Sunday, March 8, 2015

छोरी

आज मेरो नाइट सिफ्ट | मलाई नाइट सिफ्टमा काम गर्दा राति पटक्क निद्रा पर्दैन, बरु दिमागमा केके कुरा खेलिरहन्छ | आज झन् मलाई धेरै कुराले गाँजेको छ | अस्ति नै मैले सावित्रीलाई भेटेपछि मेरो मनमा तर्कना उठिरहेका छन्, मेरा मनमा उठेका यी ज्वारभाटालाई साम्य पारिदिनुहुन म परमेश्वरलाई निरन्तर प्रार्थना चढाउँछु |
 घडी हेर्छु, रातिको एक बजिसकेको छ | सबै बिरामीहरुलाई मैले अघि दस बजे नै सुत्न निर्देशन दिएर आफ्नो वार्डमा बसेकी हुँ | कुर्सीमा बसिरहँदा मनमा कुरा खेलाउँदै एकछिन निद्राले झ्याप्पै झुलेछु | अनि म झसँग भएँ | बिरामीको सेवामा समर्पित एक नर्स म, झट्ट उठेर यसो बिरामी वार्डमा हेर्न गएँ | खासगरी इमर्जेन्सीको बेलामा आफ्नो पेजर कराएमात्र त्यतातिर दौडिनुपर्ने हो तर मलाई त बेलाबेलामा त्यसै पनि गएर निरिक्षण गर्ने बानी बसिसक्यो |मेरो वार्डबाहिर सबै सुतिसकेकोले बत्ति निभाइएको थियो | रातको प्रहरमा त्यसै बत्ति बाल्न मलाई मनासिब लाग्दैन, बरु हातमा सधैंजसो इमर्जेन्सी टर्च लाइट लिएर म कोठाबाहिर निस्कें, ‘हातमा लाल्टिन बोकेकी स्त्री’ फ्लोरेन्स नाइटिंगेलजस्तै |यसो सबैतिर नजर फिराएँ, सबै राम्ररी निदाएका थिए | टर्चको उज्यालोले एकछिन सावित्रीको बेडतिर हेरें, ऊ ओढ्नेले मुखसम्मै छोपेर भित्तातिर फर्केर सुतिसकेकी थिई, ढुक्क भएर म फेरि आफ्नो वार्डतिर लागें | मार्बलको चिल्लो भुइँमा मेरो स्यान्डलको ‘टक-टक’ आवाजमात्र आइरहेको थियो |
आफ्नो वार्डमा आएर कुर्सीमा बसेपछि म पुन: सावित्रीको बारेमा सोंच्न थालें | सावित्री मेरै स्कूलकी सहपाठी हो, मैले ऊसँगै एसएलसी दिएँ, त्यसपछि ऊ आर्ट्समा लागी अनि मचाहिं नर्सिंगमा | जे भएपनि ऊ आई.ए. पढेकी पठित हो, तापनि अहिले यिनै पठित भनाउँदाहरुले समाजमा व्याप्त संकुचित मानसिकतालाई टेवा पुराएको देख्दा मलाई साह्रै अफसोस् लाग्यो | तब म सोध्छु, पढी-गुनी यस्तै हुने हो मान्छे ? जानेर-बुझेर पनि समाजका संकुचित सोंचको जाललाई च्यात्न सकिन्न भने शिक्षित हुनुको कुनै औचित्य छैन |
काश ! सावित्रीले परमेश्वरलाई चिनेकी भए…यो जालो उसले च्यात्न सक्ने थिई | तर यस्ता असंख्य सावित्रीहरु छन् हाम्रो देशमा जसले सुसमाचार कुनै रीतिले पनि  सुन्दैनन्, उनीहरुले पनि सुनुन् भनी प्रार्थना गर्नुबाहेक अर्को विकल्प छैन | अँ, गएको हप्ता सावित्री पनि अल्ट्रासाउण्ड गर्न यहाँ आईथी | यस निजी नर्सिंग होममा अल्ट्रासाउण्ड गर्नेको एउटै उद्देश्य हो-गर्भको लिंग पहिचान गर्नु | यसै अनुरुप हजारौं छोरीहरु गर्भमै मारिएको मैले लाचार आँखाले हेरेकी छु |
किन यो पितृसतात्मक समाजले ‘छोरी’को यतिसारो अवमुल्यन गरेको छ ? पहिलेजस्तो छोरी जन्म्यो कि डाँको छोडी रुने क्रम रुपान्तरित भएको छ अचेल, गर्भैमा छोरीको निर्माणाधीन भ्रुण देखियो कि स्वयं आमाकै नै निर्णय हुन्छ-त्यो गर्भ तुहाउने |
मैले कारण धेरैलाई सोधें, कसैले छोरीको संख्या धेरै भइसकेको, कसैले छोरो नै चाहिएको रहर बताए | तीमध्ये कोहीले छोरी लाई दाइजो दिनुपर्ने संस्कारबाट मुक्त हुन यो कदम चालेको बताए | सावित्रीले पनि आफ्ना दुई छोरी भइसकेको र अब छोरोकै रहर भएको बताएकी थिई | कस्ता अबुझ यी अविश्वासीहरु ! परमेश्वर नै सृष्टिकर्ता हुन् जसले हरेकलाई गर्भमै रच्नुहुन्छ भन्ने यिनीहरुले कहिले बुझ्ने ? मानिसको करोडौं शुक्रकिट र डिम्बमध्ये मात्र एक-एकवटा स्वस्थचाहिं मात्र निशेचन प्रक्रियामा सफल हुन्छ र सन्तानोत्पादन हुन्छ, तिनै करोडौं शुक्रकिटमध्ये ‘एक्स’ क्रोमोजोम नै स्वस्थ भएपछि छोरी जन्मिहाल्छ तर मानिसलाई छोरी चाहिएन रे | उफ ! संसार हब्बाकै कोखबाट जन्मियो, परमेश्वरले स्त्री जातिलाई नै आमा हुने सौभाग्य दिनुभयो तर अचेल त्यही स्त्रीको जात घृणित छ, किन ?
मैले काम गर्ने निजी यस नर्सिंग होममा हजारौं बालिकाको गर्भमै हत्या भएको छ | मैले चाहेर पनि यसलाई रोक्न सकेकी छैन | जहिले पनि एबोर्सन गर्न तम्तयार आमाहरुलाई एनेस्थेसियाको सुई दिँदा मेरा हात काँप्छन् र मलाई जहिले पनि अपराधबोध हुन्छ | लाग्छ, म पनि हत्यारालाई सघाउने कर्तव्य ज्यान मुद्दाकी अपराधी हुँ |
हाम्रा डा. मिस्टर देवकोटा, मलाई हत्यारा अनि मलगायत अरु नर्स संलाग्न अपराधी लाग्छन् | होइन, हाम्रो त पेसा नै यही हो, विवसता-बाध्यता नै हो तर परमेश्वरको नजरमा हामी होइन भनेपनि पक्कै दोषी छौं |
एउटा ख्रीष्टियन पत्रिकामा मैले भ्रुणहत्याको विरुद्धमा राम्रो लेख पढें, जसबाट प्रभावित भएर मैले अस्पतालमा सुसमाचार सुनाउन लागें तर एकजनाले पोल लगाईदिएछ, डा. देवकोटाले मलाई अफिसमा बोलाएर कडा चेतावनी दिए-‘….आइन्दा हस्पिटलमा धर्मको कुरा नउठाउनू, गर्भपतनको विरुद्धमा भड्काएर तपाई आफ्नै पेसालाई जोखिममा पार्दै हुनुहुन्छ, ख्याल गर्नुहोला…नत्र म आफैंले तपाईलाई सस्पेंड गर्न नपरोस्, किप द्याट इन योअ माइन्ड मिस सारा |’ डाक्टरको यस्तो चेतावनी पाएपछि म स्वाभावैले लाचार भएँ अनि आफ्नै प्रतिरक्षाको लागि माफी मागें |मलाई कताकता नर्स हुनुमा नै पश्चाताप लाग्यो तर होइन, हाम्रो हात एबोर्संनमा मात्र खटिदैनन् तर प्राण बचाऊमा पनि खटिन्छन् नि भनी आफैंले आफैंलाई सम्झाएँ | मेरी ममीले गाउने पुरानो गाउँले गीत एकाएक सम्झिन पुगें-‘..पानी पर्यो आकाशे तोरीलाई,..जन्म नदेऊ भगमान छोरीलाई..|’ पहिले-पहिले हाम्रा बाजे-बज्यै सबै हिन्दु नै भएकाले त्यस संस्कार-अनुरुप छोरीलाईभन्दा छोरोलाई बढी प्राथमिकता दिईन्थ्यो रे तर धन्न मेरा आमा बाले परमेश्वरलाई बेलैमा चिने नत्र म पनि गर्भमै तुहिन्थें कि के थाहा ?
होइन, फेरि कोही त विश्वासी नै भएपनि छोरीलाई तुहाउँछन् के, हे  येशु ! मानिस कति नीच बन्न सकेको ? सृष्टिकर्ताको संरचनालाई भत्काई ऊ आफैं सृष्टिकर्ताको स्थानमा उभिने दुष्कर्म गर्छ, तर एक दिन पक्का उसले यसको भारा चुकाउनुपर्छ | अँ, हाम्रै छिमेकी मुलुक चीनलाई हेरौं, त्यहाँ विद्दमान ‘एक बच्चा’ नीतिका कारण हरेक आमाबाले छोरीलाई गर्भमै मारी छोरो मात्रै जन्माउने गरे जसले गर्दा अहिले आएर त्यो देशमा महिलाको तुलनामा पुरुषको संख्या धेरै भएको छ अनि विवाह गर्न योग्य चिनियाँ युवकले चिनियाँ युवती नै पाउन गाह्रो भइसक्यो रे, खुच्चिंग |
एकाध कोही-कोही समझदार चिनियाँ आमाबाले मात्र एउटै छोरी जन्माउँछन् रे जसले गर्दा हाल चीनमा तरुनी युवती देखिनु पनि अपवादजस्तै भएको छ रे | मेरी चिनियाँ साथी ‘चुँ ली’ले भनेकी थिई अनि त मलाई कस्तो-कस्तो लाग्यो | मैले उसलाई पनि सुसमाचार सुनाएँ तर चीनमा विश्वासीलाई धेरै गाह्रो रहेछ | तत्क्षणदेखि मैले प्रार्थनामा चीनलाई पनि सम्झिने गरेकी छु |
सावित्री भन्छे-‘छोरी पनि पाउनु, छोरो पनि पाउनु | गर्भ तुहाएरै भएपनि हरेक दम्पतीले एउटा छोरा र छोरी पाएपछि जनसंख्यामा झन् सन्तुलन हुन्छ बुझ्यौ |’ उसले त्यस्तो भन्दा-‘त्यसोभए तिमीले छोरो नपाउनेसम्म गर्भ तुहाउने ? एकदिन तिम्रो गर्भमा छोरो आउला भन्ने के ग्यारेन्टी ? तिम्रो गर्भमा छोरा वा छोरी रच्ने परमेश्वर हुन् बुझ्यौ ?’ भन्न मन लागेथ्यो तर त्यति नै खेर सिमाको पदचाप सुनेर म चुप लाग्न विवश भएँ | त्यो त्यही सिमा हो जसले मैले बिरामीलाई सुसमाचार सुनाएको कुरा डाक्टरलाई पोल लगाइदिएकी | होइन, प्रभुले कसैलाई पनि दोष नलगाऊ भन्नुभा’छ, मैले सीमालाई दोष लगाएको पनि होइन तर उसको कन्सुत्ला बानी मलाई थाहा छ | काममा हामी मिलनसार भएपनि ऊ मेरो अन्तरंग मित्र बन्न सकेकी छैन, बनोस् पनि कसरी ? ऊ अविश्वासी जो परी | तर हाय ! चारैतिर अविश्वासीले घेरिएर मलाई साह्रै गाह्रो भो जसले गर्दा सुसमाचार सुनाउनुपर्ने मेरो मुखमा बुजो लाग्या’छ |
अँ, तर प्रभुले भन्नुभा’छ नि-‘म तिमीहरुलाई ब्वाँसाको बीचमा भेडाझैं पठाउँदै छु…|’ कहिलेकाहीं त यी ब्वाँसा देख्दा विरक्त लाग्छ तर मलाई थाहा छ, म विरक्तिनुहुन्न नत्र प्रभुप्रति म आज्ञाकारी हुन्न | तथापि, मलाई आजसम्म आफूले एउटै पनि आत्मा बचाउन नसकेकोमा अफसोस छ |
यहाँ कसैले बच्चाको आशमा टेस्ट-ट्युब बेबी खोज्छन्, कसैले श्रीमतीमाथि सौता हाल्छन्, ‘सन्तानेश्वर’ भन्दै अनेक देउता भाक्छन् तर फेरी छोरी भए एबोर्सन गर्न पछि पर्दैनन् | यस्ता सिल्लीहरुले सुसमाचार कहिले सुन्ने हुन् खै ! खुय्य…|
तर बुझ्ने हो भने अविश्वासीको यही जमातमा छोरोलाई प्राथमिकता दिनुको घातक प्रमाण यथेष्ट छ | अस्ति म ‘पशुपति वृद्धाश्रम’ गएको थिएँ, त्यहाँ स्वयंसेविका भएर उपचार गर्दैगर्दा मैले ती डाँडामाथिका जूनका इतिवृत्तान्त पनि सुनें | त्यस वृद्धाश्रममा आइपुग्नुको धेरैजनाको एउटै विवशता थियो-‘छोरा-बुहारीले हेपेर घरबाट खेदिएका’ | उफ् ! कति आमाले त्यही छोरोकोलागि अनेक देउता भाकी, त्यसकै लागि कति सुकुमार छोरीलाई गर्भमै फाली होली तर बुढेसकालमा त्यही छोरोबाट त्यस्तो नियति ! च्व..च्व..च्व..| यो त दण्ड पनि हो एक मानेमा | तर जसले ‘तेरा आमाबाबुको आदर गर्’ भन्ने परमेश्वरका वचन नै सुनेका छैनन्, उनीहरुले आमाबालाई कसरी प्रेम गर्न सक्लान् | त्यत्ति हो, आत्मा नै बचाउन नसकेपनि मैले ती बुढा आमाबाको मनमा सुसमाचारको मलमपट्टी थोरै भएपनि लगाईदिएँ | धेरैले भने-‘…बरु मलाई छोरीले माया गर्छे, यसो कहिले-कहिले भेट्न पनि आउँछे तर नौ डाँडापारिकि छोरीले मात्र माया गरी क्यार्नु ? पिण्डपानीदाता छोरोले नै त्यागेपछि…|’ आर्यघाटको चितामा जलेपछि छोरोले दागबत्ती नदिएपनि स्वर्ग गइन्छ भन्ने अन्धविश्वासका कारण धेरै बुढाबुढी त्यहाँ पुगेका रहेछन् | मैले मनमनै चुक्चुकाएँ र ख्रिष्टका सेवकले पनि कुनै यस्तै वृद्धाश्रम खोलोस् भन्ने कामना गरें |
पुवा खोलाले एउटा नवजात शिशुको लाश बगाएर ल्याएको देखेपछि तारा छेमा धेरैबेर रोइन् | ‘मैले पाल्थें नि, किन यसरी खोलामा मिल्काएकी होला त्यो असत्ती आमाले !’ भन्दै गाली गरिन् | छेमा त्यतिबेला बाँझी थिइन् र त अर्काले फालेको नवजात बालिका शिशुलाई पनि बेहोर्ने मनसाय व्यक्त गरिन् तर पछि उनको गर्भ भरियो | यद्दपी, पाँचवटा छोरी भइसकेर पनि उनलाई छोरोको आशचाहिं अझै मरेको छैन | उनी गाउँमा भएकी भएर पो ती छोरीहरुको प्राण जोगियो नत्र शहरमा भएको भए उहिल्यै गर्भमै मारिन्थे होला |
एक दशक अगाडि गर्भपतनलाई हत्याकै अपराधमा राखिएको थियो तर अनिक्षित गर्भलाई लुकिछिपी तुहाइने वा मार्ने क्रम रोकिएन अनि धेरै अविवाहित आमाहरु नानी मारेको अभियोगमै जन्मकैदमा कुँजीए | त्यसैकारण गर्भपतनलाई कानुनी मान्यता दिन आवाज उठाइयो र यो वैध भयो तर यसले सरासर परमेश्वरको विरुद्धमा पाप जन्माएको छ | अनिक्षित गर्भ तुहाउने छुट दिइएको थियो तर अहिले आएर सबले छोरी तुहाउन लागेछन् |
मलाई अफसोस् लाग्छ, मैले सावित्रीलाई रोक्न सकिनँ | परमेश्वरदेखि अलग ऊ जडसूत्रवादी, मेरो कुरा के सुन्थी र, अन्तत: म त ‘जंगलको रुवाइ’ रुने बालिका पो भएँ | यद्दपी मलाई यो विकृति रोक्न परमेश्वरले अझै शक्ति दिउन् भन्ने म चाहन्छु |
अप्रेसनपछि निकालिएका सबै छोरीहरुको भ्रुण कुखुराका चल्लाझैं डल्लो परेर निदाएका थिए, ती दृश्य देख्दा म आमा नभएपनि मेरो मन धेरैपल्ट भाँचियो, सोंचे यी भ्रुणहरुलाई अलग्गै एउटा इन्क्युबेटरमा राखेर हुर्काउँ अनि ठूला भएपछि आफ्नै छोरी बनाएर राखूँ…तिनीहरुलाई पनि परमेश्वरको सन्तान हुने अवसर सुम्पूँ तर..तर म विवश छु |
तीन महिनाअघि एउटी महिलालाई पनि म घरीघरी सम्झिन्छु | उसले यही अस्पतालमा दुईचोटी छोरी फालेकी थिई | एबोर्सन आफैंमा एउटा जोखिमपूर्ण कार्य हो जसले आमाकै स्वास्थ्यमा प्रतिकुल असर पुग्छ, ती महिलाको स्वास्थ्य-स्थिति पहिल्यैदेखि खराब थियो, एबोर्सनले नराम्रो असर गर्न सक्छ भन्दाभन्दै पनि उसले एबोर्सन गराई | त्यो त उसको बाध्यताजस्तै थियो किनकि ऊ कट्टर ब्राह्मण कुलकी बुहारी थिई जसले लगत्तै तीनवटी छोरी पाइसकेकी थिई र संस्कारैले छोरोको अपरिहार्यता औंलाईरहेको थियो | त्यसैले दुइटी छोरी त फाली तर पछि भाग्यले साथ दियो कि कुन्नि, उसको गर्भमा छोरोले बास गर्यो | अल्ट्रासाउण्ड गरेको दिन उसको मुहारमा बेग्लै चमक देखिएको थियो, मलाई अफसोस् लाग्यो | तर यसपाली उसलाई गर्भवती हुनुमा ठूलो जोखिम थियो, मैले त्यसबारे अवगत गराएँ तर डा. देवकोटाले मेरो कुरा काटेर यसलाई हल्का रुपमा प्रस्तुत गरे | अँ, डा. देवकोटालाई व्यक्तिको ज्यान होइन पैसाकै बढी माया छ जुन मलाई पटक्क मनपर्दैन तर विवशतावश म पनि त्यही ड्यांगको मुला भइछु |
अँ, आठौँ महिनामा उसलाई व्यथाले साह्रै च्याप्यो | हामी सबै इमर्जेन्सीमा थियौं | तत्काल अप्रेसन गर्नुपर्ने भो, अनि तत्काल नै आमा र बच्चा दुईमध्ये कसलाई जोगाउने भनेर साइन गराउनुपर्ने भो | तत्क्षण मैले तिनको सासुआमाको निर्णय सुनेर अवाक भएँ | उनले गर्भको छोरोलाई बचाउन भनिन् अनि उनका छोरा र पतिचाहिं मौन स्वीकृतिमा उभिरहे | हामीले आमालाई पनि बचाउन हरसम्भव प्रयास गर्यौं तर हाम्रो प्रयास बिफल भयो | गर्भको छोरोचाहिं नौ महिना इन्क्युबेटरमा बसेर घर डिस्चार्ज भयो |
उफ़, छोरा-छोरीमा अझै यो भेद किन ? के छोरीको जिन्दगी यस्तो सस्तो छ ? जबसम्म परमेश्वरका वाणी यी अविश्वासीको हृदयमा गड्दैन, तबसम्म नवजात छोरीको भ्रुण-हत्या रोकिंदैन अनि त्यसमा मजस्ता परमेश्वरका छोरीहरुले बाध्यतावश हात पसार्नुपर्ने क्रम पनि रोकिंदैन | ‘हाय ! परमेश्वर,यो लाचारीबाट मलाई मुक्ति मिलोस्’ भनी एकपल्ट लामो सुस्केरा तानें, त्यसैबेला, मेरो पेजर टिँटिँ गर्दै करायो, यसो हेरें, मेरो नाइट सिफ्ट सकिएर बिहानीको सिफ्ट सुरु भइसकेछ | अब पन्ध्र मिनेटपछि सिमा आउँछे | एकपल्ट फेरि सबै बिरामीको अवस्था हेरी अर्को सिफ्ट नआउन्जेल त्यहाँबाट बिदा हुने तरखरमा लागें |
(समाप्त)
प्रतिक्रिया दिनुहोस्