Thursday, December 8, 2011

अस्थिर जिन्दगी---(कथा)

अचेल सबले मलाई सोध्छन ‘तिमी कहाँ बस्छौ?’ मलाई अलिकति हाँसो लाग्छ,भनिदिन्छु,-’म अचेल न जमिनमा बस्छु,न पानीमा बस्छु’ हाहाहा |कुरो त साँच्चै हो,म थलचर प्राणी भएपनि,मेरो ठेगान थल अथवा जमिनमा छैन |कुरा सुन्दा अनौठो लाग्ला तर यसमा अनौठो मान्नुपर्ने कुरा केही छैन |
अँ म न जमिनमा,न पानीमा यस कारण किनकि मेरो यो परदेशको बसाईं नै न जमिनमा छ,न पानीमा |हाहाहा, गुढ रहश्य सबलाई भनिहालूं न त,म त खासगरी पानीजहाजमा बस्छु क्या किनकि मेरो कर्मथलो नै यही हो अचेल |बल्ल ३ महिना भो,मैले यो रोजगारी पाएको |मलाई यसप्रति कुनै दुःख पनि छैन,कुनै पछुतो पनि छैन तर अहिलेचाहिं यसो घरको सम्झनाले सताएर सुत्नेबेलामा नसुतेर बाहिर निस्किएको छु |
चकमन्न रात,चारैतिर कालो समुन्द्र अनि एकनासले लस्किरहेको म बसेको पानीजहाज,म जहाजको तेस्रो तल्लामाथिको छतमा छु,टुप्पाको डेकमा उभिएर आफू वरिपरिको वातावरण नियाल्दैछु |सधै काम सकेर मोबाइलमा च्याट गर्दै बस्थें,आजचाहीं च्याट गर्न मन नलागेर त्यतिकै बाहिर टहलिदै छु |परपर दुई-दुई जोडी डल्फिन व्हेल कस्तो मजाले पानीमा डुबुल्की मार्दैछन् |म बसेको जहाज बडेमाको छ,तीनतले फाइभ स्टार होटेलजस्तो,सबै कुराले सुसम्पन्न,आफू पानीमा तैरिरहेको आभाष पनि नहुने |आफूलाई त जमिनमै छुजस्तो लाग्छ तर वास्तवमा म अहिले आन्ध्र महासागरको सतहमा तैरिरहेको छु |अँ आन्ध्र महासागर,जहाँ इतिहासमा त्यो ‘टाइटानिक’ भन्ने ठूलो पानीजहाज डुबेको थियो,हो त्यहि महासागरमाथि छु |त्यो फिल्म थुप्रैपल्ट हेरेको छु |मान्छेले जीवन-मरणसित कसरि पोठेजौरी खेल्छ भन्ने सजिव उदाहरण हो त्यो,अहिले म पनि त्यसकै भुक्तभोगी हुँदैछु |
अस्ति दुई दिनअगाडि त हामीसँगै हिँडेको पानीजहाज सामुन्द्रिक आँधीको चपेटामा परी डुब्यो रे,आबुई ! सम्झँदै मेरो आङ सिरिंग हुन्छ |जीवन-मरणको के नै ठेगान छ र यहाँ,मान्छे गर्छु-गर्छु भन्दा भन्दै जाँदोरहेछ,यसमा कसको के दोष |म चढेकोजस्तो ठूला पानीजहाजहरुलाई त सामुन्द्रिक आँधीले त्यति असर गर्दैन तर जोखिमको जिन्दगी त स-साना नाविकहरूको देख्छु जो अफ्नो जीविकोपार्जनकै लागि यो डरलाग्दो समुन्द्रमा लस्किरहेका हुन्छन् |खासगरी मौसम पूर्वानुमान र कम्पासले देखाएको दिशाको भरमा निकै चनाखो भएर लस्किरहने जहाजमा आँधीको त्यति डर हुँदैन |तर अस्ति रातमाचाहिं जहाज भूइंचालो आएझैं हल्लिएथ्यो,म डरले रातो-पिरो भएर भोल्गाको पाखुरा समातेको नि,त्यो हब्सी त मरीमरी हाँस्यो |मभन्दा धेरै अनुभवी भएकोले होला ऊ आत्तिएन,मलाई पनि ‘नआत्तिई केटा,यो केहि पनि होइन’ भनेर मज्जाले स्वाँ-स्वाँ गरि कोल्टे फेरेर निदायो,मलाई भने त्यो रातभरी निद्रा परेन |आखिर जीवनमा हामीले यस्तै आँधीको निडर भएर सामना त गर्नैपर्छ नत्र त्यो बन्दरगाहमा सुरक्षित अवतरण कहाँ होला र?
तल हेर्छु,जहाज पानीमा हिंड्दैछ,पाइला मेट्दैछ |यसरि नै मानिसले पनि आफ्ना जीवनका पुराना डोबहरु मेटाउनु छ अनि नयाँ गन्तव्य तयार पार्नु छ |फेरि दुई जोडी डल्फिन व्हेल हावामा कावा खान्छन्,म एकछिन त्यो चटक हेर्छु |अनायास मलाई मेरी मैयाको याद आउँछ |हामी दुई यहाँ सँगै भएको भए,यहि जहाजको डेकमा उभिएर टाइटानिकमा ज्याक र रोजको जोडीले हात फैल्याएझें फैल्याउँथ्यौं होला |तर..आ..मेरा स्मृतिपटका यी डोबहरुलाई अब मैले डुंगाले अफ्नो पाइला मेटेझें मेटाउनैपर्छ किनकि मेरी मैया मेरी हुन सकिन |

आ..अब अगाडि अर्की मैयाँसाहेबको बाटो हेर्दैछु |हाहाहा |अँ अचेल त जुनूलाई पो रुचाउन थालेछु |त्यस्तै जुनू,फुनू,सुनूहरु मेरो जीवनमा कति आए,कति |कतिले मलाई धोका दिए पनि तर म दुखी छैन,जीवन त बाँचुन्जेल जिउनु छ,जाबो एउटी केटीले छोडी भनेर मजनुजस्तै अलाप-विलाप गर्ने मुर्ख म होइन,अनि यही कुरा म सारा पागल प्रेमीहरुलाई भन्न चाहन्छु |

सरर....हावाको एक झोक्का चिसो स्याँठ चल्यो |जहाज उसकै गतिमा चल्दै छ सलल...|अब ५ दिनपछि अमेरिकाको बोस्टन बन्दरगाह पुग्छ |त्यहाँ मेरो भान्जालाई भेट्नु मन थियो तर के गर्ने,भान्जालाई पनि फुर्सद हुँदैन,मलाई पनि हुँदैन |भेट्न मन भएर के गर्नु?एउटै जहाजमा काम गर्ने आफ्नै दाजुलाई त कामको चटारोले गर्दा भेट्न पाइन्न भने भान्जा त टाढै भैहाल्यो |यस्तै हो,परदेशीको हाल |’हे ! ......................’ भनी भोल्गाले मलाई डेनिस भाषामा किन नसुतेको?चाँडो आइज भनी बोलायो |ऊ मेरोलागी साथीझैं भएपनि मालिकझैं छ |मैले खाना पकाएको एकदम चनाखो भएर निगरानी गर्छ अनि कहिलेकाहीं अलिकति केहि बिरायो भने सातो नै जालाझें थर्काउँछ पनि,तर जे होस्,साला हब्सी मुहारको कालो भएपनि मनको कलोचाहीं छैन |

अनि मैले टुटेफुटेको डेनिस भाषामै ‘........’(ल ल आएँ) भन्दै कोठातिर गएँ किनकि भोलि बिहान सखारै उठेर मैले पकाउनु छ किनकि म आलिशान जहाज महलको कुक जो परें |
प्रतिक्रिया दिनुहोस्