Tuesday, December 13, 2011

उत्तर आधुनिक मुनामदन

आज मेरी छोरीको पास्नी| मेरी सासुले मेरी नाबालक छोरीलाई 'च्वाप्प च्वाप्प म्वाई खाँदै आशिर्वाद दिएको हेरिरहँदा मेरो आँखाबाट खुशीका आँसु खसे| मेरी सासु,एक नं.की महापाकी,उनलाई रिझाउन मैले कम्ति हण्डर खानुपरेन | बाबै सुरुदेखि सम्झँदै गर्दा मलाई हाँसो पनि लाग्छ,आँसु पनि खस्छ |
मैले उनकी छोरी जानुकालाई भगाएको सुरुका समयहरुमा त मेरो सातोपुत्लो नै गयो |ए ! मेरी आम्मै,पहिले-पहिले त जतिखेर पनि गालीमात्र गर्ने,गाली गर्ने थेगो पनि कहाँबाट सिकेको होला कुन्नि,''ज्वाइँ न स्वाइँ,अगुल्टाले च्वाइँ''' रे |मैले जानुकालाई भगाएर सोलुखुम्बु लानासथ फोनमा कुरा गरेको नि,यही थेगो फलाक्दै अरु भएभरका ठाडो गाली गरिन्--'...पख् तँलाई मोरा,मेरी फूल्जस्ती छोरीलाई भगाउँछस्? तँ मेरो सामुन्ने पर् न मात्र,तँलाई लौरोले बेस्कनी नसेक्काइ कहाँ छोडम्ला र...'

म जानुका र आफैलाई उत्तर-आधुनिक मुनामदनको रुप भन्न रुचाउँछु किनकि उत्तर-आधुनिक लवजमा हाम्रो प्रेम भएको थियो |म कतारको मरुभूमिमा सेक्युरिटी गार्ड थिएँ| त्यो मरुभूमिको डढ्ने गर्मीसँगै मेरो मन पनि डढ्नु डढेको थियो| तर कताकताबाट जानुकासित भेट भो |
प्राय: दिनको डढेल्ने समयमा गार्डको रुपमा कम्पनीको पहरा दिईरहँदा मेरो मन भत्भती पोल्थ्यो,भौतिक र मानसिक दुवै रुपमा| त्यसबेला यसो टहल्दै गर्दा म मेरो मोबाइलको 'निम्बुज' खोलिहाल्थे जसबाट च्याट गरी म आफ्ना तितरवितर भएका साथीभाईसँग मनका व्यथा पोखी हलुको हुने प्रयास गर्थें |त्यसैताका फेसबुक चलाउँदै गर्दा हो,'जानशीं' नाउँको कुनै युवतीसित मेरो चिनजान हुन पुग्यो |गफिंदै जांदा ख्याल ठट्टामै हाम्रो माया बस्यो| तर अरु आधुनिक भनी टोपल्नेहरुका जस्ता बकम्फुसे च्याट हुन्थेन हामीबीच| हामी दुवै साहित्यप्रेमी अनि जीवनप्रति दुवैको गहिरो दृष्टिकोण,मन त मिल्यो मिल्यो,पृष्ठभूमि पनि लगभग मिल्यो| हामी दुवै प्रेममा धोका पाएका घायल पंक्षी,हाम्रो पीडा एकदम मिल्न पुग्यो| दुवैले एक-अर्काको सत्यतथ्य नलुकाई भन्थ्यौं |
उसको परिवार राजधानीकै मध्यम वर्गीय थियो,मचाहिं नितान्त गरिब,विकट सोलुखुम्बु जिल्लाको अनकन्टार गाउँको गरिब किसानको छोरो |मैले उसलाई मनपराए पनि मनको कुरा पोख्न सकेको थिइनँ तर भ्यालेन्टाइन डेमा एकदिन उसैले मेरो सामु प्रेम-प्रस्ताव राखी,मलाई त 'के खोज्छस् काना?आँखो?'झैँ भो,हर्षविभोर हुँदै उसको प्रस्ताव स्विकारें| कुरैकुरामा मैले आफ्नो आर्थिक अवस्थाका कारण उसलाई अपनाउन नसक्ने भनेपनि उसले मलाई उत्साह दिई-'साग र सिस्नुमात्र खानु परेपनि म मेरै प्रेमीलाई स्विकार्छु' भनी अनि त्यसैकारण ममा पनि आँट पलायो|
जहिले पनि राम्रा-राम्रा ब्रिटिश लाहुरेको विवाहको प्रस्तावलाई नकार्ने छोरीको चाला देखेर आमाले खुब केरकार गरिछन् अनि उसले हाम्रो प्रेमको रहस्य खोलिछ|आमाले त जिब्रो टोकिछन्-'...मेरी आँबोई नि! कहाँको पिरती हो यस्तो? बेत्तालनी मोरी..' उसले पनि खुब गाली खाइछ तर उसले मबाहेक अरु कसैलाई पनि आफ्नो वरको रुपमा नस्वीकार्ने दृढता व्यक्त गरिछ अनि आमाले पनि 'तँलाई म मरेपनि त्यो झुत्रेसित पोइल जान दिन्न बुझिस्' भनी चेतावनी दिईछन् |तर हाम्रो बलियो प्रेमको डोरीलाई कसैले पनि चुँडाउन सकेन |
जेठ महिनामा म छुट्टीमा नेपाल आएँ |आउनुभन्दा अगाडि नै हाम्रो भाग्ने प्लान थियो क्यारे,आफ्नो योजनाअनुसार जानुकालाई भगाउन सफल भएँ |अनि सिधै उसलाई मेरो गाउँ लगें |ऊ शहरमा जन्मी हुर्केकी,भुँइमा कहिल्यै पाइला नटेकेकी,मेरो गाउँको प्राकृतिक सुन्दरतामा मोहित भई |पटक-पटक ताल,झरना,हिमाल देखी कि मुख छोपेर कराईहाल्ने 'ओ वाउ,हाउ ब्युटिफूल..' |बाटामा हिंड्ने बटुवाहरु पनि उसलाई हेर्दै हाँसेर जान्थे |मलाई त लाज लाग्यो,कुइरेनिलाई गाइड बनेर घुमाउन ल्याएको जस्तो पो भो गाँठे |हुन त ऊ कुइरेनिजस्तै त थिई नि,विशुद्ध नेपाली भएपनि गाउँ कहिल्यै नदेखेकी,त्यो फुंग उडेको कच्याककुच्चुक राजधानीमा बसेकी,अनि किन नरमाओस् त उसको मन,उसलाई रमाएकी हेर्न पाउनु पनि क्या रमाइलो लाग्यो |तर सल्लेरीदेखी माथिको उकालो एक घन्टामै ऊ थाकी,बल्लतल्ल हात समाती-समाती हिँडाएँ |मलाई मात्र गाउँ 'लेते' पुग्न एकदिन लाग्थ्यो,उसलाई साथमा लग्दा त ठ्याम्मै दुइ दिन लाग्यो |त्यैपनि मज्जा भो,आफ्नी प्रेयसीसित उकालो चढ्नुको मज्जा नै बेग्लै |कति ठाउँ लोटी ऊ त,हाँसो थाम्न सकिनँ,हाँस्दै उठाएँ,ऊ पनि हाँसी |धन्न, उसलाई 'अल्टिच्युड सिक्नेस' चाँही भएन |
गाउँमा दुख पाई मेरी जानुले |गेसमा खाना पकाउने मान्छे,दाउरा बाल्न आएन,घाँस-दाउरा काट्न पनि आएन,छुर्पी बनाउन आएन,यार्सागुम्बु टिप्न पनि आएन,मेरी आमाले किचकिच गरिरहिन् | 'केही काम नजान्ने बुहारी ल्याइस्,आफ्ना लागिमात्र ल्याइस्,हाम्लाई त कामै छैन |'
आमाले जे भनेपनि ऊ सहेरै बसी,पछि ऊ दोजिया भइसकेकी कुरा थाहा पाएँ |त्यो अनकन्टार गाउँमा उसलाई अप्ठेरो हुने देखेर मैले उसँगै काठमाण्डौमै बस्ने विचार गरें |ऊ आमाले थाहा पाउलिन् भन्ने डरले आउन मानिरहेकी थिइन,मैले आमाको मन चाँडै फर्कन्छ भनी सम्झाएँ |नभन्दै आफ्नी छोरी दोजिया भइसकेकी चाल पाएपछि उनको मन फर्क्यो,तर सुरुमा मेरो पनि सातोपुत्लो उदाइदिन् |उही पेट मिचीमिची हाँसुजस्तो लाग्ने थेगो.फेरी कुट्लीझैं पनि गरीन्,नराम्रो बानी |जम्काभेट हुने डरले गोंगबुदेखि टाढै सिनामंगलमा डेरा लिएको थिएँ तर एकदिन त बाटामा अचानक भेट भाथ्यो,बाटैमा सबले देख्नेगरी गाली गरिन् भन्या,कस्ती महापाकी बूढी |अनि कहिले त सबका सामु मेरो गरिबीमाथि खिल्ली पनि उडाइन्,मैले पनि आफ्नो स्वाभिमानको सफाई राम्रैसँग दिएँ अनि बल्ल बुढी चुप लागिन् |
अहिले छोरीको पास्नी,'मेरी छुनुमुनु नातिनी,मुहा..' भन्दै मेरी छोरीलाई म्वाई खाइरहेकी देख्दा मलाई विगतका कुराले झस्कायो |
(समाप्त)
प्रतिक्रिया दिनुहोस्