Home » » नियति

नियति

Written By mimosa'screations on Wednesday, August 14, 2013 | 4:31:00 PM

मेरो नियति पनि कालान्तरमा यस्तो होला भन्ने मैले सपनामा पनि सोंचेको थिईनँ | आखिर भविष्य कसले देखेको हुन्छ र ? यदि भविष्यको भवितव्य अघिबाटै देखिने भए त्यसको दुई कदम पछाडि हट्ने थिएँ वा त्यसलाई नाघेर दुई कदम अगाडि उफ्रिने थिएँ अनि समय पनि ३ नबजाउँदै ५ बजाउने थिएँ तर हुनुपर्ने कुरा नभई नछाड्दो रहेछ | त्यस्तो नभइदिए हुन्थ्यो भनी कतिखेर चरम असन्तुष्टिमा पिल्सिन्छु तर भत्किसकेको कुरामा रोई-कराई गरेर त्यो पुन: पहिलेकै अवस्थामा फर्किने त होइन, त्यसैले नियतिको यो खेललाई हाँसी-हाँसी स्वीकारेको छु |
मेरो जीवनको कायापलट गराउने त्यो भवितव्य म कदापि बिर्सन्न जसले मलाई एकै बारको जिन्दगीमा दुइटै जुनीको अनुभूति दियो भन्दा पनि हुन्छ | सम्भवत: एकैपल्टमा दुई जीवनको अनुभव त कमैले मात्र पाउँछ, तिनै कम्ती अनुभवीहरुको लाममा म आफूलाई पाउँदा भाग्यमानी ठान्छु | अरे ! जीवन त अनुभवहरुको संगालो हो नि जहाँ अन्धकार,रोदन र अन्यौलको शिकार त भइन्छ नै तर तिनै नकारात्मक्तामा पिल्सिएर आफ्नो जीवन कुहाउनुभन्दा सकारात्मकतामा ढल्किएर जीवन जिउन सक्नु नै बुद्धिमानी हो |
एकजना मेरो हितैषी मित्रलाई मैले लामो समयपछि भेटें | कुरैकुरामा उसले मेरो अवस्था देखेर भन्यो-‘यसरी बाँच्नुभन्दा त मर्नु बेस |’  हुन त उसले मलाई चोट पार्न चाहेको पक्कै होइन, सायद उसले आफैँलाई मेरो ठाउँमा उभ्याएर हेर्दा जीवनको कुनै अर्थ नै नदेखेर त्यसो भनेको थियो | मलाई त अलिअलि हाँसो उठ्यो, हाँसेरै भनें-‘मलाई यसरी नै बाँच्नुपरे पनि म खुशी नै छु यार |’ तर कताकता मलाई पक्कै झीरले घोंचेझैँ भयो, उसको कुरा ठिकैजस्तो पनि लाग्यो किनकि यस्तै नकारात्मक भावना त म स्वयंले पनि लिन्थें तर जीवन जिउने क्रममा मैले आफैँलाई त्यस्ता नकारात्मक विचारदेखि अलग राख्दै आएको छु, तब यस्तो बेलामा हितैषी मित्रबाट नै यस्तो निरुत्साही कुरा सुन्नुपर्दा ढुंगाजस्तो मन मात्र कुँडिन्न सायद | तर दुई वर्षदेखि म यस्ता झिनामसिना अवरोधदेखि अभ्यस्त भइसकेको छु प्राय: त्यसैले उसका कुराले त्यति विधि टाउको दुखाइनँ |
हिजै राति हो सपनीमा म फेरि म्याग्दीको मेरो सुन्दर गाउँ धारापानी पुगेको, साथीभाईसित दोहोरी गाएको र मादलसँगै नाचेको दृश्य पो देख्नुपर्थ्यो नि तर त्यही ‘खनिउ’ को रुख मात्र ठिंग उभिएको देखेको | आफ्नो प्यारो गाउँ फेरि जान नसके पनि सपनी भएपनि मन रमाउने थियो नि तर कहाँ हुनु, त्यही साढे सातको दशाले घेरेको ‘खनिउ’को रुख देख्नुपर्ने, कस्तो झुर सपना, आङै सिरिंग पार्ने | अँ, अचेल त कतै बाटामा त्यस्तै-त्यस्तै रुख देखियो भने पनि मलाई त्यही पुरानो भवितव्यको याद आउँछ, के गर्नु भुल्न खोजेर पनि भुलिँदो रहेनछ, आखिर अगुल्टाले हानेको कुकुर सधैं बिजुली चम्कँदा तर्सिन्छ क्यारे |
अँ त, त्यो दिन म झल्झली सम्झन्छु | स्नातक पहिलो वर्षमा भर्खर-भर्खर पाइला टेकेको थिएँ | मसित जवानीको जोश र जाँगर उस्तै थियो अनि आफ्नै पाखुरीले आफ्नो गोरेटो सम्म्याउने उच्च सपना पनि | पोखरामा म पढ्दै थिएँ अनि आमाबाचाहिं गाउँमा, पुसमा एक महिना जाडो बिदा पर्यो, म त यत्तिकै पोखरामै बिदा मनाउने सुरमा थिएँ तर आमाले ‘गाउँ आइज बाबु’ भन्दा मैले नकार्न सकिनँ किनकि कताकता भित्री मनले त गाउँ नै ताकिरहेको थियो | आफू जन्मी-हुर्केको गाउँ जो पर्यो, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने मलाई थाहा भएकै कुरा हो, तसर्थ कर्मभूमिको मायालेभन्दा जन्मभूमिको मायाले जित्यो | अनि म लागें मेरो धौलागिरिको मुस्कानलाई एकपल्ट फेरि चुम्न |
अघिल्लो महिना दसैं-तिहारमै गाउँ आएकै थिएँ, फेरि जाडो बिदामा पनि आउने रहरचाहिं सेलाएको थिएन | एक मानेमा मलाई हिउँ खेल्नु मन थियो अनि अर्कोमा बिनुलाई देख्नु-भेट्नु, किनकि उसित मेरो सानैदेखि माया बसेको थियो |
अँ, पुस महिनाको मुटु कमाउने जाडोमा म आफ्नो रुक्स्याक बोकी त्यो प्रिय गाउँ हिंडे अथवा भनौं गाडी चढें | पहिले हाम्रो गाउँमा मोटरबाटो पुगेको थिएन तर अहिले पुगिसक्यो, त्यसले गर्दा पनि मलाई गाउँ पानी-पँधेराझैं भएको थियो | मोटरबाटोको आगमनले खेती-किसानमा आश्रित मेरो परिवारको आय पनि केही उक्सिएको थियो जसले गर्दा म शहरमा बसेर पढ्ने खर्च पनि धानिदै थियो | सदरमुकाम बेनीदेखि जीपको यात्राबाटै धुलाम्मे कच्ची सडक पार गर्दै म गाउँ पुगें | गाउँ प्रवेशद्वारमै गजक्क परेको अर्थुंगे चौतारीमा एकछिन सँगै आएका गाउँकै मानिससँग रुकस्याक बिसाएर त्यहाँबाट देखिने धौलागिरिको मुस्कानलाई ‘क्लिक्क’ आफ्नो क्यामेरामा कैद गरें अनि बाबालाई मोबाइलमा ‘म आइपुगें है, आलु उसिनेर राख्नु’ भनें | म जन्मी-हुर्केको लेकको आलु मलाई साह्रै  मनपर्छ, पहिले-पहिले त चामल नहुँदा खाजा पनि आलु, खाना पनि त्यही आलु हुन्थ्यो, त्यसैले मेरो जिब्रोमा गाउँ पुग्यो कि आलुको स्वाद सक्सकाउँछ |
अँ, गाउँ पुगेपछि गाउँले परिवेश रमाइलोसँग बित्न थाल्यो, सँगैको दौंतरी बिरे ब्रिटिश लाहुरे भएछ अनि चाउरे पनि दुबई उडिसक्या रैछ, बुवाले ‘ऊ: फलानोको छोरो कमाउने भइसक्यो, तँ कहिले होलास् ?’ भन्दै थिए, अनि मैले ‘पीर नगर्नु न बुवा, मैले पनि गरेर देखाउने दिन आउँछ नि’ भन्दै आश्वासन दिन्थें | मेरो सपना थियो, राम्ररी पढेर जागिरे हुने तर ‘म ताक्यो मुढो, बन्चरो ताक्यो घुँडो’ हुन पुग्यो, के भन्नु | कतिखेर त त्यतिबेला बुवालाई मैले दिएको आश्वासन सम्झिँदा त्यसै-त्यसै मन कटक्क दुख्छ अनि ‘नेताको जनताप्रति फोस्रो आश्वासन’ जस्तै लाग्छ | जे होस् ‘सास रहुन्जेल आश’ भनेझैं त्यो आश्वासनलाई एकदिन सत्य साबित गरेरै देखाउनेछु भन्ने आँट ममा अझै मरिसकेको चाहिं छैन |
त्यो दिन बादल धुम्मिएको थियो, जाडो पनि साह्रै थियो तर म त्यो दिन कुन्नि केले तानेर हो खै, एक्लै वनतिर घाँस काट्न गएँ | गोठालो बस्न छोडेको पनि धेरै भइसकेको थियो, घरमा म भएको बेलामा अलिकता पात-पतिंगर, स्याउला-भ्याउला भएपनि ल्याएर आमालाई सघाउनुपर्यो भनेर निस्केको थिएँ | नाम्लो टिपेर निस्कनै लाग्दा आमाले ‘कहाँ जान लागिस् र जेठा ?’ भनेर सोधिहाल्नुभयो, मैले ‘यसो खनिउ बटुलेर आउँछु’ भनें, आमाले ‘भो पर्दैन, मै जान्छु नि, आज साह्रै जाडो छ, नजा आगो तापेर बस्, गाईलाई मैले बिहानै एक डोको घाँस ल्याइसकेको छु’ भन्दै रोक्न थाल्नुभो, आमाले भनेको माने पनि हुने तर अहँ, म मानिनँ | मलाई त धुम्म पर्दाको परिवेश जो रमाइलो लाग्थ्यो, अझै साथमा गुलेली पनि लगेको थिएँ, चरा मार्न...(होइन ब्यारे ! खास रुख चढेर ठिटीहरुलाई ढुंगाले प्वाक्क-प्वाक्क हान्न) | अल्लारे बैंसमा जिस्कनु त सामान्य हो नि, यसलाई नै कसैले मेरो दोषी व्यवहार भन्छ भने म मान्दिनँ किनकि मेरो उमेरमा चहचह गर्ने ठिटो को नहोला ? अँ, वनमा यताउता डुलें, जाडोले होला क्यारे, घाँस काट्ने ठिटीहरु देखिनँ, बिनुलाई झन् म आएको थाहा नै थिएन, त्यहीं भेटिन्छ कि भनेर मुन्टो उठाई-उठाई टाढा हेरें तर देखिनँ अनि नजिकैको खनिउको रुखमा चढें, कम्मरमा भिरेको हँसियाले काट्दै भुइँमा स्याउला खसाल्न थालें, थोरै खसालेपछि घाँटी तानेर परतिर हेरें, बिनुलाई उसका साथीहरुसँगै डोको बोकी त्यतैतिर आईरहेकी देखें अनि अलि टुप्पाको हाँगोमा बसेर त्यहींबाट बोलाउनुपर्यो भन्ने मनसायले अर्को हाँगोतर्फ लम्कें....काश ! म त्यो कदम नलम्केको भए हुन्थ्यो...तर म लम्कें | त्यो हाँगो कमजोर रहेछ, सुकेको पिटिक्कै भाँच्चिने खालको, त्यसैले त्यसले मलाई धान्न सकेन अनि पिटिक्कै हाँगो भाँच्चिएर म भुइँमा बजारिएँ | त्यो हाँगोसँगै मेरो जीवनको हाँगो पनि भाँच्यो...|
भुइँमा बजारिएपछि के भो कुन्नि मैले पटक्क थाहा पाइनँ, अँ त्यतिसम्म याद छ, भुइँमा ड्याम्म बजारिएको ध्वनी कानले स्पष्ट सुन्यो तर टाउको पनि बजारिएर ‘टिनटिन’ कराउँदै फनफनी घुमेको थियो, हेर्न खोज्दा पनि मेरा आँखा खुलेनन्, ती मस्त निद्राले झुलेकाझैं ट्याप्पै बन्द भए अनि परिवेश अँध्यारो भएको धमिलो सम्झनाचाहिं मेरो टाउकोमा अझै कैद छ |..........अँ त्यसपछि मेरो होश खुल्दा म अस्पतालको बेडमा थिएँ अनि वरिपरी आमाबा, भाइ, बहिनी, दिदी तथा अरु आफन्तबाट घेरिएको थिएँ | मेरा आँखा खुल्नासाथ आमाले हर्षाश्रु झार्दै कपाल मुसार्दै मसिनो स्वरमा भन्नुभाथ्यो-‘..बाबु..’ | आमाको कण्ठ ‘बाबु’ शब्दको उच्चारणमै रोकिएको थियो, अनि उपस्थित अरु प्रियजनका मुहारमा पनि उदासीका भाव दौडिएको आभाष पाएँ | पिठ्युँमा हल्का दुखेको थियो तर मैले आफूलाई अस्पताल ल्याउनुको खास कारण झट्टै खुट्ट्याउन सकिनँ, झुलुक्क खनिउको रुखबाट खसेको त सम्झें तर त्यसपछि के भयो म बिल्कुल अनभिज्ञ थिएँ | ओच्छ्यानबाट उठ्नै अप्ठ्यारो भयो, उठ्न खोजें तर सकिनँ, हातले बेडको फलाममा बेस्सरी समातेर उठ्न खोजें, तर पनि अहँ सकिनँ, ‘के भा होला मलाई ?’ भन्ने एक खालको त्रासले छोप्यो, चिच्याएँ-‘आमा ! बुवा ! मलाई के भयो ?’ मेरो प्रश्न सुन्नासाथ आमा र दिदीहरु त भक्कानिएर रुन थाले, बुवाले उनीहरुलाई बाहिर पठाउनुभो अनि कान्छो भाइ र बुवा मात्र मनजिक आए | बुवाले बिस्तारै मेरो हात सुम्सुम्याउनुभो अनि भन्नुभो -‘बाबु केशव ! तँ जसोतसो मृत्युबाट जोगिस्, हामीलाई यसैमा खुशी छ, के गर्ने ? तेरो भाग्य यस्तै रैछ, सबैले लेखेको कुरा भोग्नैपर्छ क्यारे...|’ मैले कुरा बुझिनँ, ‘किन मलाई के भयो र बुवा ? राम्ररी भन्नु न प्लीज..’ भनी सोधें, त्यतिन्जेलसम्म मेरो मुटुमा ढ्यांग्रो बज्न थालिसकेको थियो र त्यसैले होला सायद मेरो प्रश्नयुक्त लवज करुण भएको म आफैंले आभाष पाएको थिएँ | एकछिन त बुवाले जवाबै नदिई आँखा भुइँतिर मात्र निहुराउनुभो अनि पछि बिस्तारै भन्नुभो-‘....केशव ! तँलाई स्पाइनल कर्ड इन्ज्युरी भयो, हिजै तेरो ढाडको अप्रेसन भयो, अब तँ जिन्दगीभरी यस्तै रहने भइस् तर तँ नआत्तिएस्, हामी छम् तँलाई बाँचुन्जेल सहायता गर्ने...|’
जीवनमै पहिलोचोटी सुन्दै थिएँ-‘स्पाइनल कर्ड इन्ज्युरी’, मलाई थाहै थिएन, यो कुन रोगको चिकित्सीय भाषा हो कुन्नि, झट्ट आफैंले नेपालीमा अनुवाद गरें ‘मेरुदण्ड चोट’, अँ मेरो ढाडमा चोट लागेपनि त्यो निको त पक्कै भइहाल्ला नि तर बुवा किन त्यसरी भूमिका बाँधी-बाँधी बिरानो कुरा गर्दै हुनुहुन्छ कुन्नि, मैले अझै बुझिनँ, उहाँको कुरालाई बीचमै रोकेर फेरि सोधें-‘के हो र स्पाइनल कर्ड इन्ज्युरी बुवा ?’ अनि बल्ल गम्भीर हुँदै स्पष्ट भन्नुभो, त्यसपछि म छाँगोबाट खसेझैं भए | साँच्चैको रुखबाट खसेको त थाहा पाइनँ तर यथार्थ बुझेपछि भावावेशले मलाई छाँगैबाट खसेको अनुभव दियो, सन्न भाउन्न छुट्यो, म त बोल्नै सकिनँ, आँखा चिम्म गरी मुन्टो भित्तातिर फर्काएँ, बुवाले सम्झाउँदै हुनुहुन्थ्यो-‘सबैले आफ्नो नियतिमा लेखिएको कुरा भोग्नैपर्छ छोरा..हरेस नखाएस्..|’ उहाँले त्यसो भनिरहँदा बल्ल म यस उपदेशको सार्थकता बुझी भक्कानिएँ, मेरा आँखाबाट अश्रुधारा बगे, तर मैले आफ्नो हिक्कालाई बलैले रोकें ताकि बुवाले मेरो रुवाइ थाहा नपाउन्, म भित्तानिर फर्केको हुनाले उहाँले मेरो आँखाको डिलबाट सिरानीमा खसेको आँसु देख्नुभएन तर म रोएको पक्कै निर्क्यौल गर्नुभएछ क्यार, उहाँले बडो प्रेमले मेरो कपाल र हात मुसार्दै अब अगाडिको जिन्दगीसित जुझ्ने तरिका सिकाउँदै हुनुहुन्थ्यो, मचाहिं मेरा सारा सपना सिसाझैं झर्याम-झुरुम फुटेको अनुभव गरिरहेथें, पहिले-पहिले कमाएन भनेर गुनासो गरिरहने बुवा त्यतिखेर मप्रति त्यतिविधि स्नेही देख्दा म भावविभोर भएँ | यद्द्यपि, बुवाको उपदेशमा ध्यान गइरहेको थिएन, बरु विगतदेखि वर्तमानसम्मका दृश्य आँखाअगाडि चक्काझैं फनफनी घुम्यो, अब ती दृश्य मैले फेरि देख्न नपाउने भएँ भनेर मन त्यसै-त्यसै कुँडियो |
अँ, कुरा के भने मलाई स्पाइनल कर्ड इन्ज्युरी अर्थात् मेरुदण्ड पक्षघात भएको रहेछ जसकारण अब जिन्दगीभरि मेरो कम्मरदेखि मुनिको भाग नचल्ने भयो | ‘तेरो जिन्दगीको सहारा अब व्हिल्चियर हो केशव’ भनी बुवाले भन्दा मलाई मुटुमै भालाले घोंचेझैं भाथ्यो | अस्पतालमा बितेका ती उराठ दिनहरु सम्झँडा अझै पनि मेरा आँखा रसाउँछन् | व्हिल्चियर मगाउन र आउन पनि ठ्याम्मै दुई महिना लाग्यो | मलाई त्यो दुई महिना दुई वर्षजस्तै लाग्छ जहाँ मैले मात्र झ्यालबाट बाहिरको दृश्य चियाएँ होला, आफुलाई एकदम पिंजडाको सुगा महसुस गरिरहेको थिएँ, अझ दिसा-पिसाब पनि अरुले सोहोर्दिनु पर्दा त मलाई चरम निराशाले छोप्थ्यो, यस्तो जिन्दगी पनि के जिन्दगी, बरु मर्नु नै बेस लाग्थ्यो |
मैले आफ्नो पीर आफैंमा गुम्साएको थिएँ जुन म आमा,बुवा वा भाइसँग पनि पोख्न सकिरहेको थिइनँ किनकि म आफैँलाई समस्याको जड ठान्थें | निराशाले खर्लप्पै निल्न आँटेको त्यो अन्धकारमय मेरो जीवनमा ज्योतिको उदय नभएको भए सायद आज म यसरी हाँसेर बाँच्न सक्ने थिइनँ सायद...|
ज्योती, अँ पेशाले ऊ स्टाफ नर्स | अस्पतालमा मेरोलगायत अरुको सुश्रुषामा हृदयदेखि नै समर्पित एक सुन्दर युवती | म उसको मृदुल बोली-वचनबाट प्रभावित भएँ | उसैले मलाई जीवनमा अशक्त भए पनि केही गरी देखाउने आँट दिलाई, अझ सँगसँगै हातमा हात राख्दै व्हिल्चियर तालिम लिएको क्षण म झन् कहाँ बिर्सन सक्छु र ? ती मेरो मानसपटलका गिर्खा-गिर्खामा नमेटिने डोबसरी बसेका छन् | व्हिल्चियर तालिम पाएपछि ममा साँच्चै आत्मविश्वासको प्रवाह भयो, साथमा ज्योतीको निश्चल प्रेम पाएर म पुलकित भएको छु | अँ, तर यसलाई प्रेम नै त भनी नहालूँ किनकि मैले अझै उसलाई मनको कुरा भन्न सकेको छैन | भनूँ पनि कसरी ? म आफ्नो अवस्थालाई तगारो सम्झन्छु तर मलाई विश्वास छ,यदि ऊ मलाई साँचो माया गर्छे भने जस्तै पहाड छिचोलेर भएपनि अन्तमा मैलाई स्विकार्नेछे | म त्यो पलको प्रतिक्षामा छु | 
नभए के त ? अशक्तलाई पनि जीवनभरी साथ दिनसक्ने हिम्मतिली कोही भएन भनेपनि म दुखी हुनेछैन किनकि म त आफूजस्तैहरुको निम्ति नै बाँच्नेछु, आवाज उठाउनेछु अनि मृत्युपर्यन्त लड्नेछु | अँ, भरत दाइलाई त एउटी नर्सले जीवनसाथीको रुपमा स्वीकारी, त्यसैले ममा पनि ज्योतिप्रति आशक्ति भएको हो तर पछि के हुने हो ? दैव जानुन् | तापनि मेरो मुटुले चाहिं उसकै माया खोज्दो छ, ऊ मेरी हुन सके.....|
बिनुको माया कर्कलोको पातबाट गुडुल्किएको पानीसरी पोखियो | म अस्पताल छँदै ऊ चाउरेसित पोइल गएकी खबर सुनेथें | कसैलाई थाहा भएन तर त्यस खबरले मेरो हृदय छिया-छिया पारेको थियो जुन मैले मेरै आँटले टालेको थिएँ |
अँ, अशक्ततालाई स्विकार्नु अझै पनि फलामको चिउरा चपाउनुजस्तो गाह्रो भइरहेछ मलाई तर म अभ्यस्त हुँदैछु, दुई वर्ष भइसक्यो, अब मैले यो नियतिको खेललाई हाँसी-हाँसी स्विकार्नुबाहेक अर्को विकल्प छैन |
राम्ररी पढेर जागिर खाएर देखाउने सपना अद्द्यापी छँदैछ | भुवनले अशक्त भएपनि लोसेआ हानेर अहिले स्थाई जागिर खाँदै छ, मैले पनि त्यस्तै गरी देखाइदिन्छु ताकि मेरो जिन्दगीलाई निरर्थक सम्झिनेलाई म मेरो जिन्दगीको सार्थकता साबित गर्न सकूँ |
अशक्त अपांगप्रति स्वयं मैले नै पहिला वास्ता राख्दिनँ थिएँ तर आज आफैं त्यही ड्यांगको मुला भएपछि बुझेको छु कि हाम्रो तन पो अशक्त होला तर मन र मस्तिष्क अशक्त छैन, हामीले अवसर मात्र नपाएर हो नत्र हामी सबलांगभन्दा कुनै रीतिले कमजोर छैनौं | यो कुरा किन सबैले बुझ्दैनन् कुन्नि ? मेरोजस्तो भवितव्य त जो-कसैलाई पनि पर्न सक्छ, तर पनि मान्छेहरु आफूलाई त्यसै सदा सुरक्षित सोच्दा रहेछन्, त्यसैले त सद्देहरुबाट उत्साहभन्दा पनि बढी हतोत्साही लवज सुन्नमा आउँछ |
अल्पविकसित यो देशमा बाटोघाटो, घर-पसल प्राय: कतै पनि अपांग-मैत्री वातावरण छैन, जति छ म बसेको यही जोरपाटीको सानो भूगोल मात्र छ, योभन्दा पर सहयोगीबिना पुग्ने सकिन्न | म आवाज उठाउन चाहन्छु हाम्रो अधिकारको निम्ति अनि नीतिनिर्माताहरुलाई पनि अपांग-मैत्री नीति तर्जुमा गर्न दवाब दिन चाहन्छु | स्वयं समाज र राज्यकै संकुचित मानसिकताका कारण हामी हेपिएका छौं, पेलिएका छौं तर हामीले पनि राज्यलाई योगदान दिन सक्छौं भन्ने यथार्थ किन बुझ्न नसकेका ? के हामी मानव होइनौं र ? हाम्रो पनि संवेदनशील मुटु छ अनि चेतनशील मस्तिष्क | हाम्रोलागि हामीले मात्र होइन सबैले सोंच्नुपर्छ | त्यसैले म सबलाई घच्घच्याउन चाहन्छु |              
जिन्दगी के रहेछ ? म त बालकै थिएँ, २१ वर्षको उमेरसम्मै मैले केही बुझेको थिईनँ, जिन्दगी खानु-पिउनु र मोज-मस्ती गर्नु त हो भन्ने मेरो सोंचाई थियो तर आज मेरो यो अवस्थाले मेरो त्यो संकुचित सोंच् फराकिलो भएको छ | बरु त्यतिखेर सद्दे हुँदा पो मेरो मति अपांग रहेछ तर अहिले मेरो तन अपांग भएपनि मति धेरै गुणा बढी सपांग छ |
त्यसैले अहिले म भन्न सक्छु, जिन्दगी खानु र पिउनु मात्र होइन, बल्की बेसहाराहरुको सहारा, निराशहरुको आशा अनि रुनेहरुको मुस्कान बनेर जिउनु हो | नियतिलाई चुनौती दिंदै यही बँचाई म आजीवन जिउन चाहन्छु |
(समाप्त)

2 comments :

  1. DARDANAK JIVAN PANI SUGAM tarikale bachna sakne mahanharuko katha ! salam chha mero ----- dirgha aayu ra sukhad jivan rahi rahos !
    amen

    ReplyDelete