मेरो जीवनको एउटा पाटो,साइप्रस...
गुगल सर्च गर्दा जसरी विभिन्न नतिजा आउँछन्,त्यसरी नै साइप्रस भन्ने शब्द मनमा आउनासाथ धेरै कुराको झझल्को आउँछ | कुनै यादले सम्झँदै तन र मन दुवैमा चन्चलता ल्याइदिन्छ,कुनैले मुहारमा मन्द मुस्कान ल्याइदिन्छ भने कुनैले आँखाबाट आँशु पनि चुहाइदिन्छ | पहिलो अनुभव सबैको अविस्मरणीय हुन्छ भन्छन्, मेरा हरेक पहिलो अनुभव साइप्रससित जोडिएकोले यो मेरोलागि अविस्मरणीय छ किनकि यससँगै मेरो पहिलो विदेश-यात्रा,पहिलो काम अनि पहिलो प्रेम पनि गाँसिएको छ | सोंच्ने बेला धेरै कुरा मनमा आउँछन् तर लेख्नेबेला कहाँबाट सुरु गरूँ ? भन्ने कुरा नै गाह्रो हुँदै छ |
एउटा सानो पृष्ठभूमि:-
बाह्र सकिएपछि आफ्नो क्यारियर केमा बनाउने भन्ने ध्याउन्नले गाँजेको थियो | हाम्रो मंगोलियन समाज जहाँ छोरोले एसएलसी दिन पा’छैन,लाहुरे बन्नुपर्छ,विदेश जानुपर्छ भन्छन् [पढेर डाक्टर इन्जिनियर बन्नुपर्छ त कसैले भन्दैनन्],त्यस्तो समाजमा लाहुरे बन्नु भाग्यमानी मानिन्छ,त्यसैले त्यही समाजको केटो म,मेरालागि लाहुरे बन्नुबाहेक अर्को ठूलो क्यारियर केही थिएन | मानिसहरु भन्थे टाउको ठूलो हुने र बत्तिस दाँत हुने मान्छे भाग्यमानी हुन्छन् रे,यी दुवै चिज ममा थिए,त्यसैले यही कथनमाथि विश्वास गरी म आफूलाई भाग्यमानी सम्झन्थें | फेरि भाग्यमानीका आफ्नै रहरहरु हुन्छन्,तिनै रहरहरुमध्ये मेरो पनि मनको कुनै कुनामा विशेष दुई रहर थिए,एउटा-राम्रो नकुरी [लाहुरे हुने] र अर्को-राम्रो छोकरी [एउटी गुरुङसेनी बिहे गर्ने] J | तर विडम्बना ! रगत-पसिना एक गरेर कोशिश गर्दा पनि लाहुरे बन्न सकिएन, अनि आमाबाबुलाई मनाएर अन्तरजातीय बिहे गर्छु भन्ने साहस पनि भएन,जीवनको प्राथमिक सपना यत्तिकै चकनाचुर भयो,अनि मलाई आफैंलाई भन्न मन लाग्यो-‘ईस् ! तँ भाग्यमानी !’
जब सपना टुट्छ,तब धेरै नै दुःख लाग्छ तर हामी मानिसको महानता यसमा छ कि हामी टुटेका सपनासित बिलाएर जांदैनौं,हामी फेरि अर्को सपना देख्छौं,त्यस्तै मैले पनि देखें,विदेश गएर सफल हुने सपना |अन्ततः म लाहुरे हुन नसकेको निराशा र नयाँ आशा दुवै लिई काठमाण्डौ आएँ | त्यहाँ मेरो धनेसँग भेट भयो |उसको हालत पनि मेरोभन्दा राम्रो थिएन | हरेक आम नेपालीको भावनाझें विदेश नगए केही प्रगति हुन सक्दैन भन्ने मेरो र उसको विचार एकदम मिल्न गयो तर जाने कहाँ भन्ने कुरा आयो | देशबाट जसरी पनि फुत्किनुपर्छ भन्ने सोंच् भएको बेला ‘१००% भिसा ग्यारेन्टी’ भन्ने विज्ञापन देख्दा मैले त्यसैलाई राम्रो विकल्प ठानें | धने खासै इच्छुक त थिएन तर मैले मेरो विचार राख्दा उसले ‘टाइटानिक’ फिल्ममा ज्याकले रोजलाई ‘यु जम्प,देन आई जम्प’ भनेझैं भन्यो | त्यसपछि सुरु भयो साइप्रस पठाउने कन्सल्ट्यान्टको खोजी | बजारमा थरि-थरिका भाउ थिए | कसैले दस हजार त कसैले बीस हजार माग्थे,हामी पनि लगानीकर्ता ‘वारेन बुफ्फे’भन्दा कम कहाँ थियौं र,हामीलाई पनि १००%भिसा ग्यारेन्टी[उच्च मुनाफा] तथा कम खर्च[कम जोखिम] चाहिएको थियो | अन्तमा बागबजारको एउटा कन्सल्ट्यान्सीमा गएर हाम्रो यात्रा टुंगियो | त्यहाँको सुपरभाइजरको कुरा पनि मनपर्यो,उहाँले भन्नुभो-‘मैले पठा’को एउटा भाइले त साइप्रस गएर धेरै प्रगति गर्नुभो |’ प्रगतिचाहिं के भनेको त ‘मोबाइल किन्यो,स्पोर्ट्स बाईक किन्यो अनि बैंक ब्यालेन्स बनायो’रे | उसको कुरा निकै रुच्यो किनकि जीवनमा कहिल्यै बैंक ब्यालेन्स थिएन [एउटा फाइनान्स कम्पनीमा दुई चार हजार जम्मा गरेथें,त्यो पनि साला कम्पनी नै भाग्यो],अनि मोबाइल त हलिउड फिल्ममा हिरोले चलाएको देखिन्थ्यो तर आफ्नो थिएन | त्यसैले कतिखेर साइप्रस जाउँ,बुटामा फालेको पैसा टिपूँ र ती सारा सपनालाई विपनामा बदलूं भन्ने विचार पलायो | त्यसबीच जसो-तसो भिसा आयो,तर त्यहीबेला साइप्रस गएका विद्द्यार्थीलाई त्यहाँ एकदम दुःख छ भन्ने खबर पत्रिकामा आयो जसकारण साइप्रस जाने कि नजाने दोधारमा थियौं तर बज्यैले ‘जा भो नाति,जसो पर्ला उसो टर्ला,हामी तेरो साथ छौं’ भनेर हौसला दिनुभो | उहाले दिनुभएको हौसलाको म सधै कृतज्ञ छु | धनेलाई मैले ‘जाऔं,जे होला-होला,फाटेको झोला’ भनें,उसले पनि मेरो कुरामा १००% सहमति जनायो | सायद साइप्रस जाने साथी धने नभईदिएको भए म जाने थिइनँ होला,पछि उसैले मलाई भन्यो-‘यार,तँसित मेरो भेट साइप्रस जानकी लागि भएको रैछ |’ जे होस्,साइप्रसको यात्रा यसरी तय भयो |
पहिलो उडान तथा पहिलो विदेश यात्रा:-
फ्लाइट काठमाण्डौबाट बहराइनतर्फको थियो |पहिलोपल्ट देश छोडेको,विदेश हेर्ने रहर बहराइन गएर पूरा भयो |त्यहाँ गगनचुम्बी महलहरु देख्दा मनले युरोपको कल्पना गर्यो | ८ मार्च २००५ को साँझ हामी साइप्रसको आकाशमाथि थियौं,प्लेनबाट देखिएको दृश्य ज्यादै नै मनमोहक थियो | कपासका भुवाजस्ता बादल,अनि तल निलो समुन्द्रको बीचमा साइप्रस-आहा ! प्लेनले अवतरण सुरु गर्यो अनि एयर होस्टेसले हामी ‘लारनाका एयरपोर्ट’ आइपुग्यौं भनेर घोषणा गरी,मैले झ्यालबाट यसो हेरें,झट्ट हेर्दा गोदामझैं देखें अनि माथितिर होर्डिंग बोर्डमा ‘लारनाका इन्टरनेसनल एयरपोर्ट’ लेखिएको देखें,सुरुमा त त्यो युरोपको अन्तर्राष्ट्रिय एयरपोर्ट भन्ने कुरा मनले मान्दै मानेन,तर सत्य आखिर सत्य नै थियो..[पहिलो झट्का]..|आवागमन कक्षमा पहिलोपल्ट हामी दोस्रो दर्जाको नागरिक भएको अनुभव बटुलें | त्यहाँ लगभग २ घण्टाजति बित्यो,त्यसपछि एउटा ट्याक्सीमा हामी हाम्रो गन्तव्यस्थल-‘आइया नापा’तिर लाग्यौं |बाटोमा चारैतिर हेर्दा उराठ भूमिबाहेक केही देखिन्न,जताततै तोरीका फाँट थिए,अगाडि पुग्दै गर्दा त झन् कतै गाइ गोठ,कतै भेडा-बाख्रा गोठ देखिन्छ [दोस्रो झट्का] | मन साह्रै नरमाइलो भो,धनेलाई हेरेको त ऊ पनि खिन्न मुद्रामा थियो,मैले थाहा नपाएजस्तो गरी मन भुलाउने अभिप्रायले गीत गाउन थालें [त्योबेला त म २४ घन्टे एफएमझैं थिएँ नि,क्वालिटी होस् कि नहोस्,क्वान्टिटीचाहिं हुन्थ्यो] | मैले युरोपझैं त्यहाँ पनि अग्ला-अग्ला बिल्डिंग होला भन्ने सोचेथें तर ट्याक्सीमा एक घण्टा घुमेर पनि त्यस्ता बिल्डिंग कतै देखिन,अन्ततः गगनचुम्बी महल हेर्ने आशचाहिं त्यहाँ आएर मनमै बिलायो | आफ्नै कोठा थिएन,त्यसैले पहिल्यै चिनेको एकजना दाइको कोठामा आफ्ना झोला राखेर बाहिर घुम्न निस्कियौं | आइया नापा भन्ने ठाउँ पनि बडो अजिब गरिब लाग्यो,जहाँ जता हेरेपनि सुनसान देखियो | बाटामा दृश्य कतै हलिउड फिल्म,टाइटानिक वा जुरासिक पार्कका सेटझैँ देखिए,ती खण्डहरझैँ लाग्यो,पछि ती ग्रीष्मयाममा खुल्ने अस्थाई रेस्टुरेन्ट रहेछन् भन्ने थाहा हुन आयो | अनि बेलुकी राति सबैले आफ्ना दुःखका कुरा सुनाउन थाले | कसैको मुखबाट पनि आशालाग्दो कुरा निस्किएन,भविष्य ज्यादै अन्धकार देख्न थालियो,कसैले त अब त्यहाँको माया मरेर नेपाल फर्कन पनि सुझाए [तेस्रो झट्का] | तर फर्किनु कसरी ? दिदी-बज्यैले टिका लगाइदिएर बिदा भई आको,घरबाट आमाबाको आशिर्वाद लिएर,केही गर्छु भनी वचन दिएर आको,अब फर्किनु त ?...मरिजाउँ,फर्किन्न |
पहिलो काम:-
दिनहरु बित्न थाले,साइप्रसमा पढ्नको लागि र बस्नको लागि काम गर्नु जरुरी थियो |धेरै दिन भौंतारिएपछि एउटा होटेलको म्यानेजर फेला पर्यो,उसलाई डराई-डराई हामीले कामबारे सोध्यौं,उसले अर्को मंगलवार ‘क्लिनिंग’को काम मिल्नसक्छ भनी हाम्रो फोन न. माग्यो | हामीलाई अर्को मंगलबार भोलि नै भइदिए हुन्थ्योजस्तो लागिरहेको थियो | कुर्दा-कुर्दा मंगलबार पनि आयो तर त्यो साहुको फोन आएन | धेरै कुरेपछि हामी आफैं फेरि उसलाई भेट्न जाने निधो गर्यौं | त्यस दिन कलेज गइएन | होटेल पुग्दा एउटा माली बगैंचामा थियो,उसलाई साहुबारे सोध्यौं,साहु एकछिनपछि आउँछ भन्यो | माली बडो बाठो रहेछ,साहु नआउन्जेल उसलाई काम सघाउन भन्यो,के सघाउने भनेको त होटेलको आँगनभरि रुखबाट खसेका पात टिप्ने रे | होटेलको साहुले काम दिने-नदिने टुंगो थिएन तर मालीले चाहिं काम अह्राइहाल्यो | अब के गर्ने,अरु उपाय थिएन,मान्नैपर्यो, अफ्नोलागी त त्यो मालीको हुकुम पनि ‘श्री पंच’को हुकुमझैं भो | काम गर्दै हुँदा साहु पनि आयो, अनि काम दिन्छु पनि भन्यो,आफूलाई त कानाले आँखो पाएझैं भो,याहु...| त्यसपछि साहुले होटेल पछाडिको पार्किंग लट सफा गर भनेर गयो | आफुलाई त त्यो काम वालस्ट्रीटमा कोष विश्लेषणको काम पाएझैं सुखानुभूति भयो | शानले मेहनत गरियो | साइप्रसको त्यो चर्को घाममा बाह्र बजेसम्म नबिसाई कतियौं | भोक त आफ्नो ठाउँमा छँदै थियो,त्यसमाथि बेस्सरी तिर्खा लागेको थियो,धनेले ‘तिर्खा लाग्यो,पानी खान जाम्’ भन्यो,मैले ‘एकछिन पर्खौं,साहु आउँछ कि ? अनि सोधेर नै जाऔंला’ भनें तर साढे एक बज्नेसम्म पनि साहु आएन | तिर्खाले साह्रै सताएपछि डराई-डराई बिसाएर पानी खान गयौं,पानी खाएर आएर फेरि काम गर्न थाल्यौं | निरन्तर काम गर्दागर्दै ४ पनि बज्यो तर कोही आएन | धनेले त ‘म त ढल्न आँटिसकें,बिसाउँ भो’ भन्यो,मैले फेरि ‘पाँच बजुन्जेल गरौँ,साहु आइहाल्ला कि’ भनेर सम्झाएँ | पाँच पनि बज्यो तर कोही आएन | अति भएपछि के हो,कसो हो भनी सोध्न हामी साहुको अफिस लाग्यौं |गएर हेरेको त ढोकैमा ताल्चा थियो,मान्छे पनि कोही थिएन,साह्रै नराम्रो लाग्यो,आफ्नो घर हुँदा आमाबाले ‘आफ्नो कोठा सफा गर’ भन्दा अनेक बहाना बनाइन्थ्यो-‘पढ्नु छ,साथीसँग होमवर्क डिस्कस गर्नु छ’ भनेर पन्छिन्थ्यो | कहिलेकाहीं केही काम अह्राए निकै ठूलो भएर कुरा गरिन्थ्यो अनि हरेक काममा जस वा इनाम खोजिन्थ्यो तर यहाँ जस र इनाम त के,कसैको चासो पनि नपाइने | भोक,तिर्खा र थकाइको कोसेली लिएर [साथमा नारायण गोपालको ‘झरेको पात’ गीतको पार्श्व संगितमा] निराश भएर हामी घरतिर लाग्यौं | आउँदै गर्दा बाटामा सुन्तलाका बोट देखियो,धनेले-‘सौन,भोक धेरै लाग्यो,सुन्तला खाऔं न’भन्यो,मलाई पनि ती राता-राता सुन्तला देखेर लोभ नलागेको त थिएन तर कसैले गाली गर्ला कि भन्ने डर थियो | युरोप हो,कतै सिसिटिभी क्यामेरा पनि हुन सक्छ भनेर यताउता हेरें,पछि ढुक्क भएर आफ्नो भएभरको बल लगाएर उफ्रेर एउटा सुन्तला टप्प टिपें | सबैले खानेकुराभन्दा भोक मिठो भन्छन्,हामीलाई त्योबेला कस्तो भाथ्यो होला ? कल्पना गर्नुस् त |सुन्तला छोडाएर आधा आफुले आधा धनेलाई दिएँ,हामीलाई भोकले यति सताएथ्यो कि एकछिन पनि नरोकी त्यो आधा केस्रा क्वाप्पै मुखमा हाल्यौं | त्यो क्षण त म कहिल्यै भुल्दिनँ | किनकि सुन्तला जति छिटो मुखमा हालियो,त्यति नै छिटो थुक्नु पनि पर्यो,सुन्तलाको स्वाद बयान गर्नुपर्दा,त्यसको स्वाद टर्रो,अमिलो,बान्ता गर्दाको पानीझैं थियो |मन त पहिल्यै तीतो थियो,झन् मुख पनि तीतो भयो,झन् रीस पनि उठ्यो तर कसलाई गर्ने ? कसैले हामीलाई ‘खा’ भनेर कर गरेको पनि थिएन,त्यसैले केही नभएझैं गरी चुपचाप आफ्नो बाटो लाग्यौ..उदास मन लिएर..:-
भोलिपल्ट फेरि त्यहीं गयौं,त्यसपल्ट चाहिं खाना खाएर गयौं,साहुले फेरि काम अह्रायो अनि दिनभर पेशेवर स्वीपरझैं काम गरियो |साँझतिर पैसा मागेको त ‘अहिले होटेल खुलेछैन,शुक्रबार आऊ’ भन्यो,अब के गर्ने ?,साथीहरु भन्थे-‘यहाँ कतिले काम त अह्राउँछ तर पैसा दिंदैन’,आफू पनि त्यही पिडित पात्र भइयो भनेर मन दुख्यो [चौथो झट्का] | घर आयौं,खाली हात,साहुले पैसा देला भन्ने त कुनै आश थिएन तर पनि शुक्रबारको दिन त्यहाँ गयौं | मनमा अनेक शंका-उपशंका लिएर साहुको अफिसमा छिर्यौं,हामी कोठामा प्रवेश गरेपछि साहुले एकछिन सोचेर भन्यो-‘अरुलाई मैले १० पाउण्ड दिन्थें,तिमीहरुले चाहिं राम्रो काम गर्यौ,त्यसैले १५ पाउण्ड दिन्छु अनि अर्को हप्ता पनि काम दिन्छु |’ हाम्रो त खुशीको कुनै सीमा नै रहेन |
आफ्नो पसिना बगेको पैसा हात पर्दा बेग्लै अनुभव र सन्तुष्टि भयो,कालो बादल मडारिएको जीवनमा आशाका किरण पर्न थाले,हामी यति उल्लासित भयौं कि आफुले संसार नै जितेकोझैं अनुभव गर्न थाल्यौं | रमाउँदै घरतिर लाग्यौं,अनि बाटामा मैले गीत गाउन थालें,धनेले-‘सौन,तिमीले आज कति धेरै दिनपछि गीत गायौ है ?’ भन्यो,म झल्याँस्स भएँ,साँच्चै साइप्रस आएको पहिलो दिनदेखि मैले गाउन छोडेको थिएँ,त्यो कुरा धनेले राम्ररी ख्याल गरेको रहेछ | बिचरा म L |त्यसपछि त कामको सिलसिला नै सुरु भयो,आज कुचो लगाएको ठाउँमा भोलि फेरि लगाउनुपर्ने,आज घाँस उखेलेको ठाउँमा पछि फेरि घाँस पलाउने |घाँस उखेल्दा-उखेल्दै बानी नै यस्तो पर्यो कि बाटामा कतै लामो घाँस देख्यो कि उखेलेर फाल्न मन लाग्थ्यो [मजाकी तर कटु सत्य J] |
त्यस होटेलमा काम गर्दा मैले केही राम्रो कुरा पनि देखें |त्यहाँका जीएम हामीलाई काम अह्राउँदा आफैंले कोदालो समातेर,माटोमा हात हालेर यसो गर,उसो गर् भनेर सिकाउँथ्यो |हाम्रो देशमा म्यानेजरले यसरी सिकाउँछ होला ??अहँ...कसैले सिकाइहाले पनि गोजीमा हात हालेर खुट्टा उचाल्दै इशाराले सिकाउँछ,पक्कै |कहिलेकाहीं म्यानेजर क्यान्टिनमा आफैं आएर तल्लो तहका कामदारसँगै बसेर गफ गर्थो,खान्थ्यो |को ठूलो,को सानो भन्ने भावना थिएन त्यहाँ,सबैलाई समान व्यवहार थियो |नेपालमा यस्तो कहिल्यै होला ?,जहाँ हाकिमलाई बोल्न त के भेट्न पनि फुर्सद हुँदैन | अन्ततः म भन्न सक्छु हाम्रो देश गरिब भएर हामी दोस्रो दर्जामा पुगेका होइनौं बरु हामी आफैं नै दोस्रो दर्जामा पुगेर हो |कुनै पनि देश त्यसै धनी र विकसित हुँदैन,फरक त्यहाँका नागरिकका विचारले गर्दा हो |हामीले पनि जबसम्म आफ्ना विचारमा परिवर्तन ल्याउँदैनौं,तबसम्म देशको विकास सम्भव छैन |
जे पायो त्यही कुरा....
सुरुसुरुमा साइप्रेलीले ‘ट्याक्सी-ट्याक्सी’ भनेको सुनिन्थ्यो,पछि थाहा भो त्यो ‘एन्देक्सी’ रहेछ जसको अर्थ ‘हुन्छ’ रहेछ |कुनै पनि भाषा मान्छेले पहिला नराम्रोचाहिं छिट्टै सिक्छ भन्छन्,हामी पनि त्यही ड्यांगका मुला जो थियौं,भएभरका छाडा शब्द सिकियो अनि आफैं-आफैंमा भनाभन..हेहे.. |त्यस्तै गरी हामीले बिस्तारै ग्रीक सिक्यौं |ग्रीक भाषा अनौठो अनि साइप्रेली भाषा ज्यादै ठाडो लवजको,नम्रता त पटक्कै हुने थिएन |टाढाबाट सुन्दा झगडा गरेको हो कि कुरा गरेको,छुट्याउनै गाह्रो |त्यहाँ सबैले ‘माइ फ्रेन्ड’ भनेर बोलाउँथे,सुरुमा त ‘मेरो साथी’ भनेका भनेर राम्रो लाग्यो तर पछि थाहा भयो,त्यहाँ विदेशीजति सबैलाई ‘माइ फ्रेन्ड’ भन्दा रहेछन् |पछि त बुढा-बुढी,केटाकेटी सबैले ‘एला रे माइ फ्रेन्ड’ भन्दा रिस पो उठ्न थाल्यो,त्यस शब्ददेखि |कोही-कोही त एकदम गोरु के,’तेरो देशमा कार छ ?’भनी सोध्थे,म पनि के कम, ‘तेरो देशमा रेल छ ?’ भनेर सोध्थें किनकि मलाई थाहा थियो साइप्रसमा रेल छैन |अर्को फेरि आलु साहु थियो,कहिले उसले ‘काम छिटो गर’ भनेर दिक्क,कहिले उसको कुरा सुनेर दिक्क, ‘तेरो देशमा आलु हुन्छ ?’ पो भन्छ है,साला त्यही आलुले मुखमा हानी-हानी मारिदिउँजस्तो |
ग्रीष्मकालीन काम;-
गर्मी याम आउन लागेको थियो,हामीलाई स्थाई काम मिलेको थिएन अनि काम गर्ने अनुमतिको कागजात पनि त्यतिन्जेल थिएन |पोल्ने घाममा दिनभरि हिँडेर काम खोज्नुपर्ने,कसै-कसैले त माया गरेर ‘भित्र आऊ,बस’ भन्थ्यो,पानी पनि दिन्थ्यो तर कसैलेचाहिं ढोकैबाट ‘नो’ भनेर फर्काउँथे |अन्तमा गर्मीयामको उत्तरार्धमा हामी सबले भाँडा माझ्ने काम पायौं | पहिलो दिन साहुको बुढीले ‘यसो-यसो गर’ भनेर काम अर्हाई अनि ट्वाइलेट लगेर ‘यो पनि सफा गर’ भनी |नराम्रो लाग्यो,आफ्नो घरमा बाबाले ट्वाइलेट सफा गर्दा ‘नगरे नि हुन्छ बा,किन गर्नुपर्यो ?’ भन्थें,यहाँ अर्काको ट्वाइलेट सफा गर्नुपर्दा मन सानो भो, ढोका लगाएँ,अघिल्तिरको ऐनामा आफ्नो मुहार हेरें,म भ्रमको जालमा फस्न पुगें [हुनु न खानु आत्म-सम्मान वा स्वाभिमानको भ्रम],तर त्यति नै बेला बाबाले भनेका शब्द सम्झें. ‘मान्छेमा सहनशीलता हुनुपर्छ’ अनि ‘चोर्न र ढाँट्न लजाउनु तर काम गर्न कहिल्यै नलजाउनु’,बाबाका यी शब्द सम्झेपछि बल्ल मेरो मनमा उब्जेको भ्रम हराउन पुग्यो |मेरो त्यस्तो भ्रम पक्कै त्यो मेरोमात्र नभएर हामी सब नेपालीको भ्रम हो,हामी आफ्नो देशमा हुँदा सानोतिनो काम गर्न लजाउँछौ र त्यस्ता काम गर्नेलाई पनि राम्रा नजरले हेर्दैनौं तर विदेश पुगेपछि बल्ल हाम्रो घैंटामा घाम लाग्दो रहेछ,हाम्रो आफ्नो सारा भ्रम तोड्छौं अनि सानोभन्दा पनि सानो काम गर्न हिच्किचाउँदैनौं |
पहिलो...???सोच्नुस् के होला ??
जे होस् त्यसपछि मेहनत गरेर भाँडा माझियो,धेरै दुःख हुने रैछ भाँडा माझ्न पनि यार,छिटो गरी एक डङ्गुर माझ्यो,फेरि अर्को डङ्गुर आइहाल्ने,कहिले त भाँडा नै फालिदिउँजस्तो हुन्थ्यो तर के गर्नु आफू भूमिका निभाउन आको,भुमीका त निभाउने पर्यो |काम त राम्रै चल्दै थियो तर काम गर्ने अनुमतिपत्र नभएकोले त्यो काम छिट्टै छोड्न पर्यो अनि बल्ल-तल अर्को काम पनि पाइयो | साइप्रसमा मेरा सुरुवाती दिन बिग्रेको दुर्भाग्यजस्तै थियो |अर्को रेस्टुरेन्टमा ‘मोपिंग’को काम गर्दै थिएँ,दुईजना मान्छे आएर सोध्यो ‘माइ फ्रेन्ड,व्हे आ यु फ्रम ?’,मैले तिनीहरुलाई देख्नेबित्तिकै पक्कै पनि इमिग्रेसनका मामा हुन् भन्ने बुझिहालें,मैले प्रत्युत्तरमा ‘नेपाल’ भनिनसक्दै मामाहरुले मेरा हातमा ‘गहना’ लगाइदिए |गाडीमा लग्यो,नराम्रो त लाग्या हो,तर केको नराम्रो,केहीजस्तो लागेन | धनेलाई झन् दुई हप्ता अगाडि नै मामाले समातेको थियो अनि त्यसबाट थाहा पाएको थिएँ कि उनीहरुले तुरुन्त नेपाल फिर्ता पठाउँदैनन्,त्यसैले ‘अझ दुर्दिन त आउन बाँकी नै छ नि,रमाउ’ भन्ने सोंच्दै म ढुक्क भएँ |त्यसपछि केही सोधपुछ गरेर फलामे बारमा हुल्यो,दिनभरि जेलमा बसेर सानो झ्यालबाट साप्रसको टावर हेरेर बस्दा साह्रै बोर लाग्दो रैछ यार..हेहे..|सबै राम्रा नेताहरु एकपल्ट जेल जान्छन् भनेको सुनेथें,मैले पनि सोंचे-‘दुई चारजनाको अगाडि भएनी बोल्न सक्छु,अब जेल पनि गइहालें क्यारे,अब नेपालको नेता बन्ने मेरो योग्यता पूरा भयो,अब नेपाल गएर नेता बन्नुपर्ला’ भन्ने सोंचें |एउटै समस्या गफ छाँट्नेको थियो,अब नेपालको नेता भएपछि-‘नेपाललाई दुई महिनामै सिंगापुर बनाइदिन्छु’ भन्दै गफ छाँट्न सक्नुपर्छ,त्यस्तो मलाई आउँदैन,तर केही छैन,सिक्नुपर्ला भन्ने सोंचें |;-)
ओहो ! म तपाईंसित बोल्दैछु,मेरा प्यारा उल्लु पाठकवृन्द,किन हाँस्नुभएको ? के मेरो गफ पत्याएको ? थाहा छ मलाई जेलमा त्यो २४ घण्टा २४ वर्षझैं लागेको थियो |L भोलिपल्ट बिहान साहुले जरिवाना दियो अनि छुटियो |एकपल्ट समातिएको ठाउँमा फेरि काम गर्न मन लागेन अनि म फेरि अर्को काम खोज्न थालें |
पार्ट-टाइम कामहरु-
खान बस्नको लागि पढाईसंगै थुप्रै पार्ट-टाइम काम गरियो,कहिले आलू टिप्ने,कहिले सुन्तला अनि कहिले जैतुन |भाँडा त कति माझियो कति,यसमा त धेरै निपुण भइयो |सब कामभरिमा मलाई आलु टिप्ने काम साह्रै दुःखको भयो |दिनभरि घोप्टो परेर आलु टिप्न पर्ने,साला !,तेल नै निस्किन्थ्यो यार,हिँड्दा र ट्वाइलेट बस्दा ढाड दुखेर मरिहत्ते हुन्थ्यो |सुन्तला टिप्नचाहिं साह्रै रमाइलो लाग्थ्यो (सायद सानोमा मेवा र आँप चोरी खाको बानीले होला),सुन्तला टिप्ने क्षण त हामी कसैले पनि बिर्सन्नौं |बिहान ६ बजे साहुको गाडी आउँथ्यो,हामी ६/७ जना भेडा-बाख्राझैं कोचेर बस्थ्यौं अनि १८ औं शताब्दीमा अफ्रिकन दासलाई अमेरिका ओसारेझैं हामीलाई साहुले सुन्तला-बारीमा छाडिदिन्थ्यो |फरक यति थियो कि अफ्रिकन दासहरु करले त्यहाँ पुग्थे तर हामीचाहिं रहरले..ओह सरी बाध्यताले त्यहाँ पुग्थ्यौं |तर त्यहाँ रमाइलोचाहिं खुब हुन्थ्यो,रुखको टुप्पामा बसेर सुन्तला टिप्दै हुने-नहुने गफ छाँट्यो,त्यता वरपर केटी देखियो भने यो तेरो,यो मेरो भन्दै आपसमा बाँड्यो हाहाहा...थकाई लागे त्यही रुखमा बस्यो,भोक-तिर्खा लागे त्यही सुन्तला खायो |साह्रै पट्यार लागे त्यही सुन्तलाले माथिबाट एक-अर्कालाई हान्यो |हामी प्रायः साथी संदीपलाई साह्रै जिस्काउँथ्यौं,जिस्काउनसम्म जिस्कायों,दुःख दिनसम्म दियौं,अचेल त उसको साह्रै माया लाग्छ |दिनभरि खेतमा काम गरेपछि निंद मज्जाको लाग्थ्यो,फर्किने बेलामा सबै साथीहरु मज्जाले सुत्थे,कोही यदि नसुतेको छ भने उसले सुतेको साथीको हाँसोउठ्दो फोटो खिच्थ्यो अनि पछि कोठामा आएर सबैलाई देखाउँथ्यो |
पहिलो वर्ष सकेपछि अलि सजिलो भयो,काम गर्ने अनुमतिपत्र प्राप्त भएपछि बढुवा भएर वेटर भइयो अनि त्यसपछि बार-टेन्डर |पैसा पनि राम्रै हुन थाल्यो |गर्मी यामभरि गधालेझैं घोटेर काम गरियो अनि जाडो याममा पार्ट-टाइम काम गरेर मज्जाले पढियो |जीवन सन्तोषजनक नै भयो तर यसो भन्दैमा विदेशी जीवन राम्रोचाहिं पक्कै भन्न मिल्दैन |विदेशी जीवनमा के दशैं,के तिहार,कति चाड त भाँडा माझ्दै सकियो,कि त आलु टिप्दै,अझ त्यो पनि भोको पेट,पकाउन अल्छी त गर्या होइन तर त्यो बेला सुत्न पनि समय हुन्थेन के,त्यसैले भोकभन्दा त निद्रा नै प्यारो लाग्थ्यो | काममा यति व्यस्त भइन्थ्यो कि खान्छु-खान्छु भन्दाभन्दै खानै नपाइने,कहिले त मन साह्रै रुन्थ्यो तर जे भएपनि गाडीको जियर फेरेझैं मुहारको जियर पनि फेरेर ग्राहकसँग हाँस्नुपर्थ्यो |यो कथा मेरोमात्र नभई विदेश पस्ने सबै नेपालीको हो |ढाँट्छन् ती मान्छेहरु जसले विदेश गएर ‘कहिल्यै रोइन’ भन्छन्,आँखाबाट आँसु त आएन होला तर मनमनै पक्कै पनि रोए,कहिले काम दुःख भएर,कहिले घर-परिवारलाई सम्झेर त कहिले मायालुलाई सम्झेर |यस्तै हो ‘मुग्लाने’हरुको कथा,थोरै खान्छन्,थोरै सुत्छन् अनि धेरै रुन्छन् |
कलेज जीवन:-
कलेज जीवन रमाइलो नै थियो |प्रायः एसियन मूलका र केही स्थानीयहरु थिए |मलाई त्यहाँको सबभन्दा अविस्मरणीय क्षण दैनिक १४ कि.मी. साइकल चलाएर उकालो-ओरालो गर्दै कलेज जानु भयो..हेहे..| बस भाडा अलि महँगो थियो,एक महिनाको बस भाडाले त एउटा साइकल नै आउँथ्यो,त्यसैले हाम्रो समुहले पैसा उठाएर साइकल किन्ने सल्लाह गर्यौं र किन्यौं पनि |हाम्रो समुहको एकता एकदम दामी थियो के,बाटोमा सबै एकैपटक गुरुरु गरेर कलेज जाँदा निकै रमाइलो हुन्थ्यो,त्यसबेला साइप्रेलीहरु हामीलाई देखेर लाटाले पापा हेरेझैं गर्थे,अझ एकजनालाई अगाडि बसालेर हिंड्यो भने त उनीहरु सर्कस नै देखेझैं गर्थे,सबै हाँस्थे | आइया नापाबाट कलेज जाँदा ठाडो उकालो पर्थ्यो,माथि टुप्पामा पुग्दासम्म त पसिनै पसिना भइन्थ्यो (फेरि मलाई त्यो उकालोमा पोखरामा सिमेन्ट बोकेर लाहुरे अभ्यास गरेको पलको खुबै सम्झना आउँथ्यो..) |हाम्रो कलेजको फुटबल टीमको पनि धेरै याद आउँछ,त्यसमा पनि हाँसो र पिडाको सम्मिश्रण थियो |त्यो टुर्नामेन्टमा विवेकको फ्री-किक गोल,दिपकको फस्ट-हेडिंग गोल,सन्दीपको पास,विक्रमको डाइभ हानेर गोल रक्षा गरेको क्षण अझै पनि आँखामा झल्झली आउँछ |झन् बिर्सने नसकिने त त्यो बेलाको हो जतिबेला हामीले टुर्नामेन्ट जितेको खुशीमा बसमा मैले सबै केटाहरुको इन्टरभ्यु लिएको अनि रमाइलो गरेको थियो |कलेज लाइफमा म दिवाकर दाइको साथ कहिल्यै भुल्दिनँ,उहाँले मेरा साख्खै दाजु बराबरको भूमिका खेली मेरा हरेक दुःख-सुखमा साथ दिनुभो,उहाँले मेरा गल्तीमा गाली दिनुभो अनि सफलतामा स्याबासी दिनुभो,धन्यवाद दिवाकर दाइ |
मेरो कोठा अनि रमाइलो:-
सधैं दुःखमात्र गर्नु त भएन नि,त्यसैले रमाइलो पनि गरिन्थ्यो |कलेजबाट फर्केर आयो कहिले फुटबल,कहिले भलिबल खेल्थ्यौं,कहिले बाहिर जान अल्छी लागे कोठामै बसेर साथीसँग चेस खेल्थें |ओहो ! मैले आफ्नो कोठाको बारेमा त बताउनै बिसेको. J हाम्रो कोठा ट्रान्जिट हल अपार्टमेन्टको सबैभन्दा रमाइलो कोठा थियो, सरल शब्दमा भन्नुपर्दा एउटा चिडिया घर नै थियो,एउटै कोठामा छ-छजना बोकै बोका, सुरुका दिनमा त तीनवटा बेडमा छ-छजना सँगै सुत्थ्यौँ,साला साइप्रेलीहरुले थाहा पाएका भए हामीलाई ‘समलिंगी’ नै भन्थे होलान्..हाहाहा | कोठामा बसेर हुने-नहुने गफ गर्यो,हरिलालको हरेक कुरालाई बंग्याई-बंग्याई ठट्टा बनाउने अनि हाँस्ने बानी,उसको खाना पकाउने पालो आयो कि जहिले पनि ‘म एकैछिनपछि आउँछु है’ भन्दै गायब हुने बानी,अनि हिमालकोचाहिं जे काम पनि भोलि नै गर्नुपर्छ भन्ने बानी,भोलिको पालो आउनै गाह्रो J |तर त्यहाँको जीवन धेरै नै सामाजिक थियो,दिन बितेको पत्तै नहुने,साँझतिर साथीको कोठामा गयो,आफ्नै कोठाझैं गरी ‘ला कफी बना’ भन्यो,’खानेकुरा केके छ ?’ भनी सोध्यो खायो,कहिले पढाईको कुरा,कहिले फिलिमको,कहिले डेटिङको,कहिले धर्म त कहिले राजनीतिको | सेलिब्रेसनको लागि त हामीलाई कुनै उत्सव नै नचाहिने,अलिकति चिसो भए पुग्थ्यो,’साला यो मौसमले हामीलाई चुनौती दिन्छ’ भन्दै बियर र भोड्का आईहाल्थ्यो कोठामा | कसैको अग्रिम जन्मदिनको उत्सव त कसैको डेटिङको उत्सव..हेहे J | पिउनेको क्षमता भन्नुपर्दा हिमाल र दिपक व्यावसायिक ड्राइभर (पिएपछि ट्वाइलेटमा मुख ‘आँ’ गर्न गइहाल्ने),नन्द र धनेचाहिं अनुभवी ड्राइभर,मचाहिं भर्खर लाइसेन्स लिएको सिकारु अनि बिचरा काउचा त लाइसेन्स नै नभएको कंगारु,हाहा...अनि पिएको लागेपछि केटाहरुको ताल क्या हो!, कतिखेर दुःखको कुरा गरेर आँखाबाट आँसु नै झारिदिने अनि कतिखेर ‘तालको पानी..’ लाई २५ पल्ट रिवाइन्ड गरीगरी नाचेछ-नाचेछ (अमृत गुरुङ्ले थाहा पायो भने रोयल्टी माग्न बेर छैन J) | यो गीत सम्झ्यो कि हाँसो मात्र लाग्छ,काउचाको लजाउँदो नाच,नाच्दा मैले हिमालको खुट्टा कुचेर २/३ हप्तासम्म उसले मलाई गाली गर्दै हिंड्नु..हेहे | अनि त्यस्तै अर्को मौकामा सन्दिपले धनेलाई किस गरेको अनि धनेले घिन मानेर पिच्च थुकेको सधैं सम्झन्छु हाहाहा..| त्यस्तै अन्जली-लक्ष्मीहरुसँग मनाएको क्रिसमस पनि मेरा लागि अविस्मरणीय छ,केटा र केटीबीच जहिल्यै नृत्य प्रतियोगिता रे के, म र लक्ष्मीको ‘माझी दाइ पोखरा’ मा नृत्य,किष्ण दाइ र अन्जलीको हिपहप गीतमा नृत्य हाहाहा..अनि त्यो हाम्रो बोका जज साला,जहिल्यै केटीहरुलाई जिताउने |J
पहिलो प्रेम:-
यो पाटो म यहाँ उल्लेख गरूँ कि नगरूँ जस्तो भइरहेथ्यो तर यो पाटोबिना मेरो साइप्रस नियात्रा अधुरोजस्तै लाग्ने हुँदा यहाँ राखेको छु | अँ, मार्च,२००८ मा उसको(नानु) र मेरो पहिलो भेट भएको थियो,हामी दुवै एउटै रेस्टुरेन्टमा काम गर्थ्यौं,काममा आउने-जाने सँगै हुन्थ्यो,मैले उप्रति आफ्नो आकर्षणलाई रोक्न सकिनँ | गायक दीप श्रेष्ठको ‘...कसले गर्यो पहिलो प्रस्ताव..’ जस्तै थियो हाम्रो प्रेम प्रसंग,सँगै हिँड्दा कतिखेर माया बसेछ,थाहा नै भएन |म उसलाई धेरै माया गर्थें अनि ऊ पनि मलाई धेरै माया गर्थी |मेरो साइप्रस बसाईंको अन्तिम दुई वर्षमा मलाई नानुले धेरै साथ दिई,हामीले कति पल सँगै हाँसेर बितायौं भने कति पल सँगै रोएर,जे होस् हाम्रो प्रेम-सम्बन्ध राम्रै चल्दै थियो तर एउटा समस्या तेर्सियो,म त्यहाँ आफ्नो अध्ययनको अन्तिम वर्षमा थिएँ भने नानुचाहिं सुरुवाती वर्षमा | मैले ब्याचलर सकेको थिएँ अनि अब नेपाल गएर के गर्ने भन्ने बारेमा विचार गर्दै थिएँ तर अमेरिकामा मास्टरको लागि भिसा अप्लाई गरेकोले भिसा पनि आइहाल्यो |भिसा पाउनासाथ मैले नानुलाई कल गरें,ऊ मेरो खुशीमा खुशी नै थिई तर बिछोडको पीडा उसको बोलीमा त्यति बेलै झल्किएको थियो | उसले ‘म यहीं बसेर तपाईको प्रतीक्षा गर्छु’ भनी,मैले पनि हात समाएर ‘जाउँ,मसँगै’ भन्न पनि सकिनँ अनि विदेशिएको त्यतिका वर्षपछि आमाबालाई ‘म बिहे गर्छु’ भन्न पनि सकिनँ किनकि छोरो हुनुको आफ्नो कर्तव्य मैले अझै पूरा गर्न बाँकी नै थियो L| जीवन एउटा यात्रा हो भन्छन्,यही यात्रामा एकदिन फेरि भेट होला नि भन्ने सोंचेर मार्च २०१० मा साइप्रस र नानुसँग बिदा मागेर यात्राको अर्को पाटोतर्फ प्रस्थान गरें | यहाँ आएपछि लामो दूरीको सम्बन्धको आफ्नै लक्षण देखिन थाल्यो,कहिले ऊ त्यहाँ व्यस्त,कहिले म यहाँ, अनि सानो-सानो कुरामा पनि एक-अर्काको मन दुख्न थाल्यो |क्रिसमसभन्दा अगाडि हाम्रो ब्रेकअप भयो | सुरुमा त साह्रै दुःख लाग्यो,सारा दोष जति उसैलाई दिएँ तर पछि शितल दिमागले सोंचे,उसको ठाउँमा आफूलाई उभ्याएर हेरें,ब्रेकअप हुनु सही नै लाग्यो |म यहाँ अमेरिकामा संघर्ष गर्दै थिएँ,आर्थिक अवस्था पनि बलियो थिएन जसकारण म उसको हरेक दुःखमा साथ दिन असमर्थजस्तै थिएँ,म उसको लागि फेरि फर्केर त्यता जान पनि त सक्दिनथें |उसलाई त्यहाँ दुःख छ भन्ने म जान्थें तर मैले गर्न सक्ने सम्झना मात्र थियो, अन्ततः उसलाई मात्र दोष दिनु पनि मैले ठाउँ भेटिनँ | जे होस्,उसको प्रेमको उपहारस्वरूप मैले उसले पठाएको एउटा इमेल यहाँ प्रस्तुत गर्दैछु,उसकै मौलिक शब्दमा |
“...है मलाई त निद्रा पनि लाग्दैन,तपाई गाको देखि,म त अचेल ६ बजे पछाडि मात्र सुत्छु |धेरै मिस गर्छु तपाईलाई...एकैछिन रुन्छु अनि अलिक ठीक हुन्छ..मेरो त डेली रुटिन नै यस्तै भएको छ,काम सकेर रुममा आयो अनि तपाईको याद आउँछ,अनि एकछिन रुन्छु...धेरै मिस गर्छु |आज बैनीलाई फोन गरेको,घडी पठाको थें,लिन जाऊ भनेको,घर कहिले आउने हो भन्थ्यो,गाह्रो छ भने आऊ घर भन्थ्यो तर तपाईको लागि भएपनि म अहिले घर जान हुन्न,बस्छु यहीं...धेरै मिस गर्दै छु...अनि मेल गरेको | म त वरण पनि गर्न गर्न सक्दिनँ कति मिस गर्छु भनेर...कहिले त साह्रै नरमाइलो लाग्छ...के गर्नु यस्तै छ...अरु केही विकल्प छैन मसँग...कसैलाई थाहा छैन मलाई मात्र थाहा छ कस्तो अनुभव गर्छु भनेर..कस्तो रुन मन लाग्छ...रुममा चाइनिज छन्,म त बाहिर गएर रुन्छु...मात्र तपाईलाई भन्न मन लागेर भनेकी फेरि तपाईले के सोंच्ला थाहा छैन..क्यामेरामा कस्तो हेर्न मन लागेको छ..अँ कति धेरै कुरा गर्न मन लागेको छ..तर सम्भव नै छैन...कहिले म बिजी,कहिले तपाई बिजी..धेरै मिस गरेको छु...म पनि कहिलेकाहीं त पागलजस्तो लाग्छ,हाहाहा...”
आज पनि जब म यो मेल पढ्छु,तब धेरै नराम्रो लाग्छ |मलाई थाहा छ,यसका एक-एक शब्द सत्य हुन्,म उसको पिडालाई आफ्नो छातीमा राखेर अनुभव गर्न सक्छु,तर पीडा अनुभव गर्दा-गर्दै पनि,समात्न खोज्दा-खोज्दै पनि ऊ बालुवाजस्तै मेरो हातबाट फुस्किदै गई,टाढिदै गई |म छटपटाउनुबाहेक केही गर्न सकिनँ |ब्रेकअपपछि मैले भावनाको आवेशमा उसलाई एउटा मेल लेखेथें जुन कहिल्यै पठाउन सकिनँ,व्यक्तिगत कारणले म त्यो सबै मेल त प्रस्तुत गर्न सक्दिनँ तापनि त्यसको केही अंश:
“...अनि के मैले तिमीलाई कहिल्यै भनिनँ,आइया नापाको बीचमा ६५-७० वर्षका बुढाबुढी हात समातेर हिँडेको देख्दा मलाई एकदम रमाइलो लाग्थ्यो अनि म जहिल्यै तिम्रो र मेरो कल्पना गर्थें |म सोंच्थें तिमी बुढी भएर,गाला चाउरी परेर अनि आँखा नदेख्ने हुँदा पनि म तिमीलाई यसरी नै धेरै माया गर्नेछु...सधै तिम्रो हात समातेर तिमीसँगै हिँड्नेछु..तिमीलाई थाहा छ,म पनि तिमीलाई कति मिस गर्छु | तिमीले आँखा ठूला बनाइ-बनाई अरुको कुरा काटेको अनि म दंग परी तिम्रो कुरा सुन्दै बसेको क्षण घरीघरी सम्झन्छु |तिम्रो किचकिच.तिमी मसित रिसाएको सम्झिन्छु,तिमी रिसायौ भने मेरो रुममा आउँदै आउन्नथ्यौ है ?,त्यसबेला म तिमीलाई साह्रै मिस गर्थें,अनि त्यसैले म तिम्रो अपार्टमेन्टको माथिल्लो तलामा गएर तिमी बोलेको सुन्ने गर्थें,तिम्रो झ्यालमा चियाउने गर्थें |के गर्ने,म त घमण्डी मान्छे,तिम्रो अगाडि आएर तिमीलाई ‘सरी’ पनि भन्न सक्दिनथें |अनि आज भोलि त के मलाई चिटिक्क परेर हिँड्न पनि मन लाग्दैन,सोंच्छु-‘को छ र मेरो लवाइ यसरी भएन उसरी लगाउ भन्ने ?’ तिमी मेरो लुगा लवाइमा कति किचकिच गर्थ्यौ है ? तर मलाई तिमीले किचकिच गरेको कस्तो मनपर्थ्यो के |
मानौं,तिमी यहाँ आयौ र मेरो रुम हेर्यौ,तिम्रो फोटोले मैले रुमको भित्ता सजाएको छु |तिमीले दिएको बुद्धको मूर्ती म जहिल्यै मेरो सिरानीमुनि राख्छु,त्यसलाई हेर्दा तिमी मेरो छेउमै भएजस्तो लाग्छ |कामबाट आएपछि म सधै तिम्रो फोटो हेर्छु,किनकि तिम्रो फोटो नहेरे मलाई निद्रा नै लाग्दैन |
अनि के हामीले फोन गर्दा मलाई कति खुशी लाग्थ्यो |फोनमा तिमीले मलाई खाना खायौ कि खाएनौ,के खायौ भनी सोध्दा लाग्थ्यो,मेरो कोही त छ,मलाई केयर गर्ने,अनि फोन राख्ने बेलामा जहिले पनि मैले तिमीलाई ‘आई लाभ यू’ भन्नुपर्ने |’फोन राख्ने बेला के भन्नुपर्छ ? थाहा छैन ?’ भन्दै तिमी मलाई थर्काउँथ्यौ,मलाई त हाँसो लाग्थ्यो अनि भनेपछि पनि तिमी फोन राख्ने नमान्ने,एकछिन कुरा गरौँ न भन्ने |के गर्ने यार कुरा त मलाई पनि धेरै गर्न मन लाग्थ्यो तर कहिले तिम्रो टाइम ढिलो,कहिले मेरो टाइम ढिलो,कहिले तिमी सुत भन्नुपर्ने,कहिले म सुत्छु भन्नुपर्ने |अचेल त मेरो फोनको घन्टी नै बज्दैन,कसैले पनि मलाई फोन गर्दैन |धेरै बेरसम्म तिमीलाई सम्झिरहन्छु,अनि कतिबेला भुसुक्क निदाउँछु,फेरि निद्राबाट झसंग ब्युँझन्छु,मोबाइल हेर्छु,तिम्रो मिस्ड कल आ’छ कि ?,तिमीले मेसेज पठा’छौ कि ?..तर..”
समयले सबै घाउ पुर्दो रहेछ,मेरो घाउ पनि समयसँगै ओइल्यायो |अचेल उसलाई मिस त गर्दिनँ तर अझै पनि चटक्क बिर्सनचाहिं सकेको छैन |कुरामा कुरा हुँदा उसको नाम आइहाल्छ |कसैले भनेको थियो-‘केटी भनेको त बस वा रेलजस्तै हो,एउटा जान्छ तर अर्को आउँछ,हो यो कुरा एकदम सत्य हो तर जुन आफूले समात्न चाहेको बस वा रेल छुट्छ,त्यसलाई साह्रै मिस गरिँदो रहेछ |मान्छेले साँचो मायाको कुरा गर्छन् तर साँचो भन्ने शब्द नै अधिकांश मायामा उल्लेख नै हुँदैन |वास्तवमा मायालाई कुनै सीमा वा बन्धनले बाँध्न सक्दैन,माया भनेको मात्र माया हो,मात्र माया |जतिबेला नानु र म सँगै थियौं,मेरो खुशी नै उसको प्राथमिकता थियो अनि उसको खुशी नै मेरो प्राथमिकता |हामी आज एक-अर्कादेखि टाढा छौं तर यसमा न उसको दोष, न मेरो,दोष छ त केवल समयको |साँच्चै नै हामी दुवैको समय खराब थियो |म अमेरिकामा संघर्षरत,अनि ऊ साइप्रसमा,अनि त्यसमाथि हाम्रो लामो दूरीको सम्बन्ध,मसित बिछोडको पीडा सहेर सम्बन्ध राख्नुभन्दा ब्रेकअप नै उसलाई सजिलो लाग्यो होला सायद |आखिर,सबैले आफ्नी जिवन सजिलो बनाउने त हो,उसले आफ्नो जीवन सजिलो बनाई,त के भो ?,कुनै गल्ती त गरिन |यसकारण मलाई उसप्रति कहिल्यै नराम्रो विचार आएन |म हिजो उसलाई जति सम्मान गर्थें,आज पनि त्यति नै गर्छु |मैले छोडेदेखिका समयभन्दा ब्रेकअपपछिको अहिले वर्तमानमा ऊ खुशी नै छे होला सायद,यदि दुखी हुन्थी भने ब्रेकअप नै किन हुन्थ्यो र ?त्यसैले म पनि उसको निम्ति खुशी नै छु किनकि कुनैबेला मैले उसैलाई वचन दिएको थिएँ ‘तिम्रो खुशी नै मेरो खुशी’ भनेर |
अन्ततः यहाँ अमेरिका आएपछि साइप्रसको सामाजिक परिवेशलाई धेरै नै मिस गर्छु,कसैलाई कसैको मतलब नै छैन यहाँ,लाटोकोसेरोको तालिकामा गधाझैं काममा जोतिएको छु |जिस्किने र हाँस्ने बानी नै बिर्सिसकें म त | सामाजिक जीवन अस्तव्यस्त छ,सामाजिक जीवन भनेको नै अहिले त फेसबुक भा’छ,सायद फेसबुक नभएको भए म त बौलाउने थिएँ होला | जे होस् मेरो जीवनको एउटा कहिल्यै नमेटिने अध्याय हो,साइप्रस जहाँ पुगेर मैले जीवनका धेरै कुराहरु-दुःख भनेको के हो ?,कुनैपनि काम सानो-ठूलो हुँदैन,राम्रो-नराम्रो मान्छे चिन्ने,समुहमा बसेर बाँड्ने,एक-अर्काको फरकलाई सम्मान गर्ने,(खाना बनाउने,कोठा सफा गर्ने काम त छँदै छ हेहे J) आदि सिकें |त्यहाँ यति संघर्ष गरें कि संसारको जुनसुकै कुनामा जानुपरे पनि दुःख गरी प्रगति गर्न सक्छु भन्ने आत्मविश्वास पलायो |आमाबाले भन्थे-‘घरमा नगर्ने मान्छेले बाहिर गएर पनि गर्न सक्दैन’,यो भनाइको एकदम भुक्तभोगी भएँ |तथापी मेरो विचारमा घरमा नगर्नेले बाहिर गर्ने नसक्नेचाहिं होइन तर उसलाई धेरै गाह्रो हुन्छ |म त भन्छु सबै एकचोटी विदेश जानुपर्छ बल्ल उसले जीवनका वास्तविक पाठहरु सिक्छ |नेपालमा बसेर त्यो हुनु न खानुको आन्दोलनमा ढुंगा हान्ने र सडकमा टायर बाल्नुभन्दा एकपटक विदेश गएर दु:ख गर्नु जाती लाग्छ मलाई त |
धन्यवाद !!!
लेखक-सौन छन्त्याल |
सम्पादन-अरुना छन्त्याल |