Thursday, March 8, 2012

नायक

‘मलाई आज अलि सन्चो छैन,म आज आउन सक्दिनँ है,माफ गर्नुहोला..|’

मैले हेमजीलाई फोनमा आज आफु आउन नसकेको कुरा बताएँ | मलाई बिहानैदेखि टाउको दुखिरहेको थियो अनि हल्का ज्वरोले पनि समातेको थियो,त्यसैले म त्यता जान सकिन | त्यैपनि मेरो मन त्यतै उडिरहेको थियो | आफु सुतेको पलंगछेउ टेबुलमा सजाएर राखिएको ठूलो शिल्डमा मेरो आँखा टक्क अडिन पुग्यो | आज त्यस्तै शिल्ड कुनै साहसिलो विजेतालाई सुम्पिने दिन,कसै न् कसैलाई जीवनमा जीतको अविश्मरणीय अनुभव दिलाउने दिन | मैले पनि त्यही दिनको स्मरण गर्न पुगें, जुन दिन मैले पनि जीतको अनुभव गर्न सकें |

त्यो जीत थियो व्हील्चियर दौडको प्रथम पुरस्कार | म संस्थामा भर्खरै प्रवेश गर्दा मनग्गे आत्मविश्वास थिएन | ममा व्हिल्चियर कुदाएर दौड जित्ने साहस र रहर पनि फिटिक्कै थिएन | तर हेमजीबाट पाएको उत्साह र हौसलाका कारण मैले दौडमा भाग मात्र लिईन बरु पहिलोपल्टमै प्रथम पुरस्कार नै जितें | आहा ! त्यो दिनको कल्पना गर्दै मलाई रमाइलो अनुभव हुन्छ |

म हेमजीद्वारा संचालित ‘इन्डिपेन्डेन्ट लाइफ’ नामक संस्थामा आबद्ध भएको भर्खर-भर्खर भएको थियो | व्हिल्चियरमा स्वावलम्बी जीवन निर्वाह गर्ने अशक्त अपांगको सेवामा समर्पित यस संस्थामा मैले पनि प्रवेश पाउनु मेरो सौभाग्यकै कुरा थियो | त्योभन्दा बढी सौभाग्य संघर्षशील जीवनका यस्तै वास्तविक नायकलाई भेट्नु थियो | अपांग दिवसमा हुने भनिएको व्हिल्चियर दौडप्रति मैले कुनै चासो नदेखाएपछि हेमजीले भन्नुभो |-

‘कम अन,अन्जना..अनुभव त हो नि..हामी अपांग सद्देभन्दा कम छैनौं भनेर देखाउनु छ..’ मैले पनि उहाँको मन राख्न भएपनि ‘ओके’ भनिदिएँ |

पोखरा रंगशाला अपांग-सपांग सबले खचाखच थियो,तालीका गडगडाहट र हेमजीले फुकेको सिटीको ‘सुँइ..’ स्वरबाट दौडको सुरुवात भयो | साथीहरुले जोडजोडले कराउँदै थिए,हेमजीले पनि जोडजोडले ‘कम अन अन्जना,कम अन..’ भन्दै चिच्याइरहेका थिए | अनि मलाई पनि राम्रै जोश आयो | ‘दम लगाके,हैसा !’ भन्दै म पनि हौसिएँ | मेरै क्षमताले व्हिल्चियर गुडाउँदै लाँदा अन्जानवश ! मैले पो समाप्तिमा तेर्सिएको फिता तोडेछु | म त चकित भएँ,साथै असीम खुशीले भरिएँ,त्यो दिन अन्जनाले अन्जानमै जीतको अनुभव संगाल्न पाइथी |

आज मैले जीवनमा पाएको यी जीतहरुलाई परमेश्वरकै आशिष मानेको छु | परमेश्वर, हाम्रा जीवनका निर्देशक अनि हेमजीहरु नायक वाह ! ‘मैले त जीवनमा उल्लेखनीय केही पनि गर्न सकेको छैन,अन्तत; मेरो कथा लेखिन योग्य छैन..’ भन्छन् तर मलाई थाहा छ ‘फलेको हाँगो,जहिल्यै नुहेकै हुन्छ’ | अन्तत: म पनि वास्तविक जीवन-संघर्षकी प्रतिमूर्ति नायिका बन्न सकूँ भन्ने मेरो कामना छ | म नितान्त कर्मवादी-नास्तिक तर मैले ढिलै भएपनि बेलैमा परमेश्वरलाई चिनें | तसर्थ म चाहन्छु,सबैले उहाँलाई चिनोस् |

खाजा खाने समयमा मैले एकदिन भनें-‘हेम ! तपाई पनि प्रभुको राज्यमा प्रवेश गर्नैपर्छ |’  

अनि उहाँ खित्का छाडी हाँस्नुभो-‘जुन ईश्वरले मलाई यो हालतमा जन्म दियो,म केका लागि उसको पाउमा परूँ ?आखिर योभन्दा अर्को जीवन मैले पाउँदिनँ केरे |’

‘यो जन्मको जीवन मात्र जीवन हैन हेम,हामीले त मृत्युपछिको जीवनलाई हेर्नुपर्छ,जहाँ अनन्तता छ,जहाँ हामीले भोगेका पीडा र अभावको अन्त छ..|’

‘ह्या..वाहियात ! मृत्युपछि जीवन छ भन्ने के ग्यारेन्टी ? म त मान्दिनँ अन्जना,तिमीले मान्छौ भने ठीकै छ,यसमा मेरो कुनै आपत्ति छैन तर मलाई यो भुमरीमा नतान |’

‘ठीकै छ,तपाईलाई मैले कर गरेकी पनि होइन,तर एकपल्ट पक्कै गम खाएर सोंच्नोस्,आजीवन अभावमा बाँचेर हामीले उहाँलाई तिरस्कार गरेकै कारण मृत्युपछि नर्कको आगोमा जाकिनुपर्यो भने ? बाइबलमा लेखिएझें साँच्चै नै हामीले मृत्युपछि येशुको अगाडि सफाई दिनुपर्यो भने ? त्यसबेला प्रभुले भन्नेछन्-“ए मानिस ! मैले तँलाई अरुलेझैं पाप नगरोस् भनेर सोझो जिन्दगी दिएँ,तेरा हातले,तेरा खुट्टाले,तेरा आँखाले,तेरा मनले अरुलेझैं पाप गरेनन् तर..तर तैंले मलाई इन्कार गरिस्,मैले तँलाई त्यस्तै अवस्थामा पनि जीवन धान्न सक्षम तुल्याएको थिएँ,मैले त तेरोलागी जीवनको मुकुट साँचेर राखेको थिएँ तर..तर तैंले मलाई इन्कार गरिस्,तेरा सारा चोख कर्मले तेरो आत्मा बचाउन सक्दैन किनकि संसारमा छंदा जसले मलाई स्वीकार्छ,त्यो मात्र स्वर्गको राज्यको भागीदार हुनेछ...|” त्यसपछि तपाईको हालत कस्तो होला ? एकपल्ट सोंच्नोस् त..|’

मैले यसो भनेपछि हेमजी एकछिन सोंचमग्न भए | अनि केही गम्भीर भएर सोधे :

‘स्वर्ग-नर्क हुन्छ भन्ने के ग्यारेन्टी,अन्जना ?’    

‘लौ मानिलिउँ स्वर्गको कुनै अस्तित्व छैन,तर तराईको गर्मी वा खाडीको गर्मीले तपाईलाई पक्कै पोल्छ होइन ? त्यस्तै तातोमा पोलिनुपर्यो भने...आबुई |’ मैले नास्तिकको मनोविज्ञान बुझी तर्क दिएँ |

‘...त्यसो हो भने..ल ल..म पनि कुनैबेला तिम्रो परमेश्वरलाई मानम्ला हुन्छ ?’

उनले खालि ‘तिम्रो परमेश्वर’ भन्छन्,कहिले त ‘तिमी सन्चै छौ ?’ भन्ने औपचारिकतासँगै ‘तिम्रो परमेश्वर पनि सन्चै छन् ?’ भनी सोध्छन् | अनि मैले हाँसी-हाँसी भन्छु-‘परमेश्वर मेरा मात्र होइनन्,तपाईका,हाम्रा,सबैका, हुन् |’ बच्चाझैं ढिपी गर्दै उनी भन्छन्-‘आ..मेरो त होइन बारे..|’ अनि मैले ‘हो के’ भनी जोड दिन्छु |

अँ,संघर्ष हामी सबैले गरेका छौं | हामी चोखा मन र सोझा चाल भएका मानिसहरु सबैले परमेश्वरलाई चिनुन् भन्ने म चाहन्छु,तर योभन्दा पनि बढी,म जीवनभरी अपांगत्वको अभावमा जुझिरहेका विकलांगले झन् प्रभुको राज्यमा आउनैपर्छ भन्छु किनकि हाम्रालागि यो जुनी यस्तै भयो तर स्वर्गमा बयान गर्ने नसकिने संसार हामीले पाउनेछौ |

कस्तो अचम्म,म जन्मजात खुट्टा सुकेको जन्मिएँ अनि हेम,डेढ महिनामा पोलियोको शिकार भए | खोप लगाएपनि के र ? हुने कुरा त आखिर भएरै छाड्दो रहेछ | परमेश्वरको लेखि रहेछ क्यार,हामी काँडा भएपनि फूलझैँ हाँस्नुपर्ने | तथापी,म गुनासो गर्दिनँ किनकि मलाई थाहा छ प्रभुले मेरोलागि पनि स्वर्गमा ठाउँ तयार पार्नुभएको छ |

‘..उहाँले तपाईलाई जन्म दिनुभएको हो,उहाँ तपाईका साख्खै बुवा हुन् ‘भनेकी के थिएँ,ओठमा पुराएका चियाको कपबाट चिया नै छचल्किएर पोखिने गरी उनी ‘खितिती’हाँसे |

‘क्या यार ! मेरा साख्खै बुवा भरतमान हो भन्ने के तिमीलाई थाहा छैन ? अनि मेरी आमाले हो मलाई प्रसव वेदना सहेर जन्म दिएकी त,कसरी तिम्रो परमेश्वर मेरो साख्खै बुवा हुन सक्छ ?’

‘उहाँ शारीरिक होइन,आत्मिक साख्खै बुवा हुन्..’

‘के प्रमाण छ तिमीसँग ?’

‘छ..तपाईको स्वरुप तपाईको शारीरिक आमाबुवाबाहेक यो विश्वको कुनैपनि मानिससँग मिल्दैन,कोषको अतिसुक्ष्म एकाइ डीएनए संसारको कुनैपनि व्यक्तिसँग मिल्दैन तर मात्र तपाईको शारीरिक बुवासँग मिल्छ,दुई जुम्ल्याहामा सबै कुरा समान हुन सक्छ तर औंठाछाप मात्र कहिल्यै मिल्दैन,किन होला ?..किनकि तपाई-हामीलाई परमेश्वरले आफ्नो बुद्धिले धेरै रहस्यका साथ बनाउनु भएको हो |’

मैले यसो भन्दा उनले ‘हुँ’ भन्दै गम खाए | अनि फेरि प्रश्न गरे-

‘के तिमीले तिम्रो परमेश्वरलाई देखेकी छ्यौ त ?’

‘नांगो आँखाले देखिन्न,मनको आँखाले देखिने हो..मैले मनको आँखाले देखेछु..’

‘ए ! तर म जब ईश्वर सशरीर सबका सामू प्रकट हुँदैन,तबसम्म विश्वास गर्दिनँ,लौ भन परमेश्वर सत्य भए किन प्रकट हुँदैन ?’

‘किनकि यो पापी पुस्ता हो,यो पुस्ताले पश्चाताप गरेर विश्वास नगरेसम्म उहाँ प्रकट हुनुहुनेछैन’

‘आँखाले नदेखिने कुरामा कसरी विश्वास गर्ने अन्जना ?’

‘हामीले धेरै कुरा नदेखेर पनि मान्नुपर्छ अनि सुनेर मात्र पनि मान्नुपर्छ..जस्तै अक्सिजन,के हामी यसलाई देख्छौं ?,हामी छौं र त अक्सिजन पनि छ भन्ने कुरामा हामीले विश्वास गर्छौं..’चन्द्रमामा मान्छे पुग्यो रे’भन्ने सुनिन्छ,’मैले त मेरै आँखाले देखेछैन,नाइँ म विश्वास गर्दिनँ’ भन्न पाइन्छ ? आँखाले देखेको कुरामा मात्र पत्यार गर्ने हो भने हाम्रो आँखाले त्यो चम्किलो सूर्यलाई एउटा रोटीजस्तो देख्छ,के ‘सुर्य रोटीजत्रो छ’ भन्ने ?’

उनी चुप लागेर बसे | मलाई बाइबलीय कथा भन्न मन लाग्यो |-

‘बाइबलमा येशुले एउटा कथा भनेका छन्—एउटा धनी मानिस रहेछ र एउटा ‘लाजरस’ नाउँको मगन्ते रहेछ |त्यस धनी मानिसले लाजरसप्रति कहिल्यै दया देखाएन एवं रीतले दुवैले एकदिन संसार छाडे तर त्यो धनी मानिस नर्कको आगोमा तड्पिरहेको थियो | उसले आफ्ना आँखा यसो उठाएर हेर्दा लाजरस आनन्दले अब्राहमसित बसिरहेको थियो | उसले कराएर भन्यो-‘हे पिता !त्यो लाजरसलाई औंलामा पानि चोबेर मेरो मुखमा चुहाइदिन भनिदिनु |’ तब अब्राहमले भने-‘याद गर्,तैंले संसारमा हुँदासम्म सुखसयल र मोजमस्ती गरिस् तर लाजरसले जीवनभरी दुःख पायो |त्यसैले अहिले न्याय भएको छ,जति कोशिश गरेपनि कोही पनि यताबाट उता अनि उताबाट यता आउन सक्दैन |’अनि धनी मानिसले फेरि भन्यो-‘ठिक छ पिता,तर लाजरसलाई मेरो घरमा पठाइदिनुस् किनकि मेरा भाइहरु पनि मझें निष्ठुर छन्,सायद लाजरसलाई पुनः जीवित देखेर उनीहरुले विश्वास गर्थे कि ?’ तब अब्राहमले भने—‘तिनीहरुसँग बाइबल छन्,यदि तिनीहरु त्यहाँ लेखिएका कुरामा विश्वास गर्दैनन् भने मरिसकेको लाजरसलाई देखे पनि विश्वास गर्ने छैनन्,,| अब्राहमचाहिं परमेश्वरका धर्मीजन हुन् | यो कथाको मतलब हामीले बाइबलमा लेखिएका कुरामा विश्वास गर्नुपर्छ,न कि आँखाले देखेको कुरामा,बुझ्नुभो ?’

कतिखेर त उनी मेरो मन जलाउन हो कि कुन्नि ?,कुरैकुरामा आँखा चिम्म गरी भन्छन्-‘बुद्धम् शरणम् गच्छामी |’

मैले पनि भन्छु कि बुद्ध परमेश्वर थिएनन् किनकि उनले कहिल्यै ‘म नै परमेश्वर हुँ’ भनेनन् |यथार्थमा उनले मूर्तिपूजाको विरोध गरे र भने—‘म पछि यो संसारमा ज्योति आउनेछ..|’ त्यहि ज्योति येशु हुन् जसको अस्तित्व नै परमेश्वर थिए | अदृश्य परमेश्वरलाई मानिसले पत्याउन छोडेकोले उहाँ देखिने स्वरुपमा येशु ख्रिष्ट बनी जन्मनुभो | यो पृथ्वी नै उहाँले बनाएपछि उहाँ बुद्धभन्दा पछिका होइनन् तर अघिकाभन्दा पनि अघिका अर्थात् आदिकालका हुन् | हामीले सृष्टिकर्तालाई पिता नभनेर सृष्टिलाई ‘पिता’ भनी सम्बोधन गर्नु कति जायज हो ? यो त आफुले जन्म दिएको सन्तानले आफुलाई ‘बाबा’नभनेर पराइलाई पो ‘बाबा’ भनेजस्तै हो | के यसो गर्दा ती वास्तविक बाबाको मन दुख्दैन त ? अवश्य दुख्छ..उहाँ सब सन्तानले आफुलाई चिनून् भन्ने चाहनुहुन्छ | त्यसैले उहाँलाई चिन्नु बाध्यता होइन कर्तब्य हो |

मेरा कुराले यी अबोध नायकलाई कतिसम्म प्रभाव पार्यो,म जान्दिनँ तर पनि यो संसारका यी सोझा र असल नायकले यथाशिघ्र परमेश्वरलाई चिनुन् भन्ने मेरो निरन्तर प्रार्थना छ |अनि ‘म तपाईकोलागी प्रार्थना गरिदिन्छु ल’ भन्दा सधैं ‘भो,पर्दैन’ भनी नकार्ने हेमजीले अन्तमा भने—‘ल ल अन्जना,मेरोलागि पनि प्रार्थना गरिदेउ ल |’ यो सुनी म मुसुक्क मुस्काएँ अनि भनें ‘ह्वस्’ |

[समाप्त]


प्रतिक्रिया दिनुहोस्