Sunday, October 6, 2013

मेरी जुनु

 ‘हेलो दाइ ! बधाई छ ! तपाईको छोरा भयो नि, छिटो आउनुस् |’
डोल्काले फोनमा यसरी खबर दिएपछि म खुशीले गद्गद् भएँ अनि नोर्बुसित छिटो अस्पताल जान आतुर भएँ |
ट्याक्सीमा बिहानै ७ बजेतिर अस्पताल पुगियो | अस्पतालको बेडमा हिजो मध्यरातबाट सुत्केरी भएकी मेरी जुनुलाई सकुशल देखें अनि उसकै छेउमा रहेको सेतो पोका देख्दा म हर्षविभोर भएँ | मलाई थाहा थियो, त्यो सेतो पोकोभित्र मेरो आफ्नै रगतको सन्तान छ भनेर | मैले पोकोलाई बिस्तारै उठाएर आफ्नो हातमा लिएँ | त्यो सानो रातो न रातो मानवाकृति मस्त निद्रामा सुतेको, अलिकति चलमलायो, त्यसलाई देखी मेरा आँखा रसाए किनकि त्यसले मलाई जीवनमै पहिलोपल्ट बाबु हुनुको सौभाग्य दिलाएको थियो | मैले रसिला आँखा पार्दै त्यसलाई ‘मेरो छोरो’ भन्दै म्वाई खाएँ | मेरो स्वर रुन्चेझैं भएको सुनियो होला, छेउमा उभिएको नोर्बूले मेरो काँधमा धाप दियो अनि यस्सो हेर्दा जुनु र डोल्काले पनि मलाई हेर्दै आँखा रसिला पारेको देखें | डोल्काले स्नेहपूर्वक भनी—‘बाबु तपाईजस्तै छ दाइ |’ भर्खर जन्मिएको त्यो कोमल नवजात शिशुको मुहार कोजस्तो भनेर म राम्ररी खुट्याउन सक्दिनथें, सायद डोल्का दुई सन्तानकी आमा भइसकेकीले उसमा खुट्याउन सकेकी होली भन्ने सोंचें | उसले त्यसो भनेपछि हाँस्दै ‘हो र ?’ भन्दै त्यो नयाँ मान्छेलाई एकटक लाएर हेरें | खै कुन्नि किन हो मलाई चाहिं त्यो नयाँ मान्छे मेरी जुनुझैं नै लाग्यो, हाँस्दै ‘हैन, बाबु त जुनुजस्तै छ’ भनें, अनि हामी सबै हाँस्यौं |

मैले असम्भवझैं सोंचेको सन्तानसुख आज मैले अनुभव गर्न पाउँदा मैले मनमनै ईश्वरलाई धन्यवाद दिएँ | मैले त्यसलाई आफ्नै हातमा राख्दै सुस्तरी झुलाइरहेको थिएँ, त्यत्तिकैमा त्यो त्यसै ‘च्याहाँ’ गर्दै रोयो | अनि डोल्काले त्यसलाई समातेर जुनुको छातीमा राखिदिई | त्यसबेला जुनुले त्यसलाई आफ्नो दुध चुसाएको म एकटक लगाएर हेरिरहें | मलाई जुनुलाई पनि म्वाई खान मन लाग्यो तर उसलाई म्वाई खान मिल्ने जत्तिको समीप म जान सक्दिनथें | खालि आफ्नो हातले उसको हातलाई समाती मुस्काइरहें |

डोल्का र नोर्बु दुई श्रीमान-श्रीमती एकछिन बाहिरीए अनि हामी दुई मात्र भएको बेलामा मैले जुनुको हात मुसार्दै भनें—‘जुनु ! हाम्रो सपना साकार भयो है ?’ प्रत्युत्तरमा उसले आँखाको परेलीले ‘हो’ को संकेत गर्दै निश्चिन्त मुस्कानसाथ दुध चुसिरहेको छोरोलाई म्वाई खाई | हिजो राति उसलाई सुत्केरी व्यथाले च्याप्दा म कति चिन्तित भएको थिएँ, पीडामा कस्तरी साह्रै छटपटाएकी थिई, हतार-हतार डोल्काले एम्बुलेन्समा लगेपछि रातभरी म सुत्न सकिनँ | आफूलाई जुनुको ठाउँमा उभ्याएर सोंचें—‘आमा बन्नु कति कष्टदायी रहेछ, यस्तो कष्ट सहेर जन्माउनुपरेकोले होला आफ्नो सन्तानप्रति आमाले झन् धेरै आशा राख्ने |’ एकाएक त्यतिबेला उसलाई आफ्नी दिवंगत आमाको साह्रै याद आएर अनायास उसका आँखाबाट आँसु बगेका थिए |
अनि अब बालक जन्मपछि उसले जुनुको मुहार हेर्यो, त्यो कति कान्तिमय थियो आहा ! हिजोको प्रसव-वेदनाले ढल्न लागेकी ऊ आज केही नभएजस्तो आफ्ना सारा पीडालाई भुलेकी थिई | आहा ! मैले जुनुलाई देखी मातृत्वलाई आफैंले पनि नजिकबाट अनुभव गर्ने मौका पाएँ अनि एकछिन ससम्मान जुनुलाई मैले मनमनै सलाम ठोकें |

विधाताले मेरी जीवनसंगिनी हुन जुटाइदिएकी अनुपम उपहार हुन् उनी जसको सुन्दरताको बयान गर्दा म कहिल्यै थाक्दिनँ | अँ, सुन्दरता भन्नाले मैले रुपलाई भन्दा पनि बढि उसको चरित्रलाई भनेको हुँ जुन लाखौंमा एक सायदै गन्नमा आउँछ | मेरी प्रिय जुनु ! मेरो जीवनरुपी आकाशमा जूनजस्तै चम्किरहेकी छ | हुन त जसले पनि आफ्नी प्रेमिका वा जीवनसंगिनीलाई सुन्दरी देख्छ, त्यो सुन्दरता जसलाई पनि अद्वितीय लाग्छ | हो, तर म मेरी जुनुको सुन्दरतालाई अद्वितीयभन्दा पनि अझ अद्वितीय अर्थात् अझै उच्च कोटीको स्थान दिन चाहन्छु किनकि ऊजस्ती हम्मेसी कोही छैन |

अँ, उसको र मेरो पहिलो भेट अस्पतालमा भएको थियो र नि:सन्देह त्यही अस्पताल परिसरलाई नै मेरो प्रेमको डेटिङस्थल भन्दा हुन्छ | म सडक दुर्घटनामा परेको केही वर्षपछि पुनर्स्थापना केन्द्र हुँदै त्यस अस्पतालमा आइपुगेको थिएँ र त्यहाँ बसेको तीन महिना भएको थियो | चौथो महिनाको सिलसिलामा मसँगैको अर्को खाली शय्यामा अर्को बिरामी आइपुग्यो | ऊ थियो तेन्जिंग शेर्पा, बुटवलदेखि काठमान्डौ आउँदै गर्दा सडक दुर्घटनामा परेछ | त्यसैले मेरो साथी बन्न सक्यो | उमेरले मभन्दा कान्छो भएकोले मलाई ‘दाइ’ भनेर सम्बोधन गर्थ्यो | उसको एउटा खुट्टा भाँच्चिएको थियो र मात्र तीन महिना बस्यो | त्यही तीन महिनामा मैले जुनुलाई भेटें-चिनें | किनकि तेन्जिंग, उसकै भाइ थियो अनि तेन्जिंगलाई भेट्न आउँदा मसित आँखा जुधेको थियो | अचेल कहिलेकाहीं पुन:स्वास्थ्यस्थिति जाँच्न जाँदा म त्यस अस्पताल परिसरमा म र जुनुबीच पलाएको प्रेमको टुसालाई एकएक गरी टिप्दै ताजा-ताजा संस्मरणका रुपमा आफ्नो गिदीमा कैद गर्छु र यसो गर्दा मलाई अत्यन्त आनन्दानुभूती हुन्छ |
अँ त मेरी जुनुलाई मैले मेरी बनाउन धेरै चुनौतीको सामना गर्नुपर्यो तर हाम्रो साँचो प्रेमको शक्तिले हामी तरबारको धारमा हिँड्नु परेपनि पार लगाईछाड्यौं | ऊ बुटवल शहरकी सुन्दरी, सुन्दरी यसकारण किनकि ऊ शहरिया परिवेशमै हुर्केकी भएपनि लप्पन-झप्पन गर्ने खालकी थिइन, उसको सादापन नै मलाई सबभन्दा प्रिय लाग्यो, त्यसमा मजस्तो स्पाइनल कर्ड इन्ज्युरी भएको मान्छेलाई जीवनभरको साथ दिन मन्जुर गर्ने उसलाई म ‘आइरन लेडी’कै उपनाम दिन रुचाउँछु | किनकि उसले शरीरको अभिलाषा राखिन, बरु भावनात्मक प्रेमलाई नै उच्च स्थान दिई नत्र त्यस्तै ठिटी भएकी भए मजस्तोलाई के हेर्थी र ? तर मैले उसलाई पाएर आफूलाई भाग्यशाली ठानेको छु |
हो प्रेम भनेको त यस्तो नि:स्वार्थ हुनुपर्छ जुन जुनुले मलाई गरी | अचेलका ढोंगी प्रेमधारीहरुले उसलाई गुरु मानेर नि:स्वार्थ प्रेमको पाठ सिके हुन्छ भन्छु म त | जुनुभन्दा पहिल्यै मैले पनि एउटीसित प्रेम गरेको थिएँ, हाम्रो प्रेम राम्रै चल्दै थियो तर म पक्षघात भएपछि उसले मलाई साथ दिनुको साटो कति मजाले ‘अबदेखि मलाई कहिल्यै फोन नगर ल, म तिमीसित अब प्रेम-सम्बन्ध गाँस्न सक्दिनँ ल, सरी’ भनी | मलाई हजार वाटको तातेको वाल्भझैं रीस उठेको थियो | मैले उसलाई अब महँगा-महँगा ठाउँमा डेटिङ लान सक्दिनँ भनेर सम्बन्ध तोडेकी चाल पाएँ, थुक्क ! के यस्तै हो माया ? त्यस्ती केटीलाई मैले पहिले रुचाएकोमा मलाई पछुतो छ | यता जुनु छे, त्यस्ती केटी जसलाई मेरो समीप हुन पाउनु नै डेटिङ जानु हो, ऊ मकहाँ आउँदा मेरो सम्पति हेरेर होइन तर मेरो दिल हेरेर आई |
अस्पतालमा तेन्जिंगसँगै साधारण कुराकानीको क्रममा नै ऊ मेरो दिलमा बसेकी हो तर तेन्जिंग डिस्चार्ज हुन्जेलसम्म पनि मैले मनको कुरा पोखिनँ वा सकिनँ किनकि मलाई डर थियो | तर ऊ गएपनि मैले फोनबाट सम्पर्क गरिरहें, उसको मीठो बोलीबाट म प्रभावित भइरहें जसमा उसले पनि मलाई अव्यक्त प्रेम गरेको आभाष पाउँथें तर सोध्न सकेको थिइनँ | त्यतिन्जेल मैले पहिलेको टुरिस्ट गाइड पेशाबाट छुट्टी लिएर थान्का चित्रकार बनिसकेथें र त्यही पेशाबाट एउटी श्रीमती पनि पाल्न सक्छु भन्ने आत्मविश्वास पलाइसकेको थियो | ठीक त्यसैबेला मैले उसलाई हिम्मत गरेर प्रेम-प्रस्ताव राखें जसलाई उसले सहर्ष स्वीकारी अनि अलि पछि बिहेको प्रस्ताव पनि राखें,त्यसलाई पनि उसले सहर्ष स्वीकारी | मैले ‘मेरो अशक्तताप्रति तिमीलाई कुनै खेद त छैन ?’ भनी सोध्दा उसले भनी-‘नाइँ, म तपाईलाई साँचो प्रेम गर्छु, साँचो प्रेमले यी यावत कुराको हेक्का राख्दैन किनकि सबभन्दा ठूलो त भावना हो | मेरो नजरले तपाईलाई कहिल्यै अशक्त देख्दैन, तपाईलाई जीवनभर साथ दिएर साँचो प्रेमको एउटा नामेट उदाहरण बन्न चाहन्छु जसको कल्पनासम्म पनि आम-मानिसको सोंचाईभन्दा बाहिर छ...|’
वाह ! कति सम्मानयोग्य मेरी जुनु ! मेरो श्रद्धाले शिर झुक्यो | अनि बिहेको लागि कदम चाल्न हामीले ठूलो जोखिम मोल्नु थियो, मोल्यौं पनि | मेरा बाबाले मेरो बिहे असम्भव सोंच्थे, त्यसैले कसैकी छोरी माग्न जाने कुरा आएन अनि जुनुका अभिभावक मजस्तोलाई छोरीको हात दिन पक्कै पनि मान्नेवाला थिएन, त्यसैले हामीले भाग्ने निर्णय लियौं | उसलाई तेन्जिंगले बुटवलदेखि काठमाण्डौ आउन सघायो | उसलाई लिन म चारपांग्रे स्कुटरमा बसपार्क पुगें अनि त्यसैमा दुवैजना नजिकैको गुम्बामा गई दुई-चारजना नजिकका अन्तरंग मित्रहरुको उपस्थितिमा बौद्ध परम्पराअनुसार बिहे गर्यौं | गहनाको नाममा एउटा मामुली औंठी लगाइदिएँ, बस् हाम्रो बिहे भयो, मेरी जुनु सधैंकोलागी मेरी भई |
मेरा बाबा त्यस्ती सुशील बुहारी देखेर खुशीले रोए | जुनुले ढोग दिँदा धेरै-धेरै आशिष दिए | जुनुका अभिभावक भने छोरीको यस कदमप्रति रुष्ट थिए तर बिस्तारै समयसँगै उहाँहरु पनि हँसिला भए |
अँ, हाम्रो दाम्पत्य जीवन दुनियाका आँखामा अपवाद भएपनि हामीले सामान्य नै ठान्यौं किनकि यो जिवनरथ एक-अर्काको सम्पूर्ण समर्पणमा गुडाउने हाम्रो निर्णय थियो, अझ भन्नुपर्दा त्यसमा जुनुले मप्रति ठूलो त्याग गरेकी थिइन् किनकि उसले दाम्पत्य जीवनमा अपरिहार्य शारीरिक सुखलाई पनि मेरा निम्ति त्यागिदिई | आहा ! यस्तो नि:स्वार्थ प्रेम म यो दुनियाँमा कसोरी पाउँला र ?
म स्पाइनल कर्ड इन्ज्युरी भएकोले म प्राकृतिक रुपमा ‘बाबु’ बन्न सक्दिन थिएँ तर यसैमा हामी निराश हुनेवाला थिएनौं किनकि हाम्रो अघि यो २१ औं शताब्दीको सर्वोत्तम आविष्कार थियो | जुनुसितै सल्लाह गरी हामीले त्यो आविष्कारको फाइदा उठायौं अर्थात्, टेस्टट्युब बेबी जसकै कारण आज म पनि बाबु हुन सकेकोमा गद्गद् भएको छु |
एकपल्ट मैले आमा-छोरा दुवैलाई हेरेर मुसुक्क मुस्काएँ अनि मनमनै गुनें, मेरो छुनुमुनु छोरोको नाम ‘टासी रिम्पोछे शेर्पा’ |    
(समाप्त)
प्रतिक्रिया दिनुहोस्