सानामा म आफ्नो बाबासँग आफ्नो जातिबारे खुब कुरा गर्थें किनकि मलाई आफ्नो जातिबारे खासै केही थाहा थिएन तर पछि बाबाले भनेपछि साँच्चै हाम्रो पनि एउटा गर्व गर्ने इतिहास रहेछ भन्ने सोंचे | मुलतः म हाम्रो तामाखानीको इतिहास सुन्दा हौसिन्थें अनि सोंच्थें तामाको अस्तित्व निश्चय अहिले पनि छ,मैले बाबासित जिज्ञासा राख्दा-‘हुन त हो तर सरकारले नि ध्यान दिन्न,हामीले पनि सक्दैनौं नत्र नेपालमा तामाखानी मात्र होइन सुन-चाँदी सबै किसिमका खनिज पाइने प्रवल सम्भावना छ |’ अनि म देशका कानमा तेल हाली बस्ने नेताहरुप्रति सोंच्छु जो केही गर्दैनन्,बोल्छन् मात्र | म त तामाखानीको प्रचुर सम्भावना देख्छु,त्यसलाई खोजी निकाल्ने जिम्माचाहिं हाम्रै शिक्षित र चेतनशील युवाहरुको हो | यससम्बन्धी आफ्नो दिमाग खियाउन म यहाँनिर समग्र शिक्षित छन्त्याल युवालाई आव्हान गर्छु |
बहुजातीय हाम्रो देशमा विभिन्न अल्पसंख्यक जनजातीमध्ये हामी छन्त्याल पनि एक हौँ | हाम्रो पहिचान कायम गर्न आजसम्म थुप्रै प्रयासहरु भएका छन् र परिणामस्वरुप आज हाम्रो जाति पनि राष्ट्रिय जनजाती सूचीमा दरिन सफल भएको छ | तर यतिमात्र पर्याप्त छैन, हामी प्रत्येकले आफ्नै कर्मक्षेत्रबाट आफ्नो पहिचान कायम गर्न कम्मर कस्नुपर्छ जसबाट जातीय पहिचान आफसेआफ कायम हुन्छ |
एकपल्ट फेसबुकमा ‘हामी छन्त्याल जाति हुनुमा गर्व गर्ने बेला आएको छ’ भनिएको थियो अनि एकजना छंत्त्यल दाजुले ‘गर्व गर्ने आधार नै छैन,केमा गर्व गर्ने ?’ भनी प्रतिप्रश्न गरेथे | हुन पनि हो हम्रोमाझमा राष्ट्रिय स्तरमा कोही सपुत वा सुपुत्री खडा भएको छैन जसको नाम लिंदै हामी गर्व गर्न सकौं,त्यैपनि गर्व गर्ने कुरा धेरै छन्,हामीले माल पाएर पनि चाल नपाएर हो |
मेरा बाबाले भन्छन्-‘हाम्रो जाति आजसम्म अरुजस्तो प्रहरीको खोरमा पुगेको छैन |’ हुन पनि हो, म दैनिकजसो नेटमा वा टिभीमा खबर हेर्छु पढ्छु,त्यसमा असंख्य अपराधका खबर पनि आउँछन्,म नियालेर ती अपराधीको नाउँ-थर पढ्छु,धन्य,मैले अझैसम्म कोही पनि छन्त्याल थरको मानिस अपराधीको सूचीमा दरिएको थाहा पाएकी छैन, के यो पनि गर्व गर्ने विषय होइन त ?
अर्को कुरा अरु बाहुन-क्षेत्री र मधेसी समुदायबीच दाइजो प्रथाले नराम्ररी जरा गाडेको छ जसलाई समाजका शिक्षित भनाउँदाबाट नै टेवा पुर्याइएको छ | परिवर्तन चाहने नारीहरुले तीविरिद्ध आवाज उठाइरहेका छन् तर ‘काग कराउँदै छ,पिना सुक्दैछ’ भन्ने उखान चरितार्थ हुँदैछ | म गर्व गर्छु हाम्रो जातिमा जहाँ दाइजोको ‘द’ पनि हामीलाई ‘कुन्नि कुन चरीको नाउँ’जस्तो छ | तराइमा यो कुरीतिको बिगबिगी भएपनि कस्तो प्रशंसनीय कि हाम्रा छन्त्यालहरू तीनै कुरीतिका पच्छ्यौटेकै समाजमा बसेका भएपनि त्यो कुरीति कहिल्यै पच्छ्याएनन् | बुटवलमा म बस्ने छिमेकी थकालीले बिहेमा (देखासिकीका कारण) बेहुलीपक्षबाट एक ट्रक दाइजोका सामान (टेबुल,सोफा,दराज,आदि) भित्र्यायो तर हाम्रै एकजना धनी निनीले आफ्नी एकमात्र छोरीलाई बिना दाइजो बिहेमा दिईन् | पोखरामा ‘ज्वाईं मोटरसाइकल’ भन्ने दाइजोको रुप अस्तित्वमा छ रे भन्ने सुनेपनि मैले कहिल्यै पनि पोखरेली छन्त्याल युवाले बेहुलीपक्षबाट मोटरसाइकल मागेको सुनेकी छैन | यसकारण मलाई छन्त्याल हुनुमा गर्व लाग्छ नत्र मैले पनि यो कुरीतिको विरुद्धमा थप संघर्ष गर्नुपर्थ्यो होला |
जब यो दाइजोको विरोधमा कुनै ब्राह्मण लेखिकाले राष्ट्रिय अखबारमा चोटिलो लेख लेखेकी देखें वा ‘मधुपर्क’मा ब्राह्मण लेखिकाले दाइजो पिडित नारीको कथा लेखेकी देखें भने मभित्र पनि तर्कना उठ्थे तर मेरा लेख अखबारमा आउन सक्थेनन् | यद्दपी मेरो त्यो अभाव अब रहेन,म अब स्वतन्त्र पंक्षीझैँ लेख्न चाहन्छु र ती परिवर्तनगामी नारि-पुरुषलाई हाम्रो जातिको उदाहरण पेश गरी त्यसलाई पच्छ्याउन घच्घच्याउन चाहन्छु | निश्चय, हाम्रो जीवन-पद्धति ती समुदायको निम्ति अनुकरणीय छ भन्ने कुरामा दुइमत नहोला |
त्यस्तैगरी,सुदुर-पश्चिमतिर प्रचलित ‘छाउपडी’,;छुइ’ प्रथाबारे पढ्दा लाग्छ,हाम्रो जाति शिक्षा र चेतनामा अझै पछाडि किन नहोस् ती त्यस्ता कुरीतिलाई प्रश्रय दिने जातिभन्दा हामी धेरै गुणा बढी स्वविवेकी र स्वचेतनशील छौं | आगामी दिनमा चेतनाको पथमा हाम्रो जाति अरुभन्दा अब्बल हुनेछ भन्ने कुरामा म विश्वस्त छु |
चेतनाको यहाँनिर एउटा उदाहरण दिईहालूँ, मैले हाम्रो जातिको विवाह-पद्धतिबारे आमालाई सोध्दा उहाँले मलाई यस्तो भन्नुभो-‘पहिले-पहिले हाम्रो गाउँतिर सानैमा कन्यादान गरिन्थ्यो,पन्चेबाजा सोली-डोली गरेर बेहुली अन्माइन्थ्यो, तर बेहुला-बेहुली हुर्केर ठूला भएपछि एक-अर्कालाई मन नपर्ने,कहिले बेहुलाले अर्की ल्याउने,कहिले बेहुली अन्तै पोइल जाने..यस्तो अन्याय हुन थालेकोले हाम्रा बाजेले ‘अबदेखि सानैमा कन्यादान नगर्ने’ निर्णय लिए’ रे | वाह ! हाम्रा बाबुबाजे शिक्षित नभएपनि जुन पुर्ख्यौली रितितिथिले समाजलाई नराम्रो असर गर्छ,त्यसलाई छाडिहल्नुपर्छ भन्ने कुराका ज्ञाता | यस्ता उदाहरण अन्यजातिमा विरलै भेटिएला | त्यसैले त अचेल ‘भागी विवाह’ प्रचलित छ | मेला-पात वा चाडबाडका बेला उमेर पुगेका ठिटाठिटी एक-अर्कालाई मनपरेपछि आफै भाग्छन् जसमा दुवैका परिवारले पनि रोकटोक गर्दैन |
अर्को कुरा, अस्ति पत्रिका पढ्दा त एउटी केटी रजस्वला भएकी बेलामा कलेज आएकी भनेर कलेजबाटै निष्कासित रे | आम्मै ! शैक्षिक संस्था धाउनेहरुकै यस्तो सडेको बुद्धि ! यसकारण म भन्छु, हाम्रो जाति पिछडिएको होइन,हाम्रो मानसिकता पिछडिएको हो | हामी पनि परिवर्तन र चेतनाका संवाहक हौँ |पत्रपत्रिकामा जनजातीलाई पिछडा वर्गको रुपमा अंकित गरिएपनि मलाई हामी जनजाती ‘पिछडा वर्ग’ पटक्क लाग्दैन, वास्तवमा पिछडा वर्ग भनेका त त्यस्ता हुन् जो सकारात्मक परिवर्तन चाहँदैनन्,जो संस्कृति र परम्पराका नाउँमा शोषण र उत्पीडनलाई प्रश्रय दिईरहेका छन् | मेरो विचारमा त जंगली जीवन बिताउने राउटे जाति पनि पिछडा होइन किनकि चेतनाको स्तर तिनीहरुमा पनि अब्बल छ |
म जातिवादी होइन,न जातीय भेदभाव नै मलाई मनपर्छ | म त ‘यो मन त मेरो नेपाली हो..’भन्ने गीत हामी सबैले गाउनुपर्छ भन्छु | आम जन-समुदायमा सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन्,त्यस्तै हाम्रोमा पनि छ तर ती नकारात्मक पक्ष पनि चेतनाका आँकुरा साथ बिलाईजानेछन् भन्ने कुरामा म विश्वस्त छु | जुन कुरा अनुकरणीय छ,त्यसलाई सबैले पच्छ्याउनुपर्छ भन्ने मेरो मत हो |
अन्ततः मलाई त छन्त्याल हुनुमा गर्व छ, अनि तपाईलाई नि ?