Thursday, March 8, 2012

उपहार

आहा ! मेरा प्रभुको उपहार ! मैले सोंच्दै नसोंचेको बहुमुल्य उपहार प्रभुले मलाई दिनुभो | म नतमस्तक भई उहाँलाई कोटीकोटी धन्यवाद दिन्छु |

म कति निराश थिएँ, मेरा प्रभु जान्नुहुन्छ |जति नै चित्त बुझाउँछु भनेपनि हृदयको एउटा पाटो जहिल्यै अनगिन्ती प्रश्न र छटपटीले भरिएको हुन्थ्यो |आज मेरो हृदयको त्यही काला बादलले धुम्म परेको पाटो छ्यांग भयो |मेरो आत्मा चराझैं फुरफुर उडिरहेको छ |आज पहिलोपल्ट म आत्मामा एकदम नयाँ भएको अनुभव गरें |हल्लेलुयाह !!!

अँ,परमेश्वरले मलाई थुप्रै उपहार दिनुभो जो म सकेसम्म बताउँछु तर एउटा विशेष उपहार त्यो हो जसले मलाई यो लेख लेख्न साह्रै प्रेरित गरेको छ |हो त्यो उपहार कुनै बहुमुल्य सुन वा चाँदी होइन तर एउटा ‘पुस्तक’ हो जसले मैले मेरा हृदयमा फाल्न चाहेर पनि फाल्न नसकेको जमेर बसेको लेदो हटाइदियो अनि मेरा आँखाबाट खुशीका बलिन्द्र आँसु खसे |

त्यो पुस्तकको नाम हो निक वोएकिकको ‘लाइफ विदाउट लिमिट्स’ अर्थात् ‘सीमारहित जीवन’ |म उनको वेबसाइट www.lifewithoutlimbs.org हेरेर प्रभावित भएदेखि नै मलाई उनको यो पुस्तक पढ्ने रहर बढेको थियो |उनलाई मैले टिभीमा पनि देखेकै हुँ तर उनले बोलेका मीठा वचन मैले कानको समस्याले गर्दा कहिल्यै बुझेकी थिईनँ |मेरा प्रभु जान्नुहुन्छ,मैले धेरै कुरा सुनेर वा देखेरभन्दा पढेर बुझ्छु |त्यसैले मैले पढेरै बुझें |

{‘हे प्रभु,तिमीले सबलाई प्रेम गर्छौ भने मलाई किन यस्तो बनायौ ? किन मलाई अरुलाईजस्तो हात र खुट्टा दिएनौ ?’ म कतिपल्ट प्रार्थना गर्दै प्रभुसँग यस्ता प्रश्न गर्थें तर म उत्तर पाउँदिन थिएँ, त्यसैले मलाई परमेश्वरदेखि नै रिस उठेथ्यो..मेरा बाबाले ‘परमेश्वरले मानिसलाई कुनै न कुनै योजनासाथ बनाउनुहुन्छ,उहाँले कहिल्यै पनि गल्ति गर्नुहुन्न’ भनी सम्झाउँदा म मान्दिन थिएँ |मलाई त आफुलाई यस्तो बनाउनुमा परमेश्वरको गल्ति नै होजस्तो लाग्थ्यो |..तर आज थाहा पाएँ,कि परमेश्वरले मलाई यो संसारमा निराशहरुलाई आशा दिन पठाउनुभएको रहेछ,परमेश्वर हामी सबलाई प्रेम गर्नुहुन्छ |यसकारण मित्र हो,निराश नहोउ किनकि तिमीलाई परमेश्वरले एक निश्चित योजनाको निम्ति बनाउनुभएको हो,त्यो योजना ढिलोचाँडो तिमीले थाहा पाउनेछौ...आश्चर्यकर्म भएन भनेर दुःखी नहोउ,तर तिमी आफै नै यो संसारको लागि आश्चर्यकर्म बन्न सक्छौ |}---आदि यस्ता उत्साही शब्द पढ्दा मेरा आँखाबाट खुशीका आँसु खसे | निकको वास्तविक जीवन र अनुभवहरुले गर्दा मलाई मेरै आत्मकथा पढेझैं लाग्यो |कतिपल्ट त म एक्लै भक्कानिएर रोएँ अनि कतिपल्ट निकका चुट्किलाहरुमा एक्लै खितिती हाँसें |त्यो पुस्तक पढ्दा धेरैपल्ट म बीच-बीचमा कण्ठ भरिएर पढ्नै सकिन,रुँदै प्रार्थना गरें—‘प्रभु...धन्यवाद |’

त्यो पुस्तकले साँच्चै आशा दिन्छ |हामी,जो जीवनमा आफूलाई केके न पुगेन भनेर प्रभुसँग सधैं गुनासो गर्छौं, हामीले निकको जीवनबाट पाठ सिक्न सक्छौं |उनी भन्छन्—‘यदि मजस्तो जाबो एउटा मुढो प्रभुमा यति खुशी र आशावादी हुन सक्छु भने तपाई झन् कति गुणा बढी हुनसक्नुहुनेछ..|’यो वाक्य पढेपछि म एकछिन धुरुधुरु रोएँ |प्रभुलाई धन्यवाद दिदै आफुले गरेका गुनासाहरुप्रति क्षमा मागें |हो निक,नि;सन्देह एउटा मुढोजस्तो, जसको न हात छ,न खुट्टा,उनले मेरो हृदयको पिँधसम्मै छोए अनि आत्म-मुल्यांकनसित बाँच्न प्रेरित गरे जुन प्रेरणा मैले प्रख्यात सुसमाचार प्रचारक बेन्नी हिन् वा जोएस मेयरको पुस्तक पढेर पनि पाएकी थिईन |म रोइराहंदा कोठामा म एक्लै थिएँ,लोडसेडिंग भएकोले म सानो मैनबत्तिको उज्यालोमा पढ्दै थिएँ,अनि मैले मेरा प्रभुलाई मेरै छेउमा देखें,उहाँ मेरो कपाल मुसार्दै मलाई भन्दै हुनुहुन्थ्यो—‘छोरी ! मेरी ज्ञानी छोरी,नरोऊ,मैले तिमीलाई त्यागेको छैन ल...|’

त्यो किताब हात पर्नुमा पनि एउटा रोचक प्रसंग छ जुन म प्रभुबाटै हो भन्छु |मेरा एकजना आफन्त दाजु अस्ट्रेलियाबाट नेपाल आउन लागेथे,मैले दाइलाई आउँदाखेरि मलाई एउटा किताब ल्याइदिन भनें |दाइले मलाई किताबको नाम भन् भने,तर मैले तपाई आफैले रोजेर ल्याउनुस् भनें |फेरि मैले आफै मनमा गुनें-‘नाम नदिइकन दाइले कस्तो किताब ल्याउलान् ?मलाई मन नपर्ने खालको पर्ला कि ?’ तर मैले फेरि मनमा गुनें- ‘दाइले जुन किसिमको किताब रोज्नुहुन्छ,त्यो किताब मलाई एकदम पढ्न मन लागेको परोस् |’ नभन्दै ‘तँ चिता,म पुराउँछु’ भनेझैं मैले चिताएकै किताब मेरो हातमा पर्यो |म परमेश्वरलाई एकदम धन्यवाद दिन्छु किनकि ती दाइ विश्वासी होइनन् तर पनि मलाई माया गर्छन् |’मैले त एउटा हात-खुट्टा नभएको मान्छेको किताब ल्याछु केरे,तँलाई मनपर्ला कि नपर्ला’ भन्दै थिए | तर त्यो किताब मेरो आशातित किताब सावित भयो जसले मेरो जीवनप्रतिका सारा नकारात्मक धारणा पूर्ण रुपमा मेटिदियो अनि प्रभुप्रति मलाई झन् धेरै बलियो बनाइदियो |

निकलाई परमेश्वरले आफ्नो योजनानुरूप बनाए अनि निश्चय नै मलाई पनि उहाँले केही न केही योजनाको लागि नै बनाउनुभएको हो भनी म विश्वास गर्छु |यद्दपी त्यो योजना मलाई अझैसम्म स्पष्ट थाहा हुन सकेको छैन तर पनि मैले धेरथोर आभाष पाइसकेकी छु | मैले लेखेरै प्र्भुको सेवा गरूँ भन्ने प्रभु चाहनुहुन्छ | त्यसैले म उहाँकै महिमाको निम्ति लेख्छु,म जेजति लेखूँ,उहाँकै महिमा होस् | अरुले कसैले पनि मलाई प्रभुले एउटा ठुलो योजनाको निम्ति चुन्नुभएको हो भनेका छैनन् तर एकजना अमेरिकी म्यामले भनेकी छन् | उहाँ,मिस डेब्बी रुड,अमेरिकाको क्यालिफोरनिया राज्य बाट एकपल्ट सुसमाचार सुनाउन हाम्रो चर्चमा आउनुभो | हाम्रो चर्चमा वचन भनेपछि गुरुबाको आग्रहस्वरूप उहाँ हाम्रो घर आउनुभयो अनि सामान्य भलाकुसारी भयो साथै हामीले एक-अर्काको ई-मेल आदान-प्रदान गर्यौं | उहाँ अमेरिका जनुभैसकेपछी मलाई ई-मेलमा भन्नुभो-‘अरुना ! प्रभुले तिम्रोलागी एउता महान योजना बनाउनुभएको छ,हरेस नखाऊ,निरन्तर प्रार्थना गर्दै रह...मैले तिमीलाई देख्नेबित्तिकै यो थाहा गरेकी छु..’|’ आहा ! ती म्यामले मलाई साँच्चै मार्गनिर्देशन दिनुहुन्छ |म कतिपल्ट निराश हुँदा मिठा-मिठा वचन लेखी मेरो चित्त बुझाउनुहुन्छ | अन्ततः म्यामलाई भेट्नु पनि प्रभुकै एउता उपहार मान्छु | फेसबुकमा अर्की एकजना इन्डोनेसियाली म्यामले पनि यस्तै भनिन्-‘अरुना ! मलाई आज प्रभुले तिमीलाई यो संदेश दिन भन्नुभएको छ,उहाँले तिम्रोलागी योजना बनाउनुभाछ |हताश नहोऊ,निरन्तर प्रार्थना गर..|’

मसित एउता कम्प्युटर थिएन,अशक्त मान्छे साइबर जान पनि गाह्रो हुन्थ्यो | मैले एउटा आफ्नै ल्यापटप भए हुन्थ्यो भन्ने सोच्थें तर त्यो ‘आकाशको फल,आँखा तरी मर्’ जस्तै थियो |यद्दपी प्रभुले त्यो पनि पुराइदिनुभो | मैले आशा नै नगरेको एकजना आफन्त दिदीले मलाई विदेशबाट पैसा पठाई दिईन् अनि त ‘ल्यापटपको सपना’ साकार भो | प्रभु ! धन्यवाद !

त्यसपछि मलाई यस्तो प्रभुका कथा लेख्न नेटमा राख्न मन लाग्थ्यो कि म जहिल्यै एउटा क्रिश्चियन साइट भैदिए हुन्थ्यो भन्थें |नभन्दै यो साइट पनि जुट्यो | मेरो भाइले बिहे गरेको थिएन,मलाई-ममीलाई एउटी गतिली बुहारी चाहिएको थियो |नभन्दै सेवाभावले भरिएकी बुहारी आएकी छ | उसैको सहाराले मेरो जीवन-रथ गुड्दै छ नत्र म पल-पल मरीमरी बाँच्थे |

एकपल्ट एउटा ख्रीष्टियन पत्रिकामा मैले पढेथें-‘जब तपाईलाई निराशाले छोप्छ,तब परमेश्वरका आशिषहरु गन्नुस्..|’ हो यो भनाइ कति सारगर्भिक छ तर हामी खाली परमेश्वरले मलाई यो दिनुभएन,त्यो दिनुभएन भनेर गुनासो गरिरहन्छौं |

परमेश्वर हामीलाई सबैकुरा दिनुहुन्छ,मात्र हामीमा पर्खने धैर्य शक्ति हुनुपर्छ किनकि उनैको समयमा सब थोक पूरा हुन्छन् | म सबै बुझ्ने कपाल फुलेकी बुढीझैं हुन्छु,भने कतिखेर खुट्टा झारी-झारी ‘नाइँ,बाबा मलाई यही चाहिन्छ..’ भन्दै ढिपी गर्ने अबोध बालिकाझैँ हुन्छु,त्यसैले त मलाई आज प्रभुले गालामा प्याट्ट हिर्काएर निकको किताब दिनुभो | अँ,मलाई मेरो गल्तीबोध राम्रै भो |J

अरु पनि अझ धेरै उपहारको म आशा गर्छु अनि तपाई पनि आफ्नो जीवनमा यस्तै आशा गर्नुहोला | जय मसिह !!!
प्रतिक्रिया दिनुहोस्