जीवन संग्राममा,
म एक्लै सोंचमग्न हुन्छु |
हृदयका पीडामा म एक्लै रुन्छु ||
म रोऊँ किन ?
म पीरूं किन ?
जगत हेरी म हाँसिदिन्छु |
अस्पतालको गल्लीमा,
तीन दिनको भोको त्यो,
हात फैल्याई भिख मागिरहेको थियो |
‘यो अपांगलाई दया गर्..’भन्दै थियो ||
बार्दलीमा हेरिरहँदा एउटा अन्धो,
मात्र मनको प्रकाशमा,सेतो छडीको सहारामा,
गन्तव्य पहिल्याउँदै थियो |
अनि टिभी हेरिरहँदा ‘नीक’,
सुसमाचारमा जोशिदै थियो ||
उता पर धनकुटामा,
‘सेरिब्रल पाल्सी’ पिडित ‘झमक’,
अँध्यारामा खुट्टाले,
साहित्य लेख्दै थिई |
मेरो घर-अगाडि बाटामा,
एउटी सबलांग सुन्दरी,
छिल्लिएर हाँस्दै थिई ||
निकै ठाँटिएर पहिरनमा,
कुन्नि कता लम्किदै थिई ||
किन दाँजू म आफूसित धनीहरुलाई ?
किन दाँजू म आफूसित सुखीहरुलाई ?
ती त अनन्तताविहिन आत्मा हुन् ‘कठैबरा’,
ती चिन्दैनन् परमेश्वरलाई ‘बिचरा’ |
अन्ततः म त कति धनी,
म त कति सुखी,
किनकि,
धन्य ! परमेश्वर,
तिमीले मलाई त्यस्तो बनाएनौ ||