फर्केर हेर्दा, मेरो जीवनमा 'प्रकाश'को पुस्तकमा लेखिएझैं वा त्योभन्दा पनि बढी नै पीडादायी महासंकट परेझैं लाग्छ तर म जान्दछु कि यो संसारको जुनसुकै र जस्तोसुकै पीडा किन नहोस्, त्यो कलवरी क्रुशको पीडाभन्दा नगन्य नै हुन्छ तरम मात्र एउटा मान्छे न हुँ माटोजस्तो कमजोर मुटु भएको माटाकै मान्छे, त्यसैले पुरानो खाटा बसिसकेको घाउ नकोट्याऊँ भनेपनि आज फेरि कारणवश कोट्याइछाडें।
घाउ कोट्याइनुको संयोग भनौं कि विडम्बना, आज त्यही दिन, त्यही गते पर्यो, जुन दिन मेरो जीवनमा कहिल्यै नसोंचेको हृदयविदारक अकल्पनीय घटना घट्यो अर्थात् मेरो साधारण जीवनमा यही दिन परमाणु बम खस्यो जसबाट म मृत्युबाट त जोगिएँ तर मेरो जीवन परमाणु विध्वंसपछिको हिरोसिमा र नागासाकीको अवस्थाझैं जर्जर र भग्नावशेषमय भयो।
म विवाहको करिब ७ वर्षपछि दुई सन्तानकी आमासमेत भइसकेपछि पहिलोपल्ट तीज मनाउन दुई बालक-छोरोलाई काखी च्यापेर माइत गएँ । श्रीमान विदेश जानुभएकोले साथमा हुनुहुन्थेन । साथमा भएको ठूलो छोरो औंलामा झुन्डिरहने उमेर पाँच वर्षको थियो भने सानो छोरो दूधमुखे नौ महिनाको थियो ।
मैले माइतमा पहिलो तीज राम्रैसँग बिताएँ अनि सबैलाई बिदा गरी आफ्ना लालाबालासहित घर फर्किन बस चढें । बाटाभरि मैले माइतमा बितेका रमाइला पल, परदेशिएका श्रीमान तथा चिचिला छोराहरुको उज्ज्वल भविष्यबारे सोंचिरहें । ६/७ घन्टाको सकुशल यात्रापछि घर पुग्न मात्र एक घण्टा बाँकि थियो, त्यॊ एक घण्टा मेरो लागि अन्तहीन अनन्त सावित भयो जसले सपनीमा अहिले पनि तर्साउँछ । नजाने के भयॊ कुन्नी ? एउटा घुम्तीमा बस दाँया मोडिदा आफसेआफ चिप्लेर अनियन्त्रित हुँदै सडकमै उतानो पर्यो । त्यो अत्यासलाग्दो पलमा मलाई आफ्नोभन्दा नानीहरुको फिक्री नै बढी लाग्यो । म जान्दिनथें कसरी जोगाउने तर विपदको त्यो घडीमा दुवै छोरोलाई काखमा राख्ने र बेस्सरी दुवै हातले समातिराख्ने बुद्धि आयो । बसले अनियन्त्रीत भई झ्याँकेर पछार्दासम्म अरु यात्रुहरुका कोलाहल र मेरा छोरोहरुको क्रन्दन कानमा गुञ्जियो, त्यसपछि टाउको कता ठोक्किएर, जिऊ कता बटारिएर आँखाभरि निस्पट्ट अन्धकार छायो अर्थात् म पूर्ण अचेत भएँ ।
होश खुल्दा मैले आफूलाई अस्पतालको बेडमा पाएँ । छेवैमा आमाबा, सासु-ससुराको निन्याऊरो अनुहार देखें, अनि झट्ट मैले कहालीलाग्दो दुर्घटनाको त्यस क्षणलाई सम्झन पुगें । सम्झँदा मलाई बेस्सरी भाउन्न छुट्यो तर सँगसँगै छोराहरुलाई सम्झें अनि रिंगटालाई बेवास्ता गर्दै बल्लतल्ल आवाज निकाली आमालाई सोधें,
"आमा ! मेरा बाबुहरू खै ?"
प्रश्न गर्दै रिंगटाको कारण तिर्मिराएका आँखा र आँखीभौं खुम्चाउँदै म उठ्न खोजें तर सकिनँ। आमाले 'दुर्घटनाको कारण तँ अहिले धेरै कमजोर भा'छस्, नउठ् अहिले, छोराहरु सकूशल छन् र घरमै छन्, तँ चाँडो निको भई अनि घर गएर भेट्लास् ल ।' भन्नुभयो।
आमाले यति भनी सम्झाएपछि आत्तिएको मन अलि शान्त भयो अनि म चाँडो निको हुने (निरर्थक) प्रयासमा लागिरहें । दुर्घटनाको तीन दिनपछि बल्ल मेरो होश खुलेको रहेछ अनि मेरो मेरुदण्डमा चोट लागेको रहेछ जसकारण तबदेखि उसो मेरा पाइलाले यो धर्तीमा फेरि कहिल्यै टेक्न नसक्ने भएको रहेछ । अर्थात्, म मेरुदण्ड पक्षघाती भएकी रहेछु जसकारण मेरा खुट्टा नचल्ने मात्र होइन मेरो कम्मरदेखि मुनिको भाग चेतानाशुन्य भएको रहेछ अनि अझ त्यति मात्र होइन, वयस्क भएर पनि नाबालकजस्तो माफ्नै दिसा-पिसाब आएको र चुहिएको पनि थाहा नहुने रहेछ, हाय जिन्दगी !
सुरुसुरुमा कसैले पनि मलाई राम्ररी मेरुदण्ड पक्षघातबारे भनेन, सायद मानसिक आघात पर्छ भनेर होला । मचाहिं आफ्नो अधमरो शरीर देखेर पनि निको भइछाड्ने धुनमा थिएँ किनकि मलाई जतिसक्दो चाँडो आफ्ना चिचिला छोराहरुका मुहारभरि चुम्नु थियो, एउटी दुःखी आमाको आतुरी ! लगभग एक महिना निरन्तर फिजियोथेरापी गरेपछि बल्ल म उठेर व्हिल्चियरमा बस्न सक्ने भएँ अनि मलाई घरको मायाले साह्रै तानेकोले डाक्टरहरुलाई 'एक हप्ताको लागि भएपनि बिदा दिनुस्' भनी बिन्ती गरें अनि बिदा पाएपछि खुशी हुँदै घर गएँ । यात्रामा मैले बुझें कि हामीजस्ता अपांगता भएका व्यक्तिहरुलाई लामो दूरीको यात्रा ज्यादै नै कष्टकर हुँदोरहेछ । तर जे होस्, जति नै कष्ट भएपनि मैले ती कष्ट भुलाइदिएँ ।
घर पुग्नासाथ ठूलो बाबुलाई हात-खुट्टामा प्लस्टर लगाएर ऒछ्यानमा सुतिरहेको देखें, उसको हालत देख्नासाथ आँखामा आँसु भरियो । बिस्तारै उसको छेउमा गई उसको कपाल मुसारें अनि भरिएको कण्ठमा यति भनें,
'बाबु !'
मेरो स्वर सुनेर बाबुले बिस्तारै आँखा खोल्यो अनि 'ममी !' भन्दै रोयो । मेरो राजा, त्यस्तो अवस्थामा नभएको भए, सायद खुशीले उफ्रिदै मेरो काखमा आएर मलाई म्वाई खान्थ्यो होला तर त्यसो गर्न नसकेकैले होला ऊ रोयो । ऊ रुँदा अघिदेखि नै भरिएका मेरा आँखाबाट आँसु बाँध भत्किएझैं गरी झरे । यद्यपि, मैले बाबुको कपाल मुसार्दै उसलाई सम्झाएँ,
'नरो बाबु नरो, मेरो ज्ञानी बाबु नरो, अब चाँडै निको हुन्छ ल ।'
खासमा म आफैं रुँदै थिएँ तर आँखाबाट बरर्र आँसु झरेपनि त्यसलाई पुछ्दै अनि आफ्नो हिक्कालाई बलैले दबाउँदै छोरोलाई सम्झाउँदै थिएँ । त्यतिकैमा नन्द पनि कोठामा आइन् र सासुको छेउमा बसिन् । अघिसम्म मैले सानो बाबुलाई नदेखेपनि नन्दले आफ्नो कोठामा लगिन् होला भन्ने सोंचें (किनकि उनको कोठा दोस्रो तल्लामा थियो अनि उनले नै मेरो सानेलाई मेरो अनुपस्थितिमा हेरचाह गर्छिन् भन्ने सुनेको थिएँ। ) अनि म आएको थाहा पाएपछि पक्कै पनि साथै ल्याउनेछिन् भन्ने सोंचें तर बाबुलाई उनको साथमा नदेख्दा एकछिन मन आत्तियो तर झट्टै 'माथि सुतेकै होला नि' भन्ने सोंचें अनि नन्दलाई सोधें, 'अनि सानो बाबु खै उजेली?'
मेरो प्रश्न सुन्नासाथ उजेली अँध्यारो मुख देखाएर मलाई पुलुक्क हेरी मात्र अनि आमाको मुख हेरी, मानौं ऊ सासुलाई बोल्न ईशारा गर्दै थिई । सासुआमाले पनि छिट्टै कुराको पोको फुकाईहाल्नुभयो, 'अब कति ढाँट्नु तँलाई ? ल अब सुन्, तेरो सानो बाबु छैन, तैले च्यापेर मारिस् त्यही दिन....।'
यो सुन्नासाथ म जोडले चिच्याएँ, 'नाइँ...यो हुन सक्दैन बाबु!......हुँहुँहुँ......।' म आफैंलाई थाम्न नसकी बाँध फुटेझैं रोएँ, मसँगै बल्लतल्ल सम्हालिएको ठूलो बाबु पनि रोयो। म त्यसरी आकुल-व्याकुल भएर रुँदा सासुआमाले सान्तवना दिन त परै जाओस्, झन् मेरॊ पोलेको घाउमा नुनचुक दल्ने काम गर्नुभयो। मेरो आँसुको पर्वाह नगरी यतिसम्म भन्न भ्याउनुभयॊ, ‘ठूलेको यस्तो कन्तबिजोग छ, आफूचाहिं अधमरो भएर नी किन मस्तले बाँच्नुपर्या होला ? यो सब तँ अलच्छिनले गर्दा हो।'
म त्यसै त पीडाले विचलित भएको त्यॊ अवस्थामा झन् उहाँका यी शब्द सुनेर मुटु छियाछिया भयो। उहाँको आक्षेप स्वाभाविक एवं ठिकैजस्तो लाग्यो, त्यसैले केही भनिनँ तर आँखाबाट आँसुको भल बग्ने क्रम चाहिं रोकिएन, निकै बेर ।
त्यसको दुई दिनपछि मैले उपचार गरिरहेको पोखराको हरियोखर्क अस्पतालमा नै उपचार गराउने भनेर मैले ठूलो छोरोलाई आफूसँगै एम्बुलेन्समा पोखरा ल्याएँ अनि आफ़्नोभन्दा छोरोको शिघ्र स्वास्थ्यलाभको कामना गरें।
साविकझैं मेरो फिजियोथेरापी सकेपछि एकदिन डाक्टरलाई सोधेँ, 'डाक्टर सा'ब, म कहिले हिंड्न सकूँला ? डेढ महिना भयो फिजोयो गरेको पनि, अझै मेरो खुट्टामा अलिकति पनि चेतना छैन, किन होला ?' मेरो प्रश्न सुनेपछि डाक्टरले एकछिन पल्याक-पुलुक मभन्दा अलि पुराना व्हिल्चियर प्रयोगकर्ता साथीहरुलाई हेर्नुभयो अनि बिस्तारै मेरो वास्तविक अवस्थाबारे भन्नुभयॊ। सबै वास्तविकता थाहा पाएपछि म भक्कानिएँ किनकि मेरॊ आशा एकाएक चकनाचुर भएको थियो। 'डाक्टर सा'ब, म यस्तो जिन्दगी बाँच्न चाहन्न अब, बरु प्लीज मलाई मर्ने सुई दिनुस्।' - यस्तो भन्नुसम्म भनें तर डाक्टरले मलाई धेरै कुरा भनी सम्झाउनुभयो; यस्त्तॊ नियति भोग्ने म मात्र होइन, सँगैका मेरा मित्रहरुको कहानी पनि त्यस्ता रहेछ, अझ म आमा भएकीले छोरोको निम्ति नै बाँच्नुपर्छ भनी बताउनुभयो। त्यसपछि बिस्तारै मेरा आँसु थामिए।
अस्पतालमा बस्दा सबभन्दा बढी सान्तवना प्रभुको सुसमाचार सुनेर पाएँ जसले मलाई टुटेकै भएपनि बलियो भई जिउने आँट दियो। अब म प्रभुकै निम्ति बाँच्छु जसले मेरोलागी क्रुशको भयानक पीडा सहनुभयो। मलाई मेरो श्रीमानले त्याग्नुभयो तर माइतीमै आश्रय पाएकी छु अनि छोरोलाई आफूसँगै राखी हुर्काउँदै छु। भविष्यमा मजस्ता अपांगता भएका व्यक्तिहरुप्रति लक्षित कुनै रोजगारमूलक तालिम लिई स्वावलम्बी बन्ने मेरो धोको छ र यही प्रार्थना मेरा प्रभुलाई पनि छ, आमेन !
(समाप्त)