Sunday, October 11, 2015

मेरा बाबा फत्तेबहादुर

अँ, फत्तेबहादुर, खासगरी मेरा बाबाको असली नाम होइन | उहाँको खास नाउँ त ‘यमप्रसाद’ पो हो तर कुनै पनि काम ठीक समयमा फत्ते गरिहाल्ने राम्रो बानीका कारण मलाई आफ्नो बाबालाई ‘फत्तेबहादुर’ नाम दिन मन लाग्यो |

मेरा बाबा भारतीय सेनाका अवकाशप्राप्त सैनिक, हामी छोराछोरीप्रति जति मायालु हुनुहुन्छ,त्यति नै कडा पनि | प्राय: सैनिक जीवनमा कडा अनुशासनमा रहेरै होला,उहाँमा कुनै पनि काम ठीक समयमा गर्ने-गराउने बानी छ जसकारण यदाकदा अलिकति ढिलो भइहाले-‘कति ढिलो गरेको,कछुवा हो!,छिटो गर’ भनेर थर्काइहाल्ने बानी छ |

हाम्रो देशका नेताहरुकोचाला देख्दा मलाई कतिखेर मेरा बाबाजस्तो हुनुपर्छ नेता-सेता भनेर व्यङ्ग्य गर्न मन लाग्छ |एकपल्ट मलाई कलेज पुराउँदा ढिलो भयो भन्दै मलाई अत्ताउनुभा’थ्यो तर पछि कलेज पुग्या त आधा घण्टा छिटो पो पुगिएछ,कलेजको गेट नै बन्द देखेर मैले बाबालाई हाँस्दै गुनासो गरें |

प्राय: हाम्रा देशमा नेताहरु मात्र होइन आम सर्वसाधारण पनि कुनै काम गर्नुपर्यो भने केही मिनेट वा घण्टा ढिलो गर्ने वा ‘भोलि’ भन्दै पन्सिने बानी छ | मूलत: यही कारण नै आज हाम्रो देशको जर्जर अवस्था भएको हो |मेरा बाबाले त  जहिले पनि घडी पनि दस मिनेट चलाख राख्नुहुन्छ, एकपल्ट उहाँको घडी हेरेको त फास्ट देखेर छक्क परें,’किन’ भनेर सोधेकी त ‘घडी फास्ट राख्यो भने कुनै पनि ठाउँमा बेलैमा पुगिन्छ,बुझिस्’ भन्नुभो |

राजा ज्ञानेन्द्रले आम जनतालाई प्रमको नाम सिफारिस गर्न भन्दा एकपल्ट मैले बाबासित ठट्टा गरें-‘बाबा ! घरीघरी ती पुरानो नेता दोहोरिनेभन्दा हजुर कहिल्यै राजनीति नगरेको मान्छे प्रम किन हुँदैन,बरु हजुरले पनि उम्मेदवारी दिए कसो होला ?’ बाबाले पनि हाँस्दै भने-‘हुन त हो,तर हामी राजनीति पटक्क नजानेको मान्छेले उम्मेदवारी दिएर के गर्नु ?,हामीलाई केही थाहा छैन |’ अनि मैले भने-‘कतिपय काम मान्छेले भोगेर वा परेरै सिक्छन्,के एउटा गरिब किसान अनपढ नै भएपनि परेपछि उसले देश पनि चलाउन सक्दैन त ?’ त्यसपछि बाबाले यो मेरो कुराको पनि समर्थन गर्नुभो तर देशमा छट्टु नेताको चलखेल भएकोले गरिब किसान प्रम बन्न सक्ने स्थिति सम्भव छैन भन्नुभो | म घोत्लिएँ,मलाई एकएक हिन्दी फिल्म ‘नायक’ झल्याँस्स याद आयो,सोंचें-‘त्यस्तै नेपालमा भए त...|’

थाइल्याण्ड,म्यानमार,पाकिस्तान आदि देशमा सैनिक ‘कू’ भयो अनि ‘प्रजातन्त्र’को हत्या भयो भन्ने खबर आयो | मलाई जिज्ञासा जाग्यो-‘बाबा,सैनिक शासन किन राम्रो हुन्न र ?’ अनि बाबाले भन्नुभो-‘नराम्रो भन्न पनि मिल्दैन,किनकि सेनाहरु कडा अनुशासनमा रहेका हुन्छन् र जे बोल्छन् गरेरै छोड्छन् |’ मैले पनि ‘हो है बा’ भन्दै समर्थन जनाएँ |

त्यसपछि एकछिन बाबु-छोरी परवेज मुसर्रफको बारेमा गफियौं | तत्कालिन अवस्थामा उनलाई देशद्रोहको आरोप लागिरहेको थियो | मैले भनें-‘बा ! मुसर्रफले गर्दा त भारत-पाकबीच शान्ति सम्बन्ध हुन सक्यो है ?,ऊभन्दा अघि कसैले पनि ती दुई देशलाई मिलाउन सकेको थिएन |’ बाबाले समर्थन जनाए-‘हो,मुसर्रफलाई सेनाको पीडा थाहा थियो,दुई देशबीच लडाईं भएर कति युवा अकालमा मरे,प्रमहरुचाहिं परमाणु आक्रमणको योजना बनाउदै थिए रे,मुसर्रफले थाहा पाएर शासन आफ्नो हातमा लिएका,जो-जोले जे भनेपनि उनले जे गरे राम्रै गरे | एउटा सेना राष्ट्रध्यक्ष भयो भने देशमा अनुशासन कायम रहन्छ |’

बाबाको कुरा सुनेपछि मलाई त हाम्रो देशमा सैनिक शासन भए कसो होला भनी सोच्न पुगें,हाहाहा | तर जे जस्तो भएपनि मैले हाम्रो नेपालमा मेरा बाबाजस्तै फत्तेबहादुर नेताको खाँचो भएको ठानें र यसैमा जोड दिएँ | 
प्रतिक्रिया दिनुहोस्