Friday, July 4, 2014

मेरो प्रेम-२

‘हेप्पी बर्थडे टु यु...हेप्पी बर्थडे टु यु दियर मन ! हेप्पी बर्थडे टु यु |’ सामुहिक रुपमा यही शब्दले भरिएको सानो अंग्रेजी गीत गाउँदै आज हामीले मेरी प्यारी छोरी ‘मन’ को पहिलो जन्मदिन मनायौं | आज मेरी नानुले एक वर्ष पुगेर दोस्रो वर्षमा पाइला टेकी | आज उसको जन्मदिनमा हामी सपरिवार बाहिर घुमफिर गर्यौं अनि बेलुकीपख एउटा ठूलो केक काट्यौं |

छोरीको जन्मदिन मनाएपछि राति सुत्नेबेलामा मैले र नोजोले मिलेर परमेश्वरलाई धन्यवाद चढाउँदै प्रार्थना गर्यौं | प्रार्थनापछि म मनलाई दुध खुवाउँदै पल्टिएँ | त्यतिखेर मेरो मनमा धेरै कुरा खेल्न थाले | सर्वप्रथम त परमेश्वरले मजस्ती व्हिल्चियर प्रयोगकर्तालाई पनि आमा बन्ने सौभाग्य दिनुभएकोमा मुरी-मुरी धन्यवाद चढाएँ |

नोजोसित बिहे गरी जापान आएको पनि झन्डै दुई वर्ष भइसकेको थियो | म शारीरिक रुपमा अशक्त भएपनि भावनात्मक रुपमा अशक्त छैन | व्यक्तिको अशक्ततालाई नहेरी उसको भवनको नै कदर गर्ने महापुरुष नोजो निसिजिमालाई मैले पतिको रुपमा पाएँ | परमेश्वरले मेरो जीवनसाथीको रुपमा यी स्वर्ग्दूतलाई अघिबाटै तयार पार्नुभयो | खासमा कसले पो सोंच्न सक्थ्यो र ? कि ‘मेरुदण्ड पक्षघाती सीता के.सीले भविष्यमा एउटा सुन्दर परिवार पाउन सक्छे’ तर परमेश्वरको अथाह प्रेम मेरो जीवनमा ओइरिहाल्यो जुन म आफैंले समेत सपनामा पनि सोंचेकी थिईनँ |

बिहेपछि मलाई पनि आम नारीलाई जस्तो आमा बन्ने रहर भयो | मेरो एकजना मित्रले त मलाई कुनै अनाथ बच्चा नै धर्मसन्तानको रुपमा राख्न सुझाईन् तर मलाई त्यस्तो गर्न मन थिएन किनकि म व्हिल्चियरमै बसिरहने भएपनि आमा बन्न सक्छु भन्ने आत्मविश्वास ममा थियो | यसकारण ती मित्रलाई मैले आफ्नो विचार स्पष्ट भनिदिएँ अनि उनले पनि मेरो यो विचारको कदर गरिन् र मेरो यो रहर चाँडै पूरा होस् भनी परमेश्वरमा प्रार्थना गरिदिन्छु भनिन् | त्यसरी ती मित्रले पनि मेरो भावनाको कदर गर्दै प्रार्थना गरिदिन्छु भन्दा म खुशीले गद्गद् भएँ | मैले मेरो यो रहरलाई नोजोसित बाहेक अरु कसैसित पनि पोख्न सकेकी थिईनँ तर ती मित्रसत पोख्न पाउँदा मेरो मन हलुको भयो साथै मेरो यो रहरको निम्ति प्रार्थना गरिदिने नोजो र मबाहेक अर्को तेस्रो व्यक्ति पनि भएपछि हाम्रो प्रार्थना चाँडै परमेश्वरले सुन्नुहुनेछ जस्तो लाग्यो |

प्रार्थनाको केही समयपछि साँच्चै नै मलाई परमेश्वरले प्रार्थना अनुसारको प्रतिफल दिनुभयो अर्थात् म गर्भवती भएँ | मैले यो कुरा थाहा पाएको दिन ज्यादै खुशी हुँदै परमेश्वरलाई धन्यवाद चढाएँ | नोजोले त यो खुशीमा मलाई ‘ओसाका’ होटलमा लग्नुभई मलाई मनपर्ने परिकार ‘सुसी’ प्रशस्त गरी अघाउन्जेल खुवाउनुभयो | अनि केही समयपछि ती प्रार्थना गरिदिने मित्रलाई पनि यो खबर सुनाएँ र उनले पनि खुशी हुँदै परमेश्वरलाई धन्यवाद चढाइन् |

सुरुसुरुमा म साह्रै बिरामी भएँ | रिंगटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने आदि समस्याका कारण दुई महिनासम्म त मलाई अन्न नै खान मन लागेन | गर्भवती अवस्थामा सबैलाई यस्तै हुँदो रहेछ, मलाई थाहा थिएन | त्यसबेला मलाई जे खानेकुरा पनि गनाउथ्यो र त्यसैले म पानी र जुस मात्र पिउँथे | धेरै दिनसम्म त्यसरी अन्न नखाई बस्दा म साह्रै दुब्लाएकी थिएँ | खाटमा पल्टिरहँदा भविष्यको सन्तानको बारेमा विभिन्न भावनाहरु खेल्न थाल्थे अनि एक्कासी त्यसैबेला मैले माऊ माकुराको नियतिबारे सम्झें | माऊ माकुराले आफ्नो भविष्यको सन्तानको लागि धेरै दिनसम्म भोकभोकै रही ओथारो दिएर बस्छ अनि अन्तमा त्यो जालीदार फुलबाट अर्को एउटा सानो माकुरा निस्कन्छ | तर विडम्बना के भने त्यस सानो माकुराले भोकले रन्थनिएको हुनाले फुलबाट निस्कनासाथ उसको आफ्नै आमालाई खाइदिन्छ | एउटी आमाले आफ्नो सन्तानको लागि आफ्नो प्राण पनि बलिदान गर्छे भन्ने प्राकृतिक उदाहरण हो यो | मान्छेले पनि त्यस्तै-त्यस्तै गर्छ तर धन्य परमेश्वर ! मान्छेको आमाले चाहिं माकुराको जस्तो नियति भोग्नु पर्दैन |

समय बित्दै गयो, मेरो गर्भ ठुलो हुन थाल्यो अनि मैले पहिलेभन्दा बढी खाना खान थालें र म साँच्चिकै खन्चुवा भएँ हाहाहा...| ६ महिना टेक्दा नटेक्दै पेट साह्रै बढेकोले मलाई व्हिल्चियरमा बस्न पनि धेरै गाह्रो हुन थाल्यो | म मेरुदण्ड पक्षघाती गर्भवती भएकीले डाक्टरले मलाई धेरै नै होसियार रहनु भनेको थियो | त्यसैले म त्यो समयमा व्हिल्चियरमा पनि त्यति बसिनँ बरु खाटमै बस्न थालें |

मलाई अलिकति डर पनि लागिरहेको थियो | परमेश्वरलाई प्रार्थना गरिरेकी थिएँ र उहाँले मलाई सहायता गर्नुहुन्छ भन्ने मलाई पूरा विश्वास थियो | सातौँ महिनामा एक रात म त ब्युँझिनै नसक्ने गरी निदाएछु, नोजोले साह्रै आत्तिएर मलाई अस्पताल लग्नुभएको रहेछ | अचम्म ! म दुई महिनासम्म अर्थात् मेरी मन संसारमा आउन्जेलसम्म नै बेहोश भएछु | त्यो समयमा नोजो साह्रै डराउनुभएको थियो, म नहुँदा उहाँलाई संसार शुन्य लागेको थियो र मलाई केही भइहाल्ला कि भनी डराउनुभएको थियो | तर उहाँलाई परमेश्वरमा पूर्ण भरोसा थियो, त्यसैले उहाँले मेरो लागि प्रार्थना गर्न छाड्नुभएन | उहाँले त म कोमाको अवस्थादेखि सकुसल ब्युँझन सकूँ भनी प्रार्थना गरिदिन चर्चमा, फेसबुकमा सबैलाई आग्रह गर्नुभएको रहेछ | ‘एकले थुकी सुकी, सयले थुकी नदि’ भनेझैं धेरैले प्रार्थना गरेकोले मेरी मन शल्यक्रियाबाट जन्मिएको भोलिपल्ट म पूर्ण रुपमा होशमा आएँ | मैले आफैलाई नियाल्दा मेरो नाक र नाडीमा फुड पाइपको नाली छिराइएको थियो अनि नोजो नानुलाई आफ्नो काखमा लिएर खुशीको आँसु पुछ्दै मेरो छेउमा बस्नुभएको थियो | उहाँले नानुलाई बिस्तारै मेरो काखमा राखिदिनुभयो अनि मेरी नानुको त्यो सुकोमल मुहारलाई सुम्सुम्याउँदा मेरा आँखा पनि रसाए |

छेउमा सासु-ससुरा पनि हुनुहुन्थ्यो | त्यतिन्जेलसम्म  हामीले नानुको नाम के राख्ने भनेर सोंचिसकेका थिएनौं | ससुराबाले कुरा निकाले, उहाँले हाम्रो मुख ताक्दै हुनुहुन्थ्यो तर हामीले उहाँलाई नै निर्णय गर्न दियौं | उहाँले नानुको नाम पहिल्यै सोंचिसक्नु भएको रहेछ | उहाँ रमाउँदै ‘यो नानुको नाम ‘म-न’ अर्थात् स्वर्गबाट ओर्लिअएको परमेश्वरको रोटी |’ आहा! हामी सबैलाई यो नाम साह्रै मनपर्यो | अनि नानुको कोमल गालामा म्वाई खाँदै नोजोले भन्नुभयो-‘आनतवा मिन्नानु मन नि इरू’ अर्थात् ‘तिमी हाम्री “म-न” अनि मैले पनि दोहोर्याएँ ‘आनतवा मिन्नानु मन नि इरु’ |    

मैले मेरी मनलाई जन्म दिएको तीन महिनापछि निक वुचिककी श्रीमतीले पनि एउटा छोरो पाएकी खबर सुनें | आहा ! परमेश्वर कति प्रेमी हुनुहुन्छ, हामीजस्तो अपूर्ण मान्छेलाई पनि उहाँले पूर्ण बनाउनुभयो | उहाँलाई जतिचोटी धन्यवाद दिएपनि थोरै हुन्छ, त्यैपनि म उहाँलाई धन्यवाद दिन कहिल्यै थाक्दिनँ | मेरो प्रेमलाई अनुपम नमुना बनाइरहने सृष्टिकर्ता परमेश्वरलाई धन्यवाद दिएँ | हल्लेलुयाह !!!

(समाप्त)

मेरो प्रेम-१ पढ्न यहाँ क्लिक

 sita didi with her husband, daughter n me in the fotos




प्रतिक्रिया दिनुहोस्