पात्र-एउटा २६/२७ वर्षको युवक,ओछ्यानमा पल्टेको छ
(उसको मनोवाद-)
''आज त चारुले झनै दिक्क पारी |उसलाई मैले 'ग्रेट ब्यारियर रीफ' घुमाउन लाने रे |उफ्! यो मोरीले कहिलेसम्म मलाई यसरि नै दिक्क पार्ने हो कुन्नि,म त आजित भैसकें बाबै नि |
अस्ट्रेलियामा म कमाउन आको,त्यो मोरीलाई घुमाउन आको हो र? त्यैपनि कस्तो दुर्भाग्य परेछ मेरो,यो मोरीजस्ती केटी मैलाई पर्नुपर्ने |'नखाउँ भने दिनभरिको शिकार,खाउँ भने कान्छा बाउको अनुहार'झैं भाछ |चार वर्ष भो अस्ट्रेलिया आको,यता सिड्नीमा बल्ल-तल्ल काम पाको मैले |नेपाल छँदा बाबुको सम्पति उडाएर मस्ती गर्न पल्केको म,विदेशमा यस्तो कन्तविजोग होला भन्ने सपनामा पनि सोचेको थिईनँ मैले |
बाबाले मलाई बेला-बेलामा अर्ति-बुद्धिसाथ हप्काइरहन्थे तर म बाउको त्यो अर्तिलाई बित्थाको किचकिच सम्झन्थे |

मलाई बाबाले विदेश गएर कमाउन सिक्,आफ्नो पसिनाको कमाइ कस्तो हुन्छ भन्ने बल्ल थाहा पाउनेछस् भन्थे |म पनि एउटा धनी देशमा गएर पैसाको रास बाबाको पोल्टामा खनाएर देखाइदिन्छु भनेर ईख पाल्थेँ |तर आफ्नै बाबासित यसरि ईख पाल्नु मेरो ठुलो भूल रहेछ,अहिले म उम्कनै गार्हो खाल्टोमा अड्किएको छु |
चारचोटी एस.एल.सी.मा गुल्टिएर पढ्न छाडेको म,आफूलाई साह्रै मनपरेर एउटी केटी पनि भगाएँ |ऊ मेरी जानु हो,आमाबालाई नसोधिकन भगाको केरे,सुरुमा त थुप्रै गाली खाएँ |पछि चाँडै नै जानुले मेरो एउटा छोरो पाइदिई |मेरो प्यारो छोरो 'ज्याकी',मजस्तै पढ्न नमान्ने भाछ रे,मलाई त्यसको भविष्यको सार्है चिन्ता लाग्छ |फोनमा-'मेरो ज्ञानी बाबु,स्कूलमा राम्ररी पढ है,ठुलो मान्छे बन्नुपर्छ के,तिमी राम्ररी पढ्यौ भने म तिम्लाई यो ल्याइदिउँला.ऊ ल्याइदिउँला' आदि भन्दै फकाउँथें |तर छोरोले मलाई तोते बोलीमै झटारो हानिहाल्यो-'बाबा बजेले भनेको हजुल पनि इक्कुल जान मान्थेन ले..फेल हुन्थ्यो ले..हजुल फेल भएपनि अत्तेलियाको लाउले(लाहुरे) भछ केले,म पनि तेत्तई हुन्छु नि है बाबा..'| अनि म झसंग भएँ,आफ्नो नराम्रो बानी छोरोमा कति चाँडै सरेछ भन्ने थाहा पाएर म दुखित भएँ |मलाई त सोंच्दा-सोंच्दा रुन पनि आयो |बेलामा बुद्धि नपुराए यस्तै हुनेरैछ |
त्यो छोरो ठुलै हुनेसम्म मेरो विदेश जाने भिसा लागेन,पछि बल्ल-तल्ल डिपेन्डेन्ट भिसा पाएँ |यही भिसामा लाने पार्टनर,अर्थात् मेरी नकली बुढी चारु हो,जसले मलाई यो अस्ट्रेलियाको बसाई र कमाइ,निल्नु न ओकल्नु बनाएकी छ |म विवाहित भन्ने थाहा पाएर पनि त्यसले मेरो पिछा नछाड्नाले यो सिल्ली केटीबाट कसोगरी उम्किने होला भनि म घोत्लिदैछु |राम्रोसंग मैले त्यसलाई सम्झाएँ,बुझाएँ-'म विवाहित,एउटा छोरोको बाबु हुँ' भन्दा पनि 'मलाई यसले केहि फरक पार्दैन,मलाई तिमीले आफ्नो गर्लफ्रेन्ड बनाउनैपर्छ' पो भन्छे गाँठे |यस्ती केटी त कहिँ पनि देखेको थिइनँ बाबै |
सायद,मैले त्यसलाई आफ्नो पारिवारिक स्थितिको बारेमा भन्न नहुने रैछ |कति केटीहरु सम्पतिकै पछि दगुरर्छन् भन्ने मलाई थाहा नभएको होइन तर यो केटि यस्ती चान्डालनी निस्केली भन्ने मलाई के थाहा? अब के गर्नु,बोलिसकेको कुरो फिर्ता गर्न मिलेन |मलाई पक्का थाहा छ, यो केटीले मेरो पैतृक सम्पतिमा आँखा गाडेकी छ किनकि सुरुसुरुमा मैले त्यसको अगाडि आफ्नो पैतृक सम्पतिको खुबै बखान गरेको थिएँ |तर समयक्रमनुसार ममा पनि चेतनाको विकास भयो अनि बल्ल मैले आफैलाई र अरुलाई पनि खुट्ट्याउन सकें |
विदेशमा दुख पाएकोले हो मेरो घैंटामा घाम लागेको नत्र म त एक नं.को हाउडे नै हो नि |त्यो केटी पढाइमा व्यस्त हुँदा मलाई बेलाबेलामा पैसा मागेर दिक्क पार्थी |आफुले दुख गरि कमाको पैसा अरुलाई सित्तैमा दिनुपर्दा साँच्चै नै खाँट लाग्दो रैछ |मैले पैसा उडाउँदा बाबाले किचकिच गर्ने कारण बल्ल थाहा पाएँ,तर त्यो केटीलाई पैसा नदिए कहाँ सुख? उसै त डिपेन्डेन्टमा भैपरी आए पार्टनरलाई नगद सहयोग पनि गर्ने भनेर करारनामा गरिसकेको,त्यसले मलाई गर्नुसम्म आच्छु-आच्छु पारी |नदिउँ भने पुलिसलाई पोल लाइदिने डर,त्यसैले मन नलागी-नलागी ङिच्च दाँत देखाउँदै पैसा दिएँ |एकचोटी त आजित भएर झर्किएर बोलें पनि-'तिमीले घरीघरी यसरि पैसा मागेको मलाई मनपरेन,म अब तिम्लाई यसरि पैसा दिन सक्दिन बुझ्यौ|'' केटी सिल्ली भनेको त खतरा रैछे,प्रत्युत्तरमा यस्तो पो भनी-''करारमा साइन गरेको कुरा भुल्यौ?तिमीले मलाई पैसा दिएनौ भने त तिम्लाई जेल हाल्दिन्छु नि |''बाबै क्या खतरा डाइलग,मेरो त हंसले नै ठाउँ छोड्यो |त्यैपनि यस्तो बेला आगोमा घिउ थप्न हुन्न भन्ने मलाई राम्रै थाहा थियो,त्यसैले हाँसेको पार गर्दै-''हैन बारे ठट्टा गरेको के' भनेर विवादलाई हल्का बनाइदिएँ |त्यस दिनदेखि म सधैं सतर्क छु |
अहिले भर्खर-भर्खर त्यसको स्नातक पूरा भएको छ अनि बिदामा बसेकी छ |त्यैभएर यो बिदामा 'ग्रेट ब्यारियर रीफ'घुमाउन लैजान मलाई ढिपी गर्दै छे |गएको आइतवार मलाई तानी-तानी फिल्म हल लगी,पछिल्लो बलिउडे फिल्म' 'जिन्दगी न मिलेगी दोबारा' हेर्न हेराउन,मैले नकार्दा पनि केहि सिप लागेन |दुइटा टिकट उसैले पहिल्यै काटेकी रैछ,मलाई हत्तु-हैरान पारेपछि जान मानेँ |जान त गएँ,तर म मज्जाले सुतिदिएँ,त्यसलेचाहिं आँखा जोतेर हेर्दै थिई |कतिबेला पर्दामा 'डाइभिङ सीन' आरैछ,त्यसले मलाई आठ रेक्टर स्केलको भुइंचालोले हल्लाएझैं गरी झकझकाई-''ऊ.. त्यहाँ हेर न भन्या'| आँखा मिच्दै 'हँ? के?' भन्दै पर्दामा हेरें,गीतसँगै 'सी डाइभिङ'को दृश्य आको रैछ,त्यो नक्कचरीले भनी-''ऊ..हेर,ग्रेट ब्यारियर रीफमा यस्तै सी डाइभिङ गराउनुपर्छ है,मलाई''| त्यसबेला त्यस्सै 'लल' भनेको नि,त्यो त यो कुरामा फेभिकोलझैं चिप्किराखी बा !
आज मैले यसरी सहेर नबस्ने निर्णय लिएको छु |भर्सेला परोस्,म अब मेरै देशमा आफ्नै स्वाभिमानले बाँच्छु,चाहे मलाई ज्यामी बन्न नै किन नपरोस्,चाहे मैले ढिंडो खाएर छाक टार्नु किन नपरोस्,म मेरै बारीमा रोपेर सून फलाउँछु,मेरै कान्लाको ढुंगा फोरी प्यास मेट्ने मूल फुटाउँछु |यसरि यहाँ बस्दिनँ,अहँ बस्दिनँ |''
यति भनी ऊ भोलि नै चारुलाई थाहै नदिई सुटुक्क नेपाल उड्ने निर्णय गरी निदायो |यो निर्णयपछि उसको हृदयमा सयौं हातहरुले ताली पिटेको आवाज गुँजिरह्यो,धेरै बेरसम्म... |
(समाप्त)