Tuesday, August 30, 2016

नेपाली कथा


‘साँच्चै म तिमीहरुलाई भन्छु, कोही पनि नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन |’
ख्रीष्टमा आइसकेर पनि कसैलाई नयाँ गरी जन्मिन कति ढिलो लाग्दो रहेछ है ? तै अब त मेरो मन हलुङ्गो भएको छ | नयाँ गरी जन्मिनसकेको प्रभुका छोराछोरी धेरै छन् र सायद म पनि यही पंक्तिमा पर्छु तर मेरो प्रार्थना सदा प्रभुलाई छ कि ‘प्रभु ! केही कुरामा मेरो पनि कमजोरी भए मलाई देखाइदिनुस् ताकि म परिवर्तित  भई नयाँ हुन सकूँ |’
माया बसेपछि पवित्र विवाहको टुंगोमा पुग्न मलाई लामो समय नै लाग्यो | मलाई थाहा छ कि प्रभुको इच्छानुसारको समय नहुन्जेल हामी विवाहको लागि हतारिनुहुन्न, त्यसैले म कहिल्यै हतारिनँ र प्रभुले मलाई आत्मसंयममा निरन्तर दृढ हुन शक्ति प्रदान गरिरहनुभयो, हल्लेलुयाह !
मैले सानै छँदाखेरि दलित भएकैले जातीयताको आधारमा हुने क्रुरता भोग्दै र देख्दै आएको हुँ | म्याग्दी जिल्लाको पात्लेखेत भन्ने गाउँमा म जन्मेको हुँ | मेरा आमाबा दुवै साहुको खेतमा काम गर्थे र हामी तीनजनाको सानो परिवार बस्तीको पुछारतिर एउटा सानो झुप्रोमा बस्थ्यौं | अलि ठूलो भएपछि मैले थाहा पाएँ कि हामी अछुत जात भएकोले १०-२० घर दलितहरुको झुप्रो मात्र गाउँको पुछारमा गुजमुज्ज रहेछ |  म त्यस्तै ४/५ वर्षको हुँदो हुँ, बाबाले साहुको १०/१२ वर्षको छोरोलाई उसको मामाघर पुराउँदा म पनि जान्छु भन्दै पछि लाग्थें | मैले हत्ते गरेपछि ‘ल आइज-आइज भुन्टे तर बाटोमा मलाई सताउन पाउन्नस् है भन्द्या’छु’ भन्दै बाबाले मलाई आउने अनुमति दिन्थे र म खुशीले उफ्रिंदै उहाँको पछि-पछि दौडन्थें |
गजबको कुरो के भने साहुको छोरो सुकिलो जुत्ता पहिरेर पनि जहिल्यै मेरा बाबाको काँधमा कानाकुटी गरेको हुन्थ्यो र म चाहिं खाली खुट्टै ढुंगा, माटो र काँडा टेक्दै दौडन्थें, मलाई कताकता आरिश लाग्थ्यो तर म चुपचाप सहिबस्थें | उकाली-ओरालीमा जाँदा-जाँदा थकाइ लागेर चौतारीमा बस्दा खाजाको पोको खोलिन्थ्यो, मैले हेर्दा मेरा बाबाको भागमा एउटा मैलो लुगाको पोकोमा ठेट्ना मकै हुन्थे अनि साहुको छोरोको चाहिं सिलावरको बाकसमा फूल उठेका मकै हुन्थे | बाबाले मलाई पनि त्यही ठेट्ना मकै दिन्थे अनि म चुपचाप मीठो मानी खान्थें | उता साहुको मामाघर पुगेपछि पनि त्यस्तै हुन्थ्यो, हामीलाई पातमा बासी-बासीजस्तो डढेको भात खान दिन्थे अनि फुच्चे साहुलाई त थालभरि र्यालै चुहिने व्यंजन, त्यैपनि हामी आफ्नो भाग मीठो मानी खान्थ्यौं | मेरो बाल-सुलभ मनमा भने असंख्य जिज्ञासाले डेरा जमाउन थालिसकेको थियो |
राति सुत्ने बेलामा बाबाको चिउँडो तानी सोधें-‘बाबा किन महेशलाई सधैं कानाकुटी, खै त मलाई ?’ अनि उहाँले भन्नुभा’थ्यो-‘साहुको छोरो राजाको छोरोझैं हो भुन्टे, हामी स्यानो जातले सधै ठूलोलाई बोक्नुपर्छ क्या !’
‘अनि खानेकुरा नि किन हामीलाई नराम्रो, उनीहरुलाई मात्र राम्रो ?’ मैले फेरि सोधें |
‘हामी स्यानो जातले ठूलो जातले जस्तै खानुहुन्न क्या, उनीहरुले जस्तो दिन्छ, त्यस्तै खानुपर्छ बुझिस् ?’
म असमन्जसमा पर्थें, ठूलो जात भएर जन्मिनु त भाग्यमानी रहेछ भनी सोंच्थें अनि माथि आकाशतिर निलो गगनलाई हेरेर सोध्न मन लाग्थ्यो-‘...ए भगमान ! हामीलाई किन सानो जात बनाको ?’ तर म कतै जवाफ पाउँदिन थिएँ | यस्तै गरी सानो जात कहलिएरै र समाजको सामु होंचिएरै दबिएरै हाम्रा दिन बित्न थाले | म बिस्तारै हुर्कदै गएँ | मलाई जातपातको आधारमा हुने भेदभाव जरैदेखि उखेल्न मन लाग्थ्यो तर कसरी ? मलाई केही पनि थाहा थिएन, त्यसैले चुपचाप सहेरै जिन्दगी बिताउनुको कुनै विकल्प थिएन | ठूला जातका मान्छेहरु पनि कस्ता त नि ? तिनीहरुको कुकुर चाहिं घरभित्र पस्न पाउने, खानेबेलामा नजिकै आएर चाट्न पाउने तर हामी मान्छे भएर पनि नपाउने रे, तिनीहरुले खाँदा हामीले छुन पनि नहुने रे |
(छोए मर्नेजस्तो के, बरु साँच्चै हामीले छुँदा साँच्चै मर्ने भएको भए जाती हुन्थ्यो भन्ने कल्पना आउँथ्यो, कम्तिमा हामीलाई उत्पीडित त हुनुपर्ने थिएन किनकि हेप्यो भने ‘पख् ! तँलाई छोइदिन्छु अनि खालास च्युरा !’ भनी डर देखाउन पाइन्थ्यो, त्यसपछि त हामी ती ठालु भनाउँदाहरुलाई खूब खेद्ने थियौं अनि अन्तमा उनीहरुले हात जोडेर हामीलाई नछोईदिनुस् भनी बिन्ती गर्थे र हामी पनि सानले आइन्दा हामीलाई नहेप्ने शर्तमा सम्झौता गर्थ्यौं | स्वैरकल्पनामा म यस्तो पनि सोंच्थें अनि कल्पनामै भएपनि टाढैबाट साहुले आफ्नो प्राण जोगाउन मेरा बाबाको अगाडी हात जोडेर निहुरेको दृश्य म कल्पन्थें, तर ती सब कल्पना मात्रै हुन्थे, वास्तविकता सदा क्रुर थियो |)
हाम्रो जातिले नै सिलाएको लुगा लगाउन हुने, हाम्रो जातिले सिलाएको जुत्ता लगाउन हुने, हाम्रै पसिनाले रोपेको धान-बालीले अन्नका भकारी भर्न हुने अनि हामीले नै बनाएका औजार चलाउन हुने तर खाना र पानी छुन नहुने रे, हैन, कुन असत्तिले बनाएको नियम हो यस्तो ? अरु त अरु, हामीले नै ढालेको ढलौटको मूर्ति मन्दिरमा राख्न हुने रे तर त्यहीं हामी नै पस्न नहुने रे, त्यस्तो अन्याय हुँदा मेरो कन्सिरी कम्ति तातेन, (त्यतिबेला नगरेको भएपनि चिच्याएर ‘त्यही मूर्तीमा मैले आची गर्या हुँ, ऊ त्यो सुनौलो मुकुटमा मेरो आची पनि लत्पतिएको छ’ भन्दिउँझैं हुन्थ्यो, हाहाहा !) | अनि अँ साँच्चै, एकपल्ट धारामा पानी छोयो भनेर हर्के दाइलाई साहुले निगालोको लौरोले बेस्सरी चुटेको देखें, मैले त्यहीं गएर रोक्न नसकेपनि राति कसैले नदेख्नेगरी माथि मूलमा गएर ‘ला खा त, बजिया !’ भन्दै त्यहीं हगिदिएँ | पछि धेरै दिनसम्म मूलमा कसले हग्यो ? भनेर गाउँभरि खूब हल्लीखल्ली भयो तर जे होस् दोषी पक्रिएन अनि म चाहिं अलिकति डराए पनि मनमनमा रमाएँ | अरुसित त मैले लुकेरै भएपनि त्यसरी बदला लिएँ तर आफ्नै जातिभित्रै त्यस्तै पर्खाल ठडिएको देख्दा मलाई लज्जाबोध भयो | कुरा के भने सबै दलितै भएपनि विश्वकर्माले दर्जीलाई अनि दर्जीले सार्कीलाई घरभित्र पस्न नदिने कुरा थाहा पाएँ, तब मलाई अरुसित विद्रोह गर्नु ठीक लागेन | पहिला आफ्नै आँखाको कसिंगर फाले पो अरुको फाल्नु त नि |        
ख्रीष्टमा आएपछि बल्ल हाम्रो जातिभित्र परिवर्तन र चेतना आयो, तै मैले अरुसित गर्ने विद्रोह छाडें | न्याय-अन्याय छुट्टयाउने त परमेश्वर जो हुन्, उहाँकै हातमा प्रतिशोधका तमाम भावना सुम्पिन सिकेँ | म १२ वर्षको हुँदो हुँ, गाउँमा पनि सुसमाचारको लहर फैलियो, मेरा आमाबा असाध्य  प्रभावित हुनुभएछ अनि फलस्वरूप, म आमाबासँगै ख्रीष्टियान भएँ |
‘हन त बुडी, ख्रीष्टियान भएपछि हामी सानो जात भनेर मान्छेले हेला गर्दैन भने हामी नि किन नहुने ख्रीष्टियान ? हामीलाई नि दुःख छ, दुःख परेको बेलामा पुकार्ने भगुमान चाहिया’छ, ऊ गाउँको मन्दिरको मूर्ति हाम्रै बाजेहरुले बनाका हुन्, त्यहाँ हामीलाई नै जान दिन्नन् ठालूहरूले तर यो येशुलाई मान्नेहरुले चैं कसैलाई स्यानो जात भनेर छोइछिटो गर्दैनन् रे...|’ बाबाले आमालाई यस्तो भनेको म सुन्थें |
‘हो है बुडा, यही समाजमा हामी पनि मान्छेजस्तै हुन पाउँछम् भने किन त्यता नलाग्ने है ?’ आमाले पनि सन्तोषभावले सहमति जनाएको म सुन्थें र म यो नयाँ समाजप्रति ज्यादै कौतुहल भएँ |
शनिबारको दिन गाउँदेखि एक घण्टा ओरालै-ओरालो झरेपछि सिम्पानीमा आयौं | त्यहाँ ख्रिष्टियनहरुको मण्डली छ रे भन्ने सुनेको थिएँ र हामीलाई सुसमाचार सुनाउने मान्छेले त्यो मण्डलीमा आउन भनेकोले हामी चारै जना (त्यतिन्जेल आमाको काखमा तीन महिनाकी मेरी बहिनी आइसकेकी थिई) तल झर्यौं, हामीसँगै हाम्रा काकाहरु पनि थिए | मलाई मण्डली भनेको के होला ? कस्तो हुन्छ होला ? भन्ने ज्यादै जिज्ञासा बढिरहेको थियो अनि त्यहाँ पुग्दा सबको आदरपूर्वक नमस्कार (जय मसिह) को अभिवादनका साथ सबै जाति भुइँमा मिलेर परमेश्वरको स्तुति गाइरहेको देखें | त्यहाँ सबले एउटै अमखोराबाट पानी पिउँथें, पहिलोपल्ट त्यस्तो दृश्य देखेर मलाई यही लोकमा स्वर्ग मिलेजस्तो भयो, म गद्गद् भएँ किनकि धनी-गरिब, उँच-नीच मा भेदभाव नराख्ने एकमात्र प्रभुको मन्दिरमा आएको थिएँ | त्यसपछि बिस्तारै म परमेश्वरमा बढ्दै गएँ |
ख्रीष्टियानबाहेकको समाजले त हामीलाई हेपेकै थियो तर तिनीहरुको हेला ख्रीष्टियानहरुको सामिप्यता र संगतिको बेला बिर्सिन्थ्यो किनकि तुच्छ संसारमा पनि स्वाभिमानले हाँसेर बाँच्न प्रभुका वचनले सिकाएको थियो |
‘ए ! तिमीहरु ख्रीष्टियान भयौ रे हो ? त्यो कुइरेको धर्म मानेर तिमीहरुको जात ठूलो हुने होइन केरे, हाहाहा...’ यस्तै भनेर मलाई स्कूलमा जिस्काउँथे | सात कक्षासम्म जिस्काउने क्रम चलिरह्यो, पछि त ती जिस्काउनेहरुको पनि समानताप्रति अलिकति बुद्धि पलाएछ क्यारे, मलाई जिस्काउने क्रम कम भयो तर माओवादी जनयुद्धका कारण एसएलसी परिक्षा सदरमुकाममा सारिएको बेलामा बाध्यताले जात ढाँटेर कोठा खोजेको सम्झनाले अझै मन दुखाउँछ | यसकारण, म जहिल्यै प्रभुको राज्यको लागि प्रार्थना गर्थें, गर्छु |
मैले एसएलसी दिएपछि हामीलाई ठूलो वज्रपात पर्यो, तर जस्तै दुःख परेपनि परमेश्वर साथैमा भएपछि सबैकुरा सहन सकिने रहेछ | हाम्रा  जीवनमा घट्ने जतिपनि नराम्रा घटनालाई परमेश्वरले एउटा योजना बनाएर नै घट्न दिनुहुन्छ | हामी सबै परिवार बेंसीमा धान रोप्न झरेको त्यो बेलामा राति पहिराले हाम्रो झुप्रो बगायो, तै हामी सबै बाँच्न सकेकोमा परमेश्वरलाई धन्यवाद दियौं | त्यही विपत्तिले हामीलाई गाउँबाट सदरमुकाम अनि सदरमुकामबाट राजधानी पुर्यायो र यहीं नै मेरा संघर्षका दिन सुरु भए |
परमेश्वरले मेरोलागि पहिल्यै योजना बनाउनुभएको रहेछ र म उहाँकै योजनाअनुसार हरेक खुड्किलामा सफल हुँदै गएँ | काठमाण्डौको सुकुम्बासी बस्तीमा मैले सेवकाइ गर्न थालें, त्यसैताका मलाई बनेपाका एकजना गुरुबाकी छोरी आराधना मनपरिन् |
पहिलो भेटको सामान्य परिचयपछि हाम्रो मायाले मौलाउने अवसर प्रत्यक्ष भेटेर भन्दा अप्रत्यक्ष भेटेरै (अर्थात् मोबाइल वा इन्टरनेटबाट) पायो | त्यसबेला म भर्खर स्नातक पहिलो वर्ष पढ्दै थिएँ र साथै मण्डलीको जवान अगुवाको रुपमा सेवाकाइ पनि गर्दै थिएँ | मलाई उनी परमेश्वरले जुटाइदिनुभएको असल प्रेमिका लाग्थ्यो जोसित मेरो वैवाहिक सम्बन्ध सफल रहोस् भनेर म सधैं प्रार्थना गर्थें | उनी पनि स्नातक पहिलो वर्षमा अध्ययनरत थिइन् | हामीले पढाइका कुरा, प्रीतिका कुरा, विश्वासका कुरा, भूत, वर्तमान र भविष्यका कुरा सबै गर्यौं र मैले उनलाई निकै समझदार एवं सुशील कन्या पाएँ |
उनलाई १२ सकिनासाथ बिहेको लागि माग्न आएछन् तर उनले स्नातक सकिएपछि बल्ल बिहेको लागि सोंच्ने भनिछन्, त्यसैले छोरी माग्नेहरू चार वर्षका लागि पाखा लागे | त्यतिन्जेल हाम्रो माया सललल बगिरह्यो तर पछि अवरोध पनि आयो | स्नातक सकिनासाथ फेरि पनि छोरी माग्ने आएछन् | आराधनाको अस्वीकृती त्यसबेला पनि आएपछि कारण खोज्ने क्रममा उनका अभिभावकलाई पहिलोपल्ट हाम्रो प्रेम-प्रसंग थाहा भएछ | त्यसपछि मेरोबारेमा केरकार गरेर सबै कुरो पत्ता लगाएछन् | अनि एकदिन बेलुकीतिर उनकै नम्बरबाट ससुराज्युको फोन आयो | ‘हेलो डिय’ भन्नै लागेको थिएँ, धन्न ‘हेलो’ मात्र भन्दाभन्दै उताबाट पुरुष आवाज आयो ‘जय मसीह ! प्रकाशजी’, म हल्का तर्सिएँ | आफैंलाई सम्हाल्दै ‘जय मसीह गुरुबा !’ भनी अभिवादन फर्काएँ अनि उहाँले लामै प्रवचन दिई मलाई सम्झाउन थाल्नुभयो |  
‘अँ त तपाईको बारेमा आराधनाले मलाई सबै कुरा बताई | तपाई प्रभुको एउटा असल छोरो भन्ने मलाई थाहा छ, मेरी छोरीसित प्रेम गर्नुहुँदोरहेछ, यसमा म खुशी नै छु तर तपाईको प्रेम मलाई जाँच्न मन लागेको छ | तपाई र मेरी छोरी दुवै जवान हो, त्यस्तै परेको बेलामा प्रभुमा निष्ठावान जवानहरु पनि चिप्लेर तल खसेको मैले देखेको छु, त्यसैले हत्तपत्त म तपाईलाई ज्वाईं स्वीकार्न सक्दिनँ | मेरी छोरीको तपाईप्रतिको आसक्तिलाई म जावानीको भेल भन्छु र तपाई पनि उही ड्यांगको मुला हो भन्दा अतिशयोक्ति नहोला | हामीले दुःख गरी छोरीलाई जन्मायौं, पढायौं-हुर्कायौं, अब उसलाई एउटा सक्षम व्यक्तिको जिम्मामा सुम्पिनु छ...तपाई मिनिस्ट्री मात्र गर्ने मान्छेलाई म छोरी दिन सक्दिनँ.......|’
बीच-बीचमा मैले हजुर भन्दै कुरा सुनें, अन्तमा मलाई स्वास्नी पनि पाल्न नसक्नेजस्तो असक्षम ठानेको देखी मन अलिकति कुँडियो तर तत्काल निडर भई जवाफ दिइहालें-
‘हजुर मैले तपाईको आशय बुझें | मलाई पनि वैवाहिक जिम्मेवारीका कुरा थाहा छ, मैले ती जिम्मेवारीलाई बेवास्ता गरेको छैन | अहिले भर्खर म ग्रेजुएट भएको छु, म पनि एउटा गतिलो टेकोमा टेक्ने भएपछि बल्ल बिहे गर्ने सोंचमा छु | म तपाईकी छोरीलाई साँचो प्रेम गर्छु..तपाईहरुको मन्जुरीमा नै पवित्र विवाहको बन्धनमा बाँधिने धोको छ हाम्रो | बस्, म भोलि सक्षम भएर आउन्जेलसम्म आराधनालाई कोही अरुसितै बिहेको दवाव नदिनुहोला भनी बिन्ती गर्न चाहन्छु | परमेश्वरले हामीलाई अघिबाटै जुराउनुभएको हो, यसकारण तपाईहरु पनि हाम्रा निम्ति प्रार्थना गर्नुहोला | म आराधनाको हात माग्न आउनेछु...छिट्टै आउनेछु |’
मैले यति भन्दा ससुराबाले अति झिझो लागेको पारामा ‘हुँ, ठीक छ, म पनि हेरम्ला’ भनी फोन राखिदिए | त्यसपछि मलाई नरमाइलो लाग्न  थाल्यो, प्रभुले हाम्रो प्रेम सफल पारुन् भन्ने कामना गर्दै आफूलाई सम्हालें | त्यही दिनको बेलुकी सुत्नेबेलामा आराधनालाई फोन हान्छु त लाग्दै-लाग्दैन बा ! भोलिपल्ट पनि हान्दा फोन नलागेपछि पक्कै ससुराबाले मसित कुरा गरेपछि फोन पुन: आराधनालाई दिएनछन् भन्ने अड्कल काटें | साँच्चै हो रहेछ, दुई दिनसम्म त हाम्रो च्याटमा भेट नै हुन सकेन, कस्तो रातभरि निद्रा नलागेर कति आत्तियो कति, त्यो दुई दिन दुई महिनाझैं लाग्यो | जे होस्, दुई दिनपछि उनले आफ्नी साथीको मोबाइलबाट कल गरिन् र उनको मोबाइल बाबाले जफत गर्नुभएको र हाम्रो प्रेम-सम्बन्ध मन नपरेको कुरा बताइन् | उनी त बोल्दाबोल्दै रुन थालिन्, मैले ‘नरोऊ, हाम्रो प्रेमको साक्षी परमेश्वर छन्, तिमी र म दृढ भइरह्यौं भने हामीलाई कसैले पनि छुट्ट्याउन सक्दैन’ भनें अनि ‘मेरो आर्थिक अवस्था त्यति राम्रो नभएकोले तिम्रा बा हिच्किचाएका हुन्, यो कुरा म राम्ररी बुझ्न सक्छु | म पनि मेरो क्यारियर बनाएर बल्ल तिमीलाई बिहे गर्ने सोंचमा छु, आफैंलाई सम्हालेर मलाई पर्खिबस, म तिम्रो हात माग्न आउनेछु चाँडै...बस् ! तिमीले हिम्मत नहार ल...|’ भनेर पनि सम्झाएँ | यति भन्दा मेरा आँखामा पनि आँसु भरिए, तत्क्षण त हाम्रो मिलन फेरि नहोला कि झैं लाग्यो |
आराधनासित फोनमा भेट हुन नसके पनि मैले ससुराबालाई आफ्नो संकल्प भनिसकेको थिएँ, त्यसैले त्यही संकल्प पूरा गर्नतिर लागें | मेरो आफ्नो भन्ने त्यही  सुकुम्बासी बस्तीको एउटा जस्ताको छानो भएको छाप्रो थियो, त्यही छाप्रोमा आराधनालाई भित्र्याउने चेष्टा म गर्न सक्दिन थिएँ, त्यसैले उनकै लागि भएपनि केही वर्ष विदेशिने निधो गरें | प्रभुलाई सहायता गर्न प्रार्थना गर्दै जाँदा प्रभुले एकदिन मेरो प्रार्थनाको उत्तर दिनुभयो अर्थात् मैले पूर्ण छात्रवृत्तिमा यु.के.मा तीन वर्ष एम.डिभ. पढ्ने अवसर पाएँ | प्रभुकै वचनमा पढ्ने पनि अनि काम गरी कमाउने पनि, मनले खोजेकै अवसर पाएँ | प्रभुलाई धेरै-धेरै धन्यवाद दिंदै यो खुशीको कुरा फोन गरी ससुराबालाई सुनाएँ (पहिले आराधनालाई नै सुनाउन मन थियो खास तर...)  |
‘गुरुबा ! म तीन वर्षको लागि यु.के. जाँदैछु, आराधनालाई पनि भनिदिनुहोला...त्यसपछि म छिट्टै आउनेछु, तपाईको ज्वाई बन्न...|’
‘ठीक छ, ठीक छ, लौ बधाई |’ भन्नासाथ फोन राखिहाले बा ! हिम्मत गरी मैले फेरि हानें किनकि जानुभन्दा अगाडि मलाई उनको आवाज सुन्ने चाह थियो | ससुराबालाई उनीसित बोल्ने अनुमति मागें र उहाँले मन नलागी-नलागी फोन उनलाई दिनुभयो | देशभित्रै पनि हाम्रो वासस्थान फरक त थियो, अब देशै फरक हुने भयो भनी एकछिन हामीबीच आँसु बग्यो तापनि मैले उनलाई राम्ररी सम्झाएँ-बुझाएँ अनि पर्खिबस है भनी बिदाईको हात हल्लाएँ |
म विदेशिएपछि ससुराबाको नियन्त्रण अलि खुकुलो भएछ | आराधनाले उनको मोबाइल फिर्ता पाइन् अनि फेरि हाम्रो च्याट-प्रेम सुरु हुन सक्यो | हामी कहिले स्काइपेमा भिडियो च्याट गर्थ्यौं त कहिले फेसबुकमा, जे होस् यो आधुनिक प्रविधिले हामीलाई भौतिक रुपमा टाढा भएपनि नजिकै ल्याइदियो | उनलाई म ससुराबा-सासुआमाबारे सोधिरहन्थें, लामो समय त उनले मलाई ‘उहाँहरुको मन अझै परिवर्तन भएको छैन, प्रार्थना गर्दै रहौं’ मात्र भनिन् तर पछि मैले मेरी बहिनीलगायत यताउताबाट गांइगुइं सुनें कि उहाँहरुले मलाई मन नपराउनुको खास कारण मेरो जात पो रहेछ | एउटै परमेश्वरलाई मान्ने हामी एउटै विश्वासी जाति भइसकेर पनि उहाँहरुले पुरानो संकुचित विचार त्याग्न नसकेकोमा मलाई बडो ताजुब लाग्यो | पहिलेको कथित हिन्दु समाजमा चारैतिर छि:-छि: र दूर-दूरको अनुभवबाट साँचो परमेश्वरको समाजमा आएको हुँ जहाँ सबैले एउटै अमखोराबाट पानी पिउँदा अनि क्रिसमसमा एउटै भान्साबाट खाना खाँदा मैले हामी पनि सबै समान भएकोमा गर्व गरेको थिएँ,  आज त्यही समाजमा कसैको मगजमा पुरानै ढल जमेकै देख्दा मन कटक्क दुख्यो, त्यही भएर रहेछ प्रभुले जोड दिएर भनेका-‘साँच्चै, म तिमीहरुलाई भन्छु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन |’ 
मेरा ससुराबा आफैं अगुवा भएर पनि यस्तो पुरातनवादी देख्दा मलाई नराम्रो लाग्यो तर जे होस् म उहाँको यस्तो सोंचमा परिवर्तन छिट्टै आओस् भनी प्रार्थना गरिरहें | यस कुराले झन् मलाई आराधनालाई विवाह गरिछाडेर त्यस्तै बिब्ल्याँटो सोंच राख्नेहरुलाई खुच्चिंग पारिदिने जोश पलायो | आफू ठूलो जात भनेर ठूलो पल्टिनेहरुलाई सानामा पानीको मूलमै गएर हगिदिएर ल्वाप्पा खुवाइदिएझैं मलाई तिनीहरुकै छोरी बिहे गर्ने हिम्मत बढ्यो |
जहिल्यै आराधनाले यो कुरा भन्दिन थिईन् तर मैले नै सिधै सोधें-‘गुरुबाले मलाई नरुचाउनुको खास कारण म दलित भएकोले हो ? नलुकाई भन त, मलाई त यस्तै लागिरहेछ...|’ मैले यसरी सोध्दा बल्ल उनले गाँठो फुकाइन् |
‘हो प्रकाश, तपाईलाई मन दुख्ला भनेर मैले सिधै भन्न नसकेको...मलाई मेरा आमाबाको हृदयमा यस्तो लेदो जमेर बसेको थाहा पाउँदा म पनि दुःखी छु, तर ज्यादा दुःखी नहोऔं किनकि मलाई प्रभुमा पूर्ण विश्वास छ कि उहाँहरुको मन एकदिन पक्कै परिवर्तित हुनेछ | त्यसैले प्रार्थना गरिरहौं, तपाई र मलाई यस्ता रुढीग्रस्त कुराले पटकक अलग्याउन सक्नेछैन | आमेन !’
मैले आराधनालाई पनि कतै मेरो जातबारे संकोच छ कि भन्ने सोचेको थिएँ तर होइन रहेछ, उनले जात-वर्ग नहेरिकनै मलाई चोखो माया गरेकी रहिछन् र त्यसैले म परमेश्वरलाई धन्यवाद दिंदै हाम्रो प्रेमको सफलताको लागि निरन्तर प्रार्थनामा लागिरहें |
म विदेश हुँदा फेरि पनि दुईचोटी स्वजातिय कुटुम्बबाट आराधनाको हात मागीएछ र फेरि पनि आराधना हाम्रो प्रेमप्रति दृढ भइछन् र जति सम्झाए पनि आफ्नो अडान नछाडेपछी आराधनाले बाबुको हातबाट एक चड्कन पनि खाइछन् | अभिभावकले मलाई छाड्न जति नै दवाब दिएपनि उनको दृढताको कारण नै हाम्रो प्रेम सफल भयो नत्र यदाकदा मलाई उनले हार मान्लिन् कि भन्ने डर नलागेको थिएन | मैले उनलाई र उनले मलाई हौसला दिएकैले हामीले जातियताको पर्खाल तोडी अन्तरजातीय विवाहको अनुपम उदाहरण बन्न सक्यौं |
अँ त, मैले अध्ययन र सानोतिनो काम गरेरै तीन वर्ष पछि सानो टुक्रो जग्गा जोडे र सानो जस्ताको छानो भएपनि एउटा सानो आफ्नै घर ठड्याएँ | आमाबालाई त्यही सानो घरमा सर्न लगाएर म बेहुली भित्र्याउन कम्मर कसी नेपाल फिरें | पहिल्यैदेखिको निरन्तर प्रार्थना र उपवासको कारण परमेश्वरको कृपाले म अन्तमा सासु-ससुरालाई छोरी दिन मन्जुर गराउन सफल भएँ | हाम्रो दुवै परिवारको मन्जुरी र उपस्थितिमा नै पवित्र विवाह भयो | विवाहमा म पनि खुशी, आराधना पनि खुशी अनि मेरा अभिभावक र बहिनी पनि निश्चल आकाशजस्तै खुशी तर सासु-ससुरा ओठमा मुस्कुराएजस्तो भएपनि त्यो मुस्कान बाध्यात्मक झैं थियो, लाग्थ्यो मेरो जातिले गर्दा अझै लेदो हटेछैन कि ? तापनि मैले बेवास्ता गरिदिएँ किनकि मैले मेरी रानीलाई जो पाएको थिएँ |
विवाहपछि गांइगुंइ सुनें कि ससुरालीतिरकाहरु दलितलाई छोरी दिनुपरेकोमा त्यति खुशी छैनन् रे, तापनि म ‘रे’ को पछि लागिनँ | कारण त्यही भएर हो कि के हो कुन्नि, बिहेपछि न मलाई ससुराली बोलाइयो, न आराधनालाई नै | ‘माइत जान्नौ ? कहिलेकाहीं उतै बस्ने गरी जाऊ न’ भन्दा आराधनाले बिस्तारै भन्थी, ‘...जानु त मन थियो तर उहाँहरुको हृदयको पुरानो लेदो अझै हटेको जस्तो छैन भन्ने मलाई लाइरा’छ |’ बिहेको एक हप्तापछि आमालाई फोनमा ‘ममी तपाईहरुको याद आयो, हामी दुवै त्यहाँ बस्ने गरी अर्को हप्ता आउँछौं ल’ भनिछन् तर आमाले ‘हाम्ले नरुचाको मान्छेसित गइस्, अब क्यार्न् दुइटै आउनुपर्यो यहाँ ? भो नआए नि हुन्छ...’ भनी रुखो जवाफ दिइछन्, मलाई बल्ल त्यतिखेर भनिन् | मलाई कसोकसो नरमाइलो लाग्यो, अब सम्झाऊ त उही जान्ने अगुवा ! मलाई त किरो नै सोंच्ने भइहाले, ‘कागभन्दा कोइली चंख’ बनी टोपल्नुभन्दा चुपचाप बसेर सबैकुरा परमेश्वरकै हातमा सुम्पिदिएँ |
परमेश्वरले यदाकदा मान्छेलाई गतिलै झापड हानेर पाठ सिकाउनुहुँदो रहेछ | मेरा ससुराबाले पनि दुख्ने झापड पाएरै पाठ सिके | (परमेश्वरले जुटाउनुभएको भनौं) संयोगवश जावलाखेलमा संचालित एउटा तीन दिने अगुवा सेमिनारमा हामी ससुरा-ज्वाईंको भेट भयो | मैले जयमसीह भन्दा टाढैबाट हात जोड़थे अनि कतिबेला आँखा तर्केर मैले नदेख्ने कुनापट्टि छिरेर बस्थे, मदेखि त्यसरी तर्किने ससुराबालाई तत्क्षण म लुकामारी खेलेको बालकझैं सम्झी मुसुक्क मुस्कुराउँथे | दुई दिनसम्म मैले उहाँलाई लुक्न दिएँ, जानेबेलामा पनि भेटिएनन् तर तेस्रो दिनमा जसरी भएपनि (अंगालो हालेर हुन्छ कि, औंलामा झुन्डेर हुन्छ कि वा बोकेरै हुन्छ) उहाँलाई मेरो घरमा आदरसाथ ल्याउने र मीठो-मसिनो खुवाउने मेरो चाह थियो, त्यसैले आराधनालाई ‘आज तिम्रो बाको ढुंगाको मन पगालेरै ल्याउँछु है, पर्खिबस’ भनेर आएँ |
त्यो दिन पनि लुसुक्क बिरालोको चालमा सेमिनारमा ससुराबा आए, कार्यक्रम सबै सकिएपछि मैले पनि उहाँलाई बिरालोको चालमा खोजें | मैले नचिनोस् भनेर उहाँको गेटअप जहिल्यै फेरिन्थ्यो, त्यस दिन कालो रेबनको झिल्के चस्मा, टाउकोमा काउब्वाई ह्याट र कालो लेदर ज्याकेट लगाएर ट्वाइलेटबाट फुत्त निस्केको चाल पाएँ | उहाँ सतर्क भएर यताउति हेर्दै, टाउको अलिकति झुकाएर बाहिरिए, मचाहिं चाल मारेर पछि लागें |
अलिक पर चोकमा पुगेपछि ससुरबाले लामो सास फेरे अनि झोलाबाट मिनरल वाटरको बोतल निकाली पिउन थाले, सायद मदेखि तर्किन सफल भएँ भनेर ढुक्क भएका होलान्, म पनि के कम, लुकामारी खेल्दा लुक्नेले खोज्नेलाई ‘ध्याप्’ दिएझैं ससुराबाको पछाडिबाट ठूलो स्वरमा ‘जयमसीह बाबा !’ भनें, मेरो स्वर सुन्ने बित्तिकै उहाँ खंग्रंगै तर्सिनुभो, यस्तरी तर्सिनुभो कि उहाँले पिउँदै भएको पानी, बोतल नै उफ्रेर पानी त उहाँको नाकको दुलोबाटै पसेछ | ‘हाँच्छ्यूँ..ख्वाक्-ख्वाक्’ गर्दै पछाडि फर्केर हेरे, मलाई हात जोडेर मुस्काइरहेको देख्दा एकछिन त उहाँ ‘हिस्स बूढी, हरियो दाँत !’ भएर वाल्ल परे | झट्टै मैले जोडिएको दुवै हात अघिल्तिर बधाई उहाँसित हात मिलाउँदै सजिलो पार्न भनें- ‘बाबा ! आज तालिमको अन्तिम दिन, आराधनाले बाबालाई जसरी भएनी ल्याउनू भनेकीले तपाईलै मेरो घर लान आको हुँ, बाबा आज उहीं जाम् है ?’
उहाँ झट्ट किन मान्थे र ? मैले हात जोडेर लाख बिन्ती गरेपछि बल्ल ‘ल ल ठीक छ जाम्’ भने अनि मैले बाइकमा उहाँलाई पछाडि राखेर घरतिर लागें | बाटाभरि उहाँको मन ‘कसोगरी सँगै बसेर खाने होला ?’ भन्दै हुँडलिरहेको थियो होला, म चाहिं ‘आज बाबालाई मेरो प्रेम चखाएर छोड्छु’ भनी परमेश्वरलाई धन्यवाद दिंदै रमाएँ | अकस्मात् मेरो बाइक विपरित दिशाबाट आइरहेको एउटा ट्रकसित ठोक्किन पुग्यो | 
होश खुल्दा म अस्पतालको बेडमा थिएँ अनि नजिकै आराधना सुँक्क-सुँक्क गर्दै थिइन् | म होशमा आएकोले ‘धन्यवाद परमेश्वर !’ भन्दै आँसु पुछ्दै मेरो टाउकोमा हात राखी ‘अहिले कस्तो छ तपाईलाई ?’ भनी सोधिन् | एकैछिन मलाई रिंगटा लाग्यो, एकछिन आँखा चिम्म गरें, तत्काल मैले अघिल्लो दुर्घटना सम्झें अनि झट्टै ससुराबालाई सम्झेर ‘बाबा खै ?’ भनी सोधें | तत्काल कुरा बुझ्दा बाबालाई चाहिं धेरै चोट लागेछ र उहाँ आइसीयूमा हुनुहुन्थ्यो, मलाई चाहिं कुहिनामा अलिकति नीलडाम बाहेक खासै ठूलो चोट लागेको थिएन, त्यसैले हतार-हतार उठेर म र आराधना आइसीयुतर्फ लाग्यौं | सासूआमा र सालीहरु रुँदै थिए, नर्सले आइसीयूबाट निस्केर बाबालाई तत्काल रगतको खाँचो भएको र ब्लड बैंकमा उहाँको समुहको रगत सकिएको कुरा बताइन् | प्रभुले दिनुभएको वरदान भनौं, संकटको त्यो घडीमा मेरो रगत काम लाग्यो, मेरो रगतको समुह युनिवर्सल डोनर ग्रुप ‘ओ’ हुनु पनि प्रभुकै आशिष हो | तत्काल मैले नर्सलै ‘मेरो रगत लानुस्, मेरो रगत ‘ओ’ ग्रुपको हो’ भनें अनि हतार-हतार मेरो रगत ट्रान्सफ्युजन गरियो | ट्रान्सफ्युजन गरिरहँदा मैले क्रुसमा ख्रीष्टले बगाउनुभएको रगतको मुल्य सम्झें र ‘मानिसको प्राण उसको रगतमा हुन्छ’ भन्ने बाइबल वचन पनि सम्झिरहें, साथै दैलोमा थुमाको रगत देखी कसरी मृत्युको स्वर्गदूतले मिश्रमा इस्राएलीहरुलाई जोगाए भन्ने कुरा सम्झें र ‘मेरो रगतले बाबाको प्राण जोगीओस्’ भनी मनमनै प्रार्थना गरिरहें | त्यति नै बेला मेरो मनको अर्को पाटोले पाइपबाट सरिरहेको रगतलाई हेर्दै अलि उदास भएर छेउमा सुतिरहेका बाबालाई प्रश्न गर्यो-‘...बाबा ! ए बाबा ! लौ भन्नुस कुन रगत दलितको ? कुन गैर-दलितको ?’ मनको यो प्रश्न सुनेर तत्क्षण मेरा आँखा रसाए |
हल्लेलुयाह ! ‘प्यासेन्टको अवस्था अहिले खतरामुक्त छ, बेलैमा रगत पाइएकोले उहाँ बाँचे’ भन्दै डाक्टरले सान्तवना दिंदै सबैलाई भने र हामी सबैले हर्षाश्रु झार्दै प्रभुलाई धन्यवाद दियौं अनि आइसीयुमा बेहोश अवस्थामै बाबालाई हेर्न पस्यौं |
बाबा स्वस्थ भई अस्पतालबाट घर डिस्चार्ज हुनुभएको एक महिनापछि उहाँ एकदिन आमासँगै मेरो घरमा टुप्लुक्क आउनुभयो | हामीले सादरपूर्वक सत्कार गर्यौं, रमाइला खुशीका कुरा गर्यौं अनि सँगै बसी खाना खायौं, ससुराबाको हृदयको पुरानो लेदो हटेको आभाष मलाई भयो र मनमनै मैले परमेश्वरलाई धन्यवाद चढाएँ | मैले पाएको आभाष साँच्चै हो रहेछ, खाना खाइवरी कुराकानी गर्ने क्रममा ससुराबाले भावुक भएर कुरा पोखाए-‘...के भनूँ ! परमेश्वरमा आइसकेर पनि कतिपय कुरा बदलिन लामो समय लाग्दोरहेछ | म अविश्वासी हुँदा कट्टर जातिवादी थिएँ र छुवाछुतप्रति तानाशाहीझैं तटस्थ, तै परमेश्वरको आँगनमा आएपछि मैले त्यो पुरानो स्वभावमा धेरै हदसम्म विजय पाएँ | म कथित दलितसँगै पानि पिउने र खाना पनि खान सक्ने भएँ तर...आफ्नै छोरी एउटा दलितलाई सुम्पनु किनकिन मेरो मनले मान्दै मानेन | परमेश्वरको परमभक्त दाउदको हृदयमा कताकता जमेर बसेको लेदोले गर्दा नै उसले पाप गर्यो र त्यस्तै भएर मैले पनि गरें/गर्दै रहें....| तै मेरी छोरीको दृढताका कारण मेरो अहम पराजित भयो | यो पराजयले असह्य भएर झन् मलाई आफ्नै छोरी पनि छोरीजस्तो लागेन...त्यसैले म छोरी-ज्वाईंदेखि तर्किएँ | तर त्यो सडक दुर्घटनाबाट पाएको यो नयाँ जीवनले मलाई एउटा गतिलो पाठ सिकाएको छ, कि मेरो र ज्वाईंको रगत रातै छ...|...मलाई एउटा अबुझ बालक ठानी माफ गरिदिनू..|’ अनि ससुराबा भरिएका आँखा एकछिन छोपेर मौन भए |
मेरा-हामी सबैका आँखा भरिए, तत्काल मैले बाबालाई अंकमाल गरी ‘....मेरो छोरो हराएको थियो, आज फर्की आयो बाबा !’ भनें अनि उहाँ रुन्चे हाँसो हाँस्दै मेरो अंगालोमा एकछिन भक्कानिनुभयो | अस्पतालमा हुँदा उहाँले सपनामा पत्रुसलाई झैं एउटा ठूलो तन्नामा नखाने पशुहरु देखाएर प्रभुको आवाजले ‘सबलाई मारेर खा’ भनेका रहेछन् अनि उहाँले ‘नाइँ’ भनेपछि ‘असल छिमेकी’ दृष्टान्तको दृश्य देख्नुभएछ जुन दृश्यमा चोरहरुले कुटेर घाइते भएको व्यापारी उहाँ आफैं हुनुहुन्थ्यो अनि उहाँलाई बोकेर गधामा चढाउने सामरीचाहिं म थिएँ रे | यही दर्शनले बल्ल उहाँको हृदयमा वर्षौंअघि जमेको लेदो पूर्णरुपमा हटाइदियो, हल्लेलुयाह !
अखबारका पानामा दलित आन्दोलनमा लड्नेहरुलाई ख्रीष्टको सुसमाचार सुनाउँ-सुनाउँ हुन्छ | एकपल्ट हिन्दुराष्ट्रको निम्ति बम्की-बम्की उफ्रने मित्रले ‘तिमीहरु ख्रीष्टियान भएर आफ्नै देशको मौलिकता बेच्यौ’ भनी दोष लगाउनुभयो | तत्क्षण मैले भनें-‘जुन धर्मले मान्छे-मान्छेबीच भेदभाव राख्छ, त्यो असली धर्म नै होइन | देशको मौलिकता समानता र प्रेममा अडेको हुन्छ, न कि रुढीग्रस्त पक्षपातमा, यसकारण ख्रीष्टियान भएर मैले देशको मौलिकता बेचेको छैन, बरु जोगाएको छु’ | ती मित्र झन् बम्किन आँटे, मैले अरिंगाललाइ चलाउनुभन्दा त्यसै छाड्नु बेस भन्ने सोंचेर त्यो परिवेशदेखि फुत्त निस्केर आफ्नै बाटो लागें | नबुझ्नेहरुलाई कुन तरिकाले बुझाउनु त है ? तर मैले मनमनै त्यस्ता अबुझहरुको चाहना पूरा नहोस् भनी कामना गरें र साँच्चै प्रभुको आशिषले देश ‘धर्म-निरपेक्ष नै हुन सक्यो | यो त भयो, बाहिरको कुरा, अब हाम्रो घरभित्रै अर्थात् मण्डली र विश्वासीजनबीच नै व्यापक परिवर्तन हुनु जरुरी छ, जरुरी मात्र होइन अपरिहार्य छ |
मेरा ससुराबाले त झापड पाएर नै चेत्नुभयो तर सबैलाई त्यस्तो हुँदैन | मान्छेलाई परमेश्वरले पहिल्यैदेखि विवेकी बनाउनुभयो, तपाई त्यो विवेकको सदुपयोग गरी हृदयमा जमेको पुरानो लेदो हटाउनुहुन्न भने भोलि प्रभुको राज्यमा यत्तिकै पस्न पाउनुहोला त ? एकपल्ट गम खाएर सोंच्नुहोस् है त ! एकपल्ट एकजना अगुवाले सबैलाई आफ्नो जन्मदिनमा निम्ता दिएछन्, त्यहाँ भोजन गर्ने बेलामा छिमेकी अविश्वासी साथीभाईले खाँदैनन् भनेर आफ्नै मण्डलीका दलित दाजुभाइलाइ चाहिं भान्सामा पस्न र खानेकुरा छुन पनि दिएनछन् | लौ हेर अगुवा भएर पनि यस्तो ? परमेश्वरले पनि भोलि न्यायको दिनमा ‘तँ गैर-यहुदी’ भनेर हामीले पाउने जीवनको मुकुट हामीलाई नदिएर आफ्नै यहुदीलाई दिनुभए कस्तो होला ? ‘जातिको आधारमा पक्षपात नगर्ने परमेश्वरको आज्ञा मान्छौ भने कुन बहानामा हामीप्रति भेदभाव राख्छौ के ?’ भनी त्यस्ता अगुवालाई सोध्न मन लाग्छ |

मेरी बहिनी आशा, सानैदेखि राम्री पुतलीझैं थिई र अहिले हुर्केपछि ऊ कुनै राजकुमारीभन्दा सायद कम सुन्दरी छैन | उसले स्नातकको पढाइसँगै पत्रकारिता पनि गर्न थाली | उसलाई जहाँ गएपनि थर थाहा पाउनेले ‘तिमी त दलितझैं देखिन्नौ’ भन्दै ‘कतै अभिभावक अन्तरजातीय हुन् कि ?’ भनेर पनि सोधिहाल्थे रे | ‘कस्तो त नि दाइ ! दलितहरु राम्रा हुँदैनन् भन्ने भ्रम पाल्ने मान्छे नि हुँदा रैछन्, दिक्कै लाग्ने !’ भन्दै एकदिन मसित दुखेसो पोखाई अनि मैले ‘संसारका अन्धाहरु यस्तै हुन् आशा, पीर नगर’ भनी ढाडस दिएँ | उसले फेरि सोधी-‘हाम्रो गाउँतिर कस्तो छ नि ?’ मैले गाउँतिर झन् कडा भेदभाव भएको तर विश्वासीहरुबीच त्यो धेरै कम भएको बताएँ | उसले गुनासो अझै थपी-‘कस्तो है ? दलितलाई मन्दिर पस्न निषेध रे, त्यसोभए मन्दिरमा पूजा गर्न आउने सबको जात सोध्छन् ? अनि दलितले छोएको खान नहुने रे ? के प्रत्येक होटेल/रेस्टुरेन्टमा खाना पकाउने मान्छेको जात सोध्छन् त ?’ मैले ‘पक्कै सोध्दैनन्’ अनि उसले फेरि भनी-‘तब भेदभाव गरी चर्को आवाजमा कराउने यही समाज यसप्रति चाहिं किन मौन बसेको होला ?’ स्पष्ट जवाफ मसँग पनि थिएन तर ठट्टामै भनें ‘पक्कै भोक खप्न नसकेर होला नि ! हिहिही...’ |
मलाई मार्टिन लुदर किन्गको ‘आइ ह्याभ अ ड्रिम’ भन्ने वक्तव्य याद आयो जहाँ उनले ‘मैले एउटा यस्तो सपना देखेको छु कि मेरा चारजना छोराछोरी एकदिन एउटा यस्तो राज्यमा हुनेछन् जहाँ उनीहरुसँग उनीहरुको छालाको रंगको आधारमा होइन तर उनीहरुको गुणको आधारमा व्यवहार गरिनेछ’ भनेका छन् | त्यस्तै गरी, मलाई पनि परमेश्वरलाई प्रार्थना चढाउँदा भन्न मन लाग्यो ‘...एकदिन यो देशमा यस्तो बेला आओस् जुनबेला यहाँ दलित, गैर-दलित सबै नि:संकोच रमाई-रमाई एउटै टेबुलमा खाएको देख्न पाइयोस् प्रभु !’
यस्तै के-के सोंच्दै थिएँ, टिभीमा समाचार आउनअघि देशप्रेमको गीत घन्क्यो ‘नेपाल मेरो घर हो...नेपाली मेरो थर हो...’ | म फेरि घोत्लिएँ ‘देशको नाउँको प्रतिनिधित्व गर्ने मेरै थर यही देशमा किन अपहेलित छ त ?’ धन्य ! मैले आराधनाजस्ती प्रगतिशील विचारधाराकी जीवनसंगिनी पाएँ | अभिभावकको संकुचित सोंचका कारण नै उनले किशोरावस्थादेखि नै दलितसित विवाह गरी उहाँहरुलाई परिवर्तनोन्मुख बनाउने उनको प्रण थियो रे र आज उनले त्यो प्रण पूरा गर्न सकेकोमा गर्वले शिर उँचो भएको भन्छिन् र उनले प्रभुको राज्यमा सुनौलो मुकुट नै नपाए पनि यही प्रणको कारण नै केही न केही इनाम-बकस पाउने कुरामा विश्वस्त छिन् | भन्छिन् ‘दौड त हामी सबै दौडन्छौं, हामी सबै त्यो दौडमा विजेता त नहुन सकौंला तर सानै भएपनि सान्तवना पुरस्कारचाहिं हामी सबैले जित्नुपर्छ, जित्ने भरमग्दुर प्रयास गर्नुपर्छ...’ अनि त्यसैले अचेल उनी गर्वसाथ आफ्नो नाम लेख्छिन् ‘आराधना नेपाली’ |
(समाप्त)
प्रतिक्रिया दिनुहोस्