षात परमेश्वरलाई धेरै-धेरै धन्यवाद चढाउँछु |

स्पाइनल कर्ड इन्ज्युरी (मेरुदण्ड पक्षघात)बाट पिडित,फेसबुकबाट परिचित दिदी सीता केसीले मैले आफ्नो अशक्तपनको दुखेसो पोख्ने क्रममा च्याटमा मलाई एकपल्ट नेपाल अपांग संघको जोरपाटी अपांग गृहमा जान सुझाउनुभयो | त्यही बेलादेखि नै मलाई ‘एकपल्ट गएर त हेरूँ’ भन्ने उत्कण्ठा पलाएको थियो तर त्यतिबेला मेरी प्यारी ममीले नकारिन्-‘तेरो आमाबा छैन र? त्यो ठाउँमा तँ किन जाने ? नचिनेको ठाउँमा तँलाई हेला भयो भने के गर्छस् ?’ भन्नुहुन्थ्यो  | तसर्थ, मेरी ममतामयी ममीले मलाई कतै जान नदिई आफ्नै काखमा राख्न चाहनुहुन्थ्यो अनि म पनि उहाँबिना अन्यत्र बासको त कल्पना पनि गर्न सक्दिनथें, त्यसैले बाँचुन्जेल म उहाँको सामिप्यताबाट कहिल्यै टाढिनँ तर परमेश्वरले उहाँलाई ठूलो आंधी-बेहरीसाथ लानुभएपछि मैले फेरि त्यस ठाउँको बारेमा नसोंची बस्न सकिनँ |

मातृविहिन भएपछि म यति विक्षिप्त भइथें कि मलाई घर पटक्क बस्न मन लागिराखेको थिएन किनकि घरको कुना-कुनाका हरेक वस्तुले मलाई मेरी प्रिय ममीको याद दिलाउँथ्यो जसले गर्दा सम्हाल्दा-सम्हाल्दै पनि दुखेको मुटु झन् सहनै नसकिने किसिमले चहराउँथ्यो, अन्तत: मैले घर छाड्ने निधो गरें | जिन्दगीभरि एकचोटी पनि आमाबाको छत्रछायाँबाट नटाढिएकी बचेराजस्ती म, अब टाढिने साहस बटुलें | म त्यतिको साहसिली पक्कै थिइनँ तर मातृशोकले ममा त्यो साहस पनि एकाएक सृजित भयो | बाबाले ‘नजाने’ भन्दै थिए तर मैले आफ्नो अड्डी छाडिनँ, अन्तत: म त्यहाँ जाने भएँ | बाबासित ट्याक्सीमा जांदै गर्दा मैले मनमनै प्रार्थना गरें-‘हे परमेश्वर ! आज म मेरो मनको चोटबाट उम्किन यो नौलो ठाउँमा जाँदै छु, थाहा छैन त्यो ठाउँ कस्तो होला तर तपाईं जान्नुहुन्छ, आजसम्म मैले घर कहिल्यै छोडेकी छैन, म जहाँ गएपनि तपाई मेरा साथमा हुनुहोस्, मलाई मेरी ममीको काखमा हुँदाजस्तो सुरक्षा दिनुहोस् | म त्यहाँ बस्नुपर्ने पूरा अवधि एक महिना पूरा गर्न नसकुँला कि कुन्नि तर सकेसम्म मेरो मन मिल्ने साथी जुटाईदिनुस् ताकि उसको सामिप्यताले म त्यो अवधि पूरा गर्न सकूँ |’ बस्, यस्तै-यस्तै प्रार्थना गर्दै त्यो नौलो ठाउँमा पुगें |

खुला फराकिलो चौर अनि चतुर्भुज आकारमा फैलिएको होचा तर चिटिक्क एक तले घर, भित्तामा ठूला अक्षरमा लेखिएको थियो-‘नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्र, जोरपाटी, काठमाण्डौ’ अँ यो नाउँ पढ्दा कुन्नि किन म ‘नवजीवन’ शब्दमा टक्क अडिएँ अनि एकछिन त्यसको तात्पर्यमा घोरिएँ | दुई महिना लामो बसाईंपछि मलाई साँच्चै यो केन्द्र ‘नवजीवन केन्द्र’ लाग्यो किनकि यहीं पुगेर नै मैले जिन्दगीको नबुझेको पाटो बुझें अनि आफुमा अशक्त भएपनि आत्मविश्वासको थैली बोकेर आएँ |

अलिअलि दोमन भई-भई म एक महिनाकोलागि भर्ना भएँ, अनि भित्र फिजियोथेरापी कोठामा लाग्यौं | तत्क्षण, मैले मेरो प्रार्थनाअनुसारको मित्र भेटें | प्रभुले मलाई कति प्रेम गर्नुहुन्छ, म कहिले त अचाक्ली नै आत्तिएर यही कुरा स्विकार्दिन तर मेरी ममीलाई मबाट दूर गराउनुमा कुन उद्देश्य लुकेको रहेछ, त्यो मैले थाहा पाएँ | उहाँले मलाई प्रेमकै खर्कमा चराउनुभो | अँ त त्यो कामनातीत मित्र अरु कोही नभएर मैले एकपल्ट अपांग कार्यक्रममा टिभीमा देखेकी केटी थिइन् जुनबेला ‘यो केटीलाई साथी बनाउन पाए हुन्थ्यो’ भन्ने भावना पलाएको थियो | हामी दुवै समान उमेरका अशक्त अनि त्यसमाथि ऊ पनि साहित्यकार, हाम्रो तन पनि मिल्यो-मिल्यो, मन पनि एकदम मिल्यो | दुई कथासंग्राह र कवितासंग्रह छपाईसकेकी, साहित्यमा सानु ‘घायल’को उपनामले परिचित रहिछन् मेरी मित्र सानु श्रेष्ठ | मभन्दा अघि ऊ त्यहाँ आएकी दुई हप्ता भइसकेको रहेछ | परमेश्वरलाई धन्यवाद, उहाँले मेरालागी अघिबाटै यी मित्र पठाईसक्नुभएको रहेछ | म सोंच्छु, सायद ऊ नभएकी भए म पक्कै त्यहाँ टिक्न सक्ने थिइनँ | ऊ उमेरले मभन्दा अलिकति जेठी, मैले आफ्नै दिदीजस्तै मानें, जहाँ-जहाँ ऊ, म पनि पुच्छरझैं त्यहीं-त्यहीं | उसैले मलाई व्हिल्चियरबाटै आफ्नो काम आफैं गर्न सिकाई | मैले कानको कमजोरीले गर्दा नबुझेका कतिपय कुरा उसले मलाई बुझाइदिई, तसर्थ ऊबिना त म त्यहाँ पक्क लाटी नै हुने थिएँ |

अँ, उसको कथा मैले सुनें, पढें | जिन्दगीको गोरेटो कसलाई थाहा हुँदोरहेछ र आखिर ! सानुको जीवनमा १८ वर्षको कल्कलाउँडो बैंसमै पहाड खसेछ जुन म दुष्ट शैतानको पासोको संज्ञा दिन्छु |

२०५६ सालको जेठ महिनामा विकट धाडिंग जिल्लाकी एक साधारण ग्रामिण ठिटी सानुको जिन्दगीमा त्यो भवितव्य घट्यो | दिउँसोको गर्मीमा एक अधबैंसे नारी उसको घर-आँगनमा प्यास मेट्न पानी माग्न आइपुगिछन् | उसले पानी दिएपछि ती नारीका आँखा करेसाबारीमा लटरम्म फलेका आरुमा पुगेछन् अनि उसलाई टिपीदिन आग्रह गरिछन्, अनि ऊ प्यासीको तिर्खा मेट्न त्यो रुख चढिन् | दुइ-तीन दाना झारिसकेपछि पनि अलि परको हाँगोमा फलेको आरु टिप्न आग्रह गरिछन्, एक आज्ञाकारी बालिकाझैं त्यो आग्रह मान्दा उसले समातेको त्यो हाँगो नै भाँच्चियो, अनि ऊ भुँइमा बजारिन पुगी | रुखको हाँगो संगसंगै उसको जीवनको साहरारुपी हाँगो पनि भांच्चिएको रहेछ अर्थात् त्यही भवितव्यले उसलाई मेरुदण्ड पक्षघाती बनायो जसले गर्दा आजीवन उसको कम्मरमुनिको भाग पटक्क चल्दैन | तापनि खुशमिजाजमा हाँसिरहने बोलिरहने उसले मलाई पनि हाँस्न सिकाई | पहिलोपल्ट त म उसको अगाडि रोएँ पो ब्यारे, उसले हत्तपत्त ‘ए ए ! नरोऊ, यसरी रुनु हुन्न’ भनेर थम्थम्याई | त्यसपछि फेरि कहिल्यै दुःखैको कुरा गरेपनि मेरो आँखामा आँसु बगेन |    

 मेरो कोठामा अर्की मित्र थिइन्, डोल्का शेर्पा | ऊ सोलुखुम्बुकी जन्मजात सेरिब्रल पाल्सी (मस्तिष्क पक्षघात) बाट पिडित रहिछ | हात-खुट्टा बाउँडिएका र बोली लर्बरिने खालको थियो | तापनि मसित मनग्ये बोल्थी | मेरो कानको कमजोरीका कारण उसले बोलेका कतिपय कुरा म अर्कै सुन्थें अनि हामी सब कोठा नै थर्किने गरी हाँस्थ्यौ | कान कम सुन्ने मान्छे म, त्यहाँ सबैमध्ये एक्लो बृहस्पति नै भएँ तर यही कमजोरीले नै मलाई आफू पनि हाँस्ने अनि अरुलाई पनि हँसाउने परीपाटी दियो | यसकारण अभाव र कमजोरीलाई पनि मैले परमेश्वरको आशिष मानेकी छु |

अँ, मैले कुरा गर्दागर्दै डोल्काको कथालाई पनि आफ्नो टाउकोमा हालें | विकट सोलुखुम्बु जिल्लाकी ऊ अत्यन्त गरिब परिवारकी कान्छी छोरी रहिछ | तीन दाजु र दुई दिदी रहेछन् तर उसको जन्मपश्चात बाबुचाहिं घर छाडेर हिंडिदिएछ अनि त उसकी आमाले दु:ख गरेर उसलाई हुर्काइछन् | ग्रामिण भेगमा अशक्तहरुको जिन्दगी दर्दनाक नै हुन्छ, त्यसैले उसको पनि त्यही हविगत थियो | तै पर्यटनमा अब्बल सोलुखुम्बुमा एकजना अर्ध-अशक्त गोरा पनि घुम्न आएछ जसले डोल्काको बारेमा थाहा पाएपछि सहयोग गर्न तम्तयार भएछ | त्यही व्यक्तिको सहायताले ऊ सानी ९/१० वर्षकी हुँदा नै काठमाण्डौको अपांग गृहमा शरण पाइछ | अहिले ऊ ३५ वर्षकी भइसकी रे, अनि अर्की गोरिनीले उसलाई धर्म छोरी बनाएकी रहिछन् जसले उसलाई त्यहाँ बस्ने खर्चको चाँजोपाँजो मिलाइदिएकी रहिछन् |अहिले उसलाई केहीको कष्ट छैन, ऊ आफैं केही गर्न सक्दिने तर सुसारे आन्टीहरुले उसको राम्रो ख्याल राख्छन् |

मैले झमक घिमिरेको बारेमा पढेपछि मलाई सेरिब्रल पाल्सी रोगीसित संसर्ग गर्दा कस्तो होला भन्ने ठूलो जिज्ञासा थियो, त्यो जिज्ञासा डोल्काको सामिप्यताबाट मेटीयो | पहिलो दिन खाना खाइसकेर सुत्ने बेलामा उसले मलाई मेरो उमेर सोधी, मैले २८ वर्ष भन्दा उसले ‘हो र ? तर तिमी भर्खरकीझैं छौ’ भनी | मैले सोंचेकी थिएँ मस्तिष्कको नशा नै पक्षघात भएपछि व्यक्तिको सोंच्ने क्षमतामै ह्रास आउँछ होला, तर होइन रहेछ, ऊ बोल्दा बच्चीजस्ती लागेपनि वयस्कका कुरा सबै बुझ्दी रहिछ | पहिलो भेटमै उसले व्यक्तिको अनुहार हेरेर उमेरको तादातम्य मिलाउने प्रयास देख्दा म चकित भएँ, कुरैकुरामा उसले मलाई अंग्रेजीमा ‘यू आर क्युट’ भनी, म पुन: चकित हुँदै मुस्कुराउँदै ‘यु आर अल्सो क्युट’ भनें | त्यसपछि बिस्तारै हामी त अंतरंगी मित्र पो बन्यौं, ऊ मलाई आफ्नो मनको कुरा भन्थी अनि म पनि भन्थें | मेरा गहिरा कुरा सुनेर ऊ प्रभावित भइछ क्यारे, उसले मलाई एकपल्ट यसो भनिहाली-‘तिमी मान्छे हेर्दा भर्खरकीजस्ती भएपनि तिम्रो कुरा चाहिं बुढाबुढीकोजस्तो छ’ अनि मैले हाँसेर समर्थन जनाएँ-‘हो म अरुजस्तो होइन नि डोल्का, म त झमक घिमिरेजस्तो साहित्यकार हो के, त्यसैले मलाई बुढाबुढीकोजस्तो कुरा एकदम आउँछ |’ मैले उसलाई म कथा लेख्छु र उसको कथा लेख्न इच्छुक छु भनेपछि निकै तदारुकतासाथ उसले मलाई आफ्नो कथा सुनाई | म उसलाई प्रेम गर्छु | नजाने के भयो मलाई कुन्नि, मलाई एक रात त्यो ठाउँ छाडेपछि डोल्कालाई फेरि भेट्न पाउँदिन भन्ने पिरले छोपेर अनायास आँखाबाट आँसु बगे | अहिले पनि उसले मलाई ‘आई लभ यू’ भनेको वाक्य मेरो कानमा ताजै गुञ्जिन्छ |

त्यस्तै मेरो कोठाकी अर्की मित्र हुनुहुन्थ्यो, गोमा दुलाल | उहाँ ४५ वर्षकी कठोर अर्थराइटिज नामक रोगबाट पिडित हुनुहुँदो रहेछ जसकारण उहाँको खाने मुख र हेर्ने आँखाबाहेक अरु सबै अंग कुँजो भएका रहेछन् | उफ़ ! जिन्दगी पनि कस्तो ? उहाँलाई देखेर मैले त मेरो अशक्ततालाई जिरोसमान देखें | आफ्ना हरेक दैनिकी अरुकै सहाराले चल्ने उहाँ पनि जिन्दगी हाँसेरै-बोलेरै बिताउनुहुन्छ | विशेष किसिमको व्हिल्चियरमा बसालेर घाममा राखिदिन्थे अनि आफु नजिक पर्ने सबैसित उहाँ बोल्नुहुन्थ्यो | उहाँलाई पनि त्यस संस्थामा विदेशीले सहयोग गर्दो रहेछ | मैले जानेसम्म त्यहाँ सधैंभरी बस्नुपर्ने सातजना अशक्तलाई विदेशी सहयोग जुटेको रहेछ, अरु चाहिं पैसा तिरेर मात्र बस्न पाइन्थ्यो | म अलि पढेकी भन्ने थाहा पाएर उहाँले र डोल्काले मलाई दुई-चार अंग्रेजी शब्द सिकाउन भन्थे जुन मैले सकेसम्म सिकाएँ |ती अशक्तहरुलाई पनि मैले आफ्नो ज्ञान बाँड्न पाउँदा मैले आफु पठित हुनुमा सार्थकता देखें | एक महिनाको अवधि सकिनै लाग्दा मैले ‘अब म माघमा जान्छु आन्टी’ भन्दा नजाने कुन प्रेमले ‘नजाऊ न,अझै एक महिना बस न’ भन्नुभो |

 त्यतिन्जेलसम्म मैले त्यो परिवेशलाई राम्ररी नियालीनसकेकी थिएँ, त्यसैले मलाई अर्को एक महिना पनि बस्न मन लाग्यो | मलाई लान बाबा आउँदा मैले ‘अझै फागुनसम्म बस्छु’ भनें | खासगरी म मुस्किलले एक महिनाकोलागि गएकी थिएँ तर दुई महिना बस्न सकें | सायद आफुजस्तै अशक्त धेरै साथीको संसर्गले होला म घरदेखि अलग भएपनि घरमै छु जस्तो लाग्यो | वास्तवमा घरमा हुँदा त मैले आफुजस्तै अशक्त मित्रको सामिप्यता कहिल्यै पाउन्नथें, त्यसैले यदाकदा आफ्नो अभावमा चरम असन्तुष्टी भई आँखा रसाउने गर्थ्यो तर त्यहाँ गएपछि ती मित्रसँग हातेमालो गर्न पाउँदा बल्ल मलाई आफु जिउँदै भएको आभाष भयो | त्यहाँको बसाईंक्रममा मलाई अघिअघिजस्तो निराशाले कहिल्यै छोपेन बरु म साँच्चिकै फूलजस्तै फक्रक्क फक्रिएर हाँसें, त्यो हाँसो मेरो जीवनकै खुशीको हाँसो हुन पुग्यो भन्दा हुन्छ किनकि यसअघि म त्यसरी कहिल्यै हाँसेकी थिईनँ | बरु मलाई राति प्रार्थना गर्दा ममीको यादले सताएर आँसु झर्थ्यो तर अरुबेला चाहिं मैले पटक्क आँसु खसालिनँ |

अशक्त भएपनि मित्रहरु खुब हाँसो-ठट्टा गर्थे, कसैले मलाई ‘साह्रै राम्री छौ’ भनेर ठट्टा गर्थे त कसैले ’बिहे गरौँ’ भनेर ठट्टा गर्थे | म कहाँ ठट्टा गर्न नजान्ने अन्तर्मुखी स्वभावकी लाटी, सुरुमा त म जिल्ल परें अनि पछिपछि म पनि ठट्यौली भएँ हाहाहा | म टोलाएर बसेको देख्यो कि रेखबहादुर दाइले ‘ए छन्त्याल ! किन टोलाएको ?’ भनिहाल्थे अनि ‘सबैसित बोल्ने गर, नबोली बस्नाले हो तिम्रो कान नसुन्ने भाको’ भनी सम्झाउँथे अनि म फिस्स हाँस्थें | अनि एकजना साजन श्रेष्ठ भन्ने दाइ झन् महा जोकर रहेछन | उनको बोली-व्यवहार, व्हिल्चियर गुडाई नै हाँसो-उठ्दो, सुरुमा त एकजना भाइको नाम ‘आलु’ भनी बताएर म जिल्लै परें | सानुलाई ‘तिमी मेरी प्रेमिका’ भन्दै जिस्काउने अनि सानुले ठट्टैमा कुटेजस्तो गर्थी अनि म चाहिं गाला दुखुन्जेल मुसुमुसु हाँसीबस्थें |

‘आखिर, मरी लानु के छ र ? दुई दिनको जिन्दगीमा अशक्त भइयो भन्दैमा किन सधैं उदास बस्नु ? हाँसो-ठट्टाले त जिन्दगी बाँच्ने कला सिकाउँछ’, हो यो कुरा मैले ती हँसाउने मित्रबाट सिकें | म परमेश्वरलाई धन्यवाद दिन्छु, उहाँले मेरो चरक्क चर्किएको मनलाई खुशीले टालिदिनुभो |

 अरु कोठामा पनि थुप्रै अशक्त दाजु-भाइ दिदीबहिनी थिए | कोही-कोही खोच्च्याउँदै हिंड्थे भने धेरैजसोको खुट्टा व्हिल्चियर नै थियो | त्यही संस्थासँगै हर्मन माइनरको संस्था एसओएस बालग्राम पनि थियो, त्यसैले आँगनबाटै अनाथ तथा अपांग बालबालिका खेलेको देखिन्थ्यो | ती बालबालिकालाई हेर्दै गर्दा मैले सोंचें-‘मैले त मेरा अभिभावकको प्रशस्त प्रेम पाएँ,यी बालकहरुलाई अभिभावकत्वको पक्कै पनि स्पष्ट ज्ञान छैन तर पनि यिनीहरु खुशी छन्, तब लेखान्तअनुसार मलाई मातृविहिन हुनुपर्यो, तापनि यसकै लागि पीडामा म विरक्त हुनु जायज छैन |’ साँच्चै भन्दा मलाई ती बालबालिकालाई प्रेमिल चुम्बन दिन मन लाग्यो | त्यहीं स्कुल पनि थियो, त्यहाँ पढाउन पाए यी अभिभावकविहिन बालबालिकाको संसर्गबाट मैले आफ्नो जीवनलाई सार्थक बनाउन सक्ने थिएँ भन्ने लाग्यो |

मदर टेरेसाले भनेकी थिईन्-‘म सबै बेसहारा र दुःखीहरुको मुहारमा परमेश्वरकै प्रतिरूप देख्छु |’ हो, मलाई पनि त्यस्तै भयो, ती सब हराएका आत्माले परमेश्वरलाई चिने हुन्थ्योजस्तो लाग्यो अनि मनमनै भएपनि ती सबको निम्ति प्रार्थना गरें | सकेसम्म त मैले धेरैलाई सक्दो सुसमाचार सुनाएँ अनि प्रत्यक्ष प्रार्थना पनि गरें, सबैले मेरो प्रार्थनालाई कुनै अवरोधबिना स्विकारे | परमेश्वरले ती सबलाई चंगाई दिए पनि हुनेजस्तो लाग्यो तर शरीरको निम्ति सुर्ता गरेर के लाभ ? हामीले अब शरीरको निम्ति होइन आत्माको निम्ति फिक्री गर्नुपर्छ भनी सबैलाई बताएँ | कसैले राम्रैसँग सुने भने कसैले ख्याल-ठट्टाझैं सोंचे जसलाई म स्वाभाविकतासित दाँज्छु | मेरो कोठामा चाहिं मज्जाले सामुहिक प्रार्थना हुने गर्थ्यो | अनि म विश्वास गर्छु कि थुमाको विराट भोजमा निम्ताराहरुलेभन्दा बढी यस संसारका दुःखी,दरिद्र एवं अपांगले ठाउँ पाउनेछन् | ती प्रत्येकलाई नजिकबाट नियाल्न पाउँदा मेरो जीवन धन्यको भयो |  

 त्यहाँ जन्मजात हात-खुट्टा सुकेका दाइ सेराबी केसी थिए जो व्हिल्चियरमा बस्न पनि असमर्थ थिए, त्यसैले घस्रिएर हिंड्थे | डोल्काभन्दा पनि कठोर सेरिब्रल पाल्सी पिडित एउटा १२/१३ वर्षको भाइ थियो, सुरंजन राउत | उसका हात-खुट्टा राम्ररी चल्दैन थियो अनि बोल्न पनि सक्दैन थियो तर व्हिल्चियरमा बसेर ऊ आफ्नो एउटा मात्र सबल दाहिने खुट्टाले धकेलेर एक ठाउँदेखि अर्को ठाउँ जान्थ्यो | म उसले खुट्टाले धकेल्दै व्हिल्चियर चलाएको टोलाएर हेरिबस्थें | उसले ज्यादै हल्ली-हल्लीकन पनि चम्चाले बल्ल-तल्ल भात खाएको देख्दा मलाई साह्रै माया लाग्थ्यो अनि म टाढैबाट भएपनि उसको निम्ति प्रार्थना गर्थें, त्योभन्दा बढी मेरो ल्याकतमा के नै थियो र ! अर्को एउटा १३/१४ वर्षको नवलपरासीको भाइ थियो, अमृत राना | हाँस्ने-खेल्ने त्यो उमेरमा एक वर्षअगाडि गाउँमा साथीसँग खेल्दै गर्दा माटोको ढिस्कोले पुरिएर जीवनभरि एससीआई(स्पाइनल कर्ड इन्ज्युरी) भएको रहेछ, बिचरोको खेल्ने साथी नभए पनि व्हिल्चियरलाई उठाउँदै मज्जाले कुरुकुरु खेल्थ्यो अनि कहिलेकाहीं अरु दाइहरुसँग मज्जाले टेबल टेनिस वा बास्केटबल पनि खेल्थ्यो | म्याग्दी जिल्लाको एउटा २२ वर्षे ठिटो, केशव थापाचाहिं दुई वर्षअगाडि घाँस काट्न जाँदा रुखबाट खसेर एससीआई भएको रहेछ | अध्ययनशिल ऊ, त्यस्तो भएपनि मैलेझैं हार मानेर पढाई छोडेन, बरु त्यहीं बस्दै आफ्नो उच्च अध्ययनलाई निरन्तरता दिईरहेको छ अनि अशक्त भएपनि केही गरी देखाउने सपना साँचेको छ जुन आँटलाई म कदर गर्छु | नेपालगंजको २२ वर्षे भाइ दिपक दरैचाहिं सडक दुर्घटनाले एससीईआई भएको रहेछ | अर्का पाल्पाली कृष्ण खड्का दाइ झन् अपत्यारिलो दुर्घटनाबाट एससीआई भएका रहेछन् | रोजगारीको सिलसिलामा उहाँ मलेसिया पुगेका रहेछन्, त्यहाँ काम गर्दागर्दै सधैंजसो जिममा व्यायाम गर्ने बेलामा गह्रौं फलामको भारी उठाउँदा ढाड नै भाँच्चिने गरी लडेछन् जसले गर्दा हाल उहाँको टाउको मात्र चल्छ | त्यसपछि उहाँ उतै मलेसियाको अस्पतालमा तीन महिनासम्म हल न चल भएर रहेछन्, पछि साथीभाइको सहयोगबाट नेपाल फिरेछन् | उहाँका भाइले उहाँको स्याहार-सुसार गर्दागर्दै त्यस संस्थाको बारेमा सुनेर त्यहाँ ल्याएका रहेछन् | कम्जोर आर्थिक अवस्थाको बावजुद पनि उहाँका भाइले त्यस संस्थामा बस्दा चुकाउनुपर्ने मासिक ६००० र अरु खर्च तिर्दै आएका रहेछन् | एउटा गरिब परिवारको छोरो,त्यसमाथि बिल्कुल अपांग,अझ उहाँको शरीरभरि  निको हुन जटील ‘बेड सोर्स’ भन्ने घाउ छन् जसलाई सुसारेले बेलाबेलामा सफाई तथा मलम-पट्टि गरिरहनुपर्छ |(पक्षघातीलाई हल न चल गरी सधैं एकापट्टी मात्र सुताईराख्यो भने ‘बेड सोर्स’ हुन्छन् अनि व्यक्तिको चेतनशक्ति नभएकोले त्यस्ता घाउहरु निको हुन धेरै लामो समय लाग्छ) यी सारा खर्च उहाँको भाइले मुस्किलले थेगिरहेका थिए जसको लागि उहाँलाई पनि गोमा आन्टीलाईझैं विदेशी स्पोन्सरको खाँचो थियो | परमेश्वरलाई धन्यवाद होस्,उहाँको त्यो खाँचो पूरा भयो |

एकजना रैथाने पर्यटक ठिटी घुमफिर गर्दै त्यहाँ आईपुगिछन् र उहाँको अवस्था देखी प्रेमले पग्लीछन् अनि आफ्नो तलबबाट केही हिस्सा छुट्याएर सहयोग गर्ने वाचा गरिछन् र आजसम्म उनले नै सहयोग गरेकी छन् |

‘पाउला लामा मोरिस’नाम गरेकी ती गोरीनीले त उहाँको निम्ति फेसबुकबाटै सहयोगको अभियान चलाएकी रहिछन् जसमा उनले निकै मर्मस्पर्शी पाराले लेखेकी छन्-‘...नेपाल एउटा गरिब देश हो जहाँ अपांगत्वलाई रुढिग्रस्त नजरले हेरिन्छ,कृष्ण एउटा गरिब अपांग भएपनि उसलाई बाँच्ने अधिकार छ | मैले उसलाई संस्थामा बस्ने खर्चको निम्ति सहयोग गर्ने सक्दो वाचा गरेकी छु तापनि म सबैलाई सहयोगको निम्ति आव्हान गर्छु ताकि कृष्णलाई पैसाको कमीले नै सडकमा मर्नु नपरोस् | हामी सबैका आ-आफ्नै जिम्मेवारी र समस्या छन् तर हामी मानव भएर के कोही अपांग खान नपाएर मरेको हेर्न सक्छौं ? म सकेसम्म कृष्णलाई आजीवन स्पोन्सरको खोजीमा छु, आउनुस्,तपाईं-हामी सबै हातेमालो गरौँ |’ त्यस विदेशीको त्यस्तो विशाल हृदय देखेर म हर्ष-विभोर भएँ | हाम्रो देशमा जो जतिसुकै धनी भएपनि अपांगलाई सहयोग गर्न हम्मेसी अघि सर्दैन तर त्यहाँ कोहोकोहो विदेशी त्यसरी कम्मर कसी अघि सरेको देखें | यतिमात्र कहाँ हो र, पाउलाले आफ्नो देश गएर कृष्ण दाइको बारेमा पत्रिकामा लेख अनि टेलिभिजन कार्यक्रम पनि चलाएको थाहा पाएँ जसबाट धेरै सहयोगी हात अघि सरेको छ | एकजनालाई त मैले आफ्नै आँखाले देखें,पाउलाको अस्ट्रेलियन साथी ‘अरित्रो अबेदीन’ जसले कोसेलीस्वरुप मीठो चकलेट ल्याएको थियो जुन मैले पनि चाखें अनि उसले दाइलाई भ्यान रिजर्भ गरी व्हिल्चियरमै चिडियाखाना घुमाउन लग्यो जुन दृश्यलाई मैले अव्यक्त कृतज्ञतासित हेरिरहें | पाउला आफैं कुनै धनाढ्य व्यक्ति होइन, ऊ पेशाले होटेलकी एउटी सेफ हो तर अशक्त अपांगप्रति समर्पित उनको दिल प्रशंसनीय छ, म हृदयदेखि उनका निम्ति प्रार्थना गर्छु |

परमेश्वरलाई धन्यवाद होस्, कृष्ण दाइले मलेसिया छँदै सुसमाचार सुनेका रहेछन् र त्यही संस्थामा त्यही अवस्थामा प्रभुलाई ग्रहण गरेका रहेछन् | त्यसैले हरेक शनिवार एकजना पास्टर आई उनलाई वचन सुनाउने र प्रार्थना गरिदिने गर्दा रहेछन् | मैले पनि ती गुरुबालाई भेटें र सामुहिक प्रार्थनामा सामेल भएँ | म त्यहाँ बसुन्जेल चर्च जान नपाए पनि दाइसँग वचन बाँड्न पाउँदा मलाई संगतिकै खुशी मिल्यो | प्राय: बेलुकीपख म उहाँको कोठामा गएर दराजबाट बाइबल झिकी वचन सुनाउँथें अनि उहाँ चाख मानी सुन्नुहुन्थ्यो | उहाँ त्यस्तो अवस्थामा पनि सधैं मुस्कानले भरिएका हुन्थे जुन मेरैलागी समेत प्रेरणादायी थियो अनि मसित धेरै नै हाँसो-ठट्टा गर्थे, सम्झँदा अहिले पनि खित्का छुट्छ |

दाइ:-‘अरुना ! बिहे नगर्ने ?’

म:-‘नसक्नेलाई कसले गर्छ र दाइ ?’

दाइ:-‘म गर्छु नि !’

हाहाहा...
म भनिरहन्थें-‘...तपाईलाई परमेश्वर प्रेम गर्नुहुन्छ, हामीले जस्तोसुकै अवस्थामा पनि उहाँप्रति धन्यवादी हुनुपर्छ, यो माटोको शरीर एकदिन माटैमा मिल्छ तर हाम्रो आत्मा उहाँमा बाँचिरहन्छ, त्यसैले उहाँमाथिको विश्वास नत्याग्नुस् |’ अनि उहाँ मिठो मुस्कानसहित समर्थनमा टाउको हल्लाउनुहुन्थ्यो | उहाँसँग बितेका क्षणहरु मेरा मानसपटलमा कहिल्यै नमेटिने डोब बनेका छन् | म उहाँको शिघ्र चंगाईको लागि प्रार्थना गर्छु | म जाने बेला हुँदा उहाँ घरिघरि ‘ तिमी नजाऊ,तिमी गएपछि मलाई कसले बाइबल सुनाउँछ ?’ भन्थे तर मैले आफ्नो विवशता पोख्थें | एक मन त त्यहीं बसेर ती हराएका आत्मालाई मार्गनिर्देशन गरूँ हुन्थ्यो तर म विवश थिएँ |

पहिला मलाई ममीले त्यो संस्थामा गएर हेला होला भनी डराउनुहुन्थ्यो तर हेला होइन, बरु आँखामा राखेपनि नबिझाउने प्रेम पाएँ जसलाई मैले कहिल्यै बिर्सने छैन | अशक्त मित्रहरुले त प्रेम गरे नै, यहाँसम्म कि सुसारे आन्टीहरुले पनि मलाई गाला चिमोटी प्रेमभाव व्यक्त गरे जसले म मातृविहिन छु भन्ने यथार्थ पनि भुलाई दियो | ओहो ! मजस्तीले पनि प्रेम पाउँदा म औधी पुलकित भएँ | आउने बेला ‘जाऊ’ भन्नेभन्दा पनि ‘नजाऊ’ भन्ने धेरै थिए | त्यहाँ काम गर्नेहरु कहिल्यै पनि झर्किएको देखिनँ बरु हाँसी-हाँसी रोगीका दिसा-पिसाब पनि सोहोर्थे अनि फुर्सदमा तिनै रोगीसित बसेर गफ गर्थे | फिजियोथेरापिस्ट दाई सुभाष गुरुङ र म्यानेजर अंकल रुद्र दाहाल पनि फरासिला थिए | यस्तै गरी रात्री सेवा गर्ने भाइ वीर तामांग र उमा आन्टीले गोमा आंटी र डोल्कालाई सानी नानीलाईझैं स्याहारेको दृश्य म टुलुटुलु हेर्थें, लाग्थ्यो म अर्कै ग्रहमा अवतरित छु जहाँ केवल सहृदयी,आत्मीय र सहयोगीको मात्र बास छ | त्यो ठाउँलाई त स्वर्गबाट पृथ्वीमा खसेको एउटा टुक्रा भन्न पनि मलाई अतिशयोक्ति लाग्दैन | जीवनदेखि निराश र विक्षिप्त व्यक्तिहरुलाई म बाइबल पढ्न जति सुझाउँछु, त्यत्ति नै एकपल्ट त्यो ठाउँमा पुग्न सुझाउँछु जहाँ टुक्रुक्क एक कुनामा बसेरै जीन्दगीको पाठ पढ्न सकिन्छ, जहाँ रुनुपर्ने अवस्थामा कसरी हाँस्ने भन्ने सिकिन्छ अनि जहाँ नै वास्तविक प्रेमको अर्थ बुझ्न सकिन्छ |

अर्की दिदी थिइन् कलंकी,काठमाण्डौकी सबिना श्रेष्ठ | उनी १०/११ वर्षकी हुँदा घरको छतबाट खसेर ढाड भाँच्चियो,त्यसरी भाँच्चियो कि त्यो भांच्चिएको ढाडको हाड कहिल्यै पनि नजोडिने भयो जसकारण उनी आजीवन घोप्टोको घोप्टै छिन् | घोप्टो परी लामो ट्रली व्हिल्चियरमा मुस्काउँदै आफैं गुड्छिन् अनि म त्यो पीडा दबिएको मुस्कानमा होस्टेमा हैंसे गर्थें |

अर्को ‘वसन्त’ भाइ पनि छतबाट खसेर जीवनभरी घोप्टो छ | उसको हालत झन् सबिनाको भन्दा पनि खराब छ किनकि उसले आफ्नो ट्रली व्हिल्चियर आफैं गुडाउन सक्दैन | हरे येशु ! घरको पर्खालदेखि बाहिर नदेखेको मेरो आँखाले केके देख्यो |

घाँस काट्न जाँदा भीरबाट खसेर एससीआई भएका बुढा बाजे रुद्र लामिछाने थिए, जन्मजात दुवै खुट्टा नभएको भाइ तेज घर्ती थियो, जन्मजात बामन तथा अपांग भाइ राकेश ग्वाचा थियो, सानैदेखि एससीआई भएका दाइ मिन बहादुर श्रेष्ठ थिए अनि दुरुस्तै मेरोझैं समस्याबाट पिडित भाइ दीर्घ श्रेष्ठ थियो | आदर्श सुन्दर श्रेष्ठ भन्ने बाजे झन् बिल्कुल पक्षघाती थिए जो उमेरले अधवैंसे पुरुष भएपनि रोगले गर्दा ७०/८० वर्षका बुढाझैं देखिन्थे | अर्का अंकल विष्णु पाण्डे पनि एससीआई थिए जो दिनभरि स्विटर बुन्ने काम गर्थे अनि उहाँले पनि प्रभुलाई चिनेका रहेछन् | प्रभुलाई चिन्ने सिन्धुपाल्चोक जिल्लाका अर्का एससीआई दाइ राम लामा पनि थिए जो बनेपा अस्पतालमै काम गर्दा रहेछन् | त्यहाँ भारतीय मूलकी एउटी सानी अशक्त बच्ची थिई जसको नाउँ संस्थाले नै राखिदिएको थियो, समृद्धि | मैले सुनेअनुसार त्यो बच्चीका आमाबाले उसलाई त्यहीं छाडी बेपत्ता भएका रहेछन् | अर्की बोल्न नसक्ने १०/११ वर्षकी फुच्ची थिई, पेमा लामा | ऊ मसित खुबै झ्याम्मिन्थी,कहिले मसँगै पुतली खेल्थी त कहिले मसँगै कापी-कलम लिई पढ्न आउँथी | अनि त्यस्तै अर्की अशक्त १४/१५ वर्षकी किशोरी थिई,पुतली जो मलाई देख्यो कि दन्तलहर देखाउँदै हाँस्थी | अनि ‘मस्कुलर डीस्ट्रफी’ पिडित अंकल टिकाराम ढुंगाना थिए | त्यहाँका फिजियोथेरापिस्टले मेरो रोगलाई पनि एक किसिमको ‘मस्कुलार डीस्ट्रफी भनेका छन् जसको उपचार आधुनिक चिकित्सामा छैन | यो थाहा पाउँदा मलाई कताकता दुख्यो तर मेरो निधारको लेखी लेख्ने परमेश्वरले सब ठीक गर्नेछन् भन्ने मलाई विश्वास छ |

त्यहाँ वरपर नजिकका घरबाट पनि अपांगहरु घाम ताप्न आउँथे | देवी आचार्य दिदीले एससीआई भएपनि मज्जाले स्कुटर चलाएको देखेर छक्क परें अनि मलाई पनि स्कुटर गुडाउन ‘चौ-चौ’ लाग्यो | मैले त बाबालाई भनी पनि हालें-‘बाबा ! भोलिपर्सि मलाई पनि दिदीकोझैं अपांग-मैत्री स्कुटर किन्दिनु है |’ अनि त बाबा फिस्स हाँस्नुभो | दिदी सोनिका ढकाल त दशैंमा पिङ खेल्दा लडेर एससीआई भएकी रे | उफ्, मान्छेलाई दश पनि कस्तो-कस्तो लाग्दो रहेछ | धेरै मित्रहरु अपांग भएपनि स्वावलम्बी देख्दा मलाई म पनि केही गर्न सक्छुजस्तो लाग्यो |

एउटी दिदी थिईन्, लाली शेर्पा | उहाँ एससीआई भएपनि डेरामा एक्लै बस्ने गर्छिन् भन्ने कुरा थाहा पाउँदा म अचम्मित भएँ | हो रहेछ,अरु थुप्रै एससीआई पनि मैले देखें जो व्हिल्चियरमै अन्तै डेरा गरी बस्दा रहेछन् | नेपालभरी अरु स्थानभन्दा जोरपाटी नै बढी अपांग-मैत्री भएकोले त्यहाँ टाढा-टाढाबाट अपांगहरु आउँदा रहेछन् | सुरुमा छक्क पर्दै ‘कसरी’को प्रश्न गर्दा लाली दिदीले भनिन्-‘हामीजस्तोलाई सधैंभरी आमा र बाले हेर्न त सक्दैनन् नि, त्यसैले व्हिल्चियरमै पनि आत्मनिर्भर हुनुपर्छ |’ उहाँको भनाइले मेरो लुलो आँतमा पनि जोश पलायो |

दिदीको कथा पनि मर्मस्पर्शी छ | उहाँ विकट सोलुखुम्बु जिल्लाकी एक ग्रामिण युवती, एससीआई हुनुभन्दा पहिले नै उहाँ विवाहित अनि एउटी छोरीकी आमा पनि भइसक्नुभएको रहेछ | गाउँमा घाँस काट्न जाँदा रुखबाट लडेर त्यस्तो हुनुभएछ तर त्यसपछि उहाँको श्रीमानले उहाँलाई त्यागिसकेको रहेछ | अनि त्यो श्रीमान भनाउँदोले अर्को बिहे पनि गरिसकेको रहेछ |

‘जीवनभरि साथ दिने बाचा गरेको लोग्नेले त्यस्तो अवस्थामा छोड्छ भने त्यो कस्तो प्रेम ? यस्तो हुनुभन्दा त विवाह नै नहुनु जाती है ?’ सानु र म यस्तै-यस्तै अंतरंगी कुरा गर्थ्यौं | उसले चिनेको अर्की एससीआई दिदी भने अपवाद परिछन् | ती दिदीलाई चाहिं त्यस्तो भएपनि लोग्नेले छाडेन बरु अति नै प्रेम गर्छ रे, त्यहाँ घुमफिर गर्नलाई बेलाबेलामा गाडी र खर्चको व्यवस्था पनि गरिदिन्छ रे | ‘प्रेम हुनु त यस्तो पो है ?’ भन्दै हामी दुवै होमा हो मिलाउँथ्यौं | मैले चिनेकै अर्की दिदी राधिका रिजाललाई पनि लोग्नेले त्यागेन तर एससीआई भएपछि उहाँमाथि सौता परेछ | मैले यो थाहा पाएपछि ‘हो है दिदी जसलाई पनि काम गर्न सक्ने बुहारी नै चाहिन्छ’ भनें, अनि उहाँले मुस्काउँदै ‘हो’ भन्नुभो | जे होस् सासु,सौता र लोग्नेसँगै रहने उहाँ खुशी नै हुनुहुन्छ | उहाँ दिनभरि बुन-तुनको काम सकेर गोमा आन्टीको छेउमा आई गफ गर्नुहुन्थ्यो, अझ पाएसम्म एउटा मोटो उपन्यास पढ्दै आन्टीलाई सुनाउँदै गर्नुहुन्थ्यो | त्यो दृश्य देख्दा म भित्रभित्रै गद्गद् हुन्थें |

लाली दिदीकी ११/१२ वर्षकी र राधिका दिदीको १४/१५ वर्षकी प्यारी छोरी छिन् जो विद्द्यालयको छुट्टीको दिन आ-आफ्ना ममीको व्हिल्चियर घचेट्दै त्यहाँ आउँथे | कुरैकुरामा म ‘तपाईहरुको छोरी भएको राम्रो, छोराको तुलनामा छोरीले त धेरै माया गर्छे नि’ भन्थें अनि उहाँहरु मुस्काउनुहुन्थ्यो | पारिजातलाई पँधेरामा एउटा बालक देख्दा नजन्माएको छोरोको लालसा भएजस्तै मलाई पनि कताकता नजन्माएकी छोरीको लालसा भयो, फलस्वरूप भविष्यमा एउटी धर्म-छोरी पाल्नुपर्यो भन्ने कल्पनामा डुब्न थालें, हिहिही.|

त्यो संस्था वि.सं.२०५८ साल अघिसम्म पूर्ण नि:शुल्क संस्था रहेछ तर त्यही साल प्रमुख दाताको निधन भएकोले संस्था नै बन्द भएछ | पछि फेरि सशुल्क पुनः सुचारु भएको रहेछ | मलाई फेरि त्यस्तै नि:शुल्क बनाउन सकिए हुन्थ्योजस्तो लाग्यो ताकि अति विपन्न अपांगहरुलाई पनि त्यहाँ पुनर्स्थापन गर्न सकियोस् | यसको निम्ति त्यस संस्थाको लागि पनि प्रार्थना गरौँ |  

अँ त मेरो दिलको कुरा कहाँसम्म पुग्यो भन्ने पनि भनिहालूं | म मातृशोकका कारण स्वयं परमेश्वरदेखि असन्तुष्ट थिएँ तर उहाँले मलाई गालामा प्याट्ट हानी ‘तँमात्र एक्लो छैनस्,बुझिस्’ भनी त्यो संसार देखाउनुभो जसलाई देखेर म नतमस्तक भएँ | मेरो पिताप्रति मेरो असन्तुष्टि पश्चातापपूर्ण क्षमायाचनासहित सेलायो | मलाई त के नै पो थाहा छ र ? जति बुझ्यो, उति निस्पट्ट बुद्धु आफुलाई पाउँछु | मेरो भूत,वर्तमान र भविष्य परमेश्वरकै हातमा छ | मैले निर्क्यौल गरें, मैले मातृ-वियोग सहनु नपरेको भए त्यो संसार सायदै अनुभव गर्न पाउने थिएँ | त्यो संसार जहाँ मैले सबसित गहिरो प्रेम गरी आएकी छु, त्यसलाई म फेरि देख्न चाहन्छु | अब मसित नयाँ सपना छ, म पनि उनीहरुको मुहारमा मुस्कान ल्याउन सकूँ, उनीहरुमा परमेश्वरको प्रेम खन्याउन सकूँ अनि उनीहरुसँगै हाँस्दै-खेल्दै जिन्दगीको चीर समाधीसम्मै जिउन सकूँ | यही उत्कट अभिलाषा नै मैले देखेको त्यो संसारले मलाई दिएको छ |

(समाप्त)

पुनश्च:-मेरा प्यारा ख्रीष्टिय दाजुभाई तथा दिदीबहिनीलाई मैले यहाँ उल्लेख गरेका व्यक्तिका नाउँलाई सधै आफ्नो प्रार्थनामा सम्झिदिनुहुन अनुरोध गर्दछु |

Thursday, June 28, 2012

Journey of My Life

मेरो जीवनको एउटा पाटो,साइप्रस...
गुगल सर्च गर्दा जसरी विभिन्न नतिजा आउँछन्,त्यसरी नै साइप्रस भन्ने शब्द मनमा आउनासाथ धेरै कुराको झझल्को आउँछ | कुनै यादले सम्झँदै तन र मन दुवैमा चन्चलता ल्याइदिन्छ,कुनैले मुहारमा मन्द मुस्कान ल्याइदिन्छ भने कुनैले आँखाबाट आँशु पनि चुहाइदिन्छ | पहिलो अनुभव सबैको अविस्मरणीय हुन्छ भन्छन्, मेरा हरेक पहिलो अनुभव साइप्रससित जोडिएकोले यो मेरोलागि अविस्मरणीय छ किनकि यससँगै मेरो पहिलो विदेश-यात्रा,पहिलो काम अनि पहिलो प्रेम पनि गाँसिएको छ | सोंच्ने बेला धेरै कुरा मनमा आउँछन् तर लेख्नेबेला कहाँबाट सुरु गरूँ ? भन्ने कुरा नै गाह्रो हुँदै छ |

एउटा सानो पृष्ठभूमि:-
बाह्र सकिएपछि आफ्नो क्यारियर केमा बनाउने भन्ने ध्याउन्नले गाँजेको थियो | हाम्रो मंगोलियन समाज जहाँ छोरोले एसएलसी दिन पा’छैन,लाहुरे बन्नुपर्छ,विदेश जानुपर्छ भन्छन् [पढेर डाक्टर इन्जिनियर बन्नुपर्छ त कसैले भन्दैनन्],त्यस्तो समाजमा लाहुरे बन्नु भाग्यमानी मानिन्छ,त्यसैले त्यही समाजको केटो म,मेरालागि लाहुरे बन्नुबाहेक अर्को ठूलो क्यारियर केही थिएन | मानिसहरु भन्थे टाउको ठूलो हुने र बत्तिस दाँत हुने मान्छे भाग्यमानी हुन्छन् रे,यी दुवै चिज ममा थिए,त्यसैले यही कथनमाथि विश्वास गरी म आफूलाई भाग्यमानी सम्झन्थें | फेरि भाग्यमानीका आफ्नै रहरहरु हुन्छन्,तिनै रहरहरुमध्ये मेरो पनि मनको कुनै कुनामा विशेष दुई रहर थिए,एउटा-राम्रो नकुरी [लाहुरे हुने] र अर्को-राम्रो छोकरी [एउटी गुरुङसेनी बिहे गर्ने] J | तर विडम्बना ! रगत-पसिना एक गरेर कोशिश गर्दा पनि लाहुरे बन्न सकिएन, अनि आमाबाबुलाई मनाएर अन्तरजातीय बिहे गर्छु भन्ने साहस पनि भएन,जीवनको प्राथमिक सपना यत्तिकै चकनाचुर भयो,अनि मलाई आफैंलाई भन्न मन लाग्यो-‘ईस् ! तँ भाग्यमानी !’
जब सपना टुट्छ,तब धेरै नै दुःख लाग्छ तर हामी मानिसको महानता यसमा छ कि हामी टुटेका सपनासित बिलाएर जांदैनौं,हामी फेरि अर्को सपना देख्छौं,त्यस्तै मैले पनि देखें,विदेश गएर सफल हुने सपना |अन्ततः म लाहुरे हुन नसकेको निराशा र नयाँ आशा दुवै लिई काठमाण्डौ आएँ | त्यहाँ मेरो धनेसँग भेट भयो |उसको हालत पनि मेरोभन्दा राम्रो थिएन | हरेक आम नेपालीको भावनाझें विदेश नगए केही प्रगति हुन सक्दैन भन्ने मेरो र उसको विचार एकदम मिल्न गयो तर जाने कहाँ भन्ने कुरा आयो | देशबाट जसरी पनि फुत्किनुपर्छ भन्ने सोंच् भएको बेला ‘१००% भिसा ग्यारेन्टी’ भन्ने विज्ञापन देख्दा मैले त्यसैलाई राम्रो विकल्प ठानें | धने खासै इच्छुक त थिएन तर मैले मेरो विचार राख्दा उसले ‘टाइटानिक’ फिल्ममा ज्याकले रोजलाई ‘यु जम्प,देन आई जम्प’ भनेझैं भन्यो | त्यसपछि सुरु भयो साइप्रस पठाउने कन्सल्ट्यान्टको खोजी | बजारमा थरि-थरिका भाउ थिए | कसैले दस हजार त कसैले बीस हजार माग्थे,हामी पनि लगानीकर्ता ‘वारेन बुफ्फे’भन्दा कम कहाँ थियौं र,हामीलाई पनि १००%भिसा ग्यारेन्टी[उच्च मुनाफा] तथा कम खर्च[कम जोखिम] चाहिएको थियो | अन्तमा बागबजारको एउटा कन्सल्ट्यान्सीमा गएर हाम्रो यात्रा टुंगियो | त्यहाँको सुपरभाइजरको कुरा पनि मनपर्यो,उहाँले भन्नुभो-‘मैले पठा’को एउटा भाइले त साइप्रस गएर धेरै प्रगति गर्नुभो |’ प्रगतिचाहिं के भनेको त ‘मोबाइल किन्यो,स्पोर्ट्स बाईक किन्यो अनि बैंक ब्यालेन्स बनायो’रे | उसको कुरा निकै रुच्यो किनकि जीवनमा कहिल्यै बैंक ब्यालेन्स थिएन [एउटा फाइनान्स कम्पनीमा दुई चार हजार जम्मा गरेथें,त्यो पनि साला कम्पनी नै भाग्यो],अनि मोबाइल त हलिउड फिल्ममा हिरोले चलाएको देखिन्थ्यो तर आफ्नो थिएन | त्यसैले कतिखेर साइप्रस जाउँ,बुटामा फालेको पैसा टिपूँ र ती सारा सपनालाई विपनामा बदलूं भन्ने विचार पलायो | त्यसबीच जसो-तसो भिसा आयो,तर त्यहीबेला साइप्रस गएका विद्द्यार्थीलाई त्यहाँ एकदम दुःख छ भन्ने खबर पत्रिकामा आयो जसकारण साइप्रस जाने कि नजाने दोधारमा थियौं तर बज्यैले ‘जा भो नाति,जसो पर्ला उसो टर्ला,हामी तेरो साथ छौं’ भनेर हौसला दिनुभो | उहाले दिनुभएको हौसलाको म सधै कृतज्ञ छु | धनेलाई मैले ‘जाऔं,जे होला-होला,फाटेको झोला’ भनें,उसले पनि मेरो कुरामा १००% सहमति जनायो | सायद साइप्रस जाने साथी धने नभईदिएको भए म जाने थिइनँ होला,पछि उसैले मलाई भन्यो-‘यार,तँसित मेरो भेट साइप्रस जानकी लागि भएको रैछ |’ जे होस्,साइप्रसको यात्रा यसरी तय भयो |
पहिलो उडान तथा पहिलो विदेश यात्रा:-
फ्लाइट काठमाण्डौबाट बहराइनतर्फको थियो |पहिलोपल्ट देश छोडेको,विदेश हेर्ने रहर बहराइन गएर पूरा भयो |त्यहाँ गगनचुम्बी महलहरु देख्दा मनले युरोपको कल्पना गर्यो | ८ मार्च २००५ को साँझ हामी साइप्रसको आकाशमाथि थियौं,प्लेनबाट देखिएको दृश्य ज्यादै नै मनमोहक थियो | कपासका भुवाजस्ता बादल,अनि तल निलो समुन्द्रको बीचमा साइप्रस-आहा ! प्लेनले अवतरण सुरु गर्यो अनि एयर होस्टेसले हामी ‘लारनाका एयरपोर्ट’ आइपुग्यौं भनेर घोषणा गरी,मैले झ्यालबाट यसो हेरें,झट्ट हेर्दा गोदामझैं देखें अनि माथितिर होर्डिंग बोर्डमा ‘लारनाका इन्टरनेसनल एयरपोर्ट’ लेखिएको देखें,सुरुमा त त्यो युरोपको अन्तर्राष्ट्रिय एयरपोर्ट भन्ने कुरा मनले मान्दै मानेन,तर सत्य आखिर सत्य नै थियो..[पहिलो झट्का]..|आवागमन कक्षमा पहिलोपल्ट हामी दोस्रो दर्जाको नागरिक भएको अनुभव बटुलें | त्यहाँ लगभग २ घण्टाजति बित्यो,त्यसपछि एउटा ट्याक्सीमा हामी हाम्रो गन्तव्यस्थल-‘आइया नापा’तिर लाग्यौं |बाटोमा चारैतिर हेर्दा उराठ भूमिबाहेक केही देखिन्न,जताततै तोरीका फाँट थिए,अगाडि पुग्दै गर्दा त झन् कतै गाइ गोठ,कतै भेडा-बाख्रा गोठ देखिन्छ [दोस्रो झट्का] | मन साह्रै नरमाइलो भो,धनेलाई हेरेको त ऊ पनि खिन्न मुद्रामा थियो,मैले थाहा नपाएजस्तो गरी मन भुलाउने अभिप्रायले गीत गाउन थालें [त्योबेला त म २४ घन्टे एफएमझैं थिएँ नि,क्वालिटी होस् कि नहोस्,क्वान्टिटीचाहिं हुन्थ्यो] | मैले युरोपझैं त्यहाँ पनि अग्ला-अग्ला बिल्डिंग होला भन्ने सोचेथें तर ट्याक्सीमा एक घण्टा घुमेर पनि त्यस्ता बिल्डिंग कतै देखिन,अन्ततः गगनचुम्बी महल हेर्ने आशचाहिं त्यहाँ आएर मनमै बिलायो | आफ्नै कोठा थिएन,त्यसैले पहिल्यै चिनेको एकजना दाइको कोठामा आफ्ना झोला राखेर बाहिर घुम्न निस्कियौं | आइया नापा भन्ने ठाउँ पनि बडो अजिब गरिब लाग्यो,जहाँ जता हेरेपनि सुनसान देखियो | बाटामा दृश्य कतै हलिउड फिल्म,टाइटानिक वा जुरासिक पार्कका सेटझैँ देखिए,ती खण्डहरझैँ लाग्यो,पछि ती ग्रीष्मयाममा खुल्ने अस्थाई रेस्टुरेन्ट रहेछन् भन्ने थाहा हुन आयो | अनि बेलुकी राति सबैले आफ्ना दुःखका कुरा सुनाउन थाले | कसैको मुखबाट पनि आशालाग्दो कुरा निस्किएन,भविष्य ज्यादै अन्धकार देख्न थालियो,कसैले त अब त्यहाँको माया मरेर नेपाल फर्कन पनि सुझाए [तेस्रो झट्का] | तर फर्किनु कसरी ? दिदी-बज्यैले टिका लगाइदिएर बिदा भई आको,घरबाट आमाबाको आशिर्वाद लिएर,केही गर्छु भनी वचन दिएर आको,अब फर्किनु त ?...मरिजाउँ,फर्किन्न |
पहिलो काम:-
दिनहरु बित्न थाले,साइप्रसमा पढ्नको लागि र बस्नको लागि काम गर्नु जरुरी थियो |धेरै दिन भौंतारिएपछि एउटा होटेलको म्यानेजर फेला पर्यो,उसलाई डराई-डराई हामीले कामबारे सोध्यौं,उसले अर्को मंगलवार ‘क्लिनिंग’को काम मिल्नसक्छ भनी हाम्रो फोन न. माग्यो | हामीलाई अर्को मंगलबार भोलि नै भइदिए हुन्थ्योजस्तो लागिरहेको थियो | कुर्दा-कुर्दा मंगलबार पनि आयो तर त्यो साहुको फोन आएन | धेरै कुरेपछि हामी आफैं फेरि उसलाई भेट्न जाने निधो गर्यौं | त्यस दिन कलेज गइएन | होटेल पुग्दा एउटा माली बगैंचामा थियो,उसलाई साहुबारे सोध्यौं,साहु एकछिनपछि आउँछ भन्यो | माली बडो बाठो रहेछ,साहु नआउन्जेल उसलाई काम सघाउन भन्यो,के सघाउने भनेको त होटेलको आँगनभरि रुखबाट खसेका पात टिप्ने रे | होटेलको साहुले काम दिने-नदिने टुंगो थिएन तर मालीले चाहिं काम अह्राइहाल्यो | अब के गर्ने,अरु उपाय थिएन,मान्नैपर्यो, अफ्नोलागी त त्यो मालीको हुकुम पनि ‘श्री पंच’को हुकुमझैं भो | काम गर्दै हुँदा साहु पनि आयो, अनि काम दिन्छु पनि भन्यो,आफूलाई त कानाले आँखो पाएझैं भो,याहु...| त्यसपछि साहुले होटेल पछाडिको पार्किंग लट सफा गर भनेर गयो | आफुलाई त त्यो काम वालस्ट्रीटमा कोष विश्लेषणको काम पाएझैं सुखानुभूति भयो | शानले मेहनत गरियो | साइप्रसको त्यो चर्को घाममा बाह्र बजेसम्म नबिसाई कतियौं | भोक त आफ्नो ठाउँमा छँदै थियो,त्यसमाथि बेस्सरी तिर्खा लागेको थियो,धनेले ‘तिर्खा लाग्यो,पानी खान जाम्’ भन्यो,मैले ‘एकछिन पर्खौं,साहु आउँछ कि ? अनि सोधेर नै जाऔंला’ भनें तर साढे एक बज्नेसम्म पनि साहु आएन | तिर्खाले साह्रै सताएपछि डराई-डराई बिसाएर पानी खान गयौं,पानी खाएर आएर फेरि काम गर्न थाल्यौं | निरन्तर काम गर्दागर्दै ४ पनि बज्यो तर कोही आएन | धनेले त ‘म त ढल्न आँटिसकें,बिसाउँ भो’ भन्यो,मैले फेरि ‘पाँच बजुन्जेल गरौँ,साहु आइहाल्ला कि’ भनेर सम्झाएँ | पाँच पनि बज्यो तर कोही आएन | अति भएपछि के हो,कसो हो भनी सोध्न हामी साहुको अफिस लाग्यौं |गएर हेरेको त ढोकैमा ताल्चा थियो,मान्छे पनि कोही थिएन,साह्रै नराम्रो लाग्यो,आफ्नो घर हुँदा आमाबाले ‘आफ्नो कोठा सफा गर’ भन्दा अनेक बहाना बनाइन्थ्यो-‘पढ्नु छ,साथीसँग होमवर्क डिस्कस गर्नु छ’ भनेर पन्छिन्थ्यो | कहिलेकाहीं केही काम अह्राए निकै ठूलो भएर कुरा गरिन्थ्यो अनि हरेक काममा जस वा इनाम खोजिन्थ्यो तर यहाँ जस र इनाम त के,कसैको चासो पनि नपाइने | भोक,तिर्खा र थकाइको कोसेली लिएर [साथमा नारायण गोपालको ‘झरेको पात’ गीतको पार्श्व संगितमा] निराश भएर हामी घरतिर लाग्यौं | आउँदै गर्दा बाटामा सुन्तलाका बोट देखियो,धनेले-‘सौन,भोक धेरै लाग्यो,सुन्तला खाऔं न’भन्यो,मलाई पनि ती राता-राता सुन्तला देखेर लोभ नलागेको त थिएन तर कसैले गाली गर्ला कि भन्ने डर थियो | युरोप हो,कतै सिसिटिभी क्यामेरा पनि हुन सक्छ भनेर यताउता हेरें,पछि ढुक्क भएर आफ्नो भएभरको बल लगाएर उफ्रेर एउटा सुन्तला टप्प टिपें | सबैले खानेकुराभन्दा भोक मिठो भन्छन्,हामीलाई त्योबेला कस्तो भाथ्यो होला ? कल्पना गर्नुस् त |सुन्तला छोडाएर आधा आफुले आधा धनेलाई दिएँ,हामीलाई भोकले यति सताएथ्यो कि एकछिन पनि नरोकी त्यो आधा केस्रा क्वाप्पै मुखमा हाल्यौं | त्यो क्षण त म कहिल्यै भुल्दिनँ | किनकि सुन्तला जति छिटो मुखमा हालियो,त्यति नै छिटो थुक्नु पनि पर्यो,सुन्तलाको स्वाद बयान गर्नुपर्दा,त्यसको स्वाद टर्रो,अमिलो,बान्ता गर्दाको पानीझैं थियो |मन त पहिल्यै तीतो थियो,झन् मुख पनि तीतो भयो,झन् रीस पनि उठ्यो तर कसलाई गर्ने ? कसैले हामीलाई ‘खा’ भनेर कर गरेको पनि थिएन,त्यसैले केही नभएझैं गरी चुपचाप आफ्नो बाटो लाग्यौ..उदास मन लिएर..:-

भोलिपल्ट फेरि त्यहीं गयौं,त्यसपल्ट चाहिं खाना खाएर गयौं,साहुले फेरि काम अह्रायो अनि दिनभर पेशेवर स्वीपरझैं काम गरियो |साँझतिर पैसा मागेको त ‘अहिले होटेल खुलेछैन,शुक्रबार आऊ’ भन्यो,अब के गर्ने ?,साथीहरु भन्थे-‘यहाँ कतिले काम त अह्राउँछ तर पैसा दिंदैन’,आफू पनि त्यही पिडित पात्र भइयो भनेर मन दुख्यो [चौथो झट्का] | घर आयौं,खाली हात,साहुले पैसा देला भन्ने त कुनै आश थिएन तर पनि शुक्रबारको दिन त्यहाँ गयौं | मनमा अनेक शंका-उपशंका लिएर साहुको अफिसमा छिर्यौं,हामी कोठामा प्रवेश गरेपछि साहुले एकछिन सोचेर भन्यो-‘अरुलाई मैले १० पाउण्ड दिन्थें,तिमीहरुले चाहिं राम्रो काम गर्यौ,त्यसैले १५ पाउण्ड दिन्छु अनि अर्को हप्ता पनि काम दिन्छु |’ हाम्रो त खुशीको कुनै सीमा नै रहेन |
आफ्नो पसिना बगेको पैसा हात पर्दा बेग्लै अनुभव र सन्तुष्टि भयो,कालो बादल मडारिएको जीवनमा आशाका किरण पर्न थाले,हामी यति उल्लासित भयौं कि आफुले संसार नै जितेकोझैं अनुभव गर्न थाल्यौं | रमाउँदै घरतिर लाग्यौं,अनि बाटामा मैले गीत गाउन थालें,धनेले-‘सौन,तिमीले आज कति धेरै दिनपछि गीत गायौ है ?’ भन्यो,म झल्याँस्स भएँ,साँच्चै साइप्रस आएको पहिलो दिनदेखि मैले गाउन छोडेको थिएँ,त्यो कुरा धनेले राम्ररी ख्याल गरेको रहेछ | बिचरा म L |त्यसपछि त कामको सिलसिला नै सुरु भयो,आज कुचो लगाएको ठाउँमा भोलि फेरि लगाउनुपर्ने,आज घाँस उखेलेको ठाउँमा पछि फेरि घाँस पलाउने |घाँस उखेल्दा-उखेल्दै बानी नै यस्तो पर्यो कि बाटामा कतै लामो घाँस देख्यो कि उखेलेर फाल्न मन लाग्थ्यो [मजाकी तर कटु सत्य J] |
त्यस होटेलमा काम गर्दा मैले केही राम्रो कुरा पनि देखें |त्यहाँका जीएम हामीलाई काम अह्राउँदा आफैंले कोदालो समातेर,माटोमा हात हालेर यसो गर,उसो गर् भनेर सिकाउँथ्यो |हाम्रो देशमा म्यानेजरले यसरी सिकाउँछ होला ??अहँ...कसैले सिकाइहाले पनि गोजीमा हात हालेर खुट्टा उचाल्दै इशाराले सिकाउँछ,पक्कै |कहिलेकाहीं म्यानेजर क्यान्टिनमा आफैं आएर तल्लो तहका कामदारसँगै बसेर गफ गर्थो,खान्थ्यो |को ठूलो,को सानो भन्ने भावना थिएन त्यहाँ,सबैलाई समान व्यवहार थियो |नेपालमा यस्तो कहिल्यै होला ?,जहाँ हाकिमलाई बोल्न त के भेट्न पनि फुर्सद हुँदैन | अन्ततः म भन्न सक्छु हाम्रो देश गरिब भएर हामी दोस्रो दर्जामा पुगेका होइनौं बरु हामी आफैं नै दोस्रो दर्जामा पुगेर हो |कुनै पनि देश त्यसै धनी र विकसित हुँदैन,फरक त्यहाँका नागरिकका विचारले गर्दा हो |हामीले पनि जबसम्म आफ्ना विचारमा परिवर्तन ल्याउँदैनौं,तबसम्म देशको विकास सम्भव छैन |
जे पायो त्यही कुरा....
सुरुसुरुमा साइप्रेलीले ‘ट्याक्सी-ट्याक्सी’ भनेको सुनिन्थ्यो,पछि थाहा भो त्यो ‘एन्देक्सी’ रहेछ जसको अर्थ ‘हुन्छ’ रहेछ |कुनै पनि भाषा मान्छेले पहिला नराम्रोचाहिं छिट्टै सिक्छ भन्छन्,हामी पनि त्यही ड्यांगका मुला जो थियौं,भएभरका छाडा शब्द सिकियो अनि आफैं-आफैंमा भनाभन..हेहे.. |त्यस्तै गरी हामीले बिस्तारै ग्रीक सिक्यौं |ग्रीक भाषा अनौठो अनि साइप्रेली भाषा ज्यादै ठाडो लवजको,नम्रता त पटक्कै हुने थिएन |टाढाबाट सुन्दा झगडा गरेको हो कि कुरा गरेको,छुट्याउनै गाह्रो |त्यहाँ सबैले ‘माइ फ्रेन्ड’ भनेर बोलाउँथे,सुरुमा त ‘मेरो साथी’ भनेका भनेर राम्रो लाग्यो तर पछि थाहा भयो,त्यहाँ विदेशीजति सबैलाई ‘माइ फ्रेन्ड’ भन्दा रहेछन् |पछि त बुढा-बुढी,केटाकेटी सबैले ‘एला रे माइ फ्रेन्ड’ भन्दा रिस पो उठ्न थाल्यो,त्यस शब्ददेखि |कोही-कोही त एकदम गोरु के,’तेरो देशमा कार छ ?’भनी सोध्थे,म पनि के कम, ‘तेरो देशमा रेल छ ?’ भनेर सोध्थें किनकि मलाई थाहा थियो साइप्रसमा रेल छैन |अर्को फेरि आलु साहु थियो,कहिले उसले ‘काम छिटो गर’ भनेर दिक्क,कहिले उसको कुरा सुनेर दिक्क, ‘तेरो देशमा आलु हुन्छ ?’ पो भन्छ है,साला त्यही आलुले मुखमा हानी-हानी मारिदिउँजस्तो |  
 ग्रीष्मकालीन काम;-
गर्मी याम आउन लागेको थियो,हामीलाई स्थाई काम मिलेको थिएन अनि काम गर्ने अनुमतिको कागजात पनि त्यतिन्जेल थिएन |पोल्ने घाममा दिनभरि हिँडेर काम खोज्नुपर्ने,कसै-कसैले त माया गरेर ‘भित्र आऊ,बस’ भन्थ्यो,पानी पनि दिन्थ्यो तर कसैलेचाहिं ढोकैबाट ‘नो’ भनेर फर्काउँथे |अन्तमा गर्मीयामको उत्तरार्धमा हामी सबले भाँडा माझ्ने काम पायौं | पहिलो दिन साहुको बुढीले ‘यसो-यसो गर’ भनेर काम अर्हाई अनि ट्वाइलेट लगेर ‘यो पनि सफा गर’ भनी |नराम्रो लाग्यो,आफ्नो घरमा बाबाले ट्वाइलेट सफा गर्दा ‘नगरे नि हुन्छ बा,किन गर्नुपर्यो ?’ भन्थें,यहाँ अर्काको ट्वाइलेट सफा गर्नुपर्दा मन सानो भो, ढोका लगाएँ,अघिल्तिरको ऐनामा आफ्नो मुहार हेरें,म भ्रमको जालमा फस्न पुगें [हुनु न खानु आत्म-सम्मान वा स्वाभिमानको भ्रम],तर त्यति नै बेला बाबाले भनेका शब्द सम्झें. ‘मान्छेमा सहनशीलता हुनुपर्छ’ अनि ‘चोर्न र ढाँट्न लजाउनु तर काम गर्न कहिल्यै नलजाउनु’,बाबाका यी शब्द सम्झेपछि बल्ल मेरो मनमा उब्जेको भ्रम हराउन पुग्यो |मेरो त्यस्तो भ्रम पक्कै त्यो मेरोमात्र नभएर हामी सब नेपालीको भ्रम हो,हामी आफ्नो देशमा हुँदा सानोतिनो काम गर्न लजाउँछौ र त्यस्ता काम गर्नेलाई पनि राम्रा नजरले हेर्दैनौं तर विदेश पुगेपछि बल्ल हाम्रो घैंटामा घाम लाग्दो रहेछ,हाम्रो आफ्नो सारा भ्रम तोड्छौं अनि सानोभन्दा पनि सानो काम गर्न हिच्किचाउँदैनौं |
पहिलो...???सोच्नुस् के होला ??
जे होस् त्यसपछि मेहनत गरेर भाँडा माझियो,धेरै दुःख हुने रैछ भाँडा माझ्न पनि यार,छिटो गरी एक डङ्गुर माझ्यो,फेरि अर्को डङ्गुर आइहाल्ने,कहिले त भाँडा नै फालिदिउँजस्तो हुन्थ्यो तर के गर्नु आफू भूमिका निभाउन आको,भुमीका त निभाउने पर्यो |काम त राम्रै चल्दै थियो तर काम गर्ने अनुमतिपत्र नभएकोले त्यो काम छिट्टै छोड्न पर्यो अनि बल्ल-तल अर्को काम पनि पाइयो | साइप्रसमा मेरा सुरुवाती दिन बिग्रेको दुर्भाग्यजस्तै थियो |अर्को रेस्टुरेन्टमा ‘मोपिंग’को काम गर्दै थिएँ,दुईजना मान्छे आएर सोध्यो ‘माइ फ्रेन्ड,व्हे आ यु फ्रम ?’,मैले तिनीहरुलाई देख्नेबित्तिकै पक्कै पनि इमिग्रेसनका मामा हुन् भन्ने बुझिहालें,मैले प्रत्युत्तरमा ‘नेपाल’ भनिनसक्दै मामाहरुले मेरा हातमा ‘गहना’ लगाइदिए |गाडीमा लग्यो,नराम्रो त लाग्या हो,तर केको नराम्रो,केहीजस्तो लागेन | धनेलाई झन् दुई हप्ता अगाडि नै मामाले समातेको थियो अनि त्यसबाट थाहा पाएको थिएँ कि उनीहरुले तुरुन्त नेपाल फिर्ता पठाउँदैनन्,त्यसैले ‘अझ दुर्दिन त आउन बाँकी नै छ नि,रमाउ’ भन्ने सोंच्दै म ढुक्क भएँ |त्यसपछि केही सोधपुछ गरेर फलामे बारमा हुल्यो,दिनभरि जेलमा बसेर सानो झ्यालबाट साप्रसको टावर हेरेर बस्दा साह्रै बोर लाग्दो रैछ यार..हेहे..|सबै राम्रा नेताहरु एकपल्ट जेल जान्छन् भनेको सुनेथें,मैले पनि सोंचे-‘दुई चारजनाको अगाडि भएनी बोल्न सक्छु,अब जेल पनि गइहालें क्यारे,अब नेपालको नेता बन्ने मेरो योग्यता पूरा भयो,अब नेपाल गएर नेता बन्नुपर्ला’ भन्ने सोंचें |एउटै समस्या गफ छाँट्नेको थियो,अब नेपालको नेता भएपछि-‘नेपाललाई दुई महिनामै सिंगापुर बनाइदिन्छु’ भन्दै गफ छाँट्न सक्नुपर्छ,त्यस्तो मलाई आउँदैन,तर केही छैन,सिक्नुपर्ला भन्ने सोंचें |;-)
ओहो ! म तपाईंसित बोल्दैछु,मेरा प्यारा उल्लु पाठकवृन्द,किन हाँस्नुभएको ? के मेरो गफ पत्याएको ? थाहा छ मलाई जेलमा त्यो २४ घण्टा २४ वर्षझैं लागेको थियो |L भोलिपल्ट बिहान साहुले जरिवाना दियो अनि छुटियो |एकपल्ट समातिएको ठाउँमा फेरि काम गर्न मन लागेन अनि म फेरि अर्को काम खोज्न थालें |

पार्ट-टाइम कामहरु-
खान बस्नको लागि पढाईसंगै थुप्रै पार्ट-टाइम काम गरियो,कहिले आलू टिप्ने,कहिले सुन्तला अनि कहिले जैतुन |भाँडा त कति माझियो कति,यसमा त धेरै निपुण भइयो |सब कामभरिमा मलाई आलु टिप्ने काम साह्रै दुःखको भयो |दिनभरि घोप्टो परेर आलु टिप्न पर्ने,साला !,तेल नै निस्किन्थ्यो यार,हिँड्दा र ट्वाइलेट बस्दा ढाड दुखेर मरिहत्ते हुन्थ्यो |सुन्तला टिप्नचाहिं साह्रै रमाइलो लाग्थ्यो (सायद सानोमा मेवा र आँप चोरी खाको बानीले होला),सुन्तला टिप्ने क्षण त हामी कसैले पनि बिर्सन्नौं |बिहान ६ बजे साहुको गाडी आउँथ्यो,हामी ६/७ जना भेडा-बाख्राझैं कोचेर बस्थ्यौं अनि १८ औं शताब्दीमा अफ्रिकन दासलाई अमेरिका ओसारेझैं हामीलाई साहुले सुन्तला-बारीमा छाडिदिन्थ्यो |फरक यति थियो कि अफ्रिकन दासहरु करले त्यहाँ पुग्थे तर हामीचाहिं रहरले..ओह सरी बाध्यताले त्यहाँ पुग्थ्यौं |तर त्यहाँ रमाइलोचाहिं खुब हुन्थ्यो,रुखको टुप्पामा बसेर सुन्तला टिप्दै हुने-नहुने गफ छाँट्यो,त्यता वरपर केटी देखियो भने यो तेरो,यो मेरो भन्दै आपसमा बाँड्यो हाहाहा...थकाई लागे त्यही रुखमा बस्यो,भोक-तिर्खा लागे त्यही सुन्तला खायो |साह्रै पट्यार लागे त्यही सुन्तलाले माथिबाट एक-अर्कालाई हान्यो |हामी प्रायः साथी संदीपलाई साह्रै जिस्काउँथ्यौं,जिस्काउनसम्म जिस्कायों,दुःख दिनसम्म दियौं,अचेल त उसको साह्रै माया लाग्छ |दिनभरि खेतमा काम गरेपछि निंद मज्जाको लाग्थ्यो,फर्किने बेलामा सबै साथीहरु मज्जाले सुत्थे,कोही यदि नसुतेको छ भने उसले सुतेको साथीको हाँसोउठ्दो फोटो खिच्थ्यो अनि पछि कोठामा आएर सबैलाई देखाउँथ्यो |
पहिलो वर्ष सकेपछि अलि सजिलो भयो,काम गर्ने अनुमतिपत्र प्राप्त भएपछि बढुवा भएर वेटर भइयो अनि त्यसपछि बार-टेन्डर |पैसा पनि राम्रै हुन थाल्यो |गर्मी यामभरि गधालेझैं घोटेर काम गरियो अनि जाडो याममा पार्ट-टाइम काम गरेर मज्जाले पढियो |जीवन सन्तोषजनक नै भयो तर यसो भन्दैमा विदेशी जीवन राम्रोचाहिं पक्कै भन्न मिल्दैन |विदेशी जीवनमा के दशैं,के तिहार,कति चाड त भाँडा माझ्दै सकियो,कि त आलु टिप्दै,अझ त्यो पनि भोको पेट,पकाउन अल्छी त गर्या होइन तर त्यो बेला सुत्न पनि समय हुन्थेन के,त्यसैले भोकभन्दा त निद्रा नै प्यारो लाग्थ्यो | काममा यति व्यस्त भइन्थ्यो कि खान्छु-खान्छु भन्दाभन्दै खानै नपाइने,कहिले त मन साह्रै रुन्थ्यो तर जे भएपनि गाडीको जियर फेरेझैं मुहारको जियर पनि फेरेर ग्राहकसँग हाँस्नुपर्थ्यो |यो कथा मेरोमात्र नभई विदेश पस्ने सबै नेपालीको हो |ढाँट्छन् ती मान्छेहरु जसले विदेश गएर ‘कहिल्यै रोइन’ भन्छन्,आँखाबाट आँसु त आएन होला तर मनमनै पक्कै पनि रोए,कहिले काम दुःख भएर,कहिले घर-परिवारलाई सम्झेर त कहिले मायालुलाई सम्झेर |यस्तै हो ‘मुग्लाने’हरुको कथा,थोरै खान्छन्,थोरै सुत्छन् अनि धेरै रुन्छन् | 
कलेज जीवन:-
कलेज जीवन रमाइलो नै थियो |प्रायः एसियन मूलका र केही स्थानीयहरु थिए |मलाई त्यहाँको सबभन्दा अविस्मरणीय क्षण दैनिक १४ कि.मी. साइकल चलाएर उकालो-ओरालो गर्दै कलेज जानु भयो..हेहे..| बस भाडा अलि महँगो थियो,एक महिनाको बस भाडाले त एउटा साइकल नै आउँथ्यो,त्यसैले हाम्रो समुहले पैसा उठाएर साइकल किन्ने सल्लाह गर्यौं र किन्यौं पनि |हाम्रो समुहको एकता एकदम दामी थियो के,बाटोमा सबै एकैपटक गुरुरु गरेर कलेज जाँदा निकै रमाइलो हुन्थ्यो,त्यसबेला साइप्रेलीहरु हामीलाई देखेर लाटाले पापा हेरेझैं गर्थे,अझ एकजनालाई अगाडि बसालेर हिंड्यो भने त उनीहरु सर्कस नै देखेझैं गर्थे,सबै हाँस्थे | आइया नापाबाट कलेज जाँदा ठाडो उकालो पर्थ्यो,माथि टुप्पामा पुग्दासम्म त पसिनै पसिना भइन्थ्यो (फेरि मलाई त्यो उकालोमा पोखरामा सिमेन्ट बोकेर लाहुरे अभ्यास गरेको पलको खुबै सम्झना आउँथ्यो..) |हाम्रो कलेजको फुटबल टीमको पनि धेरै याद आउँछ,त्यसमा पनि हाँसो र पिडाको सम्मिश्रण थियो |त्यो टुर्नामेन्टमा विवेकको फ्री-किक गोल,दिपकको फस्ट-हेडिंग गोल,सन्दीपको पास,विक्रमको डाइभ हानेर गोल रक्षा गरेको क्षण अझै पनि आँखामा झल्झली आउँछ |झन् बिर्सने नसकिने त त्यो बेलाको हो जतिबेला हामीले टुर्नामेन्ट जितेको खुशीमा बसमा मैले सबै केटाहरुको इन्टरभ्यु लिएको अनि रमाइलो गरेको थियो |कलेज लाइफमा म दिवाकर दाइको साथ कहिल्यै भुल्दिनँ,उहाँले मेरा साख्खै दाजु बराबरको भूमिका खेली मेरा हरेक दुःख-सुखमा साथ दिनुभो,उहाँले मेरा गल्तीमा गाली दिनुभो अनि सफलतामा स्याबासी दिनुभो,धन्यवाद दिवाकर दाइ |
मेरो कोठा अनि रमाइलो:-
सधैं दुःखमात्र गर्नु त भएन नि,त्यसैले रमाइलो पनि गरिन्थ्यो |कलेजबाट फर्केर आयो कहिले फुटबल,कहिले भलिबल खेल्थ्यौं,कहिले बाहिर जान अल्छी लागे कोठामै बसेर साथीसँग चेस खेल्थें |ओहो ! मैले आफ्नो कोठाको बारेमा त बताउनै बिसेको. J हाम्रो कोठा ट्रान्जिट हल अपार्टमेन्टको सबैभन्दा रमाइलो कोठा थियो, सरल शब्दमा भन्नुपर्दा एउटा चिडिया घर नै थियो,एउटै कोठामा छ-छजना बोकै बोका, सुरुका दिनमा त तीनवटा बेडमा छ-छजना सँगै सुत्थ्यौँ,साला साइप्रेलीहरुले थाहा पाएका भए हामीलाई ‘समलिंगी’ नै भन्थे होलान्..हाहाहा | कोठामा बसेर हुने-नहुने गफ गर्यो,हरिलालको हरेक कुरालाई बंग्याई-बंग्याई ठट्टा बनाउने अनि हाँस्ने बानी,उसको खाना पकाउने पालो आयो कि जहिले पनि ‘म एकैछिनपछि आउँछु है’ भन्दै गायब हुने बानी,अनि हिमालकोचाहिं जे काम पनि भोलि नै गर्नुपर्छ भन्ने बानी,भोलिको पालो आउनै गाह्रो J |तर त्यहाँको जीवन धेरै नै सामाजिक थियो,दिन बितेको पत्तै नहुने,साँझतिर साथीको कोठामा गयो,आफ्नै कोठाझैं गरी ‘ला कफी बना’ भन्यो,’खानेकुरा केके छ ?’ भनी सोध्यो खायो,कहिले पढाईको कुरा,कहिले फिलिमको,कहिले डेटिङको,कहिले धर्म त कहिले राजनीतिको | सेलिब्रेसनको लागि त हामीलाई कुनै उत्सव नै नचाहिने,अलिकति चिसो भए पुग्थ्यो,’साला यो मौसमले हामीलाई चुनौती दिन्छ’ भन्दै बियर र भोड्का आईहाल्थ्यो कोठामा | कसैको अग्रिम जन्मदिनको उत्सव त कसैको डेटिङको उत्सव..हेहे J | पिउनेको क्षमता भन्नुपर्दा हिमाल र दिपक व्यावसायिक ड्राइभर (पिएपछि ट्वाइलेटमा मुख ‘आँ’ गर्न गइहाल्ने),नन्द र धनेचाहिं अनुभवी ड्राइभर,मचाहिं भर्खर लाइसेन्स लिएको सिकारु अनि बिचरा काउचा त लाइसेन्स नै नभएको कंगारु,हाहा...अनि पिएको लागेपछि केटाहरुको ताल क्या हो!, कतिखेर दुःखको कुरा गरेर आँखाबाट आँसु नै झारिदिने अनि कतिखेर ‘तालको पानी..’ लाई २५ पल्ट रिवाइन्ड गरीगरी नाचेछ-नाचेछ (अमृत गुरुङ्ले थाहा पायो भने रोयल्टी माग्न बेर छैन J) | यो गीत सम्झ्यो कि हाँसो मात्र लाग्छ,काउचाको लजाउँदो नाच,नाच्दा मैले हिमालको खुट्टा कुचेर २/३ हप्तासम्म उसले मलाई गाली गर्दै हिंड्नु..हेहे | अनि त्यस्तै अर्को मौकामा सन्दिपले धनेलाई किस गरेको अनि धनेले घिन मानेर पिच्च थुकेको सधैं सम्झन्छु हाहाहा..| त्यस्तै अन्जली-लक्ष्मीहरुसँग मनाएको क्रिसमस पनि मेरा लागि अविस्मरणीय छ,केटा र केटीबीच जहिल्यै नृत्य प्रतियोगिता रे के, म र लक्ष्मीको ‘माझी दाइ पोखरा’ मा नृत्य,किष्ण दाइ र अन्जलीको हिपहप गीतमा नृत्य हाहाहा..अनि त्यो हाम्रो बोका जज साला,जहिल्यै केटीहरुलाई जिताउने |J
पहिलो प्रेम:-
यो पाटो म यहाँ उल्लेख गरूँ कि नगरूँ जस्तो भइरहेथ्यो तर यो पाटोबिना मेरो साइप्रस नियात्रा अधुरोजस्तै लाग्ने हुँदा यहाँ राखेको छु | अँ, मार्च,२००८ मा उसको(नानु) र मेरो पहिलो भेट भएको थियो,हामी दुवै एउटै रेस्टुरेन्टमा काम गर्थ्यौं,काममा आउने-जाने सँगै हुन्थ्यो,मैले उप्रति आफ्नो आकर्षणलाई रोक्न सकिनँ | गायक दीप श्रेष्ठको ‘...कसले गर्यो पहिलो प्रस्ताव..’ जस्तै थियो हाम्रो प्रेम प्रसंग,सँगै हिँड्दा कतिखेर माया बसेछ,थाहा नै भएन |म उसलाई धेरै माया गर्थें अनि ऊ पनि मलाई धेरै माया गर्थी |मेरो साइप्रस बसाईंको अन्तिम दुई वर्षमा मलाई नानुले धेरै साथ दिई,हामीले कति पल सँगै हाँसेर बितायौं भने कति पल सँगै रोएर,जे होस् हाम्रो प्रेम-सम्बन्ध राम्रै चल्दै थियो तर एउटा समस्या तेर्सियो,म त्यहाँ आफ्नो अध्ययनको अन्तिम वर्षमा थिएँ भने नानुचाहिं सुरुवाती वर्षमा | मैले ब्याचलर सकेको थिएँ अनि अब नेपाल गएर के गर्ने भन्ने बारेमा विचार गर्दै थिएँ तर अमेरिकामा मास्टरको लागि भिसा अप्लाई गरेकोले भिसा पनि आइहाल्यो |भिसा पाउनासाथ मैले नानुलाई कल गरें,ऊ मेरो खुशीमा खुशी नै थिई तर बिछोडको पीडा उसको बोलीमा त्यति बेलै झल्किएको थियो | उसले ‘म यहीं बसेर तपाईको प्रतीक्षा गर्छु’ भनी,मैले पनि हात समाएर ‘जाउँ,मसँगै’ भन्न पनि सकिनँ अनि विदेशिएको त्यतिका वर्षपछि आमाबालाई ‘म बिहे गर्छु’ भन्न पनि सकिनँ किनकि छोरो हुनुको आफ्नो कर्तव्य मैले अझै पूरा गर्न बाँकी नै थियो L| जीवन एउटा यात्रा हो भन्छन्,यही यात्रामा एकदिन फेरि भेट होला नि भन्ने सोंचेर मार्च २०१० मा साइप्रस र नानुसँग बिदा मागेर यात्राको अर्को पाटोतर्फ प्रस्थान गरें | यहाँ आएपछि लामो दूरीको सम्बन्धको आफ्नै लक्षण देखिन थाल्यो,कहिले ऊ त्यहाँ व्यस्त,कहिले म यहाँ, अनि सानो-सानो कुरामा पनि एक-अर्काको मन दुख्न थाल्यो |क्रिसमसभन्दा अगाडि हाम्रो ब्रेकअप भयो | सुरुमा त साह्रै दुःख लाग्यो,सारा दोष जति उसैलाई दिएँ तर पछि शितल दिमागले सोंचे,उसको ठाउँमा आफूलाई उभ्याएर हेरें,ब्रेकअप हुनु सही नै लाग्यो |म यहाँ अमेरिकामा संघर्ष गर्दै थिएँ,आर्थिक अवस्था पनि बलियो थिएन जसकारण म उसको हरेक दुःखमा साथ दिन असमर्थजस्तै थिएँ,म उसको लागि फेरि फर्केर त्यता जान पनि त सक्दिनथें |उसलाई त्यहाँ दुःख छ भन्ने म जान्थें तर मैले गर्न सक्ने सम्झना मात्र थियो, अन्ततः उसलाई मात्र दोष दिनु पनि मैले ठाउँ भेटिनँ | जे होस्,उसको प्रेमको उपहारस्वरूप मैले उसले पठाएको एउटा इमेल यहाँ प्रस्तुत गर्दैछु,उसकै मौलिक शब्दमा |
“...है मलाई त निद्रा पनि लाग्दैन,तपाई गाको देखि,म त अचेल ६ बजे पछाडि मात्र सुत्छु |धेरै मिस गर्छु तपाईलाई...एकैछिन रुन्छु अनि अलिक ठीक हुन्छ..मेरो त डेली रुटिन नै यस्तै भएको छ,काम सकेर रुममा आयो अनि तपाईको याद आउँछ,अनि एकछिन रुन्छु...धेरै मिस गर्छु |आज बैनीलाई फोन गरेको,घडी पठाको थें,लिन जाऊ भनेको,घर कहिले आउने हो भन्थ्यो,गाह्रो छ भने आऊ घर भन्थ्यो तर तपाईको लागि भएपनि म अहिले घर जान हुन्न,बस्छु यहीं...धेरै मिस गर्दै छु...अनि मेल गरेको | म त वरण पनि गर्न गर्न सक्दिनँ कति मिस गर्छु भनेर...कहिले त साह्रै नरमाइलो लाग्छ...के गर्नु यस्तै छ...अरु केही विकल्प छैन मसँग...कसैलाई थाहा छैन मलाई मात्र थाहा छ कस्तो अनुभव गर्छु भनेर..कस्तो रुन मन लाग्छ...रुममा चाइनिज छन्,म त बाहिर गएर रुन्छु...मात्र तपाईलाई भन्न मन लागेर भनेकी फेरि तपाईले के सोंच्ला थाहा छैन..क्यामेरामा कस्तो हेर्न मन लागेको छ..अँ कति धेरै कुरा गर्न मन लागेको छ..तर सम्भव नै छैन...कहिले म बिजी,कहिले तपाई बिजी..धेरै मिस गरेको छु...म पनि कहिलेकाहीं त पागलजस्तो लाग्छ,हाहाहा...”
आज पनि जब म यो मेल पढ्छु,तब धेरै नराम्रो लाग्छ |मलाई थाहा छ,यसका एक-एक शब्द सत्य हुन्,म उसको पिडालाई आफ्नो छातीमा राखेर अनुभव गर्न सक्छु,तर पीडा अनुभव गर्दा-गर्दै पनि,समात्न खोज्दा-खोज्दै पनि ऊ बालुवाजस्तै मेरो हातबाट फुस्किदै गई,टाढिदै गई |म छटपटाउनुबाहेक केही गर्न सकिनँ |ब्रेकअपपछि मैले भावनाको आवेशमा उसलाई एउटा मेल लेखेथें जुन कहिल्यै पठाउन सकिनँ,व्यक्तिगत कारणले म त्यो सबै मेल त प्रस्तुत गर्न सक्दिनँ तापनि त्यसको केही अंश:
“...अनि के मैले तिमीलाई कहिल्यै भनिनँ,आइया नापाको बीचमा ६५-७० वर्षका बुढाबुढी हात समातेर हिँडेको देख्दा मलाई एकदम रमाइलो लाग्थ्यो अनि म जहिल्यै तिम्रो र मेरो कल्पना गर्थें |म सोंच्थें तिमी बुढी भएर,गाला चाउरी परेर अनि आँखा नदेख्ने हुँदा पनि म तिमीलाई यसरी नै धेरै माया गर्नेछु...सधै तिम्रो हात समातेर तिमीसँगै हिँड्नेछु..तिमीलाई थाहा छ,म पनि तिमीलाई कति मिस गर्छु | तिमीले आँखा ठूला बनाइ-बनाई अरुको कुरा काटेको अनि म दंग परी तिम्रो कुरा सुन्दै बसेको क्षण घरीघरी सम्झन्छु |तिम्रो किचकिच.तिमी मसित रिसाएको सम्झिन्छु,तिमी रिसायौ भने मेरो रुममा आउँदै आउन्नथ्यौ है ?,त्यसबेला म तिमीलाई साह्रै मिस गर्थें,अनि त्यसैले म तिम्रो अपार्टमेन्टको माथिल्लो तलामा गएर तिमी बोलेको सुन्ने गर्थें,तिम्रो झ्यालमा चियाउने गर्थें |के गर्ने,म त घमण्डी मान्छे,तिम्रो अगाडि आएर तिमीलाई ‘सरी’ पनि भन्न सक्दिनथें |अनि आज भोलि त के मलाई चिटिक्क परेर हिँड्न पनि मन लाग्दैन,सोंच्छु-‘को छ र मेरो लवाइ यसरी भएन उसरी लगाउ भन्ने ?’ तिमी मेरो लुगा लवाइमा कति किचकिच गर्थ्यौ है ? तर मलाई तिमीले किचकिच गरेको कस्तो मनपर्थ्यो के |
मानौं,तिमी यहाँ आयौ र मेरो रुम हेर्यौ,तिम्रो फोटोले मैले रुमको भित्ता सजाएको छु |तिमीले दिएको बुद्धको मूर्ती म जहिल्यै मेरो सिरानीमुनि राख्छु,त्यसलाई हेर्दा तिमी मेरो छेउमै भएजस्तो लाग्छ |कामबाट आएपछि म सधै तिम्रो फोटो हेर्छु,किनकि तिम्रो फोटो नहेरे मलाई निद्रा नै लाग्दैन |
अनि के हामीले फोन गर्दा मलाई कति खुशी लाग्थ्यो |फोनमा तिमीले मलाई खाना खायौ कि खाएनौ,के खायौ भनी सोध्दा लाग्थ्यो,मेरो कोही त छ,मलाई केयर गर्ने,अनि फोन राख्ने बेलामा जहिले पनि मैले तिमीलाई ‘आई लाभ यू’ भन्नुपर्ने |’फोन राख्ने बेला के भन्नुपर्छ ? थाहा छैन ?’ भन्दै तिमी मलाई थर्काउँथ्यौ,मलाई त हाँसो लाग्थ्यो अनि भनेपछि पनि तिमी फोन राख्ने नमान्ने,एकछिन कुरा गरौँ न भन्ने |के गर्ने यार कुरा त मलाई पनि धेरै गर्न मन लाग्थ्यो तर कहिले तिम्रो टाइम ढिलो,कहिले मेरो टाइम ढिलो,कहिले तिमी सुत भन्नुपर्ने,कहिले म सुत्छु भन्नुपर्ने |अचेल त मेरो फोनको घन्टी नै बज्दैन,कसैले पनि मलाई फोन गर्दैन |धेरै बेरसम्म तिमीलाई सम्झिरहन्छु,अनि कतिबेला भुसुक्क निदाउँछु,फेरि निद्राबाट झसंग ब्युँझन्छु,मोबाइल हेर्छु,तिम्रो मिस्ड कल आ’छ कि ?,तिमीले मेसेज पठा’छौ कि ?..तर..”

समयले सबै घाउ पुर्दो रहेछ,मेरो घाउ पनि समयसँगै ओइल्यायो |अचेल उसलाई मिस त गर्दिनँ तर अझै पनि चटक्क बिर्सनचाहिं सकेको छैन |कुरामा कुरा हुँदा उसको नाम आइहाल्छ |कसैले भनेको थियो-‘केटी भनेको त बस वा रेलजस्तै हो,एउटा जान्छ तर अर्को आउँछ,हो यो कुरा एकदम सत्य हो तर जुन आफूले समात्न चाहेको बस वा रेल छुट्छ,त्यसलाई साह्रै मिस गरिँदो रहेछ |मान्छेले साँचो मायाको कुरा गर्छन् तर साँचो भन्ने शब्द नै अधिकांश मायामा उल्लेख नै हुँदैन |वास्तवमा मायालाई कुनै सीमा वा बन्धनले बाँध्न सक्दैन,माया भनेको मात्र माया हो,मात्र माया |जतिबेला नानु र म सँगै थियौं,मेरो खुशी नै उसको प्राथमिकता थियो अनि उसको खुशी नै मेरो प्राथमिकता |हामी आज एक-अर्कादेखि टाढा छौं तर यसमा न उसको दोष, न मेरो,दोष छ त केवल समयको |साँच्चै नै हामी दुवैको समय खराब थियो |म अमेरिकामा संघर्षरत,अनि ऊ साइप्रसमा,अनि त्यसमाथि हाम्रो लामो दूरीको सम्बन्ध,मसित बिछोडको पीडा सहेर सम्बन्ध राख्नुभन्दा ब्रेकअप नै उसलाई सजिलो लाग्यो होला सायद |आखिर,सबैले आफ्नी जिवन सजिलो बनाउने त हो,उसले आफ्नो जीवन सजिलो बनाई,त के भो ?,कुनै गल्ती त गरिन |यसकारण मलाई उसप्रति कहिल्यै नराम्रो विचार आएन |म हिजो उसलाई जति सम्मान गर्थें,आज पनि त्यति नै गर्छु |मैले छोडेदेखिका समयभन्दा ब्रेकअपपछिको अहिले वर्तमानमा ऊ खुशी नै छे होला सायद,यदि दुखी हुन्थी भने ब्रेकअप नै किन हुन्थ्यो र ?त्यसैले म पनि उसको निम्ति खुशी नै छु किनकि कुनैबेला मैले उसैलाई वचन दिएको थिएँ ‘तिम्रो खुशी नै मेरो खुशी’ भनेर |

अन्ततः यहाँ अमेरिका आएपछि साइप्रसको सामाजिक परिवेशलाई धेरै नै मिस गर्छु,कसैलाई कसैको मतलब नै छैन यहाँ,लाटोकोसेरोको तालिकामा गधाझैं काममा जोतिएको छु |जिस्किने र हाँस्ने बानी नै बिर्सिसकें म त | सामाजिक जीवन अस्तव्यस्त छ,सामाजिक जीवन भनेको नै अहिले त फेसबुक भा’छ,सायद फेसबुक नभएको भए म त बौलाउने थिएँ होला | जे होस् मेरो जीवनको एउटा कहिल्यै नमेटिने अध्याय हो,साइप्रस जहाँ पुगेर मैले जीवनका धेरै कुराहरु-दुःख भनेको के हो ?,कुनैपनि काम सानो-ठूलो हुँदैन,राम्रो-नराम्रो मान्छे चिन्ने,समुहमा बसेर बाँड्ने,एक-अर्काको फरकलाई सम्मान गर्ने,(खाना बनाउने,कोठा सफा गर्ने काम त छँदै छ हेहे J) आदि सिकें |त्यहाँ यति संघर्ष गरें कि संसारको जुनसुकै कुनामा जानुपरे पनि दुःख गरी प्रगति गर्न सक्छु भन्ने आत्मविश्वास पलायो |आमाबाले भन्थे-‘घरमा नगर्ने मान्छेले बाहिर गएर पनि गर्न सक्दैन’,यो भनाइको एकदम भुक्तभोगी भएँ |तथापी मेरो विचारमा घरमा नगर्नेले बाहिर गर्ने नसक्नेचाहिं होइन तर उसलाई धेरै गाह्रो हुन्छ |म त भन्छु सबै एकचोटी विदेश जानुपर्छ बल्ल उसले जीवनका वास्तविक पाठहरु सिक्छ |नेपालमा बसेर त्यो हुनु न खानुको आन्दोलनमा ढुंगा हान्ने र सडकमा टायर बाल्नुभन्दा एकपटक विदेश गएर दु:ख गर्नु जाती लाग्छ मलाई त |
धन्यवाद !!!
लेखक-सौन छन्त्याल |
सम्पादन-अरुना छन्त्याल |

Thursday, March 8, 2012

उपहार

आहा ! मेरा प्रभुको उपहार ! मैले सोंच्दै नसोंचेको बहुमुल्य उपहार प्रभुले मलाई दिनुभो | म नतमस्तक भई उहाँलाई कोटीकोटी धन्यवाद दिन्छु |

म कति निराश थिएँ, मेरा प्रभु जान्नुहुन्छ |जति नै चित्त बुझाउँछु भनेपनि हृदयको एउटा पाटो जहिल्यै अनगिन्ती प्रश्न र छटपटीले भरिएको हुन्थ्यो |आज मेरो हृदयको त्यही काला बादलले धुम्म परेको पाटो छ्यांग भयो |मेरो आत्मा चराझैं फुरफुर उडिरहेको छ |आज पहिलोपल्ट म आत्मामा एकदम नयाँ भएको अनुभव गरें |हल्लेलुयाह !!!

अँ,परमेश्वरले मलाई थुप्रै उपहार दिनुभो जो म सकेसम्म बताउँछु तर एउटा विशेष उपहार त्यो हो जसले मलाई यो लेख लेख्न साह्रै प्रेरित गरेको छ |हो त्यो उपहार कुनै बहुमुल्य सुन वा चाँदी होइन तर एउटा ‘पुस्तक’ हो जसले मैले मेरा हृदयमा फाल्न चाहेर पनि फाल्न नसकेको जमेर बसेको लेदो हटाइदियो अनि मेरा आँखाबाट खुशीका बलिन्द्र आँसु खसे |

त्यो पुस्तकको नाम हो निक वोएकिकको ‘लाइफ विदाउट लिमिट्स’ अर्थात् ‘सीमारहित जीवन’ |म उनको वेबसाइट www.lifewithoutlimbs.org हेरेर प्रभावित भएदेखि नै मलाई उनको यो पुस्तक पढ्ने रहर बढेको थियो |उनलाई मैले टिभीमा पनि देखेकै हुँ तर उनले बोलेका मीठा वचन मैले कानको समस्याले गर्दा कहिल्यै बुझेकी थिईनँ |मेरा प्रभु जान्नुहुन्छ,मैले धेरै कुरा सुनेर वा देखेरभन्दा पढेर बुझ्छु |त्यसैले मैले पढेरै बुझें |

{‘हे प्रभु,तिमीले सबलाई प्रेम गर्छौ भने मलाई किन यस्तो बनायौ ? किन मलाई अरुलाईजस्तो हात र खुट्टा दिएनौ ?’ म कतिपल्ट प्रार्थना गर्दै प्रभुसँग यस्ता प्रश्न गर्थें तर म उत्तर पाउँदिन थिएँ, त्यसैले मलाई परमेश्वरदेखि नै रिस उठेथ्यो..मेरा बाबाले ‘परमेश्वरले मानिसलाई कुनै न कुनै योजनासाथ बनाउनुहुन्छ,उहाँले कहिल्यै पनि गल्ति गर्नुहुन्न’ भनी सम्झाउँदा म मान्दिन थिएँ |मलाई त आफुलाई यस्तो बनाउनुमा परमेश्वरको गल्ति नै होजस्तो लाग्थ्यो |..तर आज थाहा पाएँ,कि परमेश्वरले मलाई यो संसारमा निराशहरुलाई आशा दिन पठाउनुभएको रहेछ,परमेश्वर हामी सबलाई प्रेम गर्नुहुन्छ |यसकारण मित्र हो,निराश नहोउ किनकि तिमीलाई परमेश्वरले एक निश्चित योजनाको निम्ति बनाउनुभएको हो,त्यो योजना ढिलोचाँडो तिमीले थाहा पाउनेछौ...आश्चर्यकर्म भएन भनेर दुःखी नहोउ,तर तिमी आफै नै यो संसारको लागि आश्चर्यकर्म बन्न सक्छौ |}---आदि यस्ता उत्साही शब्द पढ्दा मेरा आँखाबाट खुशीका आँसु खसे | निकको वास्तविक जीवन र अनुभवहरुले गर्दा मलाई मेरै आत्मकथा पढेझैं लाग्यो |कतिपल्ट त म एक्लै भक्कानिएर रोएँ अनि कतिपल्ट निकका चुट्किलाहरुमा एक्लै खितिती हाँसें |त्यो पुस्तक पढ्दा धेरैपल्ट म बीच-बीचमा कण्ठ भरिएर पढ्नै सकिन,रुँदै प्रार्थना गरें—‘प्रभु...धन्यवाद |’

त्यो पुस्तकले साँच्चै आशा दिन्छ |हामी,जो जीवनमा आफूलाई केके न पुगेन भनेर प्रभुसँग सधैं गुनासो गर्छौं, हामीले निकको जीवनबाट पाठ सिक्न सक्छौं |उनी भन्छन्—‘यदि मजस्तो जाबो एउटा मुढो प्रभुमा यति खुशी र आशावादी हुन सक्छु भने तपाई झन् कति गुणा बढी हुनसक्नुहुनेछ..|’यो वाक्य पढेपछि म एकछिन धुरुधुरु रोएँ |प्रभुलाई धन्यवाद दिदै आफुले गरेका गुनासाहरुप्रति क्षमा मागें |हो निक,नि;सन्देह एउटा मुढोजस्तो, जसको न हात छ,न खुट्टा,उनले मेरो हृदयको पिँधसम्मै छोए अनि आत्म-मुल्यांकनसित बाँच्न प्रेरित गरे जुन प्रेरणा मैले प्रख्यात सुसमाचार प्रचारक बेन्नी हिन् वा जोएस मेयरको पुस्तक पढेर पनि पाएकी थिईन |म रोइराहंदा कोठामा म एक्लै थिएँ,लोडसेडिंग भएकोले म सानो मैनबत्तिको उज्यालोमा पढ्दै थिएँ,अनि मैले मेरा प्रभुलाई मेरै छेउमा देखें,उहाँ मेरो कपाल मुसार्दै मलाई भन्दै हुनुहुन्थ्यो—‘छोरी ! मेरी ज्ञानी छोरी,नरोऊ,मैले तिमीलाई त्यागेको छैन ल...|’

त्यो किताब हात पर्नुमा पनि एउटा रोचक प्रसंग छ जुन म प्रभुबाटै हो भन्छु |मेरा एकजना आफन्त दाजु अस्ट्रेलियाबाट नेपाल आउन लागेथे,मैले दाइलाई आउँदाखेरि मलाई एउटा किताब ल्याइदिन भनें |दाइले मलाई किताबको नाम भन् भने,तर मैले तपाई आफैले रोजेर ल्याउनुस् भनें |फेरि मैले आफै मनमा गुनें-‘नाम नदिइकन दाइले कस्तो किताब ल्याउलान् ?मलाई मन नपर्ने खालको पर्ला कि ?’ तर मैले फेरि मनमा गुनें- ‘दाइले जुन किसिमको किताब रोज्नुहुन्छ,त्यो किताब मलाई एकदम पढ्न मन लागेको परोस् |’ नभन्दै ‘तँ चिता,म पुराउँछु’ भनेझैं मैले चिताएकै किताब मेरो हातमा पर्यो |म परमेश्वरलाई एकदम धन्यवाद दिन्छु किनकि ती दाइ विश्वासी होइनन् तर पनि मलाई माया गर्छन् |’मैले त एउटा हात-खुट्टा नभएको मान्छेको किताब ल्याछु केरे,तँलाई मनपर्ला कि नपर्ला’ भन्दै थिए | तर त्यो किताब मेरो आशातित किताब सावित भयो जसले मेरो जीवनप्रतिका सारा नकारात्मक धारणा पूर्ण रुपमा मेटिदियो अनि प्रभुप्रति मलाई झन् धेरै बलियो बनाइदियो |

निकलाई परमेश्वरले आफ्नो योजनानुरूप बनाए अनि निश्चय नै मलाई पनि उहाँले केही न केही योजनाको लागि नै बनाउनुभएको हो भनी म विश्वास गर्छु |यद्दपी त्यो योजना मलाई अझैसम्म स्पष्ट थाहा हुन सकेको छैन तर पनि मैले धेरथोर आभाष पाइसकेकी छु | मैले लेखेरै प्र्भुको सेवा गरूँ भन्ने प्रभु चाहनुहुन्छ | त्यसैले म उहाँकै महिमाको निम्ति लेख्छु,म जेजति लेखूँ,उहाँकै महिमा होस् | अरुले कसैले पनि मलाई प्रभुले एउटा ठुलो योजनाको निम्ति चुन्नुभएको हो भनेका छैनन् तर एकजना अमेरिकी म्यामले भनेकी छन् | उहाँ,मिस डेब्बी रुड,अमेरिकाको क्यालिफोरनिया राज्य बाट एकपल्ट सुसमाचार सुनाउन हाम्रो चर्चमा आउनुभो | हाम्रो चर्चमा वचन भनेपछि गुरुबाको आग्रहस्वरूप उहाँ हाम्रो घर आउनुभयो अनि सामान्य भलाकुसारी भयो साथै हामीले एक-अर्काको ई-मेल आदान-प्रदान गर्यौं | उहाँ अमेरिका जनुभैसकेपछी मलाई ई-मेलमा भन्नुभो-‘अरुना ! प्रभुले तिम्रोलागी एउता महान योजना बनाउनुभएको छ,हरेस नखाऊ,निरन्तर प्रार्थना गर्दै रह...मैले तिमीलाई देख्नेबित्तिकै यो थाहा गरेकी छु..’|’ आहा ! ती म्यामले मलाई साँच्चै मार्गनिर्देशन दिनुहुन्छ |म कतिपल्ट निराश हुँदा मिठा-मिठा वचन लेखी मेरो चित्त बुझाउनुहुन्छ | अन्ततः म्यामलाई भेट्नु पनि प्रभुकै एउता उपहार मान्छु | फेसबुकमा अर्की एकजना इन्डोनेसियाली म्यामले पनि यस्तै भनिन्-‘अरुना ! मलाई आज प्रभुले तिमीलाई यो संदेश दिन भन्नुभएको छ,उहाँले तिम्रोलागी योजना बनाउनुभाछ |हताश नहोऊ,निरन्तर प्रार्थना गर..|’

मसित एउता कम्प्युटर थिएन,अशक्त मान्छे साइबर जान पनि गाह्रो हुन्थ्यो | मैले एउटा आफ्नै ल्यापटप भए हुन्थ्यो भन्ने सोच्थें तर त्यो ‘आकाशको फल,आँखा तरी मर्’ जस्तै थियो |यद्दपी प्रभुले त्यो पनि पुराइदिनुभो | मैले आशा नै नगरेको एकजना आफन्त दिदीले मलाई विदेशबाट पैसा पठाई दिईन् अनि त ‘ल्यापटपको सपना’ साकार भो | प्रभु ! धन्यवाद !

त्यसपछि मलाई यस्तो प्रभुका कथा लेख्न नेटमा राख्न मन लाग्थ्यो कि म जहिल्यै एउटा क्रिश्चियन साइट भैदिए हुन्थ्यो भन्थें |नभन्दै यो साइट पनि जुट्यो | मेरो भाइले बिहे गरेको थिएन,मलाई-ममीलाई एउटी गतिली बुहारी चाहिएको थियो |नभन्दै सेवाभावले भरिएकी बुहारी आएकी छ | उसैको सहाराले मेरो जीवन-रथ गुड्दै छ नत्र म पल-पल मरीमरी बाँच्थे |

एकपल्ट एउटा ख्रीष्टियन पत्रिकामा मैले पढेथें-‘जब तपाईलाई निराशाले छोप्छ,तब परमेश्वरका आशिषहरु गन्नुस्..|’ हो यो भनाइ कति सारगर्भिक छ तर हामी खाली परमेश्वरले मलाई यो दिनुभएन,त्यो दिनुभएन भनेर गुनासो गरिरहन्छौं |

परमेश्वर हामीलाई सबैकुरा दिनुहुन्छ,मात्र हामीमा पर्खने धैर्य शक्ति हुनुपर्छ किनकि उनैको समयमा सब थोक पूरा हुन्छन् | म सबै बुझ्ने कपाल फुलेकी बुढीझैं हुन्छु,भने कतिखेर खुट्टा झारी-झारी ‘नाइँ,बाबा मलाई यही चाहिन्छ..’ भन्दै ढिपी गर्ने अबोध बालिकाझैँ हुन्छु,त्यसैले त मलाई आज प्रभुले गालामा प्याट्ट हिर्काएर निकको किताब दिनुभो | अँ,मलाई मेरो गल्तीबोध राम्रै भो |J

अरु पनि अझ धेरै उपहारको म आशा गर्छु अनि तपाई पनि आफ्नो जीवनमा यस्तै आशा गर्नुहोला | जय मसिह !!!

Friday, December 16, 2011

जीवन काँडा कि फूल ?

आज डिसेम्बर ३,अर्थात् विश्व अपांग दिवस | मलाई थाहा थिएन कि अपांग दिवस पनि हुन्छ भनेर तर पछि पत्रिकाबाट थाहा पाएँ | पछि यो पनि थाहा पाएँ कि अपांग संघको कार्यालय त भृकुटीमण्डपमा रहेछ | अपांग दिवसमा त त्यहाँ अपांगहरुकोमात्र भेला समारोह हुन्छ रे,रयाली पनि हुन्छ रे भन्ने कुरा थाहा पाएँ |म आफू यस्तो छु,त्यसैले मलाई एक्लोपनको आभास हुन्छ किनकि मैले आफूजस्तै कोहीलाई प्रत्यक्ष रुपमा देखेकी थिइन | मलाई आफ्नै आँखाले आफूजस्तै साथी-संगी देख्न पाए हुन्थ्योजस्तो लाग्थ्यो |त्यस्तै ईच्छा भैराखेको हुनाले एकदिन त्यो रहर पनि पुरा भो | त्यो आजभन्दा ६ वर्षअगाडि भयो | जान त मलाई हरेक वर्ष जान मन लाग्छ तर के गर्नु मेरो असामर्थता...जता गएपनि आफ्नै आमाबालाई दुख दिनु त हो नि,दिनुपर्ने दुख जति दिसकेछु,दिदैछु पनि तर अब अरु दिनु मन छैन | अँ,म भृकुटीमण्डपमा जान नपाएपनि टि.भी.मा खबर हेर्नचाहीं भुल्दिन |टिभी.हेरेरै भएपनि मैले मनको तृष्णा मेटाइछु |  

अँ,त त्यो दिन मेरो जीवनको एउटा महत्वपूर्ण दिनजस्तै बन्न पुग्यो किनकि त्यसैबेला मैले ममात्र एक्ली छैन भन्ने कुरा बुझें |म अफ्नो पीडामा मात्र रुनु मेरो ठूलो मुर्खता रहेछ भन्ने लाग्यो किनकि यो संसारमा मभन्दा पनि अशक्त र बेसहारा कति देखें कति | यो संसार सुन्दर छ,आम मानिसको सोचाइमा,तर यो सुन्दर भनाउँदो संसारमा केके न नमिलेकोजस्तो लाग्यो मलाई | तर संसार एउटा फूलबारी भएपछि फूलसँगै काँडाले पनि अफ्नो अस्तित्व जमाएकै हुन्छ | सायद त्यहि अस्तित्व हो हाम्रो पनि जसमा चुकचुकाउनु वा विलाप गर्नुको कुनै औचित्य छैन |

त्यसबेला मसँग एउटा व्हिल्चियर पनि थिएन |सार्है अप्ठ्यारोसित वैशाखी टेक्थे | कार्यालयमा व्हिल्चियर मगाएर पनि नपाएको महिनौं भएको थियो,मैले बाबालाई सोधें-‘बाबा,भोलि अपांग दिवस हो रे,एकचोटी भृकुटीमण्डपमा जाम् न है,व्हिल्चियर मिल्ला कि?’ अनि प्यारो बाबाले कुनै नाइँ-नास्ति गरेनन् | मन निकै रमायो |काठमाण्डौं बसेको पनि धेरै समय बितिसकेथ्यो,काठमाडौं कस्तो छ मलाई थाहा पनि थिएन |गाडीमै भएपनि घुम्न पाइने भइयो भनेर सानामा  मिठाई दिँदा केटाकेटी मन फ़ुरुन्गिएझै म फुरुन्गोएँ |जांदा ट्याक्सीमा गइयो,समारोहस्थलसम्म जान मलाई बाबालाई अप्ठ्यारो नै भयो तर जसोतसो पुगियो  |पाल,कुर्ची सजिएका थिए साथै थुप्रै अपांगहरुको जमघट थियो |कोहि व्हिल्चियरमा,कोहि वैशाखीमा,कोहि सेतो छडीका साथ अनि कोहि सांकेतिक भाषामा हातका औंलाहरु चाल्दै थिए |म विस्फारित आँखाले यो दृश्य हेरिरहेकी थिएँ,एकछिनपछि रयालीबाट थुप्रै अरु अपांगहरु आए अनि त्यसपछि अगाडि मंचबाट कार्यक्रमको सुरुवात हुन थाल्यो |उदघोषक एकजना व्हिल्चियरमा बसिरहेका अंकल थिए,तिनको छेवैमा एकजना आन्टी उभिएकी थिइन् |जब-जब अंकलले उद्घोषण गर्दै जान्थे,तब-तब ती आन्टीले सांकेतिक भाषामा औंलाहरु चलाउँथिइन्,हाम्रोमाझमा कयौं व्यक्ति श्रवनहीन पनि छन् भन्ने कुराको बोध थियो त्यो |मलाई अपांग दिवसले सबै अपांगको मर्का बुझेकोमा खुशी लाग्यो |

अँ त,कार्यक्रम एकदम राम्रो लाग्यो,नेत्रहीन,श्रवनहीन,पक्षघाती सबैले मन्तव्य दिए,साथै मन्त्रीहरुलगायत विदेशी दाताहरुले पनि |तिनै विदेशी दाताहरुले सित्तैमा अपांगका निम्ति चाहिने भौतिक सामग्रीहरु बाँडेका थिए जसकारण मैले पनि एउटा व्हिल्चियर पाउन सकें |कार्यक्रममा वैशाखी टेकेका एक हूल विद्द्यार्थीहरुले ‘गाउँछ गीत नेपाली...’ गाए |एउटी केटी झन एउटै खुट्टाले सपांगसरह नाचिन् अनि केहि बामपुड्काहरु पनि नाचे |तिनीहरु वास्तवमा अपांग नभएपनि येही अपांग-संसारकै एउटा पाटो भन्ने सोचें मैले |सबभन्दा महत्वपुर्ण कुरा,मैले दुइजना अपांग दिदीसित कुरा गर्ने मौका पाएँ |एकजना दिदी वैशाखी टेक्थिन् अनि अर्किचाहीं व्हिल्चियरमा थिइन् | तिनको झन दुवै खुट्टा नै थिएनन्,मैले डराई-डराई सोधें-‘दिदी तपाईलाई के भएको?’ उनले भनिन् उनका खुट्टा आफसेआफ सुकेका रे |उफ् म एकछिन स्तब्ध भएँ,आफसेआफ रोग बल्झेको त मेरो पनि थियो तर उनकोजस्तो थिएन |मैले आफूभन्दा पनि कयौं गुणा दुखी ठानें उनलाई साथै मैले ‘ममात्र यस्तो’ भनी विलौना गर्नु सरासर मुर्खताको संज्ञा दिएँ |ती दिदीको मुहारमा नैराश्यका रेखाहरु पटक्क थिएनन् बरु खुशमिजाजमै हाँसिरहेकी थिइन्,बोलिरह्की थिइन् |मेरो मन भने कताकता दुख्यो,एकछिन त भक्कानो नै छुट्लाझें भो तर आफूलाई वशमा राखें |अझै एक ठाउँ त झन एउटा बिल्कुल कोमामा भएको व्यक्तिलाई पनि व्हिल्चियरमा ल्याइएको देखें,उसको नाथ्रिमा फूड पाइपको नली प्रष्टै देखिन्थ्यो अनि व्हिल्चियरको दाहिने डण्डीमा सलाइन पानीको बोतल झुन्ड्याईएको थियो |

जिन्दगी जस्तो भएपनि बाँच्नुपर्ने रहेछ |मलाई त अपांगकै सेवा गरी मर्न पाए हुन्थ्योजस्तो लाग्छ ताकि यो काँडाजस्तो जिन्दगीलाई म पनि फूलझैं फूलाउन मदत गर्न सकूँ | आहा !यसपाली जान पाएको भए त झमक घिमिरेलाई पनि भेटिन्थ्यो होला अनि भेटिएकाजतिकाको फेसबुक ठेगाना मागेर मित्रता गाँस्न सकिन्थ्यो होला तर अफसोस्...तर जे भएपनि म लेखेर यो संसारमा काँडा र फूल दुवैको सुन्दर सम्मिश्रण छ भनि सबलाई बताउन चाहन्छु... |

तर हे परमेश्वर ! यो दुनियाँमा अपांगको जन्म किन हुन्छ त?सबै तपाईंकै महिमाका निम्ति भए त हुने थियो तर अफसोस...कतिले त प्रभुलाई नपाइकनै मर्छन् |मलाई एउटा सपांग प्रभुलाई नपाइकन मर्यो भनेको सुन्दा त्यति मन दुख्दैन, जति एउटा अपांग उहाँलाई नपाइकनै मर्यो रे भनी सुन्दा हुन्छ |यो एकबारको जुनीमा मान्छे भएर पनि आम मानिसजस्तो भएर बाँच्न नसक्नु विडम्बना नभए के त प्रभु ?म सम्झन्छु जब मैले तपाईलाई चिनेकी थिइनं,त्यतिबेला अघोर निराशाले थिच्थ्यो जहाँ म आफू बाँच्नुको कुनै अर्थ देख्दिनँ थिएँ,पलपलमा मलाई पलायनतावादी सोंचले घाइते बनाउँथ्यो तर अब प्रभुमा त्यस्ता निराशाको कुनै ठाउँ रहेन |म विश्वास गर्छु,यो संसारको  सीमित भूगोलमा हामी अपांगहरुले विचरण गर्ने मौका नपाएपनि,पक्कै स्वर्गको स्वर्णिम संसारमा हर्षोल्लासपुर्वक विचरण गर्ने मौका पाउनेछौं |त्यसैले म प्रभुको राज्यमा हामी यो संसारका सबै काँडाहरु मखमली फूलेझें फूलेको देख्छु | 

 हालसालै मैले १९ औं शताब्दीकी हेलेन कलरको जीवनी पढीसिध्याएँ,उसका जीवनीमा कति मजाले बाइबलीय वचन समावेस गरिएको छ |त्यैपनि उसको जीवनमा अन्धा बर्तिमैले ज्योति पाएझैं गरि आश्चर्यकर्म भएन |मलाई प्रभुलाई सोध्न मन लाग्छ-‘आखिर किन प्रभु?’ हेलेन केलरको जिन्दगीबाट समस्त अपांगको मनोबल दृढ होस् भनेर होला सायद,म यही सोंच्छु |तर म प्रभुलाई भन्छु-‘प्रभु ! मलाई हेलेन केलरजस्तो होइन,बरु अपांगहरुलाई जीवनपर्यन्त सहायता गर्ने दयावान् ‘मिस सुलीभान’जस्ती बनाउनुहोस् |’मलाई याद छ,त्यो अपांग दिवसमा पहिलोपल्ट प्रभु येशुको नाम सुनाउने तिनै दुइजना मसित बोलेका साथी थिए |उनीहरुले मलाई ‘के तपाईले येशुलाई चिन्नुभाछ?,उहाँलाई चिन्नुभो भने असिम शान्ति पाउनुहुनेछ ‘भनेथे | त्यतिबेला मेरो नास्तिक मनले ‘साँच्चै म पनि ख्रिस्टियान होऊँ कि क्यारे’ भन्ने सोचेको थियो |त्यसपछी म साँच्चै डोराइएँ अनि मेरो नास्तिक हृदय कस्तरी आस्तिकमा परिणत हुन सक्यो |धेरैपछि थाहा भयो कि मैले सित्तैमा पाएको व्हिल्चियर पनि विदेशस्थित चर्चबाट बाँडिएको रहेछ किनकि त्यसको पछाडि लेखिएको थियो-‘द चर्च अफ् जिसस क्राइस्ट’ त्यो पढ्दा म कति रमाएँ,मेरा प्रभुले मेरैलागि व्हिल्चियर जुटाइदिनुभएको रहेछ |     

अँ साहित्यकार पारिजातलाई म चिन्छु जो मजस्तै नियतीले अशक्त भइन् |तर मेरो अहोभाग्य ! मैले त साँचो परमेश्वरलाई चिन्ने मौका पाएँ,मेरो आत्मा बाँचिसक्यो भन्ने विश्वासले म त आल्हादित छु तर मलाई ठूलो अफसोस् लाग्छ,पारिजातले साँचो परमेश्वरलाई चिन्न नपाइकनै  यो संसारबाट बिदा भइन् |चरम नास्तिकवाद र निराश्वादी पाउँछु उनका लेखहरु जसमा ईश्वरत्वमाथि धेरै शंका गरिएको छ |’जाबो ढुंगा त हो,हामी त्यसको अगाडि जति रोएपानी,त्यसलाई जति गाली गरेपनि त्यसले कुनै प्रतिक्रिया जनाउँदैन..’प्रसिद्ध कृति ‘शिरिषको फूल’मा ईश्वरत्वप्रति यसरी अफ्नो विचार पोखेकी छन् |हो म पनि यस्तै थिएँ,आफू यस्तो हुनाको पीडाका कारण म पनि ती ढुंगाहरुलाई ईश्वर मान्दिन थिएँ,तर खास कारण अहिले आएर बुझें,मेरो हृदयमा साँचो परमेश्वरको बास हुनु रहेछ,त्यसैले त मेरो ती ढुंगाहरुप्रति घोर वितृष्णा थियो |म कल्पन्छु सायद पारिजातले पनि बेलैमा परमेश्वरलाई चिनेको भए उनको कलम उहाँकै महिमाको निम्ती चल्ने थियो होला |तापनि न्यायको दिनमा सारा अविश्वासीहरुलाई पनि एकपल्ट मौका दिइनेछ भनिएको कारण म प्रभुसंग पारिजातको आत्मा पनि बाँच्न सकोस् भनी बिन्ती गर्छु |त्यो अतीतको  के कुरा,अहिले वर्तमानको यही समयमा अर्की अपांगको आत्मा भड्किरहेको छ |हुन त धेरैले प्रभुलाई चिनेका छैनन् तर म खासगरी ‘झमक घिमिरे’लाई उद्धृत गर्न चाहन्छु |’जीवन काँडा कि फूल?’उसकै आत्मकथाको एक लिखित दस्तावेज हो जसलाई पढ्दा मेरा आँखा धेरैपल्ट रसाए अनि धेरैपल्ट पुकारें ‘हे परमेश्वर! झमक्लाई पनि चुन्नुहोस् |एउटी जन्मजात मस्तिष्क पक्षघातबाट थलिएकी,जसको हात,खुट्टा बोली सबै कुँजा छन्,जसले ज्ञानको खोजीमा खुट्टाको औंलाले भएपनि कलम समाती |हे परमेश्वर ! म त झमकको लागि तपाईलाई जोडजोडले प्रार्थना गर्छु,कि झमकले तपाईलाई चिनेर चंगाई पाउन सकोस् |म त पक्का विश्वास गर्छु कि झमकले परमेश्वर चिनिन् भने यस संसारका दुई तिहाई अविश्वसीले परमेश्वरलाई चिन्नेछन् |

गुढ रहस्य मैले जति नै आफ्नो गिदी घोटेपनि अझै बुझ्न सकेकी छैन,प्रभुको लीला प्रभु नै जानुन्, तर पनि म मान्छु परमेश्वरले उहाँकै ईच्छानुसार दिनुभएको यो जिन्दगीलाई जस्तै भएपनि आत्मसन्तुष्टिको सीमारेखा कोरी बाँच्नुपर्छ किनकि हामी त माटाका भाँडा न हौँ जसलाई जस्तै रुपमा बनाउने हक कुमालेरुपी परमेश्वरमा छ |नत्र कोही अभावकै जिन्दगी किन बांच्नुपर्थ्यो र ?नत्र असम्भवभन्दा पनि असम्भवलाई सम्भव पार्न सक्ने परमेश्वरले यो संसारको यस्ता काँडा छिनभरमै उठाईलानुपर्ने |म यस्तै सोंच्छु,जब म टि.भीमा विश्व-प्रसिद्ध नीक वुचिकलाई प्रभुका वचन प्रचार गरिरहेको देख्छु अनि म प्रभुलाई भन्छु-‘हे प्रभु ! मलाई पनि यस्तै बनाऊ |’          

(समाप्त)

Wednesday, December 14, 2011

बन्द परेलीभित्र...

अन्ततः मेरो पनि सपना थियो, उद्देस्यप्रप्तिको एउटा पूर्णविराम थियो | तर कसै गरी पनि मेरो जीवनको गुढ रहस्य मैले बुझ्न सकेकी छैन | अचम्म लाग्छ मैले के बिराएँ ? मैले जानी-जानी कसैको कुभलो चाहिन र अहिले पनि चाहन्न तर पनि कुन दुष्टको आँखा लागेछ कुन्नि ? म अद्दापी छटपटाई रहेछु |स्कुल पढ्दाखेरिको कविशिरोमणि लेखनाथ पौडेलको एउटा कविताको हरफ म जहिल्यै सम्झिरहन्छु 'जिउँदै मरेतुल्य मानिस हुन्छ रे त्यो,उद्दमबिना बित्दछ काल जसको..' यी हरफहरुले मलाई गिजाईरहेको भान पर्छ | अनि महाकविको 'के हो ठुलो जगतमा ? पसिना विवेक,उद्देस्य के लिनु ? उडी छुनु चन्द्र एक..' भन्ने हरफले झन मलाई कति प्रभावित पारेथ्यो | स्कुले जीवनमा ती गहिरा कविता कति मनपर्थे ,ती गहिरा-गहिरा शब्दहरु मलाई एकदम सजिला लाग्थे | गृहकार्यमा विवेचनात्मक उत्तर लेख्न बस्दा आफ्नो कापीको पाना भरिएको पनि मैले थाहा पाउन्नथेँ | सानैदेखि सादा जीवन,उच्च विचार'को आदर्शलाई पनि दिलोज्यानले पछ्याएकी हुँ तर 'जो होंचो,उसकै मुखमा घोंचो' भन्ने उखान मेरो जीवनमा चरितार्थ भयो |
जे होस्, जीवन त अनुभवहरुको सँगालो हो नि | म असक्त हुनुमा ठुलो विडम्वना भएपनि जीवनलाई गहिरो रुपमा चिन्न सकेकी छु..भनुँ न..म त अँगारले खारिएर हाँडीजस्ती काली भएकी छु |
संसारको सुन्दरता मलाई चाहिंदैन,ठेल-मठेल,तडक-भडक पनि मलाई चाहिंदैन,बस् आफ्नै अन्तर्मुखी भावनामा रम्दै कापीमा कलमले आफ्ना मनका भावना पोख्न पाए मलाई पुग्छ,यसैमा मेरो चरम-सन्तुष्टि छ |
मेरो जीवनको उद्देस्य के ? मेरो बाँच्नुको उद्देस्य के ?,म त खासमा शुन्य पो हुँ,खोक्रो हुँ,एउटा ब्ल्याक होल हुँ | तर पनि मलाई मेरो जीवनको पछुतो छैन | पछुतो हुन्छ,त्यतिबेला जब म यो संसारको रंगप्रति आकर्षित हुन्छु | त्यसबेला मभित्रको अन्तस्करणले मलाई यो संसारको रंगप्रति आँखा चिम्लन झक्झक्याउँछ, अनि त्यसपछी म मेरै सीमित संसारमा रमाउँछु | म त धेरै रोइसकें,तर अब रुन्न | मेरो आँसु पनि लगभग सुकिसक्यो |छिन-छिनमा दुख्ने यो मनलाई ढुंगाले थिचेर हाँस्न जानिसकेकी छु | आफ्ना आँसुलाई बन्द परेलिभित्रै कैद गरी सुकाउन पनि जानिसकेकी छु |
म त पक्का मान्छु,म यो संसारको होइन,न यो संसार मेरो हो किनकि बाइबल भन्छ 'तिमीहरु यो संसारका होइनौ,..तिमीहरु यो संसारका भए तिमीहरुलाई कष्ट हुने थिएन...|' मेरो एकमात्र आशा भरोसा उनी एउटै परमेश्वरमाथि छ,जसले मलाई हिलोमै भएपनि कमलको फूलझैं फूलाउनुभो अनि काँडामै भएपनि गुलाफको फूलझैं फक्राउनुभो |
म कमजोर छु,म लाचार छु,म अशक्त छु,म दुर्बल छु तापनि म साहसी छु |म यो संसार जित्न चाहन्छु र...केही अर्थमा जितेकी पनि छु...हैन र ?