जापानबाट जहाज त्रिभुवन विमानस्थलमा ओर्लिंदा मेरो मन आफ्नै देशको मायाले भरियो | जहाजको ढोकाबाट फलामे भर्यांगमा कुरकुर ओर्लिएपछि म एकछिन टक्क अडिएँ र आँखा चिम्लेर दुवै हात फैल्याउँदै लामो सास तानें ‘उम्.....आह.....!’ मलाई नेपाल बसाएझैं लाग्यो | मातृभूमि यतिसम्म प्रिय, यतिसम्म सुवासित हुन सक्छ भन्ने मैले ३ वर्ष विदेशिएपछि नेपाल टेक्दा बल्ल थाहा पाएँ | त्यतिबेलै झट्टै दिमागमा आयो, ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी !’ अनि म मुसुक्क मुस्कुराएँ |
पूर्वतिर क्षितिजमा हेर्दा
आकाश रक्तिम उज्यालो हुँदै थियो र मिर्मिरे बिहानीलाई स्वागत गर्दै त्यो रातो
डल्ले घाम हाई’ काढ्दै झुल्किदै थियो | त्यो दृश्यलाई आँखामा कैद गर्नासाथ मेरो
ओंठबाट मन्द मुस्कानसहित निस्क्यो ‘ओहायो नेपाल !’ अब नेपालमा ‘शुभ प्रभात वा शुभ
बिहानी’ भन्ने चलन छैन तर जापानमा सधै बिहान-बिहान ‘ओहायो’ भन्दै साथीहरुलाई
अभिवादन गर्ने बानी परेकोले मलाई आफ्नै देशलाई पनि त्यही शैलीमै अभिवादन गर्न मन
लाग्यो |
जापानमा सँगै पढेका नेपाली
साथीहरुले जापानजस्तो देशमा आइसकेपछि टन्न नकमाई स्वदेश फर्कनुहुन्न भनेर मलाई
सम्झाएको सम्झाई गरे तर म ‘होइन, बाहिर पढेर आफूले सिकेको कुरा स्वदेशमा
पोख्नुपर्छ, बल्ल पो आफ्नो देश पनि बन्छ’ भन्ने कुरामा अडिग रहें | मेरो कुरालाई
साथीहरुले हावा गफ भन्दै मलाई मूर्ख नबन्न भने | अलि भावुक भएर भुवनले भन्यो,
‘नेपालमा ग्रेजुएटको
सर्टिफिकेट बोके पनि काम छैन के, १०० तिर धाउँदा पनि भनेजस्तो नोकरी नपाएरै म यता
आएको हुँ | नेपालमा गरेर खाने वातावरण नै छैन, हाम्रो देश पूरै बूढो अनपढ नेताको
हातमा छ, हामी युवाहरुको सपना कसले बुझोस् ?’
‘हो त नि !’ भन्दै अरु
साथीहरुले पनि होमा हो मिलाए |
‘होइन, हामी नेपाली
युवाहरुको यही पलायनतावादी सोंचको कारणले हो देशको विकास हुन नसकेको | जहिल्यै देश
विकास भएन भनेर कपाल फूलेका नेताहरुलाई मात्र के दोष दिनू ? दोष त खास हाम्रो हो,
विदेशमा आर्जेको सीप र ज्ञान आफ्नै देशमा खनाउँछु भन्ने अठोटको कमी छ हामीमा,’
भन्दै मैले पनि आफ्नो मत राखें |
‘ओई किसन-कन्हैया ! धेरै
फिलोसोफी नछाँट् न यार |’ अर्को मित्रले मेरो कुरालाई कैंचीलेझैं बीचैमा च्वाट्ट
काट्यो |
‘ठीकै छ नि, तँ फर्किने भए
फर्की, हामी त यतै मस्ती गर्ने, मिले यतै घरजम पनि गर्ने, कसो गाइज?’ भन्दै भुवनले
मलाई पनि समर्थन गर्यो अनि अरुहरुको पनि मन राख्यो |
भुवनले आफू नेपालमा हुँदा
शिक्षित भएपनि बेरोजगारीको सामना गर्नुपरेको तीतो अनुभव पोख्दा मलाई कतै आफू पनि
त्यस्तै पीडित होइने त होइन ? भनी अलिकति डर लाग्यो तर म त आफैंमा विश्वास गर्ने
मान्छे, भुवनलेझैं १०० चोटी इन्टरव्यू फेल भएपनि हार नमानी १०१/१०२... चोटि प्रास
गरिरहने अठोट लिएको थिएँ किनकि आशा गर्नेहरुको निम्ति हजारौं ढोका बन्द भएपनि एउटा
न एउटा ढोका त पक्कै खुल्छ | यही दृढ विश्वास लिएर म अन्तमा आफ्नै माटोमा पसिना
बगाउने निर्णय गमेर आएँ, एउटा उम्दा मन लिएर आएँ |
बाग्लुंगको आफ्नै घर
टेकेपछि म काली गण्डकी खोलातिर डुल्न निस्किएँ | काली खोला, जहाँ मेरा बाल्यकालका
अविस्मरणीय डोब जमेका छन्, त्यसलाई म कसरी भुल्न सक्थें र ? हर्के, बिर्खे, काले,
गोरे अनि म भएर यही खोलामा कहिले माछा मार्थ्यौ त कहिले नांगै-भुतुङगै भएर पौडी
खेल्थ्यौं | त्यहीं किनारमा एउटा ढुंगामाथि बसेर खुट्टा तिघ्रासम्म पानीमा डुबाई
परपरसम्म नियालें | बाल्यकालका ती मित्रहरु त सबै लाखा-पाखा लागिसके | कोही कता,
कोही कता, प्राय: सबै परदेशमै व्यस्त, उनीहरुसित अब भेट संयोगले मात्र हुने हो |
उनीहरुलाई सम्झेको बेला त न च्याटमा भेट हुने, न विडियो च्याटमा, यो सोसल साइटको त
कामै छैन भनेपनि हुन्छ | त्यैपनि हिजो गोरेलाई अनलाइन देखेर विडियो-कल हानेको त
संयोगले उसले रिसिब गर्यो | धेरै वर्षपछि त्यसलाई देख्दा अलि कालेजस्तो देखें,
सोधें,
‘ओए गोरे, के छ यार ? के
हो, तँ त काले पो भएछस् त ?’
‘कतारको घामले किस गरेर नि
यार, तँजस्तो स्टुडेन्ट भिसामा राम्रो देश जाने क्षमता भए पो | गोबर भरेको दिमागले
दस नि पास गर्न सकेन, अब गल्फको घाम नखाए के खाने ?’
उसले आफ्नो विवशता पोख्दा
मैले गल्फ-कन्ट्रीमा पसिना बगाइरहेका सबै युवालाई सम्झें, सोंचें ‘ती सब युवालाई
स्वदेशमै रोजीरोटीको व्यवस्था गर्न सके...|’ यसको समाधानको लागि सोंच्दै जाँदा
एकैचोटि मैले स्नातक गरेको विषय ‘अन्तरराष्ट्रिय मामिला’ अन्तर्गतका
राजनीतिशास्त्र, समाजशास्त्र र अर्थतन्त्रका सुत्रहरु मेरो दिमागमा फटाफट स्लाइड
शो हुन थाले | त्यत्तिकैमा गोरे फेरि बोल्यो,
‘अरे के भो किसन-कन्हैया ?
जापानमा कतिओटा गोपिनी फकाइस् नि ? भन् न !’
मेरो सोंचाईको लय त्यसरी
बटारिएको मलाई मनपरेन, हल्का रिसाउँदै भनें,
‘ह्या ! केको गोपिनी-सोपिनी
! म त राधाभक्त किसन हो के, तँजस्तो प्लेब्वाई होइन |’ मैले पनि मजाकी शैलीमै जवाफ
दिएँ तर झन् ‘को हो नि तेरो राधा ? भन् त’ भनेर पो सोध्न थाल्यो, हैट ! जे होस्, ‘अहिल्यै
राधा फेला परेको छैन, पर्यो भने तँलाई नै सबभन्दा पहिले सुपारी-गेडी पठाम्ला नि’
भनेर उसको मुखमा बुजो लगाइदिएँ | साथीहरुले त्यसै ठट्टामा मेरो नाममा ‘कन्हैया’
जोडेर मलाई द्वापरयुगको किसन बनाइदिन्छन् तर वास्तवमा मेरो हृदय छाम्दा म ठ्याक्कै
त्यस्तो चाहिं छैन है |
टाढा—टाढा क्षितिजसम्म आँखा
डुलाएँ. घाम डुब्न लागेको थियो, आकाश सुनौलो सुन्तले रंगको तन्नाझैं भएको थियो अनि
बादलहरु किसानले भर्खरै जोतेको खेतका माटोझैं कुरकुरे च्याँट्ट परेका थिए अनि
चराहरु हुल बाँधेर आफ्नो गुँड फर्कंदै थिए | म पनि चराजस्तै उडेर आएर आज आफ्नै
गुँड (देश) फर्किएँ र म विदेश पलायन हुने युवाहरुलाई कम्तिमा यी चराहरुजस्तै आफ्नै
गुँडमा फर्किन संदेश दिन चाहन्छु | तर अचम्म लाग्यो, म विदेशमा अध्ययन सकाएर
‘अबदेख आफ्नै देशमा केही गर्छु’ भनी आएलगत्तै आफन्त-जनबाट स्याबासी होइन, बरु
प्रश्नै-प्रश्नका बाण तेर्सिए | ‘नेपालमै दुख गर्ने मन किन लिइस् त कान्छा ?’ भनेर
धेरैले सोधे | दुःख त विश्वको जुन कुनामा पुगेपनि गर्नैपर्छ, यो कुरो सबैलाई थाहा
छ तर पनि हाम्रो जनमानसको सोंचाई के भने बरु विदेशमै दुःख गर्नु जाती रे अनि
स्वदेशमा त रिटायर्ड लाइफ मात्र बिताउने रे | म भन्छु, देशलाई चाहिएको विदेशमा
पसिना बगाएर चाउरी परेका वृद्ध होइन, तर विदेशबाट ज्ञान बटुली आएर स्वदेशमै पोखाउने
होनहार युवा हुन् | नि:सन्देह, जापान विकासको चरमचुलीमा पुगेको प्रमुख कारण
त्यहाँका कर्मठ युवाहरु नै हुन् जहाँका युवालाई काम र मामको लागि पराइ देशमा
भौंतारिनु पर्दैन | काश: मेरो देश पनि त्यस्तै हुन सके...|
गुजुङ-गुजुङ, गुजुङ-गुजुङ
गर्दै मेरो तिघ्रामा हल्का काउकुती लाग्यो | के रहेछ भनेर निहुरिएर तल हेर्दा
पानीमा एक हुल बाम माछा मेरो तिघ्रामा ठोक्किंदै पौडदै थिए, म मुसुक्क हाँसें र
माछा पक्रने मनसायले झ्वाम्म दाहिने हात पानीमा हालें | तर त्यसरी हातैले कहाँ
माछा समात्न सकिन्छ र ? मलाई ‘लज अफ रिफ्र्याक्सन’ बारे राम्रै ज्ञान थियो,
त्यसैले माछा पक्रनैको लागि नभएर झसँग तर्साउनको लागि मात्र हात झ्वाम्म हालेको
थिएँ | नभन्दै अचानक मेरो हातको प्रवेशमा ती माछाहरु तर्सेर तितरवितर भए, मलाई
हाँसो लाग्यो, हाँस्दै सोंचें, ‘आज बल्छी ल्याउनुपर्ने रैछ...’ | बल्छीको नाम
लिनासाथ मलाई जापानमा एकचोटि जापानी मित्र शुहे-सानसँग माछा मार्न गएको दिनको याद
आयो | इवाते प्रान्त घुम्ने उत्सुकतावश म उसित उसको बज्यैको घर गएको थिएँ, उसले
सँगै फिसिंग गर्न जाने भनेकोले हामी हिंड्दै-हिंड्दै हेगावा खोलामा गयौं |
वरिपरिको दृश्य हेर्दा खै किन हो मलाई त पश्चिम तराईको मेरो मामाघर पुगेझैं लाग्यो
| खोलाको तीरमा पुगेपछि उसले बल्छी हान्यो, मैले चाहिं टुरिस्टले झैं उसको फोटो
खिंचें र वरिपरिको दृश्य पनि क्यामेरामा कैद गरें | एकछिनपछि उसको बल्छीमा माछा
परेछ अनि उसले मलाई बोलायो, ‘हेर्, हाम्रो इवातेको माछा !’ भन्दै बल्छिबाट सुस्तरी
माछा समातेर मलाई देखायो | ‘माछा त आखिर जहाँ भएपनि उस्तै त हो, हेहे !’ भन्दै
नजिक आएर उसले हातमा पक्रिराखेको माछा हेरें | ‘कति क्युट है ?’ भनेर उसले तारिफ
गर्दै थियो, मलाई चाहिं खित्का छुट्लाझैं भयो | मैले पनि समात्नुपर्यो भनेर हात
बढाएको के थिएँ, उसले त माछालाई म्वाई गर्यो अनि सुस्तरी भुइँमा त्यही पानीमा
छोड्यो अनि भन्यो, ‘’बाई-बाई फिस !’ अनि म त उठेको हात उठेको उठ्यै, ट्वाँ...|
हाहाहा, हैट ! उसको मानेमा
त फिसिंग भनेको त माछा मार्नु नभई पक्रेर म्वाई गरेर फेरि पानीमै छाड्नु पो रहेछ
बाबै | ऊ वेजिटरियन भन्ने थाहा भएपनि फिसिंग गरेर मलाई र बज्यैलाई ताजा शुशी
खुवाउला कि भनेको त कहाँ अचाक्ली नै प्राणीप्रेमी रहेछ ऊ त | होइन, खासमा जापानमा
नदीनालामा हुने माछाहरुलाई संरक्षण गर्न तिनीहरुलाई मार्न नपाइने तर फिसिंग गर्न
पाइने गजबको नियम रहेछ | मासुको लागि माछा पाइने ठाउँ लोकल फिशेरीज रहेछ |
नदिनालाका प्राकृतिक शोभा जोगाउन यस्ता जलचर प्राणीको निम्ति नियम बनाइएको मलाई
राम्रै लाग्यो | नेपालमा त माछा बल्छीमा अड्क्यो भने भुँडीमा गइहाल्यो भने हुन्छ |
जे होस्, माछा देखेकोले मलाई शुशी खान मन लागेको कुरा उसलाई भनें अनि उसले मलाई
एउटा दामी रेस्टुरेन्ट लग्यो जहाँ मैले चाहिं माछाकै शुशी खाएँ अनि उसले चाहिं
तरकारीको |
‘खासगरि, खोलाको माछालाई
पनि त्यसरी माया गर्नु हो भने बल्छी हानी फिसिंग पनि नगर्नु नि, किन ? किनकि
बल्छिको अंकुशेले त्यसको मुखमा घाउ हुन्छ नि | बिचरो माछो, त्यसले ‘ऐया !’ भन्न
सक्दैन, हामीले नै बुझ्नुपर्ने होइन र ?’ शुशी खाँदै मैले बडो दार्शनिक शैलीमा
दिमागमा खेलेको आफ्नो विचार शुहे-सानसामु पोखाएँ |
अनि उसले कपाल कन्याउँदै
भन्यो, ‘...हो, हुन त हो क्यारे...|’
मैले पानीमा फेरी झ्वाम्म
हात हालें र मनमनै बोलें, ‘माछाप्रेमीको असली फिसिंग त यस्तो पो हो, बिनाबल्छी
झ्वाम्म हात हालेर माछालाई झसंग तर्साएर खितितिती हाँस्ने |’
केही दिनपछि म कामको खोजीमा
निस्किएँ वा भनौं मैले बोकेको उम्दा मनलाई साकार पार्न निस्किएँ | खासमा मलाई भुवनले
भनेजस्तो बेरोजगारीको डर थिएन किनकि घर-नजिकै एउटा स्कूल थियो जहाँ एकदिन शिक्षक
भएर काम गर्छु भन्ने लक्ष्य लिएको थिएँ | त्यो स्कूल कहिल्यै घन्टी नबज्ने तर
घन्टीको ठाउँमा डुमडुम ड्रम बज्ने अनौठो स्कूल थियो जसले मलाई अन्जानमै आकर्षित
गर्यो | म भर्खर किशोरवयमा हुँदादेखि शुरु भएको यो आकर्षण चुलिंदै-चुलिंदै आएर
मेरो जीवनकै लक्ष्य बन्न पुग्यो जो वयस्क हुँदासम्म पनि बासी भएन बरु सदाबहार
तरोताजा रह्यो | किशोरवयको एउटी केटीप्रतिको आकर्षण हुँदो हो त बढ्दो उमेरको
हावासँगै उडेर त्यो उहिल्यै लोप भइसक्थ्यो होला तर केटीप्रति होइन म त स्कुलप्रति
आकर्षित भएको थिएँ जोसित सम्बन्ध जोडेर मैले मेरो लक्ष्य पूरा गर्नु थियो |
मेरा बाबा समाजसेवी
हुनुभएकोले होला ‘समाजसेवा’ मेरो रगतमै भएजस्तो लाग्छ तर मैले त सबभन्दा पहिले
आफ्नो खुट्टामा बलियो गरी उभिने धरातल भेट्टाउनु थियो | यसो सोंच्दा त्यही स्कूल
नै दिमागमा झ्वाट्ट आयो जसबाट मैले समाजसेवा र स्वावलम्बन दुवैको उपलब्धी हासिल
गर्न सक्थें | त्यसैले म स्वयंसेवक बनेर त्यतै लम्किएँ किनकि त्यहाँ सिधै शिक्षक
बन्ने मेरो योग्यता पुगेको थिएन | साथमा स्नातकको प्रमाणपत्र मात्र थियो तर त्यसले
शिक्षक बन्ने योग्यता पुग्दैनथ्यो किनक त्यो स्कूल म पढेको स्कूलजस्तो सामान्य
स्कूल नभई ‘बहिरा स्कूल’ पो थियो जहाँ पढाउन मेरा औंलाहरु सांकेतिक भाषामा पोख्त
हुनैपर्ने थियो |
अचेल पछाडि फर्केर हेर्दा म
सोंच्छु, ममा गरेरै छाड्छु भन्ने दृढ इच्छाशक्ति नभएको भए आजसम्म पनि यही स्कूलमा
कार्यरत हुने थिईनँ | त्योबेला म आम बहिरा विद्यार्थीहरुझैं बेन्चमा बसेर डेस्कमा कापी
र कलम राखेर उनीहरुसँगै पढ्थें, मेरो मतलब म स्कूलका पाठ्यपुस्तक नभई सरको र
विद्द्यार्थीहरुको सांकेतिक भाषा अध्ययन गर्थें र महत्वपूर्ण संकेतहरु कापीमा
टिप्थे | सुरुसुरुमा गाह्रै भयो तर बहिरा विद्द्यार्थीहरुसँग संकेत आदान-प्रदान
गर्दागर्दा म जान्ने भएँ | सांकेतिक भाषामा दक्ष हुन्जेल म एक वर्ष स्वयंसेवक नै
रहें अनि त्यसपछि बल्ल वास्तविक शिक्षक बन्न सकें | भर्खरका किशोर-किशोरीहरुसँगै
बसेको म वयस्क युवा यहाँ झट्ट हेर्दा ‘कागको बथानमा बकुल्लो’झैं देखिन्थें,
कसै-कसैले त ‘यो भुसतिघ्रे जवान बल्ल स्कूल जान थालेछ’ भन्दा हुन् जस्तो लाग्थ्यो
तर अरुले जेसुकै सोंचेपनि मलाई फरक परेन किनकि मेरो लक्ष्य खास के हो भन्ने
उनीहरुलाई के थाहा | मेरो बाबाले त मलाई मेरो अठोटमा समर्थन गरिहाल्नुभयो तर
ममीचाहिं अलि ठुस्किनुभएको थियो, ‘अरु नै स्कूलमा नपढाएर त्यो बहिरा स्कुलमा पढाउन
किन कर पर्यो तँलाई के ?’ भनेर गुनासो गर्नुहुन्थ्यो | मेरो कुरा सबै सुनिसकेको
भएपनि आमाको कमलो मन झट्ट के मान्थ्यो र, त्यैपनि स्कूल जानेबेलामा म सानोमाजस्तै
‘ममी, म गएँ ल’ भदै उहाँको गालैमा च्वाप्प म्वाई गरिदिन्थें र पक्कै उहाँको नौनीजस्तो
मन पग्लिहाल्थ्यो | पछि-पछि त्यसरी गुनासो गर्न छोड्नुभयो तर स्कूलमा दिनभरि
औंलाले संकेत गरेकोले बेलुकी औला, काँध दुखेर ‘हट-वाटर ब्याग’ले सेकेको देख्दा
आम्मै ! के भयो ?’ भन्दै आत्तिनुभयो | मैले कुरो लुकाउन खोजें तर नभनी धर पाइनँ |
‘मैले तँलाई सिन्को भाँच्न दिइनँ तर अहिले के हो यस्तो ? स्कूल गाको रे, दिनभरि
खेत खनेकोजस्तो !’ भन्दै मेरो काँधमा तेल दलेर मालिस गरिदिनुभयो | उहाँको मायालु
हातको स्पर्शले तत्काल आनन्द आयो ‘आहा !’ अनि म लाडिएर ‘सुरुसुरुमा सबैलाई यस्तै
हुन्छ के ममी, नो प्रोब्लम’ भन्दै उहाँको काखैमा टाउको राखी लुटपुटिएँ अनि उहाँले
चाहिं मायाले प्याट्ट-प्याट्ट हान्नुभयो |
औंला भाँची गन्दा ‘धौलागीरी
बहिरा स्कूल तथा कम्प्युटर इन्जिनियरिनिंग कलेज’सँग नाता गाँसिएको पनि ४ वर्ष भएछ
जसमा ७ महिनाजति मैले स्कूलमा शिक्षक भएर पढाएँ भने यहाँ कलेजमा प्राविधिक सहायक
तथा ‘दोभाषे’को पदमा पनि भ्याकेन्सी खुलेपछि म त्यसमै कार्यरत भएँ | बहिराहरूलाई जिवनपयोगी
प्राविधिक क्षेत्रमा सक्षम बनाउने उद्देश्यले यहाँ कम्प्युटर इजिनियरिंगको पढाइ
हुन्छ र यो विषय पढाउने दक्ष शिक्षकहरु सबैमा सांकेतिक भाषाको ज्ञान नभएको हुनाले
दोभाषेको खाँचो पनि भएको हो | त्यसैले म अचेल कलेज तहका विद्द्यार्थीहरुलाई
सामान्य किसिमले पढाउने शिक्षकसँगै कक्षाकोठामा उपस्थित भई दोभाषेको रुपमा काम
गर्छु | नेपाली सांकेतिक भाषामा कतिपय शब्दहरुका संकेत नै छैन, अझ त्यसमाथि
कम्प्युटर इन्जिनियरिंगका धेरैजसो जटील शब्दका त संकेत नै थिएन जसकारण संकेतमा
बुझाउन धेरै गाह्रो भइरहेको थियो | त्यसैले, हामी विद्द्यार्थी र शिक्षक सबै मिली
कम्प्युटर इन्जिनियरिंगसम्बन्धित साझा संकेत बनायौं र हाल यसैलाई सबैले पालन
गर्छौं जसले गर्दा बहिरा विद्द्यार्थीहरुलाई धेरै सजिलो भएको छ |
हिजो ‘टिचर्स डे’ मा रमाइलो
कार्यक्रम भएको थियो | अगाडि स्टेजमा बहिरा विद्द्यार्थीहरुका बहु-प्रतिभा देखेर म
खुशीले आल्हादित भएको थिएँ | हाम्रो समाजले अझै पनि बहिरा व्यक्तिहरुलाई सजिलै
स्वीकार्न सकेको छैन, तर उनीहरुमा सुन्ने क्षमताबाहेक अरु केहीमा पनि कमी छैन अनि
यही कुरामा जोड दिंदै बहिराहरूलाई पनि कम्प्युटर इन्जिनियर बनाई समाजमा दह्रो गरी
उभ्याउने लक्ष्य हाम्रो स्कूल तथा कलेजले लिएको छ | विद्द्यार्थीहरुका लगनशीलता र
प्रतिभा देखेर मलाई हामीकहाँ पनि एकदिन ‘ग्राहम बेल’ र ‘बिथोवन’ जस्तै संसार
हल्लाउने महान हस्ती जन्मिनेछ भन्ने कुरामा म आशावादी हुन्छु | अनि तिनै महान
हस्तीलाई ज्ञानको ज्योति देखाउने म पनि एक गुरु भएकोमा म गौरवान्वित हुन्छु | यसको
साथै, आज मैले स्वदेशमै रहेर जे गरें र गर्दैछु, मैले छोडेको पाइलाका डोबहरु यी
भोलिका चिचिलाहरुले पनि पछ्याउन् भन्ने चाहन्छु जहाँ हामी सबैको उम्दा मनले स्वदेशमै
उच्च धरहराको निर्माण गर्न सकोस् |
‘सर ! तपाइको एउटा फोटो
खिंच्छु है, अलि हिरो पोज दिनुस् न |’ भन्दै अमृतले मेरो अगाडि उभिएर हातमा क्यामेरा
नचाउँदै भन्यो | मैले ‘वेट-वेट’ भनें अनि शानले दुवै हात बाँधेर बसी टाउको र नजर
देब्रेपट्टी फर्काएँ र अमृतले क्लिक गर्यो | मलाई यही पोजको तस्विर मनपर्यो अनि आफ्नो
फेसबुक प्रोफाइलको भित्तामा पनि यसैलाई राखें, मेरो त्यही हिरो पोज |
(समाप्त)