Wednesday, December 14, 2011

बन्द परेलीभित्र...

अन्ततः मेरो पनि सपना थियो, उद्देस्यप्रप्तिको एउटा पूर्णविराम थियो | तर कसै गरी पनि मेरो जीवनको गुढ रहस्य मैले बुझ्न सकेकी छैन | अचम्म लाग्छ मैले के बिराएँ ? मैले जानी-जानी कसैको कुभलो चाहिन र अहिले पनि चाहन्न तर पनि कुन दुष्टको आँखा लागेछ कुन्नि ? म अद्दापी छटपटाई रहेछु |स्कुल पढ्दाखेरिको कविशिरोमणि लेखनाथ पौडेलको एउटा कविताको हरफ म जहिल्यै सम्झिरहन्छु 'जिउँदै मरेतुल्य मानिस हुन्छ रे त्यो,उद्दमबिना बित्दछ काल जसको..' यी हरफहरुले मलाई गिजाईरहेको भान पर्छ | अनि महाकविको 'के हो ठुलो जगतमा ? पसिना विवेक,उद्देस्य के लिनु ? उडी छुनु चन्द्र एक..' भन्ने हरफले झन मलाई कति प्रभावित पारेथ्यो | स्कुले जीवनमा ती गहिरा कविता कति मनपर्थे ,ती गहिरा-गहिरा शब्दहरु मलाई एकदम सजिला लाग्थे | गृहकार्यमा विवेचनात्मक उत्तर लेख्न बस्दा आफ्नो कापीको पाना भरिएको पनि मैले थाहा पाउन्नथेँ | सानैदेखि सादा जीवन,उच्च विचार'को आदर्शलाई पनि दिलोज्यानले पछ्याएकी हुँ तर 'जो होंचो,उसकै मुखमा घोंचो' भन्ने उखान मेरो जीवनमा चरितार्थ भयो |
जे होस्, जीवन त अनुभवहरुको सँगालो हो नि | म असक्त हुनुमा ठुलो विडम्वना भएपनि जीवनलाई गहिरो रुपमा चिन्न सकेकी छु..भनुँ न..म त अँगारले खारिएर हाँडीजस्ती काली भएकी छु |
संसारको सुन्दरता मलाई चाहिंदैन,ठेल-मठेल,तडक-भडक पनि मलाई चाहिंदैन,बस् आफ्नै अन्तर्मुखी भावनामा रम्दै कापीमा कलमले आफ्ना मनका भावना पोख्न पाए मलाई पुग्छ,यसैमा मेरो चरम-सन्तुष्टि छ |
मेरो जीवनको उद्देस्य के ? मेरो बाँच्नुको उद्देस्य के ?,म त खासमा शुन्य पो हुँ,खोक्रो हुँ,एउटा ब्ल्याक होल हुँ | तर पनि मलाई मेरो जीवनको पछुतो छैन | पछुतो हुन्छ,त्यतिबेला जब म यो संसारको रंगप्रति आकर्षित हुन्छु | त्यसबेला मभित्रको अन्तस्करणले मलाई यो संसारको रंगप्रति आँखा चिम्लन झक्झक्याउँछ, अनि त्यसपछी म मेरै सीमित संसारमा रमाउँछु | म त धेरै रोइसकें,तर अब रुन्न | मेरो आँसु पनि लगभग सुकिसक्यो |छिन-छिनमा दुख्ने यो मनलाई ढुंगाले थिचेर हाँस्न जानिसकेकी छु | आफ्ना आँसुलाई बन्द परेलिभित्रै कैद गरी सुकाउन पनि जानिसकेकी छु |
म त पक्का मान्छु,म यो संसारको होइन,न यो संसार मेरो हो किनकि बाइबल भन्छ 'तिमीहरु यो संसारका होइनौ,..तिमीहरु यो संसारका भए तिमीहरुलाई कष्ट हुने थिएन...|' मेरो एकमात्र आशा भरोसा उनी एउटै परमेश्वरमाथि छ,जसले मलाई हिलोमै भएपनि कमलको फूलझैं फूलाउनुभो अनि काँडामै भएपनि गुलाफको फूलझैं फक्राउनुभो |
म कमजोर छु,म लाचार छु,म अशक्त छु,म दुर्बल छु तापनि म साहसी छु |म यो संसार जित्न चाहन्छु र...केही अर्थमा जितेकी पनि छु...हैन र ?
प्रतिक्रिया दिनुहोस्