Thursday, January 12, 2012

हाउडे

‘छोरा !
ख्रीष्टको वचन पालन गर्ने गर्, कुलत र कुसंगत छोडिदे, परमेश्वरले सिकाउनुभएको सोझो र असल बाटोमा हिँड् |’ बुढा खिमलालले आफ्नो जवान २० वर्षे छोरोलाई सधैं यस्तै अर्ती दिन्छन् तर छोरो हेमलाललेचाहिं बाबुको अर्तीलाई एउटा कानले सुन्यो, अर्को कानले उडाइदिने गर्छ |
‘यार ! घरमा मम-ड्याडले खालि किचकिच मात्रै गर्छनू, मलाई त घरमा बस्ने मन लाग्दैन...|’
‘त्यही त नि यार ! हाम्रा मम-ड्याडले हामीलाई फ्रीडम नै दिन चाहँदैनन् के, क्या बोर लाइफ |’
खिमलालको छोरो हेमलालले आफ्नो साथी भुवनसँग गुनासो पोख्यो | भुवन पनि के कम, ऊ पनि उही ड्यांगको मुला हो क्यारे, हेमलालको गुनासो सुनेपछि उसले चुरोटको ठुटो दिंदै ‘हो’ मा ‘हो’ थप्यो | अनि दुवैले एकछिन बडो रवाफका साथ चुरोटको धुँवा उडाइरहे |
‘चुरोट-रक्सि त क्रिस्चियनिज्ममा मनाही छ रे नि हो ?’ भुवनले एक्कासी सोध्यो |
‘हो यार ! तर यो एकचोटिको लाइफमा इन्जोय नगरेर कहिले गर्नु ?, मरेपछि यसरी मस्ती गर्न पाइन्न क्यारे | म त जोसुकैले जेसुकै भनोस्, बाँचुन्जेल टन्न खान्छु र पिउँछु |’
‘ओके ! ल चियर्स’ भन्दै भुवनले आफ्नो बियरको गिलास उठायो | हेमलालले पनि ‘चियर्स’ भन्दै आफ्नो गिलास ठोक्कायो अनि एकै सासमा बियर स्वाट्टै पार्यो |



हेमलाल विश्वासी भएर पनि अविश्वासीजस्तै छ | उसलाई केही कुराको चिन्ता-फिक्री छैन, उसलाई परमेश्वरको पनि डर छैन,बाउको पैसा उडाउँदै मस्ती मार्नुमा नै उसलाई मज्जा छ |
‘हेलो काली ! कति ढिला गरेकी भन्या,छिटो आऊ त...’ हेमलालले कसैलाई मोबाइलबाट बोलायो | केही समयपछि आधुनिक पहिरनमा ठाँटिदै एउटी केटी आई |अनि एकछिनपछि उसले त्यस केटीलाई मोटरसाइकलमा राखेर घुमाउन लग्यो |मोटरसाइकल हाँक्दै,टाउको हल्लाउदै ठूलो स्वरले उसले गीत पनि गायो |--

‘इन्जिन गाडीमा..ओ..इन्जिन गाडीमा..लैजान्छु माया तिम्लाई इन्जिन गाडीमा...|’
उता राति अबेरसम्म छोरो घर नआएपछि खिमलालको मन आत्तिन्छ |मोबाइलमा कल गर्दा जतिखेर पनि हेमलालको मोबाइल स्वीच अफ् भएको संदेश आउँछ |जवान भइसकेको एउटै मात्र छोरोलाई कतै केही भइहाल्ला कि भनी आमाबाको मन आत्तिन्छ |दुवै आमाबाले आफ्नो छोरोको लागि परमेश्वरसँग प्रार्थना गर्छन् |--‘हे परमेश्वर ! हेर्नुस् तपाईको छोरो कतिसम्म बिग्रिसकेको छ |हामीले दुःख गरी त्यसलाई जन्मायौं हुर्कायों तर अहिले जवान भएपछि त्यो बत्तिएको छ |हे प्रभु ! त्यो हावाझैं बरालिंदा हाम्रो मन साह्रै रुन्छ |हुन त हाम्रोभन्दा पनि तपाईकै मन धेरै दुखेको छ,तर यो बाटो बिराएको तपाईको छोरोलाई सही बाटोमा ल्याईदिनुहोस्,त्यो केही पनि जान्दैन,बुझ्दैन,त्यसलाई ज्ञान दिनुहोस्,बुद्धि दिनुहोस् |त्यसले जानी-नजानी गरेका पापहरु क्षमा गरिदिनुहोस् |’ ती दुई दुःखी आमाबाले यसरी परमेश्वरलाई आफ्नो बिन्ती चढाए |


उता हेमलालले केटीलाई मोटरसाइकलमा राखेर पोखरा घुमाउन लगेको थियो |पोखरा लेकसाइडमा एउेटा लजको कोठा पनि उसले बुक गरिसकेको थियो |दिनभरि आफ्नी प्रेमिकासित प्रेमालाप गर्दै ऊ धेरै ठाउँ घुम्यो-घुमायो तर उसले एकचोटी पनि आफ्ना आमाबालाई सम्झेन,परमेश्वरको त कुरै छाडौं |

राति लजमा आएपछि मोबाइल अन गर्नासाथ उसको बाको फोन आयो |-
‘हेलो हेम ! तँ कहाँ छस् ? किन मोबाइल अफ् गरेको ? घर आइज,छिटो..|’
‘हैन ड्याड,आज मेरो साथीको बर्थडे छ,म आज आउन्न,भोलि आउँछु,ओके बाई..|’
बाबाले अझै केही भन्न नपाउँदै उसले फोन बन्द गरिदिन्छ अनि स्वीच अफ् गरिदिन्छ |
भोलिपल्त बिहान उसको निद्रा खुल्छ |कोठामा आँखा तिरमिराउने प्रकाश छिरिसकेको हुन्छ,अनुमान गरी भन्दा बिहानकों त्यस्तै १०/११ बजिसकेको हुनुपर्छ,ऊ ओच्छ्यानमा घोप्टो परेको हुन्छ,आँखा मिच्दै,बल्ल-तल्ल हेर्दै उठ्छ |उठ्दाखेरी उसको टाउकोमा भाउन्न छुट्छ, अनि एकछिन टाउको समाती थचक्क बस्छ |एकछिनपछि उसले आफ्नो टाउको अलि हलुको भएको महसुस गर्छ अनि कोठाको चारैतिर आँखा घुमाउँछ |हिजो रातिसम्म आफूसँग जीवनभरी साथ दिने कसम खाँदै प्रेमालाप गर्ने आफ्नी प्रेमिकालाई आफू वरिपरी नदेख्दा ऊ छक्क पर्छ |’निरु,निरु !’ भनी बोलाउँछ तर कतैबाट पनि आवाज आउँदैन |यसो फोन गर्नुपर्यो भनी उसले आफ्नो खल्ती छामछुम गर्छ तर आफ्नो फोन भेट्टाउँदैन,उसको मनी पर्स पनि त्यहाँ हुँदैन,उसलाई रन्न रीस उठ्छ,घरि बस्छ,घरि उठ्छ,घरि यताउता टहल्छ,उसलाई के गरूँ न कसो गरूँ हुन्छ |झट्ट आफ्नो औंला,नाडी हेर्छ अनि घाँटी पनि छाम्छ |उसका औलाको औंठी,नाडीको बाला अनि घाँटीको सिक्री पनि गायब हुन्छ |आफू लुटिएको थाहा पाएर ऊ रीसले मुर्मुरिदै ढोकालाई मुड्की र लातले हान्दै बाहिर निस्कन्छ |बाहिर रिसेप्सनिष्टलगायत अरु मानिसहरुलाई निरुको बारेमा सोध्छ तर कसैलाई पनि थाहा हुँदैन |’साली,कुकुर्नी कहाँ मरिछ..’भन्दै उसले मनमनै खुब गाली गर्यो |रिसेप्सन काउन्टरको फोनबाट निरुको र भुवनको नम्बरमा हान्यो तर कसैमा पनि लागेन |रीसले रिसिभर पनि बजार्न थालेथ्यो तर रिसेप्सनिष्टलाई देखेर आफ्नो रीस सकी-नसकी थाम्यो |रीसलाई उसले कहिल्यै थामेको थिएन,घरमा भएको भए रीसको झोंकमा कि त गमला फुटाउँथ्यो कि त टि.भी. फुटाउँथ्यो तर घरबाहिर त उसले आफ्नो रीस पोख्ने ठाउँ पाएन बिचरो !च्व..च्व..च्व..|आफ्नो रीस आफैले निल्नुपरेकोले होला उसको मुख रातो न रातो भयो अनि उसका आँखा पनि अलिअलि रसाए |उसलाई आफ्ना सुनका गहना चोरिएकोभन्दा पनि एप्पलको आइफोन चोरिएकोमा धेरै पिर पर्यो |



रिसाउँदै पार्किंग लटमा गयो |त्यहाँ उसले धुईंधुईंती खोज्दा पनि आफ्नो मोटरसाइकल पाएन |झन्न रिंगटा लाग्यो,टाउको समातेर एकछिन त्यहीं थचक्क बस्यो |हिजो बितेका एक-एक पलहरुलाई सम्झन थाल्यो |हिजो काठमाण्डौंमा भुवनलाई भेटेपछि ऊ निरुलाई लिएर पोखरा आएको थियो |ऊ पोखरा आएको भुवनबाहेक कसैलाई थाहा थिएन |राति ७/८ बजेतिर खाना खाने बेलामा पछिल्तिरबाट कसैले उसको आँखा छोपिदियो |एकछिनपछि ’हाई यार ! सरपप्राइज्ड?’ भन्दै भुवनले हात मिलायो |’एक्कासी यहाँ कसरी?’ भनी सोध्दा ‘मेरो पनि यहाँ गर्लफ्रेन्ड छ के’ भनेको थियो |हुन त भुवनको गर्लफफ्रेन्ड काठमाण्डौंकै हो तर उजस्तो प्लेब्वाईको एउटैमात्र गर्लफ्रेन्ड हुने कुरा भएन |आखिर हेमलाल पनि उही ड्यांगको मुला हो क्यारे |भुवनकी त्यो अर्की पोखरेली गर्लफ्रेन्डचाहिं को रहिछ भनी हेमलाललाई पनि उत्सुकता जाग्यो | तर होइन,भुवनकी गर्लफ्रेन्ड त अरु कोही नभएर निरु नै रहिछ किनकि ती दुवै अहिले फरार थिए | खाना खाएपछि जुस पिउनेक्रममा हेमलाललाई अलिअलि रिंगटा लाग्यो अनि झ्याप्प-झ्याप्प निद्राले पनि समात्यो |सायद, खानामा वा जुसमा ‘स्लिपिंग पिल्स’ वा त्यस्तै किसिमको औषधि मिसाइएको हुनुपर्छ भन्ने उसलाई लाग्यो किनकि त्यसपछि निद्राले ऊ झुल्यो |बेहोशीमा निरु र भुवनले उसलाई काँधमा समाती घिसार्दै खाटमा पल्टाइदिएको उसलाई अलिअलि सम्झना छ अनि भुवनले बोलेको अन्तिम वाक्य उसको कानले अलिअलि सुनेको थियो |--‘आऊ डार्लिंग ! हाम्रो प्लान सफल भएकोमा नाचौं |’ अनि सम्भवत: ती दुईले साल्सा नृत्य गरे होलान् भन्ने उसले अनुमान लगायो किनकि उसले साल्सा क्लबबाट नै ती दुईलाई चिनेको थियो |

आफ्नै नजिकको मित्रबाट यत्रो धोका ! ऊ रीसले भुन्भुनिदै ‘भेट्टाएँ भने मारिदिन्छु’ भन्ने अठोट लिई जसरी भएपनि खोजिछाड्ने धुनमा बाहिर निस्क्यो, तर बिचरोलाई के थाहा चोर एकै ठाउँ बस्दैन भन्ने |उसले खुट्टाले हिंडेर जानसक्ने सबै ठाउँमा धुईंधुईंती खोज्यो,लेकसाइड,महेन्द्रपुल,फूलबारी,बगर.दीप, आदि जतासुकै पुग्यो तर उसले खोजेको मान्छे भेटेन |भेट्टाओस् पनि कसरी?ती दुई ठग कतिखेर सुईंकुच्चा ठोकिसकेछन्,उसलाई के थाहा |दौडधुप गर्दागर्दै अँध्यारो भइसकेको थियो |बिहानैदेखि केही नखाएकोले ऊ लखतरान परेको थियो,किनेर खाने पैसा पनि थिएन |’बल्ल खाइस् च्युरा !’ उसले आफैलाई गाली गर्यो |त्यहीबेला झँल्यास्स उसले आफ्नो बाबाका अर्ती सम्झ्यो—‘बाबु ! मित्रहरुदेखि सधैं होसियार रहनू,असल मित्रको मात्र संगत गर्नू |’ अहिले बल्ल आमाबाको अर्ती लत्याएकोमा उसलाई कताकता पछुतो भयो |भोकले मडारिरहेको पेट छाम्दै यताउता हेर्यो,अलि पर फलफूल पसल रहेछ |त्यहीं एउटामात्र केरा भएपनि मागीखाने विचारले उठ्नै लागेको थियो तर त्यत्तिकैमा त्यही पसलेले एउटा खातेजस्तो बालकलाई स्याउ चोरी खाएको निहुँमा कुटिरहेको देख्यो—‘तेरीमा चोर ! तेरो बाउको सम्पति छ यहाँ ? चोरेर खाने ? खान नपाए झुन्डिएर मोर |’ बिचरा मैलोधैलो लुगा लगाएको त्यो बालक चुपचाप ऊ भएनेर आई भुइँमा बस्यो |यस्तै खातेलाई उसले पहिला पनि कति देख्यो कति तर उसले तिनीहरुलाई कहिल्यै मान्छे गनेन तर आज उसले खाते र आफू एकसमान देख्यो |


त्यो केटोले एक्कासी अलिक ठूलै स्वरमा भजन गाएको उसले सुन्यो-‘हेर न आकाशमा ताराको उज्यालो...|’ उसलाई अचम्म लाग्यो साथै त्यो भजनका शब्दले उसको मुटुमा स्पर्श गर्यो |एकछिनपछि त्यो केटोले गुनगुन प्रार्थना गरेको पनि उसले सुन्यो |उसलाई कस्तो-कस्तो लाग्यो |

केही समयपछि लोडसेडिंग भयो अनि झिलिमिली सहर अँध्यारो भयो |पिलपिल पसलहरुबाट चार्जर बत्ति बल्न लागे |त्यत्तिकैमा अचानक आकाशमा बादल मडारियो र छिट्टै हावाहुरीसँगै पानी पर्न थाल्यो |ऊ आफू बसेको ठाउँबाट उठी ओत मिल्ने ठाउँको खोजीमा दौडन थाल्यो |दौड्दा-दौड्दै ऊ एउटा निर्माणाधीन घरमा ओत लाग्न पुग्यो |बाँसका लठ्ठाहरु ठडाइएका त्यहाँ बस्न मिल्ने राम्रो ठाउँ थिएन,तर बस्न परिहाल्यो |बाहिर पानी पनि बेस्सरी दर्कन थालिसकेको थियो अनि त्यसमाथि अँध्यारो व्याप्त थियो |भुँइतिर यसो हेर्दा बिजुली चम्कँदाको उज्यालोले उसले अलिअलि देख्यो,भुइँ भरि गिट्टी र सिमेन्टका धुला थिए |अलि पर कुनामा सिमेन्टको बोरा रहेछ,त्यसैलाई लिएर उसले भुइँमा ओच्छ्याएर बस्यो |


ऊ त्यत्तिकै धोक्रेर बसेको थियो |त्यत्तिकैमा ‘ए दाइ ! भोक लाछ?’ भनेर कसैले सोध्यो |आवाज आएतिर यसो हेर्दा उसले आफू बसेको अर्को कुनामा त्यही अघिको फुच्चे बालकलाई देख्यो |उसलाई अचम्म लाग्यो तर त्यस्ता नाथेसित के बोल्नु भनी उसले प्रश्नको जवाफ दिएन |चिसो हावा चलिरहेको थियो अनि बाछिटा पनि आइरहेकोले जाडो भइरहेको थियो साथमा उसको पेटमा मुसाको दौडाइ यथावत थियो |


एकछिन उसले आँखा बन्द गर्यो |’लौ ओढ दाइ,कस्तो जाडो छ..’ भनेर त्यो बालक फेरि करायो |यसो हेरेको त त्यो केटो उसकै छेउमा बसेर आफूले ओढिरहेको सलको एक सप्को ऊतर्फ ओढाउँदै थियो |उसको हजार मनले ‘हैन,यो कहाँको झुत्रेलाई मेरो केको चिन्ता?’ भनी झट्ट थर्काइदिन भन्यो तर एक मनले बिचरो त्यो सानो बाबुको सामिप्यता स्विकार्न कर लगायो |सायद यतिखेरसम्म त उसको अहम् सेलाईसकेको थियो |अघि त्यो मैलो बालकलाई देख्नासाथ घिनाएपनि अहिले त्यही बालक उसको छेउमै बसेपनि ऊ घिनाएन |अचम्म के भने उसलाई बालकको शरीर गनाएन बरु आफैले प्रयोग गर्ने एक्स ब्रान्डको सेन्टको वासना पो आयो |बालक त्यस्तै १३/१४ वर्षकोझैं थियो |त्यसले सलको एक सप्को ओढाइदिंदा पनि उसलाई न्यानो अनुभव भयो |त्यसपछि फुच्चेले ’लौ,स्याउ खाऊ’ भन्दै उसलाई एक दाना स्याऊ दियो |उसले ‘नाइँ भो,तैंले नै खा,चोरी ल्याको होलास्?’ भन्यो |फुच्चेले ‘सत्ते दाइ,येशु कसम यो,त चोरी ल्याको होइन के..’भनी उसको हातमा ठम्म्याईदियो |फेरि फुच्चेले भन्न सुरु गर्यो—‘अँ दाइ तिमीलाई थाहा छ? म त खाते अनाथ,मेरो यो संसारमा कोही छैन,परमेश्वर प्रभु येशु नै मेरा सब हुन् |सागर दाईहरुले हामीलाई सुसमाचार सुनाएथे,आहा ! हामीजस्तोलाई पनि परमेश्वरले कति माया गर्दा रहेछन्,मलाई कति खुशी लाग्यो |सागर दाइहरुले हामीलाई नचोर्न भनेथे तर मेरो पापी पेटले मानेन |अघि यसो सुटुक्क एउटा स्याऊ झिक्छु भनेको नि,साहुले देखिहाल्यो |मैले जानी-जानी प्रभुको वचन लत्याएको थिएँ क्यार,त्यसैले कुटाइ खाइहालें,हिहिही...तर परमेश्वरलाई मलाई स्याऊ खान मन लाको छ भन्ने थाहा छ नि,त्यसैले मैले कुटाइ खाइरहँदा अर्को एउटा दयालु मान्छेले कुट्नबाट जोगाए अनि दुइटा स्याऊ पनि दिए |तपाई पनि दाइ कहिल्यै पनि परमेश्वरको वचनलाई नलत्याउनुस् ल |’ फुच्चेले त्यसो भन्दा उसलाई कस्तो-कस्तो लाग्यो तर उसले केही पनि बोलेन,बरु चुपचाप स्याऊ कुरुमकुरुम टोक्न थाल्यो,भोकमा स्याऊ अति मीठो लाग्यो उसलाई |फुच्चेचाहिं आफ्नै सुरमा बोल्दै गयो,ऊचाहिं सुन्दै गयो |



‘...दाइ ! मेरा पनि आमाबा थिए,मलाई धेरै माया गर्थे तर म सानै छँदा आमाबा दुवैले मलाई छाडेर गए |आफ्नो आमाबा छैन भने त सबैले हेला गर्ने रहेछ |मलाई ठुल्बा ठुलीआमाले धेरै हेपे,उनीहरुको हेला सहन नसकी म सडकमा आएँ |आमाबाले मलाई कति दुःख गरी बोर्डिंग पढाथे तर मचाहिं स्कुलबाट भागी-भागी गुच्चा खेल्न जान्थें,आज मैले आमाबालाई नटेरेकोमा धेरै पछुतो लाग्छ दाइ,तपाईले पनि आफ्नो आमाबाले भनेको कुरा सधैं मान्नुस् है |’ फुच्चेले फेरि उसको बारेमा सबै कुरा थाहा पाएझैं गर्यो |ऊ छक्क पर्यो तर फुच्चेको व्यथाले एकपल्ट उसलाई आफ्नो आमाबाप्रतिको दायित्वलाई झस्कायो |तर उसले कुरा
अलि मोड्यो—
‘ओई,भन् त,तैंले येशुलाई कसरी चिनिस्?’


‘सागर दाइहरुले भनेर नि,उहाँहरुले हामी खातेहरुलाई दिनदिन खाना खुवाउनुहुन्छ |हामीलाई कस्तो माया गर्नुहुन्छ |मैले अघि नै फूलबारीको चौरमा खाइसकें..|’
‘अनि किन चोर्न लागिस् त?’
‘हिहिही..दाइ,मान्छे पापी जात हो भन्ने तिम्लाई थाहा छैन?’


फुच्चेले कस्तो सटिक प्रश्न गर्यो |उसलाई फुच्चेले आफूमाथि कटाक्ष हानिरहेकोजस्तो लाग्यो |सागर दाइहरुले सुसमाचार सुनाउने अनि खाना पनि खुवाउने सुनेपछि उसले अनुमान लगायो कि सागर दाइ भन्ने मानिसहरु पक्कै पनि सी.एफ.सी.एन.का मानिसहरु हुन् किनकि यो त्यस्तो ख्रीष्टियान संस्था हो जो सडक बालबालिकाहरुप्रति समर्पित छ |उसकै विश्वासी साथी चन्द्रमान यस्तैमा सेवारत थियो |फोहोरी खातेहरुलाई पनि आफ्नै नानीलाईझैं सुसार गरेको देख्दा ऊ चन्द्रमानको खिल्ली उडाउँथ्यो |फुच्चेलाई भेटेपछि उसलाई पनि कताकता माया लागेर आयो |फुच्चेलाई पुनः उसले सोध्यो—
‘तँ कहाँ बस्छस् त?तेरो घर छ यहाँ?’
‘घर?..


यही खुला आकाश र धर्ती मेरो घर हो दाइ,कहिले बाटोको पेटीमा सुत्छु,कहिले यस्तै बन्दै भाको घरमा...’
‘हो र? जाडोमा के गर्छस् त? जाडो हुन्न तँलाई ?’
‘किन नहुने? के म मान्छे होइन र? जाडोभरि कठ्यान्ग्रिदै बस्ने हो..अचेल त सागर दाइहरुले न्याना लुगा दिनुभाछ,जाडोले त्यति सताउन्न |उहाँहरुले हाम्रालागि अनाथाश्रम खोल्दै हुनुहुन्छ रे,मलाई त कतिखेर जाउँ भाछ | प्रभुले हामीलाई कति माया गर्नुहुन्छ हगी दाइ? सागर दाइले भनेको यो संसार त हाम्रो खास घर होइन रे,यहाँ त हामी दुई दिनको पाहुनाजस्तै हौँ रे,मलाई कस्तो रमाइलो लाग्छ,स्वर्गको घरमा कतिखेर जाउँजस्तो हुन्छ तर मलाई थाहा छ मैले स्वर्गमा जानुभन्दा अगाडि यो संसारको धेरै दुःख भोग्नुपर्छ | म त यो संसारमा मेरो घर नभए पनि एकदम खुशी छु किनकि मैले एकदिन प्रभुको घरमा बस्न पाउनेछु...|’




ओहो ! अदृश्य परमेश्वरमाथि त्यो फुच्चेको यत्रो भरोसा ! ऊ आश्चर्यचकित भयो साथै उसलाई आत्मग्लानि पनि भयो | उसले विगतमा बाइबल स्कुलमा पढेको एउटा वचन याद आयो—‘...किनकि हामी दृश्य कुरामा होइन तर विश्वासमा जिउँछौं |’धेरै वर्षअघि ऊ आफैले लत्याएका वचनहरु एकएक गरी उसको टाउकोमा घुम्न थाले |उसको मन अमिलो भयो |ख्रीष्टलाई भुली संसारको पछि लाग्दा आज उसको यो हालत भयो |साँच्चै त्यो बालकले उसको घैंटामा घाम ल्याइदियो |त्यो अनाथ बालक जसको यो संसारमा केही छैन तर पनि प्रभुप्रति कत्रो आशा,उसको त सबै कुरा छ,सबै कुरा पाएको मान्छेले आफुसित भएको कुराको सदुपयोग गर्नुपर्थ्यो तर उसले गरेन |उसलाई बल्ल आफ्नो कर्तव्यबोध भयो |उसको हृदय छियाछिया भएर आयो |अनायास् उसको मनले प्रभुलाई पुकार्यो—‘प्रभु ! मैले भुल गरें,क्षमा पाउँ...’
त्यस्तै बसिराख्दा रात पर्यो |ऊ त्यही बालकसँग निदायो |निद्रामा उसले एउटा सपना देख्यो |
सपनामा अँधेरी रातमा राजमार्गको बाटोमा ऊ गाडी रोक्ने मनसायले उभिएको थियो | पैसा नभएपनि जसरी भएपनि बसलाई रोकेर काठमाण्डौं फर्किने घमण्डी सुर कसेको थियो तर धेरै समय पर्खदा पनि एउटै बस त्यो बाटो आएन |


‘साला ! यो बसलाई पनि के भाको आज..यो बाटो आउँदै आएन...कि चक्काजाम परेछ आज ?..जेसुकै होस्,अब म आफै हिँडेर दौडेर घर पुग्छु..’ अनि ऊ दौडन्छ |दौड्दा-दौड्दै ऊ अचानक एउटा ईनारजस्तो गहिरो खाल्टोमा खस्छ |चारैतिर हेर्दा ईनारको गहिर्याई उसको उचाईभन्दा धेरै थियो |
‘साला ! कुन मोराले बीच बाटोमा ईनार खनेछ...’

ऊ आफूले जानेजत्तिका नराम्रा शब्द प्रयोग गरी गाली गर्दै माथि उक्लिने प्रयास गरिरह्यो |त्यतिबेलै अचानक मेघ गर्जनसहित पानी पर्न थाल्यो |उसको माथि आउने प्रयास जारी रहँदै गयो अनि वर्षातको पानीले ईनार भरिन थाल्यो |रीसले उसले परमेश्वरलाई पनि गाली गर्न थाल्यो |--‘सारा संसारको रखवाला रे,म खाल्टोमा पर्नेसम्म के हेरेर बसेको ?’ उसले यसो भनेपछि गड्यांग मेघ गर्ज्यो अनि एउटा ठूलो आवाज बादलबीचबाट आयो |--‘ए हेमलाल ! मान्छेले जे रोप्छ,त्यसकै कटनी गर्नुपर्छ बुझिस्,यो खाल्टो तराई कर्मको फल हो बुझिस्...|’ अनि बल्ल उसलाई परमेश्वरको डर लाग्यो |




ईनारको पानी कम्मरसम्म आउनेसम्म उसले निस्किने प्रयास गर्यो,तर अन्तमा थाक्यो,अब निश्चय मरिन्छ भनी उसले सोच्यो |यति छिटो युवावास्थामै आफू मर्न लागेकोले अथवा आफ्नो ज्यानको मायाले उसले अन्तिमपल्ट बल्ल परमेश्वरलाई पुकार्यो |--‘हे प्रभु येशु ! मैले तिम्रो वचनलाई लत्याएर गल्ति गरें,मलाई क्षमा देऊ,तिम्रो ईच्छा भए यो खाल्टोबाट मलाई निकाल...|’ उसले यतिमात्र भन्यो अनि स्थिर भएर खाल्टोमा उभिरह्यो |बिस्तारै-बिस्तारै वर्षातको पानी माथि-माथि बढ्दै गयो |उसले यतिखेरचाहिं आफ्ना जीवनका नराम्रा पक्षलाई केलायो अनि पश्चातापमा रुन थाल्यो | केही समयपछि पानी उसको घाँटी-घाँटीसम्म आइपुग्यो |मृत्युदेखि लड्दा-लड्दै अन्तमा हार खाएर मृत्युवरण गर्न तयार भएको मानिसझैं ऊ यतिखेरचाहिं कत्ति पनि डराएन,बरु एकोहोरो तटस्थ भइरह्यो |
उसको ओठसम्मै पानी आइसक्यो,नाकलाई छुनै लागेको बेलामा एउटा चिरपरिचित आवाज आयो—


‘ए दाइ !लौ यो डोरी समातेर माथि आऊ.’ उसले पुलुक्क माथि हेरेको त त्यही फुच्चे पो रहेछ |फुच्चेले फालेको डोरी समाती ऊ माथि आयो |माथि आउनेबित्तिकै फुच्चेलाई उसले सोधिहाल्यो—‘ओई केटा,तँ यहाँ कतिखेर आइस् ?’ तर उसले यसो हेर्दा त्यो फुच्चे त्यहाँ थिएन |

त्यसपछि बिपनीमा पनि ऊ झँल्यास्स ब्युँझ्यो |वरिपरी हेर्यो,उज्यालो भइसकेको रहेछ अनि उसँगै सुतेको त्यो फुच्चेचाहिं उसको छेउमा थिएन तर उसको पिठ्यूँमा सल थियो |ऊ जुरुक्क उठ्यो,उसको पाउनेर अँगारले लेखिएको थियो—‘..परमेश्वरले तिम्लाई प्रेम गर्नुहुन्छ...|’ पढ्नासाथ ऊ घुँडा थ्याच्च टेकी रोयो—‘हे परमेश्वर ! म पापीलाई क्षमा गर्नोस्,अबदेखि म कहिल्यै बराल्दिनँ प्रभु,म तपाईको सेवा सदासर्वदा गर्नेछु...|’ एकछिन उसले त्यहीं प्रार्थना गर्यो,उसको कानमा ‘उठ,घर जा’ भन्ने आवाज गुन्जियो अनि ऊ आँसु पुछ्दै बाहिर निस्क्यो |संयोगले त्यहींछेउमा प्रहरी बीट रहेछ,उसले त्यहीं गई आवश्यक सहयोग माग्यो अनि साँझतिर प्रहरी भ्यानमा काठमाण्डौं फर्कन थाल्यो |फर्कंदै गर्दा उसले मनमनै सोच्यो—‘..म अब नयाँ मान्छे बन्छु..ख्रीष्टको सेवक..अँ म पक्का बन्छु,मैले बन्नैपर्छ..मैले बन्नैपर्छ |’
अनि उसले सन्तुष्टिको लामो सास तान्दै भ्यानको झ्यालबाट रंगिन दृश्यहरुमा आफ्नो आँखा फाल्दै गयो |
प्रतिक्रिया दिनुहोस्