Wednesday, December 14, 2011

म आज सोचमग्न छु किनकि हिजो भ्यानिसाको इन्गेजमेन्ट पार्टीमा मैले अचानक त्यो वर्षौं अघिको चिरपरिचित अनुहार,जसको झल्को पाउन म सधैं लालायित भैरहन्थें,जसलाई मैले औधी प्रेम गरेको थिएँ, हो त्यही मुहार आज मैले अचानक देखें| त्यो मेरी पुर्व-प्रेमिका सपना थिई |परदेशको संघर्षमय वातावरण अनि आफ्नो क्यारियर,सपना र मबीच माया झ्यांगीसकेको भएपनि वास्तविक सफल प्रेमको विन्दुमाचाँही पुग्न सकेन |

म आफ्ना अतीतका पाना पल्टाउन थाल्छु | पोखरेली लाहुरे संस्कारमा हुर्केको म पाँच दाजुभाईमध्ये माहिलो हुँ | लाहुरेको छोरो भएकोले एस.एल.सी.दिनेबित्तिक्कै मलाई पनि लाहुरे बन्नुपर्ने दवाव आउन थाल्यो | जेठा दाजु भारतीय लाहुरे भैसकेथे,अरु भाइहरु चिचिला नै थिए | परिवारमा आर्थिक समस्या त थियो नै | हुँन त पढेरै क्यारियर बनाउने मेरो विचार थियो तर बाबुले भनेको मान्नैपर्यो अनि बाबुको बिंडो पनि थाम्नै पर्यो | त्यसैले म लाहुरे ट्रेनिंगमा भर्ती भएँ |तर मरी-मरी कोशिश गरेपनि ब्रिटिश आर्मीमा म छनौट हुन सकिन | त्यैपनि मैले राम्रै अक्कल पुराएथें,मैले आफ्नो पढाइलाई चाँही रोकिन दिइन |स्नातकमा आइपुग्नेसम्म मैले लाहुरे बन्ने कोशिश गरें,अन्तिमपटकको असफलतासँगै उमेरको हदले पनि नेटो काटेपछि बल्ल लाहुरे बन्ने मेरो सपनामा पूर्णविराम लाग्यो | तर त्यसपछी फेरी जसरी भएपनि विदेश जानुपर्ने दवाव | जे होस् विदेश गएर टन्न पैसा कमाएर समाजमा आफ्नो नाक घिरौंलाजत्रो पार्ने मेरो पनि रहर थियो | साथमा १२ को सर्टिफिकेट छदैं थियो,आफ्नै देसमा सिन्को भाँचेको अनुभव नभएपनि ममा विदेशमा गरिखान सक्छु भन्ने दम्भ थियो |
त्यसैले ऋण काढेर भएपनि म स्टुडेन्ट भिषामा पोल्यान्ड पुगें |पोल्यान्डको लुबलिन शहरमा मेरा संघर्षका दिनहरु सुरु भए | आफ्नो देसमा हुँदा आमाबालाई थर्काएर भएपनि खाई-पिई मात्तिएर हुर्केको छोरो,अर्काको देशमा,भाँडा माझ्नेदेखि लिएर ट्वाइलेट सफा गर्नेसम्मका आफुले नेपाल छंदा तुच्छ ठानेको काम गर्नुपर्यो | अन्ततः मेरो घमण्डको शेखी झर्यो | बल्ल मैले सबै कामको बराबर महत्व भएको चाल पाएँ |समयक्रमनुसार्रको संघर्षले ममा बल्ल परिपक्वता ल्यायो |
अँ त, पोल्यान्डको लुबलीन विश्वविद्यालयमा मेरा जीवनका तिता-मिठा क्षण बिते |स्नातक गर्दासम्मका रमाइला क्षणहरुलाई मैले मनभरी संगालेको छु |ती क्षणहरु मेरा स्मृतिका नमेटिने डोबहरु हुन् |यिनै स्मृतिका पानाहरुमा धेरै पाना उही सपनासँग जोडिएका छन् |एउटै कर्मक्षेत्र अनि एउटै परिवेश,सामान्य हाँसो-ठट्टाबाट नै हामी दुइबीच प्रेमको टुसा मौलायो तर मुग्लानेहरुको विवशता,मैले हृदयदेखी चाहेकी मायालुलाई बीचैमा छाड्नुपर्यो |म स्नाताकपछी आफ्नो पढाइलाई निरन्तरता दिन अमेरिका आएँ भने मेरी सपना सुरुवाती खुड्किलामा उक्लिदै थिइ |केही समय त हामी दुइ बिछोडिएका पंक्षीहरु भौतिक रुपमा दूर भएपनि फोन,इन्टरनेट आदिका माध्यमबाट नजिक भइ नै रह्यौं तर विधिको विडम्बना, लामो दूरीका कारण हाम्रो प्रेम टुटीछाड्यो |आखिर प्रेम भन्नु नै यस्तै रैछ जसलाई आफ्नो अवस्थाको अनुकूलतामा जोख्नुपर्ने |सुरुमा प्रेमपीडाले मलाई मरणासन्न हुने गरी तड्पायो तर धन्य,मेरा मित्रहरुले मलाई ढाडस दिए |'जीवन एक चल्ती गाडी हो अनि केटीहरु त्यसमा आउने जाने यात्रु' ,म यो कुरालाई शतप्रतिशत साँचो मान्छु|मेरी पोल्यान्डकी मायालुको सम्झना बिस्तारै-बिस्तारै सपनाजस्तै धमिलिदै गयो |
अचेल समयले मेरो घाउ पुरिसकेको छ अनि समयले मलाई नयाँ प्रेमिका पनि दियो,आशा |आशा साँच्चीकै मेरो जीवनमा नयाँ आशा बनेर आई| न्यू योर्क शहरको व्यस्तताका बावजुद आशालाई भेट्न पाउनु मेरो जीवनको रमाइलो संयोग नै थियो|म कस्तो रानो हराएको माहुरीझैं भाथें,आशाको आगमनसंगै मेरो जीवनमा पनि नयाँ-नयाँ आशाका महल ठडिन लागे|
स्नातकोत्तरपछी म आफ्नै देशमा केहि गर्छु अनि आफ्ना आमाबालाई पनि प्रेमिकाबारे भन्छु भनी मनभरी सपना संगालेर नेपाल आएँ|पोखरा दीपमा मेरो घर छ|आफुले टुरिजम सेक्टरमै पढेकोले अन्नपूर्ण ट्रेकिंग रुटमा आफुले पनि भविष्य बनाउने विचार बनाएको थिएँ तर बिचरो म,म परदेशी थिएँ परदेशी नै हुनुपर्यो|
म नेपाल आउनभन्दा अघि नै आमाबाले मेरो बिहेको कुरा छिनिसकेछन्|कस्तो अचम्म लाग्यो मलाई,मेरै जीवनको यस्तो महत्वपुर्ण कुरा पनि मैलाई थाहा नदिइएको | म आएको भोलिपल्ट आमाले कुरा निकालिन्,आफ्नै स्वजातीय मामाकी छोरीसँग बिहे गर्नुपर्ने उनको कुरा थियो |मैले पनि आशाको बारेमा आफ्नो कुरा राखें तर आमाबा मेरो कुरामा रत्तिभर सहमत भएनन् |अर्कै जाति अनि अमेरिकी नेपाली उहाँहरुलाई मनासिव लागेन |मैले कति सम्झाउने कोसिस गरें तर मेरो केही लागेन |आमाले त 'तैंले हाम्री ज्ञानुसित बिहे गरिनस् भने म विष खाएर मर्छु अनि म मरेपछि बल्ल तैंले मनपराकी केटीसँग बिहे गर्' भनेर नमिठो वचन दिईन् |
म रातभरी छटपटाए |''मेरो देश पिछडिनुको मूल कारण यही हो,जहाँ अझै पनि मान्छे-मान्छेबीच उंच-नीच,धनी-गरिव र छुवाछुतको भावना हटेको छैन |यो देशमा सबै क्षेत्रमा समानता हुन सकेमात्र विकाश सम्भव छ...|'' तर यी असमानतालाई जरैदेखि कसरि उखेल्ने?,मैले पनि उपाय पहिल्याउन सकिन किनकि आफ्ना प्रिय आमाबाको मन दुखाएर समानताको वकालत पनि त गर्न सक्दैन थिएँ,तर बाध्यतामा घुंडा टेकी आफ्नी प्रेमिकाको मन पनि म दुखाउन सक्दिन |मैले पहिल्यै बाध्यताका कारण एउटी प्रेमिका गुमाइसकेको थिएँ,अब आशालाईचाँही कुनै पनि हालतमा नगुमाउने दृढता लिसकेको छु |तर कसरि? म रनभुल्लमा परें|सोच्दा-सोच्दा आधा राततिर बल्ल मैले एउटैमात्र विकल्प छनौट गरी निदाएँ |
भोलिपल्ट बिहानै घरका अरु कोहि पनि नउठ्दै म सुटुक्क घरबाट निस्कें,सासु-ससुराको घोंच-पेचबाट दिक्क भई भागेकी बुहरिजस्तो भएर|जानुभन्दा अगाडि मैले एउटा चिठी पनि छाडेर गएँ|-- ''आदरणीय अतिप्रिय आमाबा,म हजुरहरुकै छेउमा बसी आफ्नै देसमा पसिना पोखाउँछु भनेर आको थें,मैले मनपराएकी केटीलाई हजुरहरुको प्यारी बुहारी बनाउँछु भन्थें,तर हजुरहरुलाई मेरो आफ्नो चाहनाको ख्याल भएन |प्यारी आमा,मेरी आशामा एक असल बुहारी बन्न सक्ने खुबी छ,ऊ विदेशमा पढेकी,अर्कै जातकी भनेर हजुरहरु किन नाक खुम्चाउनुहुन्छ?आखिर मा पनि त्यही देशको हावा खाको मान्छे हो|मैले आफ्नो देशलाई नाबिर्सेजस्तै आशाले पनि बिर्सेकी छैन,ऊ त हजुरहरुको अनुमतिमा नेपालै आएर बिहे गर्न चाहन्थी, तर यहाँ आएर हाम्रा रहर पुरा नहुने भए|आमा म हजुरलाई धेरै माया गर्छु|मैले यसरि सुटुक्क छाडी गएकोमा मलाई माफी दिनुहोला|मलाई दस धारा दुध खुवाएर हुर्काउने आमा अनि सहि बाटो हिंडाउने बालाई म मरेपनि बिर्सन्न तर हजुरहरुले यो कुरा बुझिदिनुपर्यो कि यो छोरोले अब आमाबाको औंला समाती ताती गर्न छाडिसकेको छ|ऊ आफ्नो जीवनको गोरेटो आफै कोर्न सक्छ ....|''
म न्युयोर्क पुग्नासाथ फोन गरें|काका-काकी र बा बोले तर आमा रिसाएकै भएकीले बोलिनन्|जे होस्,आमाले बोलेका ती कटु वचन त टरिगयो भनि मैले शान्तिको सास फेरें|समय बितेपछि आमाको कमलो मन एकदिन पक्कै फर्कनेछ अनि आमाले मलाई फेरी 'ए काले माइला,यहाँ आइज त' भनी बोलाउनेछिन् भन्ने कुरामा म आशावादी भएँ|
अहिले विवाह गरेको दुई वर्ष भइसक्यो तर मेरी आमाको मन अझै फर्केको होइन तर मैले आश भने मारेको छैन|हिजो भ्यानिसाको इन्गेजमेन्ट सेरेमनीमा उही सपना झुलुक्क देखा परेकिले मलाई विगतका कुराको झझल्को आयो|म्यानहाटनमा राम्रै नकुरी भएको ग्रीनकार्ड होल्डरसंग उसको पनि बिहे भइसकेको रहेछ,मलाई झुलुक्क हेरिथी तर चिनी कि नचिनेको स्वांग पारी मलाई थाहा भएन|मलाई कस्तो-कस्तो भयो तर आफैलाई सम्हालें,जे होस्,उसले पनि राम्रै जीवनसाथी पाएकोमा मलाई धेरै नै खुशी लाग्यो|
अहिले राति डिनर बाहिर खाने भनेर आशाले मलाई तानी-तानी 'म्यानहटन रेस्टुरेन्ट' लगेकी छ|अचेल विवाहपछि त त्यति रेस्टुरेन्ट गइन्थेन,आफ्नै बुढीले मीठो पकाएपछि त्यहाँ के जानु? 'म्यानहटन रेस्टुरेन्ट'',न्यु योर्कवासी नेपालीहरुले खोलेको रेस्टुरेन्ट,यहाँ परम्परागत नेपाली दालभातदेखि लिएर प्राय विश्वका विभिन्न मुलुकका उत्कृष्ट रेसीपीहरु पाइन्छ|मलाई यहाँको दालभात र ढिंडो असाध्यै मनपर्छ|बेला-बेलामा नेपाली खानाको स्वाद लिन म एक्लै यहाँ आउथेँ तर आशालाई भेटेपछि मेरो डेटिङ-स्थल यही नै बन्न पुग्यो | अहिले फेरी यहीं आउँदा म रोमान्सका पुराना दिनहरु सम्झिन थाल्छु|
'हनी,एकैछिन है...' भनि आशा एकछिन मेरो नजरबाट हराउँछे| अनि म चारैतिर नियाल्न थाल्छु |झिलिमिली बत्ती कोठाभरी झलमल छन्| मेचैभरी डेटिङमा रमाइरहेका तरुनी-तन्नेरीहरू अनी पूर्वतिर विशाल पारदर्शी शिशाबाट देखिने झिलिमिली ब्रुकलिन ब्रीज,म कामबाट थाकेको थें,यी वरिपरिका मनमोहक दृश्यले मेरो थकान केही मेटियो| अनी आशा आई,उसको पछी ट्रेमा परिकार बोकेका वेटर थिए| ऊ मेरो अगाडि बसी| वेटरले टेबुलभरि परिकारहरु सजाईदियो| सर्सर्ती हेरें,मलाई मनपर्ने चिजहरु थिए अनी साथमा दुइ गिलास ककटेल,मैले आशालाई सोधें-'एनी स्पेशल ओकाजन?' आशा मुसुक्क मुस्काई, 'वेट अ लिटल.आइल तेल यू' भनी | अनि वेटरले एउटा ठुलो छोपिएको भाँडो ल्याई मेरो अघि राखिदियो,मैले पुलुक्क आशालाई हेरें,उसले मुस्कुराउँदै 'ओपन इट' भनी|
कभर हटाएर हेरेको त,गोलो सुन्दर केक पो रैछ,जसमा 'हेप्पी बर्थडे टु मदन,माई हनी' लेखिएको थियो|मैले झल्याँस्स सम्झिएँ,आज त मार्च ४,मेरो जन्मदिन|फेसबुक पनि नहेरेको धेरै दिन भाथ्यो,कामको चापले गर्दा आफ्नै जन्मदिन पनि भुलेको मैले |आशाले 'हेप्पी बर्थडे टु यू' भन्दै मेरो नजिक आई मलाई ओठमा चुम्बन गरिदिई,मैले पनि 'थेंक्स अ लट हनी' भन्दै चुम्बन साटें | अनी फेरी कानैमा आफ्नो ओठ राखी सुस्तरी आशाले भनी-'युआ गोन्ना बी अ ड्याड सून'| ओहो ! खुशीले म झन्डै उफ्रिएँ|जीवनमा फेरी फूलैफूलको वर्षात भएझैं लाग्यो अनि म आशासँगै दुई फेमिलिको पारिवारिक भेटमा रमाउँदै गएँ,ककटेल र बर्गरको स्वादसँगै,आफ्ना सारा तीता अतितका स्मृतिहरुलाई सदाका लागि बिर्संदै......|
(समाप्त)
प्रतिक्रिया दिनुहोस्