Thursday, October 4, 2012

मुटु जलिरहेथ्यो

आज म बिशाललाई राम्ररी सम्झाई-बुझाइ गरेर घर फर्कें | आफ्नो मान्छे गुमाउनुको पीडाजस्तो दर्दनाक के नै पो हुन्छ र ?,त्यसको भुक्तभोगी त म पनि हुँ नि,तापनि यो पीडामा आँखाबाट आँसु छचल्किएपनि,मुटु धरर च्यातिएपनि राम्ररी सिउनुको आधार छ हामीसँग | धन्य हो,आज हामीले येशुलाई नचिनेको भए बिनाआधारमा यो च्यातिएको मुटु सिउन सकेपनि त्यो सिउनी घरीघरी उध्रिने सम्भावना थियो |
.
आज विशाल मेरो अगाडि खुब रोयो,तर रोएपनि ऊ निराशामा रोएको थिएन | रुनु त एउटा नितान्त मानवीय गुण, आँसु नखसालेको मान्छे वास्तवमा ख्रिष्टको प्यारो हुन सक्दैन,अन्ततः आँसुसँग पोठेजौरी खेल्नु नै मानव-जीवनको अपरिहार्यता,जुन जीवन ख्रिष्टबिना खडेरी परेर चर्किएको बाँझो जमिनजस्तै, तर ख्रिष्टलाई पाएपछि आहा ! चर्को गर्मी याममा शितल वर्षातजस्तो,काँडाको उपस्थितिमा पनि हाँसिरहेको खुल्दो गुलाबजस्तो | आहा ! बाँच्नुको सार्थकता त ख्रीष्टमा पो,जहाँ मरे पनि आनन्दले दन्तलहर देखाउँदै मर्न पाइन्छ |
.
विशालले आज यो राम्ररी बुझेको छ,आज उसकी आमाले उसलाई छाडेर अनन्त वासस्थानमा परमेश्वरकहाँ गइन्,आमाको बिछोडमा आँसु खस्नु नितान्त स्वाभाविक तर उसको आँसुमा एकदिन आफू पनि त्यहीं पुगेर आमालाई पुन: भेट्ने आशा छर्लंग छ | रुँदै आँसु पुछ्दै उसले मलाई भन्यो-‘मेरा बाबा पनि अचानक यसरी नै खसेथे भुवन...तर अफसोस् न मैले, न मेरा बाबाले ख्रिष्टलाई चिनेथे..यदि चिनेका भए त्यसरी चितामा पोलिनु पर्दैनथ्यो |......म अलि सानै थिएँ,सबै रुँदा म पनि रोएँ,मलामीको लर्कोसँगै बाबालाई बोकी झुम्का खोलामा पुगें | बाबा मस्त सुतेकाझैं थिए,कात्रोले मात्र लपेटेको शरीरलाई दाउरामा राखे अनि दाउराको चाङले थिचे | म चिच्याएँ ‘किन मेरो बाबालाई त्यसरी दाउराले थिचेको ? नहाल्नुस् दाउरा....हुँहुँ’ म रोएँ,मैले दाउरा हटाउने प्रयास गरें तर काकाले मलाई बेस्सरी गाली गर्नुभो | अनि एकछिनपछि काकाले मलाई एउटा लामो दाउरामा आगो बालेर ‘ला केटा,ऊ यहाँनेर आगो सल्का’ भनेर मेरो हातमा जलिरहेको दाउरा राखेर निर्दिष्ट स्थानतर्फ डोर्याए | मस्तले सुतिरहेका मेरा बाबाको शिरनेर पुगेर आगो झोस्न भने,म झसंग तर्सिएँ,’नाइँ, म गर्दिनँ’ भन्दै रुन लागें | काकाले फेरि पनि मलाई गाली गर्दै सम्झाउनुभो ‘टाउकोमा नझोसे दागबत्ती हुन्न मोरा,तँ छोरोले दागबत्ती नदिए तेरो बाउ स्वर्ग जान पाउन्न बुझिस्’ | अनि अरुले पनि मलाई सम्झाए | चितामा जलाउनु त छोरोको कर्तव्य नै रहेछ अनि यसैको लागि छोरोको कामना गर्दा रहेछन् हरेक आमाबाले | तर आफूलाई त्यत्रो मायाले हुर्काएका बाबालाई कसरी जलाउनु ?,मेरो मन पटक्क मानेन,झट्ट त्यहाँबाट भागेर अन्तै गएर रोउँ भयो तर मेरो केही लागेन,अन्ततः म निस्ससिदो रीतिरिवाजको माखेसाङ्लोमा जकडिगएँ | बाहुनको कथित मृत्यु-संस्कार अनि कोपामा कटाएको त्यो कष्टकर समयले मलाई आजित पार्यो, म यतिसम्म आजित भएँ कि मलाई यसबाट मृतकले मुक्ति पाउँछ भन्ने विश्वासमाथि शंका लाग्न थाल्यो अनि परिणामस्वरूप म सत्यको खोजीमा भौंतारिएँ |
.
छोरोले दागबत्ती दिएपछि स्वर्ग गइन्छ रे, त्यसोभए के छोरीमात्र हुनेचाहिं नर्क जान्छ त ?,छोरैले आफ्नो प्रिय जन्मदाताको मुखमा आगो झोस्नु पर्ने भएकोले मलाई त छोरी नै भएर जन्मेको भए हुन्थ्यो जस्तो भयो | तर कथित पुर्ख्यौली रीतिरिवाजमा म नचाहेर पनि पिसिएँ | भित्रभित्रै मैले आफैंसित घरीघरी प्रश्न गरें,-‘के छोरोले दागबत्ती दिंदैमा आमाबा स्वर्ग जान्छन् ? कसरी ? किन ? त्यसोभए छोरो नहुनेहरु चाहिं कहाँ जान्छन् त ? आदि यस्ता प्रश्नले मलाई चिथोरिरह्यो,मलाई पटक्क ठीक लागेन,झन् मृत्युपछि प्रिय आमाबाको पार्थिव शरीरलाई आगोले झोस्ने प्रथा पटक्क चित्त बुझेन,रीस मात्र उठ्यो,कति शान्तले सुतेको शरीरलाई आगोले पोलिदिने ? अझ अस्थिधातुको नाममा जलिरहेको लाशलाई लौरोले हिर्काई-हिर्काई हाड निकाल्ने काम झन् रुचेन | म त चरम विरोधी भइसकेथें,अचेतन मनले मेरी आमा मर्दा चाहिं मैले मेरो हातले पोल्न नपरोस् भनेर कामना गर्थें तर त्यो कसरी हुन सक्छ ?,मलाई केही थाहा थिएन | मेरा मनका ती अनगिन्ती अनुत्तरित प्रश्नहरुले होलान् सायद,म सत्यताको संघारमा डोर्याईएँ | धन्य परमेश्वर ! मैले फेरि यी हातले मेरै आमाको शरीरलाई पोल्नु परेन | मेरी आमा सुन्दर पोसाक पहिरेर आनन्दले कफनमा सुत्नुभयो अनि उहाँ अहिले परमेश्वरसँग हुनुहुन्छ भन्ने कुरामा म विश्वास गर्छु |’

विशालले गहभरी थुप्रिएका आँसु पुछ्दै आफ्नो विश्वासको दृढता देखायो जसलाई सुन्दा मेरा आँखा पनि रसाए |
हो यो संसार कति अबुझ छ,कतिले त स्वर्गको अस्तित्व नै छैन भन्छन्,त कतिले परमेश्वर नै, तापनि यसरी-उसरी गर्दा स्वर्ग पुगिन्छ भन्ने खोक्रा विश्वासमा जेलिरहन्छन् | अखबारका पानामा दिवंगतहरुप्रति संवेदनामा ‘स्वर्गमा फलानाको आत्माले शान्ति पाओस्’ भन्ने कामना लेखिएको देख्दा म भाव-विव्हल हुन्छु | दिनदिन दुर्घटनामा मान्छे मरेका खबर आउँछन्,मृत्यु अनिश्चित हुँदाहुँदै पनि निश्चित सम्झेर मानिस परमेश्वरलाई इन्कार गर्छ, अनि अन्ततः असामयिक मृत्युमा जाकिएर उसले आफ्नो आत्मा पनि गुमाउँछ | ‘कठै ! च्व-च्व आत्मा कति मुल्यवान हुन्छ भन्ने सबैलाई थाहा भए त हुन्थ्यो |


.
हाम्रै गाउँतिर झन् सुसमाचार सुनाए पनि कसैले पत्याउन्न,सबैले कान टाल्छन्,’त्यो चिन्नु न जान्नु कुइरेको धर्म चाहिन्न हामीलाई’,’त्यो गाइ खाने धर्मको बारेमा नसुनाऊ हामीलाई’, ‘त्यो सानो जातले मान्ने देउता चाहिन्न हामीलाई’ भन्छन् | तर वस्तविकता बुझेकोलाई नै थाहा छ कि यी सब त हामीलाई सत्य परमेश्वरदेखि अलग्याउने बाधा हुन् |
अस्ति म्याग्दीको एउटा गाउँमा प्रभुले ठूलो आश्चर्यकर्म गर्नुभएछ | त्यस गाउँमा विश्वासी एकजना विधवा मात्रै रहिछन्,तिनकी छोरी एक महिनाअगाडि नै प्रभुमा सुतीछन् | तिनले आफ्नी छोरीलाई विश्वासी जनसँगै मिलेर अलि माथि एउटा भिरमा गाडिछन् | गाडेको एक महिनासम्म त गाउँलेले केही विरोध गरेनन् रे | उनलाई गाउँलेले ख्रीष्टियन भएकोमा हेप्न त हेपेकै थिए तर छोरीको मृत्युमा चाहिं मुख फालेनन्,बरु ‘खुच्चिंग’ चाहिं पक्कै भने होलान् | पछि लाश गाड्न नदिने कुरामा ती अविश्वासीले अर्को एउटा विश्वासीलाई बाधा हालेछन् जसको पक्षमा तिनै आमा बोलिछन् | तर अविश्वासी न हुन्,तिललाई पहाड बनाउने,तिनी नरम बोलिमै बोल्दा पनि उनीहरु रीसले जंगिए,झन् यसरी हाँक दिएछन्-‘ए ! तैंले भन्थिस् नि,तिमीहरु त मरेपछि पनि सिधै स्वर्ग जान्छौ रे हो ?, अझ केरे फेरि जिउँदो भएर उठ्छ रे,खुलित्तै पार्यो !’ तिनले त्यसको पनि वकालत गर्दा नगर्दै एउटाले अत्तो थाप्यो-‘ए लौ जमुना ! तैंले भनेको साँच्चै हो भने प्रमाण देखा,भोलि हामी तेरो छोरीको लाश बाकस खोलेर हेर्छम्,यदि कुहिएको नभए हाम्ले नि पत्याउँला नत्र अबदेखि त्यहाँ हाम्ले तिमेरलाई गाड्न दिन्नम्,बुझिस् |’
.
यसरी हाँक दिएपछि तिनी पनि अकमकिइन् तर फेरि निडरसाथ भनिन्-‘तपाईहरुले मलाई होइन परमेश्वरलाई हाँक दिंदै हुनुहुन्छ,तपाईहरुलाई जे गर्न मन लाग्छ,गर्नुस्,परमेश्वरले आफैं आफ्नो वकालत गर्नुहुनेछ |’ त्यस रात तिनी राम्ररी निदाउन सकिनन्,अति जोशका साथ प्रार्थना गरिन्-‘हे परमेश्वर ! आज हाम्रो गाउँका मान्छेले तपाईको विरुद्धमा अत्तो थापेका छन्,म त केही गर्न सक्दिनँ प्रभु,तिनीहरुलाई पश्चातापमा पार्नुहोस,आफ्नो शक्ति देखाउनुहोस्,भोलि के हुने हो ?,म जान्दिनँ,तपाईकै इच्छाअनुसार होस्,प्रभु येशुको नाउँमा,आमेन |’
भोलिपल्ट साँच्चै ती हुल्याहाहरु चिहानडाँडामा गएछन्,तिनी चाहिं  घरमै प्रार्थना गर्दै बसिछन् | तिनीहरु एक महिनाअगाडि प्रभुमा सुतेकी तिनकी छोरीलाई गाडेको ठाउँ खन्न थालेछन्, अनि बाकस झिकेछन् | तर आश्चर्य, बाकस खोली हेर्दा त्यो मरेकी केटीको लाश कुहिएको नभएर जस्ताको तस्तै निदाइरहेकोजस्तै थियो रे | त्यसपछि त्यस गाउँका धेरैले प्रभुलाई पच्छ्याए |                  
यो साँचो गवाही सुनेपछि म पनि नतमस्तक भएर प्रभुको सामु घुँडा टेकी प्रार्थना चढाएँ अनि मृत्यु-संस्कारको नाममा प्रियहरुको लाश जलाइने प्रवृत्तिमा ह्रास आओस् भनी कामना गरें किनकि काकाको लाश जलाउँदा मेरो पनि मुटु जलिरहेथ्यो तर धन्य, अब मलाई त्यसको पछ्यौटे हुनुपरेन | धन्यवाद परमेश्वर !
प्रतिक्रिया दिनुहोस्