म आफ्नो काम सकेर भर्खरै कोठामा आएको थिएँ,मेरो
मोबाइलमा मिसकल आयो | यसो हेरेको त जर्मन नं +४९------ थियो,खै को होला? मैले झट्ट
अनुमान गर्न सकिनँ किनकि जर्मनमा मेरा ज्ञात-अज्ञात थुप्रै साथी थिए | जरुरी भए
पछि फेरि आउला नि भन्ने सोंचेर म सुतें |
उठेर खाना पकाएँ,खाएँ,नुहाई-धुवाई,साफ-सफाई गरें
अनि ल्यापटप खोलें | फेसबुकमा यसो नोटिफिकेसन हेरेको त ‘भ्यानिसा बम्यान रोट अन यो
वाल’ पो लेखेको देखें | त्यो जर्मनेली कुइरेनीले मेरो भित्तामा के लेखिछ भन्ने
उत्सुकता जाग्यो अनि क्लिक गरें |
‘सौन! आइ निड टु टक टु यु’ अर्थात् ‘सौन! मलाई
तिमीसित कुरा गर्नु छ’ लेखेकी थिई,म छक्क परें,किन होला?,खुल्दुली पनि लाग्यो |
मैले त्यहीं कमेंटमै ‘ठीक छ, यहाँ बोस्टनको बिहानको ११ बजेको समयमा स्काइपेमा आऊ’
भनें | त्यसको भोलिपल्ट म साविकजसो आफ्नो रात्रीकालीन ड्युटी सकेर कोठामा आएपछि
स्काइपे खोलें, ठ्याक्कै भ्यानिसा भेट भइहाली,ऊ मलाई नै पर्खेर बसिरहेकी रहिछ |
यताबाट मैले ‘गुड मर्निंग’ भनें,उताबाट
उसलेचाहिं ‘गुड इवनिंग’ भनेर अभिवादन फर्काई | अनि सन्चो-बिसन्चो सोधेपछि मलाई
स्काइपेमा बोलाउनुको कारण सोधें | मैले सोध्नेबित्तिकै ऊ स्त्रीसुलभ शैलीमा
भक्कानिई | मलाई पनि नराम्रो लाग्यो | साइप्रसमा हामी सँगै पढेका सहपाठी
हौँ,त्यसैले म उसको हितैषी मित्र पनि हुँ अनि यसकारण मैले ऊ रुनाको कारण थाहा
गर्नु आफ्नो कर्तव्य ठानें |
मैले अनुमान त गरेकै हुँ,ऊ रुनाको कारण पनि
त्यही ‘प्रेम’ नै रहेछ जुन जति आनन्ददायक हुन्छ, त्यति नै पीडादायी पनि | अझ उसको
समस्या त आधुनिकताको पराकाष्ठा नाघेको, सभ्यताको खोल ओढेको समग्र पश्चिमी जगतकै हो
जहाँ-जहाँ ख्रीष्टलाई अपमान गरिन्छ | हो त्यही समाजमा हुर्के-बढेकी भ्यानिसा आज
अन्ततः त्यही सामाजिक रोगबाट पिडित भई |
अष्ट्रेलिया,यूरोप र पश्चिम अमेरिकी मुलुकहरुमा
‘लिव इन रिलेसनसिप’ अर्थात् बिनाविवाह नै लोग्ने-स्वास्नीसरह रहने संस्कार विकसित
छ जसकारण नै त्यो बन्धन काँचो धागोझैं टुट्छ | सुरुमा त दुवैबीच आत्मीय प्रेम
हुन्छ नै, दुवै एक-अर्काबिना रहन नसक्ने अवस्थामा पनि पुगेका हुन्छन् तर ख्रीष्टको
वचनप्रति आँखा चिम्लने यी नास्तिकहरु खाल्टामा किन नपरुन् त ! चर्चमै विवाह गरेपनि
बाइबल कहिल्यै खोलेर पढ्ने होइन, अनि किन नआओस् त बन्धनमा आँच ?
कतिखेर त सारा अमेरिकाभरि झ्याली पिटेर
सुसमाचारको विगुल फुक्न मन लाग्छ तर के गर्नु आफू त विद्द्यार्थी परियो, काम र
पढाईकै टन्टो धेरै, त्यैपनि म प्रार्थना गरिरख्छु-“प्रभु !,यी कुइरे-कुइरेनीहरुलाई
बुद्धि दिनोस् |”
भ्यानिसाको ब्वाइफ्रेन्ड उर्फ लोग्नेले उसलाई
छाडी अर्की कुइरेनीको पछि लागेछ | त्यही भएर मन दुखेर रोएकी, मलाई भन्दै थिई-
“तिमी नेपाली केटाहरु विवाहमा धेरै स्थिर
हुन्छौ, तिम्रो असल आचरण मैले साइप्रसमै देखेकी हुँ तर त्यतिबेला म तिमीप्रति
आकर्षित भइनँ, जीवनको यो मोडमा आइपुग्दा म धेरै पछुताएकी छु सौन, के अहिले पनि
तिमी मलाई स्विकार्न सक्छौ ?”
म कस्तो अक्मकिएँ, त्यो प्रश्नको उत्तर दिनै
लागेथें तर उसैले अझै थप्दै गई-
“तिमी अमेरिकामा संघर्षरत छौ भन्ने मलाई थाहा छ,
तिमीले मलाई स्विकार्यौ भने म तिमीलाई जर्मन ग्रिनकार्ड दिलाउनेछु, अनि नेपालको
तिम्रो परिवारलाई पनि यहीं बोलाउन सक्नेछौ |”
आबुई ! कुइरेनीको यो प्रेम-प्रस्ताव हो कि
प्रलोभन ? मैले झट्ट खुट्ट्याउन सकिनँ, तर बेलामा बुद्धि नपुराए पछुताउनुबाहेक
केही विकल्प हुन्न भन्ने मलाई राम्ररी थाहा छ, म मुर्ख हुँ र अरे ?त्यस्तो कसरी
सोंची भ्यानिसाले ? एकछिन गम खाएँ, पक्कै पनि थुप्रै नेपाली केटाले कुइरेनी बिहे
गरेको भएर होला भन्ने सोंचे, त्यैपनि म त ख्रीष्टको छोरो, म जानी-जानी किन आफ्नो
ईमान बेचूँ ? मैले राम्रैसित नकारें-“प्रिय साथी ! विवाह-बन्धन भनेको भाँडाकुटी
होइन, नेपाली केटामात्रै बन्धनमा स्थिर हुन्छ भन्ने तिम्रो भ्रम हो, खासगरी
ख्रिष्टलाई पछ्याऊ,तिम्रा सब समस्या प्रभुले पार लाउनेछन् |” अनि छोटो सुसमाचार
सुनाएँ, ऊ केही बुझे-बुझेजस्तो,केही नबुझे-नबुझेजस्तो गरी अन्तमा “ठीक छ साथी,म
तिमीले भने अनुसार गर्नेछु” भनी बिदा भई | मैले मनमनै ‘प्रभुले तिमीलाई कृपा
गरुन्’ भन्दै स्काइपे साइन आउट गरें |
साइप्रसमा हामी सँगै पढ्दा ऊ त्यतिबेला मसित
नेपालको धेरै कुरा गर्थी,भन्थी-‘मलाई नेपाल ज्यादै मनपर्छ’ अनि ठट्टैमा कहिलेकाहीं
भन्थी-‘म त तिमीजस्तै एउटा नेपाली केटा पट्टाएर नेपालतिरै घरजम गर्ने विचार गरेको
छु,हाहाहा..’| त्यतिबेला उसको ब्वाइफ्रेण्ड,रिकी मार्टिन,साइप्रसमै थियो अनि मेरो
पनि कोही थिई | आफ्नै नेपालप्रति माया गडेकोले होला,मेरो आँखा अझैसम्म
कुइरेनीप्रति लागेको छैन |
कतिपय मसँगैका ठिटाले कुइरेनी फकाएर ग्रीनकार्ड
कुम्ल्याएको देखेको छु तर समय घर्किएपछि कुइरेनी स्वास्नीले पनि छोडेर अन्तमा एउटी
नेपाली नै रोजेर स्थिर जीवन बाँचिरहेका देखेको छु | धत्,यस्तो पनि गर्छन्? के यी
कुइरेनीको आत्मा पनि मुल्यवान छैन? कठै,प्रभुलाई नचिनेर बरालिएको देख्दा मेरो मन
कटक्क दुख्छ |
हरीले त मलाई भ्यानिसाको प्रस्ताव स्विकार्न
भनेथ्यो तर धनको लागि आत्मा बेच्ने म त्यति नीच छैन | एकपल्ट नेपालमा मीर सोल्टिनी
अनुले पनि ठट्टैमा त्यस्तै भनेकी थिई-“ओहो! भेना कुइरेनी ब्या गर्ने विचार छैन?”
मलाई हल्का रीस उठ्यो,ठट्टाकै शैलीमा जवाब दिएँ-“बौलाही! कुइरेनी भित्राएर कहिल्यै
नदुख्ने मेरो टाउको दुखाउनु छ र? मोरी,म त तिम्रै बाटो हेर्दैछु |” अनि त
स्काइपेमै ऊ ‘खितिती’ हाँसी |
उमेरले ३५ वसन्त काटिसकें म तर अझै माया गर्ने
मान्छे जुटेको छैन | कसैले सोधिहाले ‘म अझै कुमार छु’ भन्दा पनि कसैले पत्याउन्न |
म यो बिग्रेको समाजमा भएपनि म बिग्रेको छैन केरे,कसले बुझोस्? गड अन्ली नोज...| विदेशिएको
पनि ७ वर्ष भइसक्यो, घरपरिवारको मायाले पनि सताएकै छ तर आफ्नो पढाई पूरा
गर्नुपर्यो | अब मास्टर सकेपछि नेपालमै घरजम गर्ने विचारमा छु अनि परमेश्वरको
इच्छा भए त्यही सोल्टिनीलाई पट्टाउने विचारमा छु |हाहाहा...| खै..त्यो सोल्टिनीले
पनि मलाई पर्खिने हो कि नाइँ?,कतिबेला कसले टिप्ने हो, के थाहा तर सब प्रभुको लेखान्त,
जे हुन्छ,बेसै हुन्छ | हल्लेलुयाह!
खास त बन्धनको स्थिरता परमेश्वरको वचन पालनबाट
मात्र सम्भव छ,उहाँका वचन पालन गर्ने कुइरेको जोडी पनि स्थिर रहेको देखेको छु अनि
मेरै नेपालको संस्कारमा हुर्केको किन नहोस्,कुनै बन्धन काँचा धागोझैं टुटेकै छन्
क्यारे | मेरो जापानी साथी ‘उर्सिमा तारो’ले दुइटी जापानी स्वास्नीले
छाडेपछि,नेपाल आएर पाल्पातिरको एउटी गुरुङसेनी बिहे गरेको थियो,उसलाई मैले पनि
मनग्गे बधाई दिएथें तर के गर्ने,बिचरोलाई त्यो गुरुङसेनीले पनि धोका दिई | मलाई
रुँदै फोन गरेथ्यो,त्यसबेला उसलाई पनि मैले सुसमाचार सुनाएँ | प्रभुलाई महिमा
होस्,ऊ मेरो सुसमाचारबाट प्रभावित भई प्रभुलाई चिन्न सक्यो अनि उद्धारकर्ता
प्रभुले उसलाई असल जीवनसाथी जुटाईदिनुभयो | धन्नै, ऊ ब्रह्मचारी भिक्षु बन्न
लागेको,बेलैमा सुसमाचार सुनेकोले पो उसको आत्मा बाँच्यो नत्र अन्धकारमा ऊ अझैपनि
सन्तुष्टिको मूल खोज्दै भौंतारिरहेको हुन्थ्यो होला |
जुन बन्धन स्थिर हुन सक्दैन,प्रभु जान्नुहुन्छ,
त्यसैले त्यो बन्धनमा परिणत हुनुअघि नै टुट्नु अत्युत्तम हो | त्यसैले मेरो
साइप्रसमा फूलेको प्रेम साइप्रसमै ओइल्याएर झर्यो | प्रारम्भमा मेरो पनि साह्रै मन
दुख्यो तर त्यो बन्धनमा परिणत भएपछि नराम्ररी टुट्ने सम्भावना थियो होला, त्यस
पुर्ने नसकिने आघातबाट मलाई जोगाउन त्यो बेलैमा टुट्यो | प्रभुले मलाई यो
तत्वज्ञान राम्रै दिनुभो | अन्ततः प्रभुकै ईच्छा भए मैले पनि स्थिर बन्धन पाउनेछु
भन्ने कुरामा आशावादी छु |
मार्च महिना बाहिर झमझम पानी परिरहेकोले बोस्टन
शहरको लरेन्स नगर रुझेको बिरालोझैं लागिरहेको थियो | अलिअलि जाडो पनि भइरहेको थियो
नत्र जून/जुलाई भएको भए म बाहिर बीचमा गएर समुद्रमा डुबुल्की मार्ने थिएँ तर मेरो
नकुरी ‘वालमार्ट डिपार्टमेन्टल स्टोर’मा रातभरी लाटोकोसेरोझैं जाग्राम बसेर काम
गरेको हुनाले मलाई अहिले ‘झ्याप्प-झ्याप्प’ निद्राले समातेको छ | पानीको ट्यार्र
आवाजले झ्यालको सिसालाई ठटाएको एकछिन हेरें | त्यही झ्यालमा आफ्नो प्रतिविम्व
देखें, मेरो कपाल लामो भएर कुम-कुमसम्म आएको थियो, मलाई कसैले ज्याकी च्यान, कसैले
जेट ली भन्छन्, आजै एउटी कुइरेनीले मेरो कपालको खुब तारिफ गरी, निकै ह्यान्डसम
रहेछु कि जस्तो लाग्यो | तर फेरि मलाई मेरो नाक नै मनपरेन ‘ह्या यस्तो नेप्टोलाई
पनि कसले रुचाउला र ?’ भनेर आफैलाई व्यंग गरें | तत्क्षण, मैले चिताएँ-“प्रभु! यो
नेप्टोलाई पनि नेप्टी नै जुटाइदिनुपर्यो |” अनि आत्म-रंजनामा म आफै ‘खितिती’ हाँसे
|
[समाप्त]