Tuesday, June 5, 2012

पलायन

म स्वयम्भूमा भर्खर श्यामको अन्तिम संस्कार गरेर फर्केको छु | मेरो मन एकतमासको भइरहेको छ,मलाई खाना बनाउन मन लागेन अनि भोक पनि छैन,आफ्नो डेरामा आएपछी म खाटमा उत्तानो परेर पल्टिएँ | म त झल्झली श्यामलाई सम्झन्छु,सोंच्छु ऊ कसरी यस्तो भयो ? हरे येशु ! लौन म के गरूँ ? मलाई साह्रै छटपटी हुन्छ,झट्ट उठेर एक गिलास पानी घटघट पिउँछु अनि फेरि खाटमा आई उत्तानो पर्छु |

हिजो साँझ म स्कूलबाट पढाएर आएपछी ऊ मकहाँ आएको थियो,रिबेकाले उसलाई छोडीई भनेर ऊ पिर गर्दै थियो |

‘के गर्ने यार ? मेरो प्रेममा के कमी रहेछ कुन्नी,रिबेकाले मलाई यसरी धोका देली भन्ने मैले सपनामा पनि सोचेको थिएन | ऊबिना अब मेरो जिन्दगी उराठ भो पवन,म के गरूँ ?’ मलाई यस्तो भन्दै ऊ त मेरोअगाडि बच्चाझैं रोयो | मैले काँधमा थपथपाउँदै सम्झाएँ |-

‘अरे श्याम ! जाबो प्रेमको लागि यसरी रुने हो ? मर्दको मन त एकदम ठूलो हुनुपर्छ...प्रभुको ईच्छा नै यस्तै रहेछ भने अब हामीले बिलौना गरेर के फाइदा ? भो धेरै पिर नगर्,त्यस्तै केटी जत्ति पनि पाइन्छ..’

‘जत्ति पनि पाइन्छ भनेर कहाँ हुन्छ ? तँलाई के थाहा मायाले गहिरो जरा गाडिसकेपछि एक्कासी उखेलियो भने मन कस्तरी दुख्छ भन्ने,तैंले कहिल्यै माया गरेको भए पो...अचानोको पीर खुकुरीले के बुझोस्..’

मलाई नै व्यंगबाण हान्दै उसले मुख बिगार्दै भन्यो | मैले पनि राम्रै सफाई दिएँ-

‘सोंच् तँ आफै,जुन कुरा परमेश्वरले नै जोड्न चाहनुभएन,त्यो मानिसले जोड्न चाहेर हुन्छ ?,अरे,जे भयो,परमेश्वरकै ईच्छानुसर भयो भन्ने कुरा स्विकार्..’

त्यसपछि ऊ अलि नरम भयो | ‘पवन ! मलाई प्रभुका अरु वचन सुना न यार,मेरो मन धेरै व्याकुल भएको छ..’ भनेर उसले मलाई बिन्ति गर्यो | उसको मुहार नियालें,निन्याउरो,ज्योति नै गुमाएकोजस्तो मलिन थियो,मलाई टिठ लागेथ्यो,मनमनै ‘प्रभु ! यसरी प्रेमपीडा त कसैले पनि भोग्न नपरोस्’ भनें | जे होस्,उसको हितैषी मित्र हुनाको कारण मैले आफ्नो कर्तव्य पूरा गरें |

आजभन्दा पाँच वर्षअगाडि म पनि प्रेमपीडामा विरक्तिएर जाँड-रक्सीमा लिप्त हुँदा उसैले मलाई प्रभुका मीठा वचन सुनाई सुधारको गोरेटोमा तानेको थियो,आज ऊ लगभग त्यही अवस्थामा थियो,त्यसैले उसको घाउमा सक्दो मलम दल्नु मैले आफ्नो कर्तव्य ठानें | ‘कुन्नि किन,मैले आफैले जानी-बुझेका सब प्रभुका वचन बिर्से-बिर्सेजस्तो अनुभव भइरहेछ यार,मेरो मन किनकिन साह्रै दुखिरहेछ,सम्हालिन खोज्दा पनि म त घरीघरी लोटूंलाझैं भइरहेछ..’ ऊ यस्तै भन्दै थियो |मभन्दा पनि प्रभुमा परिपक्व मान्छेको त्यस्तो हालत देख्दा मलाई पनि चित्त दुख्यो | यो ‘प्रेम’ भनाउँदो कुरो आफैमा जति मीठो हुन्छ,त्यति नै खतरनाक पनि हुन्छ | म त प्रेमलाई पनि शैतानले आफ्नो प्रवल हतियार बनाएको छ भन्नेमा जोड दिन्छु | त्यसैले हामीले साँचो प्रेमलाई चिन्न सक्नुपर्छ नत्र स्वार्थ र कपटपूर्ण प्रेममा अन्धो भएर लागे आफ्नै जिन्दगी बर्बाद नहोला भन्न सकिन्न | यही कुरामा श्याम चुक्यो,मलाई ज्यादै नराम्रो अनुभव भइरहेछ तर अब म सबलाई ऊजस्तो पलायनवादी नहुन औंला ठड्याई चेतावनी दिन चाहन्छु |

मैले पनि उसलाई राम्रैसित सम्झाएँ | हुन त ऊ र रिबेकाबीच पवित्र प्रेम नै थियो तर संसारमा धनि र गरिबबीच खाडल भएझैं रिबेकाको परिवारलाई पनि श्यामजस्तो गरिबको छोरोलाई ज्वाइँ स्विकार्ने रहर थिएन | हुन त ती दुवै आफ्ना प्रेममा अडिग भए त हुने थियो,तर सकेनन्,श्यामले विवाह प्रस्ताव राख्न सकेन,रिबेकाले आफ्नो आमाबाले रोजेको व्यक्तिलाई इन्कार गर्न सकिन,अन्ततःती दुईका बाटा अलग भए |गर्न त हामीले प्रार्थना गरेकै थियौं,ऊ झन् आफ्नो प्रेमको सफलताको लागि उपवास पनि बस्थ्यो तर परमेश्वरको ईच्छा कसले जानेको छ र ? यदाकदा हाम्रा माग पक्कै पूरा हुंदैनन्,यसको दोष परमेश्वरलाई होइन तर हामीलाई नै जान्छ किनकि यसैभित्र हाम्रा कमी-कमजोरीहरु लुकेर बसेका हुन्छन् |

मसित केही छिन् कुरा गरेपछि ऊ ‘ल,म अब जान्छु’ भनेर उठ्यो,मैले ‘बस्,आज मैसित बस्,भोलि शनिबार सँगै चर्च जाउँला’ भनें तर उसले मानेन-‘नाइँ,यार कोठा सफा गर्नु छ,म भोलि आफै आउँछु नि है,आज तैंले मेरो मनको घाउमा धेरै मलम दलिस्,अब त मलाई धेरै हलुंगो भाछ,मेरो चिन्ता नले है,म गएँ ल बाई !’यति भनी ऊ बिदाइको हात हल्लाउँदै निस्क्यो | जाँदा ऊ मेरो नजरमा ठिकै देखिएथ्यो | उसको अघिदेखिको मलिन मुहारमा केही मात्र भएपनि उज्यालो पोतिएको आभाष मैले पाएकै थिएँ र त्यसलाई मैले प्रेमपीडाको प्रथम संघर्ष मानें | त्यसैले म ढुक्क भएँ,ढल्कँदो समयले एकदिन यो घाउ पनि अवश्य पुर्नेछ भन्ने कुरामा विश्वस्त भएँ |

राति मैले उसको लागि प्रार्थना चढाएँ,यो परिआएको कष्टबाट यथाशिघ्र उम्कन उसले सकोस् भनी कामना गरें | तथापि मैले सपना नराम्रो देखें,आधि रातमा त्यस दुस्वप्नबाट ब्युझें अनि एकछिन प्रभुलाई सम्झें | बिहानै मलाई श्यामलाई फोन गर्न मन लाग्यो,फोन गरें,घन्टी गयो तर उसले उठाएन,तीनपल्ट हानें,फेरि पनि उसले उठाएन,’कता गए रैछ’ भनी सोंच्दै एसएमएस गरें तर चर्च जानेबेला हुनेसम्म पनि ऊ आएन | मलाई छटपटी हुन थाल्यो | एक्कासी राजुको फोन आयो |-

‘हेलो,राजु..’

‘दाइ ! तपाई छिट्टै श्याम दाइको डेरामा आउनुस् त,भर्खरै..’ निकै आत्तिएको स्वरमा राजु बोल्यो,मलाई झन् सकस भयो,’हैन,किन र राजु ?’ भनेर हत्तपत्त सोधिहालें तर फेरि उसले ‘तपाई यहाँ आइहल्नोस् न पहिला अनि थाहा भैहाल्छ..’ भनी अधुरो जवाफ दिएर फोन राखिहाल्यो अनि म पनि हस्यांग-फस्यांग गर्दै बाहिर निस्किएँ | जाँदाजांदै बाटाभरि मेरा आँखाअगाडि अघिल्लो रातको दुस्वप्न झल्झली नाच्न थाल्यो |

उता श्यामको डेरामा पुग्नासाथ अलिअलि मेरो सपनासित ती दृश्यहरु मेल खान थाले अनि मेरो मुटुको ढुकढुकी बढ्न थाल्यो | सपनामाझैं डेराको आँगनमा गुरुबा,राजु र अरु दुई-चारजना उभिएका थिए | मैले नजिकै आएर सुस्तरी ‘जय मसिह’ भनें,सबैले हात मात्रै जोडे,मुखबाट आवाजचाहिं निकालेनन् | मैले ‘के भयो र ?’ भन्दै सोध्दै थिएँ,राजुले मलाई भित्र कोठामा जान संकेत गर्यो | अनि म भित्र गएँ |

कोठाभित्र छिर्नासाथ सपनामाझैं त्यहाँको दृश्य देखेर म हतप्रभ भएँ |कोठाको कुनामा भुइँमा ऊ टाउकोदेखी खुट्टासम्मै छोपिएर उत्तानो परेर चिरनिद्रामा सुतिरहेको थियो | म एकदम अवाक भएँ,थ्याच्च ऊ छेउ बसें,मलाई यो पनि सपना नै होला भन्ने लागिरहेको थियो तर हैन यो त वास्तविकता नै थियो | राजु मेरो छेउमा आएर मेरो काँधमा हात राख्यो,मैले बिस्तारै सोधें-‘श्यामलाई..यो..कसरी राजु ?’ मेरो प्रश्न सुनेपछि राजुले मलाई सबै स्पष्ट पार्यो |

सबै सुनेपछि मलाई त श्यामप्रति नै रीस उठ्यो,त्यतिविधि बाइबल स्कूल पद्धेर,प्रभुको छोरो भएर यस्तरी काँतर हुने हो ? थुक्क,तेरो बुद्धि ! म त उसको लाशको छेउमा बस्दा उसलाई मनमनै गाली गरिरहें,धिक्करिरहें,मलाई माया पनि लाग्यो.टीठ पनि लाग्यो,साथै रीस पनि उठ्यो | साँझ मसित भलाकुसारी गरेपछि ऊ उज्यालै भएर गएको थियो तर शैतानले कतिबेला उसको टाउकोमा नकारात्मक भावना हालिदिएछ कुन्नि,उसले वीष सेवन गरी आफ्नो ईहलीला समाप्त पार्यो |

उफ् ! प्रभुको छोरो यति काँतर ? यति पलायनवादी ? संसारका मानिसको प्रेम नपाएको चोटमा मानिसले यस्तो दुष्कर्म गर्छ | अरे ! मानिसको प्रेमभन्दा परमेश्वरको प्रेम उच्चकोटीको हो भन्ने किन बिर्सेको ? परमेश्वरले सबलाई प्रेम गर्न भन्नुभएपछि हामीले सबलाई गर्नुपर्छ,तर प्रेम दिगो हुन पनि सक्छ नहुन पनि सक्छ,दिगो पार्ने-नपार्ने हाम्रो होइन,केवल परमेश्वरको हातमा छ | हामीले त ‘पाएपनि ठीकै,नपाएपनि ठीकै..किन मन दुखाम् दुई दिनको जिन्दगीमा’ भनेझैं परिस्थितीको सामना गर्न तयार रहनुपर्छ |

तर श्यामलाई मैले यो भन्न पाइन | भेटे त उसको आत्मालाई पनि भन्थें होला तर ऊ अहिले कता पुग्यो होला ? हुन त आत्महत्या एउटा महापाप हो,एकपल्ट ख्रीष्टमा बाँचिसकेको आत्माले नियम मिचेर जीवनमा पूर्णविराम लगाउँदा पक्कै पनि ऊ स्वर्ग जान पाउँदैन | तर मेरो प्यारो साथी श्यामको आत्मा नर्कमा डढेको सम्झँदै म व्याकुल भएँ | आज दिनभरी म उसको लाशलाई रुँगेर बसें | धाडिंगमा उसका आमाबालाई खबर पठाइयो,बिचरी आमा त बेहोश नै भइछन्,साँझतिर बुढा बामात्र निन्याउरो मुख लाएर आएथे | मैले जसोतसो सम्झाएँ |गाउँबाट सहर केही गरौला भनी पसेको थियो,आमाबाको पनि अनेक सपना थिए होलान्,तर ती सब तहसनहस भए |

अब आइन्दा कोही पनि श्यामजस्तो नहोस् भन्ने म चाहन्छु | ‘मानिसको प्रेम त उडिजाने वाफ हो’,परमेश्वरको प्रेम नै कहिल्यै नओइलिने मखमली फूल हो’ यति भनाइलाई शिरोपर गर्न सके मात्र पनि हामीलाई ख्रिष्ट येशुमा अनन्त जीवन छ |

वनकालीमा लाश गाड्न रोक लगाइएको वर्तमान अवस्था अनि त्यसमाथि हाम्रो चर्चको आफ्नै चिहान नभएको जटील अवस्था,यस्ता जटिलताका कारण श्यामको शरीरले बाकसमा सुत्न पाएन,बरु चितामा जल्नुपर्यो | उसको लाश जल्दाखेरि बुढा बा साह्रै कहालिएर ‘छोरा ! तैंले यसरी तेरो आत्मा किन गुमाइस् ?’भन्दै क्वाँ-क्वाँ रोए,यो देखेर मैले पनि मन थाम्न सकिन,मलाई झल्झली उसले स्वर्गको बारेमा भनेका वचन याद आयो |

जे भएपनि अहिले म साह्रै व्याकुल छु | श्यामले नै हो मलाई प्रभुमा डोर्याएको,अहिले ऊ यसरी पलायन हुँदा मैले आफ्नै चित्त बुझाउन सकिन | प्रभुले भनेझैं ‘पछिल्ला अघिल्ला,अनि अघिल्ला पछिल्ला’ किन हुनुपरेको कुन्नि ? जो अन्तसम्मै स्थिर रहन्छ,उसैले जीवनको मुकुट पाउँछ भन्ने कुरा कसैले नबिर्सोस् | यही कामना गर्दै मैले परमेश्वरलाई प्रार्थना चढाएँ |

[समाप्त]

द्रष्टव्य-यो एकदम सत्यकथामा आधारित छ,मानिसको प्रेमभन्दा परमेश्वरको प्रेमलाई सर्वोच्च स्थानमा राख्न म सबैलाई अनुरोध गर्दछु | धन्यवाद !              
प्रतिक्रिया दिनुहोस्